लेख / ब्लग / अन्य प्रकाशन / समाचार

बाल यौन दुर्व्यबहारको मनोबैज्ञानिक असर

Posted Date: 2013-07-08

बालबालिकामा हुने बलात्कार केही दिन विराएर छापामा पढिने विषय हो । बलात्कार यौन दुव्र्यवहारको चरम रुप हो । यसवाहेक अन्य धेरै प्रकारका यौन दुर्व्यबहार हुन्छन्, जुन वास्तवमा चर्चामै आउदैनन् । लाग्छ– समाजले बलात्कार बाहेकको यौन दुव्र्यवहारलाई पचाइसकेको छ । बलात्कारको समाचारमा बेलाबेलामा अपराधी पक्राउ परेको त सुनिन्छ, तर बलात्कृत बालबालिकालाई त्यो दुर्घटनाको असर के कस्तो प्रकारले पर्ला, फेरि त्यो बलात्कारीलाई भेट्दा उसमा कस्तो मानसिक असर पर्ला, उसको व्यक्तित्व विकास र मानसिक संरचनामा कस्तो आघात पर्ला भन्नेबारेमा कम नै चर्चा हुन्छ । यसबारेमा हाम्रो समाजमा खुला वहश हुन जरुरी छ– कारण, हरेक ५ मध्ये १ बालिका र हरेक १० मध्ये १ बालकमा कुनै न कुनै यौन दुव्र्यवहार भएको विश्वभरिका तथ्याङ्कले देखाएका छन् ।

यौन दुर्व्यबहारको तत्कालिक असरहरू

१. डर :  यौन दुर्व्यबहार गर्ने व्यक्तिले उक्त बालक वा बालिकालाई विभिन्न प्रकारले लोभ, डर र ग्लानीको माध्यमले वशमा पार्न खोज्छ – ‘भनेमा यसो गरिदिन्छु’, ‘भनेनौ भने म तिमीलाई फलानो कुरा किन्दिन्छु’, इत्यादी जस्ता कुरा भनेको धेरै उदाहरणहरू पाइन्छ । यस अवस्थामा उक्त बच्चा– मैले भने भने उल्टै गालि गर्ने पो हुन कि भनि सोच्न पुग्दछ । दुर्भाग्यवश– आमाले आफ्ना सन्तानलाई, ‘यो कुरा कसैलाई नभन्नु’, भनी लोकलाजको कारणले भनेको पनि बेलामौकामा सुनिन्छ । यसले गर्दा उक्त बच्चामा फेरि यो कुरा बाहिर ल्याउने आट आउदैन ।

२. असहाय अनुभूति : जब बालकले मेरो कुरा कसैले पत्याउदैन भन्ने सोच्छ या उल्टै मैले नै गालि खानुपर्छ भनेर सोच्छ । प्रष्ट छ यस्तो अवपस्थामा उसले असहाय अनुभव गर्छ ।

३. ग्लानि र लाजः यौन दुव्र्यवहार पश्चात कतिपय बाल/बालिका आफैंलाई दोष दिन पुग्दछन् । उनीहरू आफैंले गर्दा वयस्क मानिस ऊ तिर आकर्षित भएर आएको भन्ने पनि सोच्न पुग्दछन् । जब आमाबाबु या अन्य ठूला मानिसले  ‘तँ त्यहा किन गएको थिइस ?’ भन्ने गालियुक्त प्रश्न गर्छन, त्यतिबेला उसले आफूमाथि परेको दुव्र्यवहार भन्नु भन्दा चूप लागेर आशु झार्दै– ‘मैले भनेको कसले पो सुन्छ र, मेरै गल्ती होला’ भनी सोच्न थाल्छ ।

४. एक्लोपनाः यस्ता बाल/बालिका अन्य बालबालिका भन्दा आफूलाई फरक ठान्दछन् । त्यस्तै आफूमाथि परेको कुरा लुकाउनुपर्ने मानसिक दबाबले अन्य साथीसंगीबाट विस्तारै एक्लिन सक्छन् । आफ्नो कुरा नसुने जस्तो लागेमा या कुरा गर्ने मौका नपाएको जस्तो लागेमा त्यस्ता बाल/बालिका आफ्नो बाबुआमाबाट पनि विस्तारै टाढिन्छ ।

५. रिष : आफूमाथि दुव्र्यहार गर्नेप्रति रिष उठ्नु स्वभाविक हो । तर, यस्तो व्यक्ति निकै शक्तिशाली हुने हुँदा दुव्र्यहार भएको बाल/बालिकाको रिष थुप्रैतिर मोडिन सक्छ– आफ्ना बाबुआमा, दाजु/दिदी, भाइ/वहिनी या आफैप्रति पनि यस्ता बालकहरू रिसाउने हुन्छन् ।

६. उदासीपनाः यस्ता बालकहरूको अनुहारमा खुशी कम देखिन्छ, विशेषगरी यदि दुव्र्यवहार गर्ने मानिस बालकको आफन्त या परिवारको विश्वासिलो मानिस भएको अवस्थामा । यसको साथै उनीहरूमा भावनात्मक उथलपुथल (Mood Swings) पनि देखिन्छ । कति बालकहरू त आत्महत्याको कुरा पनि गर्न थाल्दछन् ।

६. डरलाग्दो सपनाहरुः यस्ता बाल/बालिका निद्रामा एक्कासी डराएर उठ्ने, कहाली लाग्दो सपना देख्ने र कहिलेकाही त यौन दुव्र्यहार त्यही बेला नै भएजस्तो गरी एकदमै आत्तिने हुन सक्दछन् ।

 

यौन दुर्व्यबहारका दुरगामी असरहरू

यौन दुव्र्यहारबाट पिडित बाल/बालिकालाई उपयुक्त काउन्सिलिंग (परामर्श) नभएमा बिभिन्न दुरगामी असरहरू उत्पन्न हुन सक्दछन् । यी असरहरू कहिलेकाहिं त महिनौ मात्र होइन, बर्षौं पछि पनि उत्पन्न हुन्छन् । परिवारको विश्वासप्राप्त या हाडनाताको व्यक्तिबाट भएको यौन दुव्र्यहारले झन बढि मानसिक असर गर्दछ ।

यौन दुव्र्यहारले गर्दा हुनसक्ने दुरगामी असरहरू निम्नाअनुसार छन् -

१. डिप्रेसन, आत्तिने रोग र निद्राका समस्याहरू

२. आत्मविश्वासमा कमी

३. आत्मग्लानी

४. अरुप्रति विश्वास गर्न नसक्नु ।

५. तनावको बेलामा आफूलाई हानी गर्ने कुरा गर्नु, अत्यधिक रक्सी खानु, बढि मात्रामा औषधी खानु, ब्लेड या चक्कुले आफ्नो हातखुट्टा काट्नु, आत्महत्याको प्रयास गर्नु  ।

६. आफू राम्रो बाबु/आमा हुन्छु भन्नेमा विश्वास नगर्नु, आफूले पनि आफ्ना सन्तानलाई हानी गर्ने हुँ कि भनि चिन्तित हुनु ।

७. एक्कासी पहिलेको दुव्र्यवहार झल्यास्स मानसपटलमा आउनु । यौन दुव्र्यवहार तथा ठूलो मानसिक पीडाले एक विशेष प्रकारको मानसिक रोग उत्पन्न गर्न सक्दछ्– जसलाई PTSD (Post Traumatic Stress Disorder) भनिन्छ ।

 

अभिभावकहरूलाई सल्लाह

१. माथिका लक्षणहरू तपाईंको बच्चामा देखियो भन्दैमा यौन दुर्व्यबहार नै भएछ भनि चिन्ता गरिहाल्नु पर्दैन । धेरै प्रकारका तनावले यी लक्षणहरू देखिन सक्दछन् । तर एक्कासी बानी परिवर्तन भएको देखिएमा या माथिको लक्षणहरू देखापरेमा के भएको हो भनेर सोधखोज गर्नुहोस ।

२. कुनैपनि हालतमा आफ्नो बच्चालाई दोष नदिनुहोस । जस्तै ‘त“ त्यहा किन गएको थिइस त ?” भनि तपाईंको मुखमा प्रश्न आउन सक्छ । यस्तो प्रश्न कुनै अरु दिनको लागि राख्नुहोला । तत्कालै यस्तो प्रश्न गरेर तपाईंको रीस र जिज्ञासा मात्र शान्त होला, तर दुव्र्यवहारको शिकार बाल/बालिकाकालाई यस्तो प्रश्नले घाउमा नुन छर्के झैं हुन्छ ।

३. एकपटक सोध्दैमा डराएको बच्चाले आफूमा भएको घटना नभन्न सक्छ । उसलाई तपाईंसग खुल्ने वातावरण बनाउनुहोस । उसलाई विश्वास दिलाउनुहोस कि उसको भलाइ तपाईको प्राथमिकता हो ।

४. जहिले पनि आफ्नो सन्तानको मानसिक स्वास्थ्य र भविष्यलाई परिवारको इज्जत या अरू कसैस“गको नाता सम्बन्ध भन्दा अगाडि राख्नुहोस् ।

५. आफ्नो सन्तानलाई सान्त्वना मात्र होइन, सुरक्षाको प्रत्याभूति पनि दिनुहोस ।

६. यदि तपाईंको नजिकको र विश्वास गरेको मानिसले दुव्र्यवहार गरेको रहेछ भने  ‘मैले गलत मानिस लाई विश्वास गरेछु’ भनेर आफ्नो सन्तानलाई भन्नुहोस् । यसले तपाईंलाई आफ्नो सन्तानको विश्वास पुन प्राप्त गर्न मद्दत मिल्छ ।

७. यौन दुर्व्यबहारको तत्कालिक तथा दुरगामी असरहरूमा मनोविज्ञ (Psychologist) को सल्लाह धेरै उपयोगि हुन्छ । यदि लक्षणहरू कडा भएमा (जस्तै – डिप्रेसन, आत्तिने रोग, खाना नखाने, मर्न खोज्ने भएमा) मानसिक रोग विज्ञ चिकित्सक (Psychiatrist) को सल्लाह जरूरी हुन्छ ।

वाल यौन दुर्व्यबहारको कानुनि पक्षको चर्चा छुट्टै लेखको बिषय हुन सक्दछ ।

 

लेखक:  डा अनुपम पोखरेल, मेलबर्न, अष्ट्रेलिया  पिपलबोट अस्ट्रेलियामा ८ जुलाई २०१३ मा प्रकाशित

सम्बन्धित लेख: बढ्दो यौनजन्य हिंसा – मनोसामाजिक दृष्टिकोण

 

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस