लेख / ब्लग / अन्य प्रकाशन / समाचार

मध्यपानजनित समस्या – चुनौती र समाधान

Posted Date: 2013-07-15

लेखक: डा अजय रिसाल, मानसिक रोग विशेषज्ञ, धुलिखेल अस्पताल

 

‘डाक्टरसाब !  मेरो श्रीमान्लाई जसरी पनि बचाइदिनुप¥यो ………’, एउटा चिरपरिचित झैं लाग्ने स्वर मेरो कानमा प¥यो । एउटी २२ वर्षे विवाहित युवती मेरो ओपिडीको ढोकाअगाडि थिइन् । उनका २६ वर्षीय श्रीमान्, एक मिनीबस चालक, जसको मद्यपानजन्य मानसिक समस्याको बिगत ३ वर्षदेखि मैले उपचार गरिरहेको थिएँ । उपचारको क्रममा तिनले पूर्णरुपमा रक्सीसेवन छाडिसकेका पनि थिए तर ४ महिनादेखि तिनी सम्पर्कमा भने आएका थिएनन् । तीन महिनादेखि तिनले हाम्रो सल्लाहानुसार प्राप्त औषधिहरु छाडिसकेका रहेछन् र पुनः मद्यपानमा उद्यत भएर बिहानैदेखि पिउन थालेछन् । अहिले भने मद्यपान गरेर गाडी चलाउँदा दुर्घटना हुनगई अचेतावस्थामा आकस्मिक कक्ष पु¥याइएका रहेछन् ।

उपरोक्त घटनाले मद्यपानका बहुपक्षीय समस्याहरुलाई उजागर गराउँदछ । अत्याधिक मद्यपान वास्तवमा एक मानसिक रोग नै हो, यसका स्वास्थ्यजनित अवयवहरु भने अनेकौं छन् । विश्व स्वास्थ्य संगठनको सन् २००१ एवं २००४ का सर्भेक्षणहरुले विश्वको कूल जनसंख्याको ८० प्रतिशत कुनै न कुनै बहानामा मद्यपानतिर उन्मुख भएको आँकलन गरेका छन् , जसमध्ये ५–१० प्रतिशतलाई मद्यपानजन्य रोगहरुले आक्रान्त नै पारेको देखिन्छ । सन् १९९३ को विश्व विकास तथ्यांकले त मद्यपानजन्य समस्याले विश्वव्यापी रोगको २ प्रतिशत अनुपात ओगटेको जनाएको थियो, बिगत २ दशकयता त्यो दरमा अझै वृद्धि नै भइरहेको छ । त्यस्तै अस्पतालमा भर्ना भएका पुरुषहरुमध्ये एक तिहाइमा अनि दुर्घटना भई आकस्मिक कक्षमा ल्याइपु¥याइएका रोगीहरुमध्ये ४० प्रतिशतमा  मद्यपानजन्य समस्या पाइएको अध्ययनहरुले दर्शाएका छन् । ‘सिरोसिस’ नामक कलेजोको रोग त मद्यपानमा अभ्यस्तहरुमा १०–१५ प्रतिशतकै अनुपातमा पाइएको छ ।

‘मद्यपान’ केवल व्यवहारजन्य या स्वभावजन्य समस्यामात्र होइन , न त यो केवल धार्मिक या सांस्कृतिक दृष्टिकोणले हेर्न सकिने ‘खराब बानी’मात्रै हो । ‘जातले पाएको’ यॉमतवाली’ समुदायमा मात्र व्याप्त छैन यो । अचेल त किशोरहरु, महिलाहरु एवं ठूलाठालु–धनीमानी समाजमा समेत व्यापक रुपमा फैलिएको छ यो रोग । सन् २००६ मा बैंग्लोरमा गरिएको सामाजिक सर्भेक्षण होस् या २००३ मा मानसिक रोगीहरुमाझ नेपालमै भएको अध्ययन होस्, दुवै शोधकार्यका रिपोर्टहरुले ‘दक्षिणपूर्वी एशियाली राष्ट्रहरुमा मद्यपानजन्य समस्या महामारी झैं फैलिएको’ भन्ने अन्य अध्ययनका तथ्यांकहरुलाई नै पुष्ट्याएका छन् । २–१० प्रतिशत मानसिक रोगीहरुको अस्पताल भर्ती मद्यपानजन्य समस्याका कारण नै हुने गर्दछ किनभने रक्सी छोड्ने र पुनः शुरुवात गर्ने‘ प्रक्रिया मद्यपानजन्य रोगको एक लक्षण नै हो ।

जैविक एवं आनुवंशिक अध्ययनहरुले यो समस्या पारिवारिक सदस्यहरुमाझ व्याप्त हुनसक्ने तथ्य प्रमाणित गरिसकेका छन् । त्यस्तै, रासायनिक तत्वहरु (न्यूरोट्रान्स्मिटर, हर्मोनहरु) एवं मस्तिष्कका केही भागहरु पनि यसका लागि जिम्मेवार रहने कुरा पनि प्रकाशमा आइसकेका छन् । मनोसामाजिक कोणबाट विश्लेषण गर्दा बाल्यावस्थादेखिकै पारिवारिक प्रभावले व्यक्तित्व निर्माणमा पारेको असर, साथीसँगीबीचको रहनसहन एवं संस्कृतिको प्रभाव, कार्यस्थल एवं सहकर्मीहरुसँगको सामाजिक जमघट अनि डिप्रेसन, म्यानिया, एङ्गजाइटी आदिजस्ता मानसिक रोगहरुले खेल्ने भूमिकालाई समेत दृष्टिगोचर गर्नुपर्ने हुन्छ ।

यस्ता चुनौतीहरुको चाङ्ग बोकेको मद्यपानजन्य समस्याहरुको समाधान के त ? माथिका बहुपक्षीय कारकतत्वहरुलाई मध्यनजर गर्दा समष्टीगत प्रयासबाट मात्र यी समस्याहरुको हल निकाल्न सकिन्छ । अहिले शहर–शहर, गल्ली–गल्लीमा खुलेका पुनस्र्थापना केन्द्रहरुले के यी सब पक्षहरुमा ध्यान पु¥याएका छन् त ?

मनोचिकित्सक, मनोविश्लेषक, मनोवैज्ञानिक सामाजिक कार्यकर्ता, फिजिसियन एवं नर्सहरुको टोलीको सामूहिक प्रयासद्वारा यसमा अन्तर्निहित स्वास्थ्य समस्याको निराकरण गर्न सकिन्छ । धार्मिक व्यक्तित्वहरु (पूजारी , पादरी आदि) को यसको उपचारमा उल्लेखनीय भूमिका हुनसक्छ भन्ने कुरा  ’एल्कोहोलिक एनोनिमस’ नामक अभियानले पश्चिमी राष्ट्रहरुमा पाएको लोकप्रियता एवं सफलताले नै पुष्टी गर्दछ । त्यस्तै राजनीतिकर्मी एवं सुरक्षा अंगहरुको यसको नियन्त्रणमा रहने भूमिका हाम्रै देशमा चालिएको ‘मापसे अभियान’का कारण मद्यपानजन्य हिंसा एवं दुर्घटनामा आएको उल्लेखनीय न्यूनताले नै दर्शाउँदैन र ?

अतः मद्यपानका यावत् चुनौतीहरुसँग मुकाबिला गर्दै यसका समस्याहरुको समाधानका लागि मनोवैज्ञानिक, चिकित्सकीय, राजनैतिक, प्राज्ञिक, पारिवारिक एवं सामाजिक सबै पक्षहरुले हातेमालो गरी अगाडि बढ्नुको विकल्प छैन ।

 

रक्सीको कडा लतको परिणाम र उपचार सम्बन्धी केही थप् जानकारी

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस