डिप्रेसन (Depression)

Depressionबेलामौकामा दिक्क जसलाई पनि लाग्छ । उदास पार्ने घटना जसको जिन्दगीमा पनि घटन् सक्दछ । भनाइ नै छ, चिन्ता नहुने त मान्छे नै हुदैन । तर सीमा जे कुराको पनि हुन्छ । तीव्रता होस् या समयावधि,उदसिपनाले निश्चित सीमा नाघेपछि चाहिं त्यसलाई सामान्य अवस्था मान्न सकिंदैन । जब दिक्दारीपना या उदासी लगातार केही हप्तासम्म रहिरहन्छ, जब उक्त व्यक्तिमा जाँगर नहुने, अल्छी लागिरहने, नकारात्मक सोचाइ मात्र दिमागमा आउने, जिउ भारी भइरहने, निद्रा खराब हुने, खाना नरुच्ने आदि विभिन्न लक्षणहरूमध्ये कमसेकम तीन चारवटा लक्षण पनि हुन्छन् र जब यी लक्षणहरूले व्यक्तिको दिनचर्यामा समेत खलल पुर्याउन थाल्दछन्, त्यस अवस्थामा उक्त व्यक्ति उदासिपनाको रोग वा सामान्य बोलिचालीको भाषामा डिप्रेसन (Depression) बाट पीडित भएको शँका गर्नुपर्ने हुन्छ । डिप्रेसन (Depression) बाट पीडित विभिन्न मानिसहरूमा लक्षणको समीकरण फरक फरक हुनुको साथै भएका लक्षणहरू पनि फरक फरक तीव्रताका हुन सक्दछन् । तसर्थ पीडित व्यक्तिहरूमा उनीहरूको लक्षणहरूमाझ एकरूपता नभेटिन पनि सक्छ ।

डिप्रेसन एक प्रकारको मानसिक रोग हो। यसले पीडित व्यक्तिको व्यवहारमा फरक ल्याउनुको साथसाथै शारीरिक तथा मानसिक पीडा पनि हुने हुन्छ । यसको कारणले पीडित व्यक्तिको दैनिक क्रियाकलाप, पढाइ तथा निर्णय लिनसक्ने क्षमतामा ह्रास आउने हुन्छ । सुरुसुरुमा पीडित व्यक्तिमा त्यति धेरै नकारात्मक विचारहरू नआउलान् । तर चाँडै पहिचान नगरिएमा बिस्तारै बिस्तारै नकारात्मक विचारले प्रभुत्व जमाउँछन् । केही गर्न सक्दिन जस्तो लाग्ने, जे गरे पनि सफल हुन्न र भविष्य पनि अन्धकार छ जस्तो लाग्ने डिप्रेसनबाट पीडित ब्यक्तिमा पाइने नकारत्मक सोचका उदाहरण हुन् । क्रमिक रूपले जिन्दगी नै बेकार भएजस्तो लाग्ने र त्यसपछि आ अब त काल आइदिए हुन्थ्यो जस्तो लाग्ने पनि हुन जान्छ। रोगको तीव्रता बढ्दै गएमा मार्ने चाहना उत्पन्न हनु थाल्छ र चरमसीमा आत्महत्यासम्म पुग्न सक्छ । विश्वव्यापी रूपमा, त्यसमा पनि आप्रवासी कामदारहरूमा बढदै आत्महत्याको दर् ले यस को प्रमुख कारण दिप्रेसन पनि बढ्दै गएको सूचित गर्दछ ।

सन् १९९० मा विश्व बैङ्क तथा विश्व स्वास्थ्य संगठनले गरेका अध्ययनमा मानवजातिलाई पिरोल्ने रोगहरूमध्ये डिप्रेसन चौथो भएको तथ्य भएको पत्ता लागेको थियो । सन् २०२० सम्ममा डिप्रेसन यस परिप्रेक्ष् मा दोस्रो हुने अनुमान गरिएको छा । तर यहाँ बझ्नु पार्ने कुरा के पनि छा भने यस स्थितिको पछाडि डिप्रेसन एउटा रोग हुनु मात्र कारण होईन । रोग पहिचान नै नहनु, डिप्रेसनलाई नातागत या अन्य रोग हरू सम्झरे सही उपचार नहनु र डिप्रेसन भनेर भनरे पहिचान भए तापनि उचित प्रकार र समयावधिसम्म उपचार नहुनु ले यसको जटिलता झन बढेको हो । डिप्रेसन चिन्नको लागि सबैभन्दा पहिले यस प्रकारको रोग पनि हुन्छ भन्ने जानकारी हुनुपर्दछ । यसका साथै यस रोगका लक्षणहरूको बारेमा धेरेथोर जानकारी भएमा पहिचान गर्न अझ सजिलो हुन्छ ।

पहिचान को अर्को पक्ष पनि छ । धेरैजसो व्यक्तिहरू आफू मा आएको परिवर्तन महसुस गर्न सक्दछन् । तर रोगको असरले केही व्यक्तिहरूलाई सोच्न गाह्रो हुन्छ र सोचाइ पहिलेको जस्तो प्रस्ट नभएको अवस्थामा उसलाई आफ्ना लक्षणहरू चिन्न त्यति सजिलो हुदैन । साथीभाइ तथा नजिकका व्यक्तिहरूले ध्यान दिएमा रोग चिनिन मद्दत पुग्छ ।

बच्चाहरूमा पनि डिप्रेसन हुन्छ । तर उनीहरूमा भएका डिप्रेसनका लक्षणहरू बयस्कहरूको भन्दा फरक हुन सक्दछ । डिप्रेसन लक्षणहरू बच्चाहरूमा विभिन्न शारीरिक तथा व्यावहारिक समस्याहरूको रूपमा प्रकट हुन सक्दछ । डिप्रेसनको सही पहिचान तथा निदान नभएमा यी बालबालिकाको व्यक्तित्व विकासमा नराम्रो असर पुग्न सक्दछ ।

उपचार

डिप्रेसनको उपचार छ । झण्ड ९० प्रतिसत सम्म, जस्तो  सुकै कडा भए पनि डिप्रेसन लाई उपचार गर्न सकिन्छ । कतिपय मानिसहरूमा डिप्रेसन पूर्ण रुपमा निर्मूल गर्न सकिन्छ त कतिपयलाई निकै हदसम्म लक्षणहरू हटाउन सहायता गर्न सकिन्छ । औषधि उपचार तथा मनोबैज्ञानिक पद्धतिद्वारा उपचार नेपालमा उपलब्ध छ । डिप्रेसन ठीक पार्न मानसिक रोग विशेषज्ञ लाई नै संपर्क गर्नु पार्छ भन्ने छैन् । मानसिक रोगको उपचारमा अनुभवी  सामान्य चिकित्सक, मनोबिज्ञ र मानसिक स्वास्थ मा तालिम् प्राप्त अन्य स्वास्थकर्मीहरुद्वारा  कम तिब्रताको डिप्रेसनको उपचार सम्भव छ । तर डिप्रेसन बढी कडा भएमा, आफ्नो हेर बिचार  गर्न नसक्ने अवस्थामा भएमा या आत्महत्या गर्ने सोच उत्पन्न भएमा मानसिक रोग विशेषज्ञको सहायता आवश्यक हुन्छ ।  डिप्रेसन मन कमजोर भएर या आफ्नो मन् लाई वशमा राख्न नसकेर भएको  होईन भन्ने बुझ्नु जरूरी छ । डिप्रेसन भएका व्यक्तिहरूको दिमागको विभिन्न भागमा भएका रसायनिक गडबडीबाट पनि यो रोग हो भन्न सकिन्छ । तर महत्वपुर्ण कुरा के हो भने यसको उपचार छ । कडा डिप्रेसनमा औषधीको जरूरत हुन्छ । अस्पातलमा भर्ना गर्नु पर्ने पनि हुन सक्छ । कम कडा डिप्रेसन भने मनोबैज्ञानीक उपचार पद्दति (बिशेष प्रकार को काउन्सिलिङ) बाट पनि उपचार गर्न सकिन्छ । उपचार नगरेमा डिप्रेसन को परिणाम घातक हनु सक्दछ । उपचारले धेरै को मुहारमा मुस्कान फर्काएको छ । तपाईंलाई डिप्रेसन भएको छ भने तपाईं पनि फेरि मुस्कुराउन सक्नु हुन्छ ।

डिप्रेसनका प्रमुख लक्षणहरू

  • उदासीपना लगभग सधैं भइरहनु
  • खुशी महसुस गर्न असमर्थ हुनु
  • इच्छाहरू मरेर जानु
  • नकारात्मक र निराशावादी विचार आउनु
  • मर्न मन लाग्नु
  • ध्यान केन्द्रित गर्न गाह्रो हुनु
  • विर्सने बानी भएको महसुस हुनु
  • जिउ भारी हुनु, गल्नु वा दुख्नु
  • टाउको भारी हुनु, गल्नु वा दुख्नु
  • चिडचिडाहट हुनु
  • निद्रा गडबडी हुनु
  • खाना रुची कम हु¬दै जानु
  • यौन इच्छामा कमी आउनु

यी लक्षणमध्ये तीन चार लक्षणहरू लगातार दुई हप्ता वा बढी लगातार वा दिनहुँ रहेमा डिप्रेसन भनरे शंका गर्नुपर्ने हुन्छ ।

डिप्रेसनले गर्दा हुने हानि नोक्सानिहरु

  • उपचारको खर्च
  • काम गर्न नसक्दा हुने आर्थिक नोक्सानी
  • काम गरिहाल्दा पनि पूर्ण क्षमताको प्रयोग गर्न नसक्दा हुने कम क्रियाशीलता
  • अकालमै मृत्यु - आत्महत्या । त्यस्तै  आफ्नो हेर बिचार  नगर्दा पौस्टिक तत्व को कमी भई क्रमिक रूप मा कमजोरी बढ्दै जाँदा सन्क्रमण भएर ।

डिप्रेसनको उपचार

  • कम कडा डिप्रेसनमा काउन्सिलिङ्ग या साइकोथेरापी द्वारा उपचार गर्न सकिन्छ, तर कडापन बढेपछि औषधि को जरुरत हुन्छ ।
  • औषधिहरूले लक्षणहरू नियन्त्रण गर्न कम्तीमा पनि दुई हप्ता लाग्छ ।
  • त्यसैले औषधि सुरु गरेपछि तत्काल सुधार भएन भनेर आत्तिनु हु¬दैन ।
  • औषधि सुरु गरेपछि कसै कसैलाई सुरुमा केही नकारात्मक असर आउ¬छन् । यस्ता धेरैजसो असरहरू प्रायः आफै¬ हराएर जाने हुन्छन्, तर सहन गाह्रो परेमा सम्बन्धित चिकित्सकस¬ग परामर्श लिनुपर्छ ।
  • कुनै कुनै औसधि चाही तपाइलाई उपयुक्त नहुन पनि सक्दछ ।
  • धेरैजसो बिरामीहरू दुई महिनाभित्र लक्षणहरूबाट मुक्त हुन्छन् या डिप्रेसन नियन्त्रणमा आउछ । तर, औषधि नौ महिनादेखि एक वर्ष सम्म सेवन गर्नुपर्छ।
  • बीचैमा औषधि छोडेमा रोग पूर्ण रूपमा बल्झिन सक्छ ।
  • याद राख्नुहोस, औषधिको प्रयोगले डिप्रेसन भएको व्यक्ति केहि हप्ता भित्रै पहिलेको अवस्थाको नजिक पुर्याउन सक्छ । त्यस्तै डिप्रेसन बढेर आत्महत्या गर्न खोज्नेलाई जीवनप्रति सकारात्मक सोच उत्पन्न गराउन सहायता गर्दछ ।

लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस