मेरो अनुभव मेरो यात्रा

मेरो Social Phobia को यात्रा – प्रशान्त, काठमाडौं

Posted Date: 2013-06-27

 

मेरो  Social Phobia कसरी शुरु भयो ?

नमस्कार, मेरो नाम प्रशान्त,  स्थायी ठेगाना स्याङ्जा र हाल म काठमाडौंमा बसोबास गर्छु । मलाई सामाजिक चिन्ता विकृति अर्थात् Social Phobia (क्लिक गर्नुहोस्) ले सताउन थालेको झन्डै १६ वर्ष भयो । मैले ६ वर्षको उमेर देखि नै सामाजिक चिन्ताको अनुभव गरेको सम्झन्छु । त्यसको ४ वर्ष पछि सामाजिक चिन्ता सँगसँगै सामन्यीकृत चिन्ता विकृति अर्थात् Generalized Anxiety Disorder पनि विकसित हुन थाल्यो । त्यसपछि म अझ धेरै चिन्ताको भुमरीमा फस्न पुगे । जति बेला मलाई सामाजिक चिन्ता मात्रै थियो त्यति वेला म आफैलाई मन पर्ने साथीहरू सँग त राम्रो सँग घुलमिल हुन सक्थे तर शिक्षक शिक्षिकाहरूसँग तथा कडा स्वभाव राख्ने मानिसहरूसँग डराउन थाले र जब म मा सामन्यीकृत विकृति पनि म मा विकसित भयो, त्यसपछि प्रत्येक व्यक्ति सँग कुराकानी गर्न गाह्रो पर्न थाल्यो । प्राय मानिसहरूसँग आँखा जुधाउन पनि मुस्किल हुन थाल्यो । म आफैमा कुनै गल्ती भएको अनुभव गर्न थाले । यस्तै तरिकामा म चिन्ता लिएर २२ वर्षसम्म अल्झिदैं बसे ।

उपचारको मिश्रित अनुभव

जब म २२ वर्षको थिए अर्थात् आजभन्दा २ वर्ष अगाडी भाग्यवश मैले एउटा स्वास्थ्य पत्रिका पढ्न पुगे । त्यस पत्रिकामा विषाद अर्थात् Depression सम्बन्धी लेख लेखिएको थियो । पढ्दै जाँदा मसँग त्यसमा लेखिएका प्राय लक्षणहरू मिल्न पुगे र त्यहाँ उपचारको बारेमा पनि लेखिएको थियो । सबै भन्दा उत्तम ध्यान र औषधी सेवन गर्नाले राम्रो हुन्छ भन्ने कुरा थाहा पाइ ध्यान केन्द्र म गएर ध्यान सिके र ध्यान गर्न थाले । करिब एक महिना जति दिनहुँ ध्यान गर्न थाले र केही नतिजा न आएपछि उपचारको लागि अस्पताल गए र त्यहाँ मलाई मनोचिकित्सकले दुई किसिमको औषधि लेखि दिनु भयो । एउटा क्लोनाजिपाम र अर्को मिर्टाजापाइन ती औषधिका नामहरू थिए । ती औषधिको सेवनले म २४ घण्टा त मैले बाक्लो निद्रा मा बिताए, जब म निद्रा बाट ब्यूँझिए र मैले स्वतन्त्र पूर्वक हावामा उडिरहेको अर्थात् आनन्दको अनुभूति गरे, आहा ! क्या मज्जा कसै सँग पनि डर नलाग्ने कस्तो रमाइलो । औषधी सेवन गर्न लागेको दुई महिना पछि क्लोनाजिपाम छुटाउनु पर्छ भनियो र मिर्टाजापाइन मात्र सेवन गर्न जारी राख्नु पर्छ भनियो । त्यस औषधि सेवन गर्न छाडेपछि पुन म पहिले कै स्थिति मा पुगे । म झन् ठूलो चिन्ता र विषादमा फस्न पुगे किनकी अब मेरो उपचार नहुने भयो भनेर । त्यसपछि मैले यसको प्रभावकारी उपचारको लागि इन्टरनेटमा खोजे र मैले त्यहाँ सबैभन्दा राम्रो उपचार वैचारिक व्यवहारिक चिकित्सा पद्धति अर्थात् Cognitive Behavioral Therapy भएको पाए । त्यसपछि म यस चिकित्सा पद्धति खोज्दै मनोवैज्ञानिक तथा मनोचिकित्सकहरुसँग परामर्श लीन पुगे । उनीहरूबाट पनि केही समाधान नपाए पनि हार न मान्दै इन्टरनेटमा यसको उपायहरू खोज्दै गहन अध्ययन गर्न थाले । अन्ततोगत्वा, मैले वैचारिक व्यवहारिक चिकित्सा पद्धति को रणनीतिहरू, तरिकाहरू, र उपायहरू पाउन सफल भए र आफैले गर्न थाले । धैर्य गर्दै र हार नमानि गर्दै जाँदा मैले दुई महिना पछि मैले राम्रो भएको अनुभव गरे । पुरै गरिसकेपछि अहिले करिब ४५% निको भएको अनुभव गरेको छु ।

मैले पढेर र परेर जानें

यस विकृतिबाट पुर्ण रूपमा छुटकारा पाउनको लागि समूहमा थेरापी गर्नु पर्ने कुरा थाहा पाए किनकी यो विकृति समूह सँग सम्बन्धित हुने भएकोले हुनुपर्छ । त्यसै कारणले गर्दा म अहिले समूह निर्माणमा जुटिरहेको छु । समूह अर्थात् Group निर्माण कार्य जटिल देखिए तापनि हार न मान्दै निरन्तर लागि रहने छु । अमेरिकाको तथ्याङ्क अनुसार, यो तेस्रो मानसिक विकृति रहेको(पहिलोमा लागू पदार्थ, दोस्रोमा विषाद) र ७ % मानिसहरूलाई यसले प्रभावित गरेको थाहा पाएपछि मैले आफू र म जस्ता अरू मानिसहरूको सहयोगको लागि हाम्रो समूह बनाउन अठोट गरिरहेको छु । समूह हाम्रो आफ्नै हुनुपर्छ किनकी त्यहाँ राम्रो अनुभव लीनको लागि परीक्षण गर्नु पर्ने हुन्छ जुन कुरा अरू व्यक्तिहरूबाट सम्भव हुँदैन । साँच्चै भन्ने हो भने हामीलाई सहयोग हुने भनेको हाम्रो आफ्नै समूह नै हो किनकी उनीहरूले आफ्नो बारेमा बुझेका हुन्छन् र यस भयानक दुष्चक्रबाट बाहिर निस्कन चाहन्छन् । पछि यस समूहलाई एउटा सङ्घको रूपमा बिस्तार गरि यसबाट भावी पीडितहरूलाई सहयोग गर्न पनि सकिनेछ ।

किन उपचार गर्नु पर्छ ?

यस सामाजिक चिन्ताको कारणले हामीलाई कुनै पनि काम गर्न बाट वञ्चित गराउँछ । यसले हामीलाई अघि बढ्न बाट रोक्छ । यसले हामीलाई अलमल्ल पार्छ । हाम्रो बाटोहरूमा ढुङ्गामुढा तेर्स्याउँछ । हामीलाई नराम्रो भएको जस्तो महसुस गराउँछ । यदि हामी ठीक हुन सक्छौ भने किन हामी अघि नबढ्ने । प्रगतिको बाटोमा जस्तो सुकै बाधाहरू आई परे पनि हामी यस भयानक दुष्चक्रबाट बाहिर निस्कन सक्छौ । यसबाट बाहिर निस्केका धेरै सफलताको उदाहरणहरू छन् त्यसैले हामी पनि सक्छौ । यदि उपचार सम्भव छ भने हामी किन यसमै अल्झिदैं विषादमा जीवन बिताउने ।

म आफ्नो अनुभव बाँड्न चाहन्छु ।

हो, मैले त सामाजिक चिन्ताबाट बाहिर निस्किदैं बाँकी जीवन बिताउन छनौट गर्छु । के तपाइले मलाई साथ दिन चाहनुहुन्छ । यदि तपाइले मलाई साथ दिनु भयो भने तपाई स्वतः यस दुष्चक्रबाट बाहिर निस्कन सक्नुहुन्छ ।
यसले गर्दा मैले पढाई लाई निरन्तरता दिन सकिन, जागिर गुमाउन पुगे । अझ भन्ने हो भने जागिरको नाम सुन्ने बित्तिकै आत्तिन पुग्छु किनकी त्यहाँ मैले राम्रो सँग काम गर्न सक्ने छैन र मलाई अयोग्य देख्नेछन् । एउटा दुष्चक्र यसलाई नै भन्न सकिन्छ । यस्तै दुष्चक्र भएको कारणले यसबाट बाहिर निस्कन सजिलो कार्य नभएको कुरा थाहा पाए र मनोचिकित्सक हरूले पनि भन्ने गर्छन् । यदि हामीले धैर्य राख्दै, उचित थेरापी अनुरूप र प्रयत्नशील हुँदै समूहमा थेरापी गर्यो भने हामी यसबाट अवश्य बाहिर निस्कन सक्छौ, अविवेकी एवं झूटा कुराहरूबाट सधैँको लागि टाढा रहन सक्छौ । यसको लागि विशेष गरेर मनोवैज्ञानिक तथा मनोचिकित्सकहरू, कुनै सम्बन्धित संस्था र इच्छुक समाज सेवकहरूको सहयोगको अपेक्षा गर्छु ।

 

-  आफ्नो अनुभव पठाएर सहयोग गर्नुभएकोमा धेरै धेरै धन्यवाद । तपाईंको अनुभव अरु कसैलाई सुचना र प्रेरणा बन्न सक्छ ।

 

आफ्नो मानसिक समस्याको अनुभव र यात्रा हामी संग साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामी तपाईको गोप्यता कायम राख्छौं । तपाइको सत्यकथा प्राप्त भएपछी उपयुक्त भएमा माथि अपलोड गरिने छ |

More Stories

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस