लेख / ब्लग / अन्य प्रकाशन / समाचार

बच्चा अत्यन्त चकचके हुनु रोग पनि हुनसक्छ

Posted Date: 2013-08-29

- डा. रितेश थापा

मानसिक रोगको बारेमा जनचेतना नफैलिसकेको अवस्थामा बच्चामा मानसिक रोग / मनोरोग हुन्छ भन्दा अचम्म लाग्नु स्वभाविक हो । कतिपय बाबुआमालाई तपाईको बच्चालाई एकपल्ट मानसिक रोग विशेषज्ञलाई देखाउनुस् भन्दा आँखा तरेर हेर्छन, कत्तिले त डाक्टरलाई गाली गर्ने बेर लगाउदैनन् । त्यसैले कतिपय डाक्टरहरु यस्तो सल्लाह दिन पनि हिच्किचाउछन ।

यो लेखको उद्देश्य बच्चामा पनि मानसिक रोग हुन्छ र ती रोगहरु मध्ये एक Attention Deficit Hyperactivity Disorder (ADHD) को बारेमा जनकारी दिनु हो ।

के हो ADHD?

सुन्दा अचम्म लाग्ने नाम गाह्रो र लामो भएकोले यस्तो पनि रोग हुन्छ र भन्ने लाग्न सक्छ । तर यो रोग बच्चामा पाइने मानसिक रोग हो । नाम अनुरुप यस रोगमा बच्चाको ध्यान दिनसक्ने क्षमता कम हुन्छ भने ऊ अत्यधिक छटपटे या चकचके हुन्छ, जसले गर्दा उसको पढाइ, खेलकुद र सामाजिकरणमा खलल पुग्छ । भनिन्छ स्कूले केटाकेटी मध्य यो रोग ३–७ प्रतिशत मा पाईन्छ । विकसित शहर र मुलुकहरुमा यो रोग अझै धेरै पाइन्छ (१०–१५ प्रतिशत) ।

छुकछुक गर्ने हुदैमा झगडा गर्दैमा र स्कुलमा ध्यान दिएर नपढ्ढैमा यो रोग लागेको हो की भनेर डराउनु पर्दैन । बुझ्नु पर्ने कुरा के हो भने कोही बच्चाहरु उमेर अनुसार अलि अलि चक्चके हुन्छन्, नयाँ कुरा जान्ने उत्सुक्ताले गर्दा अस्थिर पनि देखिन सक्छन र कोहि चाहिं अन्य कारणले पढाइमा कमजोर हुन्छन् । चकचके हुनु उमेर अनुसार हुने सामान्य व्यवहार पनि हुन सक्छ । तर समय सापेक्ष र उमेर अनुसारको व्यवहार गर्न नसक्नु वा अन्य बच्चाहरु भन्दा निकै फरक व्यवहार गर्नु सामान्य नहुन सक्छ।

यस रोगका लक्षणहरु के के हुन् ?

कुनै पनि कुरा / कामबाट छिट्टै ध्यान हटाइहाल्ने (Attention Deficit), धेरै छुकछुक गर्ने (अस्थिरता), धैर्यताको कमी, आवेगशिलता (झुवाट्ट गरिहाल्ने वा Impulsivity) र अती फुर्तिलोपन (Hyperactivity) यस रोगका मुख्य लक्षणहरु हुन् । सरल भाषामा भन्नु पर्दा यस यस रोग लागेका बच्चाहरु एक ठाउँमा बस्न सक्दैनन्, कुनै पनि काम मन लगाएर धेरै समय गर्न सक्दैनन्, उनीहरुमा धैर्य गर्ने क्षमता असाध्यै कम हुन्छ र धेरै समय नै अस्थिर हुन्छन् । यस्तो प्रकारको व्यवहार उनीहरु घरमा मात्रै हैन स्कुलमा या अन्य ठाउँमा पनि देखाउछन् । स्कुलमा पनि एक ठाउँमा चुप लागेर नबस्ने, दिएको पाठ नगर्ने र एकाग्र भएर पढ्न पनि सक्दैनन् । यस्तो गर्नाले उनीहरुको पढाई र व्यक्तिगत जीवन दुबैमा नकारात्मक असर पर्न जान्छ ।

ध्यानको कमी र अस्थिरताले गर्दा आफुलाई दिएको जिम्मेवारी बहन गर्न नसक्नु यो रोगको अर्को लक्षण हो, जसको असर उनीहरुको सम्बन्ध गांस्न सक्ने क्षमतामा पनि पर्छ र उनीहरुलाई परिवार मात्र होइन साथी भाइहरुसंग पनि सम्बन्ध कायम गर्न गाह्रो हुन्छ । यो समस्यालाई समयमै पहिचान गरि उपचार नगरेमा उनीहरुलाई आफूलाई कसैले पनि बुभ्mन नचाहेको भन्ने अनुभूति हुनसक्छ । त्यस्तो भएमा पछि गएर उनीहरुमा रिस पनि बढी उठ्ने हुन्छ, सानो कुरामा धेरै झगडा गर्ने, चिच्याउने आफुभन्दा अग्रजहरु सँग अभद्र व्यवहार गर्ने गर्नाले बाबु, आमालाई साह्रै नै पिरोल्ने जस्ता समस्याहरु पनि देखा पर्न सक्छ ।

ध्यान दिन गाह्रो हुने समस्याले उनीहरुमा सानो सानो कुराहरु बिर्सिने बानी पनि हुन सक्छ । यहाँ बुभ्mनुपर्ने कुरा के हो भने यो बिर्सिने रोग चाँही होइन । हतपते बानीले गर्दा दुर्घटनाहरु भएर चोटपटक समेत लाग्ने समस्या समेत हुन सक्छ ।

बाबु, आमा या स्कुलमा मास्टरहरुलाई उनीहरु मथि नियन्त्रण राख्ने हाम्ये हाम्ये पर्छ । कडा ADHD मा स्कुलबाट पनि धेरै गुनासोहरु आइरहन्छन् जसले गर्दा त कसै कसैलाई स्कुल छोड्नु पर्ने समेत हुन्छ ।

बिज्ञहरु भन्छन् यो रोगको लक्षणहरु धेरै सानो छँदा देखा पर्न थाल्दछ । बच्चामा आमाको दुध खाँदा देखिनै केही लक्षणहरु देखिन्छन् जस्तै दुध खाँदा धेरै रुने, झगडा गर्ने फकाउन निकै गाह्रो हुने कम हाँस्ने, कम बोल्ने, दिसा पिसाब गर्न सिकाउन पनि गाह्रो हुने आदि ।

यस्तो रोगको उपचार हुन्छ त ?

ADHD को उपचार मुख्य दुई प्रकारले गरिन्छ ।

१. औषधी मार्फत

२. काउन्सिलिंग या परामर्शद्धारा

मेथाइलफेनिडेट (Methylphenidate), डेक्सएम्फेटामिन (Dexamphetamine) र एटोमोक्सेटिन (Atomoxetine) यस रोगमा प्रयोग हुने तीन मुख्य औषधी हुन । यस बाहेक पनि अरु थुप्रै औषधी प्रयोग गर्न सकिन्छ र यस बारे संसारमा थुप्रै अनुसन्धानहरु भइरहेका छन् । अक्रो तरिका हो मानसिक रोग /  मनोविज्ञसंग परामर्श (Psychotherapuy) द्धारा गर्ने उपचार, जसमा मुख्यतया व्यबहार परिवर्तन गराउने तरिकाहरु सिकाइन्छ । कम कडा समस्याहरुमा व्यबहार परिवर्तन गराउने तरिकाहरु द्धारा उपचार गर्दा राम्रो हुन्छ । बच्चाहरुको स्वास्थ्यको कुरा भएकोले बाबुआमाको इच्छा र धारणाले ठूलो महत्व राख्छ । कडा ADHD भएपनि बाबुआमाको औसधिको प्रयोगमा सहमति छैन भने व्यबहार परिवर्तन गराउने तरिकाहरु नै प्रयोग गरिन्छ ।

अन्य जान्नु पर्ने कुराहरु

बेलैमा ध्यान पु¥याउन सके बच्चाको भविष्य उज्जवल बनाउन सकिन्छ किन भने यो रोगको उपचार समयमै नगर्नाले भविष्यमा अरु मानसिक रोग थपिदै जाने सम्भावना लाई हामी नकार्न सक्दैनौ ।

हुनत Internet मा यो रोगबारे खोजि गर्नुभयो भने बिभिन्न थरिका बिचारहरु भेटनुहुने छ । यो रोगलाई रोग नै होइन भन्नेको जमात पनि ठूलो छ । तर धेरै अनुसन्धानहरुले यो रोगको उपस्थिति भेटाएका छन् र समयमै उपचार नगरेमा यी बच्चाहरु पछि गएर माथि बर्णन गरिएजस्तै उद्दण्ड स्वभावका हुन सक्छन् ।

हुनत यो रोगलाई विकसित राष्ट्रको रोग भन्नेहरु पनि छन् । अनुसन्धानहरुले चाहिं यो समस्याको उपस्थिति भिन्न भिन्न समुदायमा रहेको देखाएका छन् ।

 

- लेखक  नेसनल  मेडिकल कलेज बिरगंजका   एम. डि. (Psychiatry) का विद्यार्थी हुन ।

 

Edited by Dr Anupam Pokharel

 

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस