लेख / ब्लग / अन्य प्रकाशन / समाचार

चिकित्सक तथा प्रयोगकर्ताको आँखामा ओपिएट परनिर्भरता (Opiate Dependence) र मेथाडोन (Methadone)

Posted Date: 2013-08-21

लागु पदार्थ आजको समाजको एउटा नमिठो सत्य बनेको छ । बिशेष गरी कलिला युवा युवती उत्सुकता ले वा अन्य कुनै  कारणले जानेर वा नजानेर यसको लतमा पर्न पुग्छन । त्यसो त कसको चाहिँ उदेश्य ‘ड्रग एडिक्ट’ बन्ने हुन्छ  र ! पहिलो पटक खाँदा रमाइलोको लागी खाए पनि पछि गएर  यसको दास बन्न पुग्छ मानिस । अनि बिस्तारै जीवन असाध्यै कष्टकर बन्न पुग्छ । यसको लत लागेको मानिस क्रमशः आर्थिक, सामाजिक शारिरिक तथा मानसिक समस्यामा पर्दछ ।

लागू पदार्थ समाजमा अस्वीकार्य र कानूनतः प्रतिबन्धित छ । जसले गर्दा दुव्र्यशनीमा फसेको मानिसले यस्को बारेमा आफन्तलाई भन्न चाहदैँन र सक्दैन । साथै  अति  महङ्गोमा  लागु पदार्थ खरिद गरिरहेको हुन्छ । यसबाट छूटकारा पाउन आफ्नो सारा एकल प्रयास बिफल भएर हार नखाँदा सम्म घर परीवारमा बताउन प्रयोगकर्ता चाहदैन । जसले गर्दा प्रारम्भिक प्रभावकारी रोकथामका उपायहरु अबलम्बन गर्न सकिँदैन । यसको सेवन गर्न थालेपछि स्वास्थ्य, पढाइ, जागीर छोड्नु, ब्यबसाय बिग्रनु अपराधिक गतिबिधिमा संलग्नता हुनु अवश्यमभावि परिणामहरु हुन ।

नेपालमा सन् १९९० सम्म मा पनि यसको प्रभावकारी उपचार भित्रीसकेको थिएन तर हाल आएर विभिन्न प्रकारका उपचार पद्धतिको माध्यमबाट थुप्रै प्रयोगकर्ता मुक्त पनि भए । यद्यपी ति उपचार प्रक्रियाबाट सत् प्रतिशत सेवनकर्ताहरु पूर्व अवस्थामा फर्कन सकेनन । बिभिन्न अध्ययनलाइ आधार मान्दा नेपालमा लागु पदार्थ प्रयोगकर्ताहरुको संख्या झण्डै दूइ लाख भएको अनुमान गर्न सकिन्छ । त्यसो त आजका मिति सम्म पनि राज्यका तर्फबाट हेर्दा केहि नितीगत सम्वोधन भएको जस्तो देखिए पनि ती एच.आइ.भी., हेपाटाईटिस र रगतबाट संक्रमण हुनसक्ने रोगहरुको रोकथामसंग मात्र सम्बन्धित छन । कानूनी ब्यबस्थालाइ आधार मानेर हेर्ने हो भने लागु पदार्थलाइ अपराध करार दिएर प्रहरीले नै पक्राउ गरि थुनेर ठिक पार्छ भने जस्तो देखिन्छ । कानूनि नजरले लागु पदार्थ दुव्र्यशनीलाई अपराधी मान्न सकिएला तर यो एक प्रकारको मानसिक समस्या हो र यसलाई उपचार र परामर्शको आवश्यक पर्दछ भन्ने कुरा बुझ्न जरुरी छ ।

१९९० को दशकमा ‘एच.आइ.भी.’ रोकथामलाइ लक्षित गरी आएको सूइ वितरण कार्यक्रम आजसम्म पनि चलिरहेको छ । तथापी सुई  वितरण कार्यक्रमले लागु पदार्थको सेवनलाई प्रेरणा दियो भनेर यो कार्यक्रमले पनि सुरुमा धेरै बिवाद झेल्न परेको थियो । तर यसले  ब्यक्तिको स्वास्थ रक्षा र एच.आइ.भी., हेपाटाईटिस र अन्य रगतको माध्यमबाट हुने संक्रमणलाइ धेरै कम पार्न मद्धत पुगेको अवस्थालाई नकार्न सकिदैन । त्यति नै बेला मानसिक अस्पतालले  सन् १९९२ मा संचालन गरेको मेथाडोन उपचार कार्यक्रम चरम बिरोधका साथै अन्य कारणले गर्दा सन् १९९८ सम्म आइपुग्दा बन्द नै हुन पुग्यो । फेरि आएर २००७ मा मानसिक अस्पतालमा, २००९ मा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा र हाल आएर देशका अन्य प्रमुख शहरहरु जस्तै विराटनगर, नेपालगन्ज र वुटवलमा मेथाडोन कार्यक्रमको विस्तार भएकोछ ।

 

मेथाडोन के हो ?

यो बिश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त तथा नेपाल औषधि ब्यबस्था बिभागमा परिक्षण भई स्वास्थ्य तथा गृह मन्त्रालयबाट स्वीकृत तथा अत्यावश्यक औषधिमा सुचिकृत एक नियन्त्रित ओपियड समुहमा पर्ने औषधि हो । यसलाइ मुखबाट सेवन गरिन्छ र यो झोल तथा चक्की दूबैमा पाइने भएपनि नेपालमा झोल ‘सिरप’ मा मात्र उपलब्ध छ । दुरुपयोगको संभावनालाई मध्यनजर गरी यसलाइ झोलमा मात्र पैठारी गरिएको हो । बिश्वको इतिहासलाइ हेर्ने हो भने ‘मर्फिन’ तथा  ‘ओपियड’ को निर्भरता को उपचारमा पचास बर्ष देखि यसको प्रयोग भै आएको छ । ब्यक्तिको शारिरीक अवस्था र आवश्यकता  अनुसार  मेथाडोनको प्रयोग गर्न सकिन्छ र यसले हानि गर्दैन । मानव स्वास्थ्यमा क्षति न्यूनिकरणका लागी यसको ठूलो योगदान छ ।

दोस्रो पटक सन २००७ मा काठमान्डुमा र २००९ मा पोखरामा पनि क्षतिन्यूनिकरण कार्यक्रम अन्तर्गत मेथाडोन कार्यक्रम सुरु भयो ।  तर यस कार्यक्रम आउनु पूर्व पत्रपत्रिकामा समेत ब्यापक बिरोध गरियो । एक राष्ट्रिय पत्रिकाले त बिष बाँडेको सम्म पनि भन्यो । जुन यस उपचार आवश्यक रहेकाहरु माथि अमानविय प्रहार थियो  । सायद यो उपचार समयमा आइदिएको भए धेरै प्रयोगकर्ता ‘एच.आइ.भी.’ लगायत ‘हेपाटाईटिस’ र अन्य संक्रमणबाट बच्ने थिए । लागुपदार्थको लतमा फसेका मानिसहरु लागुपदार्थ प्रयोग नगरी बस्न सक्दैनन । उनिहरुले चाहेर पनि त्यसलाई छोड्न सक्दैनन । यसले उसलाइ खुसी भन्दा बढी नारकिय जीवन भोग्न बाध्य पारिदन्छ । त्यसैले लत लागेको ब्यक्तिलाई समयमै  यसको उपचार गराउन र उत्तम बिकल्प पहिल्याउन सबैतर्फबाट मद्यत गर्नु पर्दछ ।

मेथाडोन चिकित्सकले लागुपदार्थ प्रयोगकर्तासँग राम्ररी सोधपुछको आधारमा उसले प्रयोग गर्ने गरेको ओपियडको गुणस्तर, मात्रा, अवधि र माध्यम (जस्तैः नशाबाट, ईन्जेक्सनको रुपमा, सुँघेर , खाएर वा अन्य कुनै माध्यम), सो कुरा बुझेर शारिरिक र मानसिक अवस्थालाई मध्यनजर गरि आवश्यकता अनुसार रगत र पिसाब को परिक्षण र बिशेष प्रकारको परामर्श, मेथाडोनबाट हुनसक्ने असरहरुको जानकारीपछि चिकित्सकको सिफारिसमा र नर्सहरुको प्रत्यक्ष निगरानीमा खुवाईन्छ । साधारणतया २० मि.ग्रा. बाट शुरु गरेर प्रयोगकर्ताको आवश्यकता अनुसार बिस्तारै मात्रा स्थिर नहुने बेलासम्म बढाईन्छ । नेपालको सन्दर्भमा औषत स्थिर मात्रा ४५ मि.ग्रा. देखि ५० मि.ग्रा. रहेको छ । जुन अवस्थामा पुग्नलाई २ देखि ६ हप्ता सम्म को अवधि लाग्न सक्छ । हाल नेपालमा ५०० को हाराहारीमा सेवाग्राहीहरु छन जस मध्ये ८० को संख्यामा पोखरामा छन ।

 

मेथाडोन सेवनका फाईदाहरुः

–आत्मसम्मान कायम राख्दछ ।

–असामाजिक क्रियाकलाप र गैह्रकानूनी क्रियाकलापमा कमी ल्याउँछ ।

–संक्रमणजन्य रोगहरुको रोकथाम गर्दछ ।

–जीवन पद्धतिमा सकारात्मक परिवर्तन ल्याउँछ ।

–मानसिक चिन्तामा कमी तथा अध्यात्मिक जागरण ल्याउँछ ।

¬–मितव्ययी बनाउँछ ।

–उत्पादनशिल कार्यमा संलग्न हुन सहयोग गर्छ ।

–समाज र परिवारमा गुमेको प्रतिष्ठालाई पुनस्र्थापित गर्न मद्धत गर्दछ ।

 

एक समय लागु पदार्थको दुव्र्यशनमा परेकोे र हाल मेथाडोन उपचारबाट सेवा लिइरहेका साथै परामर्शदाताको रुपमा काम गरिरहेका एक साथीले मेथाडोन प्रतिको बुझाई र अनुभव यसरि व्यक्त गर्छन् ः

सामान्य उत्सुकता र प्रयोगका लागी गाँजा र ‘फेन्सिडील’बाट शुरुआत गरेपनि चुरोट रक्सीको अनुभव मलाइ यस भन्दा पहिले नै थियो । पछि आएर ‘ब्रुप्रिनर्फिन’ इन्जेक्सन गर्दै ‘ब्राउन सुगर’ सम्म र नशा नपुग्दा त्यहि इन्जेक्सनमा ‘फिनार्गन’ ,‘डाइजापाम’ समेत मिसाइ ‘ककटेल’ गर्ने , ‘ब्राउन सूगर’ भिटामिन ‘सि’ वा कागतिसंग मिसाइ पानीमा उमालेर सुइ लगाउने । त्यसमा ‘भेलियम’ ‘नाइट्राजिपाम’ जस्तो चक्की पनि खाने , आदत बस्न पुग्यो । जसले गर्दा आफ्नो ‘कलेज’को पढाइ छोडन बाध्य भएको र पछि आफ्नो ब्यबसाय पनि गुमेको, भएको सम्पति मास्न परेको, तिन ठाउँमा फरक फरक समयमा नोकरी गरेको मैले ती सबै छोड्न परेको यथार्थ मैले सामना गरेँ । मैले आफ्नो लागु औषधको समस्या समाधानका लागी पचासौँ पटक बिभिन्न प्रकारका उपचार पनि लिएँ । कहिले शहर छोडि दूर्गम गाउँ पूगेँ भने कहिले आवासगृहमा र  अस्पतालमा गएर महिनौँ बसेँ त्यति मात्र होइन डिटक्सिपफिकेसन का लागी बिसौँ पटक औषधि प्रयोग गरेँ । तर कुनै उपाय लागेन ।

 

जब पोखरामा ‘मेथाडोन’ उपचार सुरु भयो । यस उपचार लिन थालेपछि हामीलाइ यो एकदम खतरनाक भएको, पछि डरलाग्दो ‘सिक्’ हूने, दिमाग विग्रेर पागल हुने लगायत धेरै डर देखाइयो । हडडी कुहिने, दाँत झर्ने जस्ता कुरा सुनिन्थ्यो । कसै कसैलाइ बान्ता पनि भएको थियो । यस्तो हल्लाले गर्दा हामी ‘मेथाडोन’ नखाने निर्णयमा करिब करिब पुगेका थियौँ । तर एक दिन हेरौँ ,दूइ दिन बिचार गरौँ भन्दा भन्दै दूइ महिना पनि बित्यो । शरीर केहि गलेको, दूब्लाएको, पनि महशुस हून्थ्यो । तर तिन महिना जतिमा मैले शरीरको तौल दुइ किलो बढेको पाँए । पछि पछि स्वास्थ्य राम्रो हुँदै पनि आयो । मगज बिग्रने भनेको यो ओखति भाग्यवश हामीले मानसिक रोग बिशेषज्ञको सिफारीसमा खाईरहेका थियौँ ।

 

“जब म मेथाडोन उपचारमा आएँ मेरो जीवन स्थीर रहन पूग्यो । मेरा बिग्रेका सबै पक्षमा क्रमिक सूधार हून थाल्यो । आज म यस कार्यक्रममा सामाजिक इकाइको परामर्शदाता रहि अन्यको उपचारमा सघाइरहेको छू । मेरो लागी अस्पताल एक स्वर्ग मेथाडोन इकाइ एक मन्दिर र डाक्टर तथा परामर्शदाताहरु भगवान ठहरिए र मेथाडोन अमृत सरह नै रह्यो । मेरो अनूभवको आधारमा भन्दा मेथाडोन उपचार जस्तो सर्वोत्तम बिकल्प लागू पदार्थ प्रयोगकर्ताको लागी अरु छैन । यस उपचारमा रहेर उपचार गर्दा पढाइ, जागीर वा अन्य कूनै काम रोक्न पर्ने बाध्यता छैन । त्यसैले म लत लागेका अन्य साथीहरुलाइ ढिला नगरी यस उपचारमा आउन सल्लाह दिन चाहन्छु । त्यसैगरि यस कार्यक्रमलाई शुरु गर्न र यथावत चलिराख्न मद्धत गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।” – ड्यूक कोईराला

 

लागु पदार्थ सेवन गर्न थालेको थाहा पाउने केहि संकेतहरुः

–कोहिपनि व्यक्ति काम भन्दा बढि समय घर बाहिर बिताउने ।

–जथाभावी पैसाको ब्यबहार र बहाना धेरै बनाउँने ।

–गोजिमा केहि धूलो साथै चूरोट लाइटर वा झिलझिले कागजहरु भेटिने

–दाग लागेको डबल र एक छेउ अलि गाडा कालो खैरो धर्का देखिने नोट बारबार भेटिने ।

–छिनछिनमा रिसाउने, खुसी हुने, बढी सक्रिय हुने वा अल्छी हुने, टोलाउने वा निराश हुने

–बिद्यालय वा कलेज वा जागिरमा नियमीत हाजिर नहुने ।

–घरको सरसामान, गरगहना आदि अचानक हराउने ।

–अनौठा पोस्टर, बस्तु आदि संग्रह गर्ने ।

–कहिले मध्यरातसम्म नसुत्ने र बिहान अबेला सम्म पनि सुतिरहने ।

–घर आगन कोठा तिर सुईहरु फेला पर्ने । शरिरमा सुईको जस्तो दाग र निलो डाम देखिने साथै शरीरबाट अनौठो गन्ध आउने ।

उपयुक्त संकेतहरु देखिएमा वा शंका लागेमा चिकित्सक वा परामर्शदाताहरुसँग सम्पर्क गर्नुपर्दछ ।

अन्तमा लागु पदार्थ सेवन ब्यत्तिको अत्यन्त पिडादायी र गम्भिर समस्या हो । लागु पदार्थ सेवनलाइ मानसिक समस्या मानिन्छ । प्रयोगकर्ताको चाहना बमोजिमको उपचार बिधी उसको अधिकार हो । घृणा, तिरस्कार र सजायले  समस्या कम गर्नुको बदलामा थप जटिल मात्र बनाउँदछ ।  साथै लागु पदार्थमा निर्भरहरुका लागी सामाजिक  पुर्नस्थापना तथा  सिपमूलक तालिम र रोजगारी अति आवश्यक  छ । आज पनि सडकमा थूप्रै प्रयोगकर्ता पिडित भएको अवस्थामा रहेका छन । लागू औषधको समस्यालाइ जबसम्म सरकारी स्तरमा सम्बोधन गरीँदैन तबसम्म समस्या यथावत रहनेछ । प्रयोगकर्ताहरुलाइ शशत्तिकरण गरी लागुऔषध नियन्त्रण तथा प्रभावकारी रोकथामका लागी प्रयोग गर्न सकिन्छ । ‘मेथाडोन’ त्यो औषधि हो जसले अवैध लागु औषधको बजारलाइ सदाका लागी बिस्थापित गरिदन सक्छ । ‘मेथाडोन’ प्रयोगकर्ता प्रति सबैको माया ममता सदभाव र स्नेह अनि सहयोग र सुझावको नितान्त आवश्यक छ ।

लेखकद्धय -

डा. राजन शर्मा, मानसिक रोग बिशेषज्ञ, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा

ड्यूक कोईराला, परामर्शदाता, मनिष केयर फाउन्डेसन

 

(लेखकद्धय पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत मेथाडोन कार्यक्रममा कार्यारत छन ।)

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस