वर्तमान विश्वका धेरै मुलुकहरूमा आत्महत्यालाई अपराध मानिदैन । यसको मतलब आत्महत्या गर्न स्वतन्त्रता छ भन्ने होइन । यसको अर्थ आत्महत्या गर्नेलाई सजाय दिईदैन भन्ने हो । यस प्रक्रियालाई आत्महत्याको De-criminalization भनिन्छ ।
आत्महत्या कानूनको संक्षिप्त इतिहास
मध्युगीन युरोप आत्महत्या गरी गर्ने प्रति धेरै कठोर थियो । आत्महत्यालाई अपराध र आत्महत्या गर्नेलाई अपराधी मानिने हुनाले ठाउँ पिच्छे भिन्न–भिन्न तरिकाले मृतकलाई सजाय दिइन्थ्यो । कतै यसरी मर्ने मानिसको शवलाई सडकमा घिसार्दै लगेर फोहोर फाल्ने ठाउँमा फालिन्थ्यो भने कतै मृतकको छातीमा लामो किल्ला ठोकेर चौबाटोमा छोडिन्थ्यो । मध्ययुगीन बेलायतमा मृतकको सर्वस्वहरण गरिएको उदाहरण पनि छन् । त्यस्तै मृतकलाई दिनको समयमा गाड्न नदिने कानुन त १८२३ सम्म पनि कायम नै थियो । संसारको धेरै देशले लामो समयसम्म आत्महत्यालाई अपराध मानेपनि सजाय दिने क्रम भने विस्तारै कम हुँदै गयो । हुनत सन् १९५८ मा पनि बेलायतमा आत्महत्याको प्रयास गर्ने एक लिओनेल चर्चिल नाम गरेको व्यक्तिलाई ६ महिनासम्म जेलमा थुनिएको थियो ।
आत्महत्याको De-criminalization के हो ?
विस्तारै विभिन्न देशका कानून निर्माताहरूलाई आत्महत्या कोशिस गर्ने र मरिसकेको मानिसलाई सजाय दिदैमा आत्महत्या घट्दो रहेनछ भन्ने ज्ञान भयो । त्यसपछि क्रमिक रुपले आत्महत्या गर्ने या कोशिस गर्ने मानिसलाई सजाय दिने चलन हराउँदै गयो । आजभोलि प्रायः देशहरूमा यस्तो अवस्थामा सजाय दिने कानूनमा व्यवस्था छैन । यदि कसैले आत्महत्याको प्रयास गरेमा उक्त व्यक्तिलाई स्वास्थ्य केन्द्रको जिम्मा लाउने क्रम बढेर गएको छ । विकसित देशहरूमा आत्महत्या सम्बन्धि कानून वर्तमान समयमा अपराधबाट मानसिक स्वास्थ्य उपचारतर्फ सरेको पाइन्छ । आत्महत्यालाई De-criminalization गरेपनि कसैले आत्महत्या गर्न खोजेको सूचना कसैले सम्बन्धित निकायमा दिएमा पुलिस र एम्बुलेन्स समेतको सहयोगले यस्ता व्यक्तिलाई अस्पतालमा लगेर जांच तथा उपचार गरिन्छ । यदी उक्त व्यक्तिले आत्महत्या गर्ने दृढता देखाएको अवस्थामा वा अस्पतालबाट उक्त व्यक्तिलाई घर पठाएको अवस्थामा आत्महत्या गर्नसक्ने सम्भावना बढी भएको स्वास्थ्यकर्मीलाइ शंका लागेमा चाहिं मानसिक स्वास्थ्य कानुन अन्तर्गत केही समयको लागि उक्त व्यक्तिको सुरक्षाका लागि मानसिक अस्पतालमा भर्ना गर्न सकिने कानूनहरु बनाइएको हुन्छ । यसकारण आत्महत्याको De-criminalization भन्नाले आत्महत्याको कानूनी बन्देज Criminal Justice System बाट हटाई Mental Health System मा सार्नु हो र यस्ता व्यक्तिलाई सजाय होइन सहायता (उपचार) दिनु हो भन्ने बुझ्नु पर्छ ।
भारतको कानून बेलायतको प्रभुत्व हुँदा देखि नै बनेकोले हालसम्म पनि आत्महत्यालाई अपराधकै श्रेणीमा राखिएको थियो । भारतीय कानून अनुसार आत्महत्याको प्रयास गर्नेलाई एक वर्षसम्म थुन्न सकिने व्यवस्था छ । तर हालै आएर भारतमा पनि आत्महत्यालाई मानसिक स्वास्थ्य कानूनको अन्तर्गत राख्ने तयारी हुँदै छ । नेपालमा भने अहिले पनि आत्महत्यालाई आपराध कै श्रेणीमा राखिएको छ ।
आत्महत्या गर्न प्रेरित गर्ने व्यक्ति अपराधि: संसारको धेरै देशमा अरुलाई आत्महत्या गर्न प्रेरित गरेमा सजाय दिने व्यवस्था छ । अस्ट्रेलियाको भिक्टोरियामा एक विशेष कानून अनुरुप यदी कुनै दुईले एकैपटक आत्महत्या गर्ने योजना अनुरुप आत्महत्याको कोशिस गर्दा एकजना बांचेमा बचेको मानिसलाई Manslaughter को अभियोग लाग्न सक्ने व्यवस्था छ ।
Euthanasia: यो पनि एक प्रकारको आत्महत्या नै हो । निको नहुने पीडादायक रोग लागेको अवस्थामा केही युरोपेली देशहरूमा मर्नको लागि अनुमति पाइन्छ र चिकित्सकले मर्नको लागि औषधी दिन्छन् । यो एकदमै विवादस्पद विषय रहेको छ । यसका पक्षपातीहरू व्यक्तिगत स्वतन्त्रता र अधिकारमा जोड दिन्छन् भने विरोधीहरू यसको दुरुपयोग र मर्ने अनुमति पाएर मरेमा फेरि पुनर्विचार गर्ने अवस्था नआउने आदि तर्क दिन्छन् । त्यस्तै कतिपय मर्छु भन्ने व्यक्तिहरू डिप्रेसन आदि रोगले ग्रसित हुने र उक्त मानिसको रोगको उपचार पश्चात मर्छु भन्ने व्यक्तिको विचार परिवर्तन हुनसक्ने अर्को पाटो पनि छ ।
फेरि एकपटक मूल विषयतर्फ लागौं । संसारको धेरै देशहरूको अनुभवले के देखाएको छ भने आत्महत्यालाई अपराध मान्दैमा आत्महत्या कम हुंदैन । बरु आत्महत्या गर्ने व्यक्तिलाई अपराधि मान्दा त्यसले उसको परिवार र सन्तानलाई आफन्त गुमाउनुको पीडामा थप नुन खुर्सानी छर्छ । त्यसैले धेरै देशहरूमा Mental Health Act भन्ने कानून र नियमले आफ्नो हत्या गर्न खोज्नेलाई सजाय दिन होइन उपचार गर्न राज्यलाई बाध्य पार्छ र आत्महत्या गर्न प्रेरित भएको मानिसलाई पनि उपचार प्राप्त गर्न बाध्य पार्छ ।
लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया
पिपलबोट अस्ट्रेलियामा 17-30 September 2013 मा प्रकाशित (Page 21)