लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया
हाम्रो समाजमा मानसिक समस्याहरूको बारेमा जानकारी बिस्तारै बढ्दै छ। क्रमिक रूपले मानसिक समस्याहरूको उपचारमा संलग्न जनशक्तिको संख्या पनि बढ्दो क्रममा छ। यी पक्षहरू परम्परागत रूपले ध्यान नपुगेको तर मानव जातिको स्वास्थ्य दिनचर्यामा निकै नोक्सान पुर्याउने मानसिक रोगहरूको निदानको परिप्रेक्षमा निकै महत्वपुर्ण छन्। यसको फलस्वरूप विभिन्न मानसिक रोगहरुको उपचारको लागि स्वास्थ्यकर्मिसंग सम्पर्क गर्ने प्रबृत्ति बढ्दो छ। तर मानसिक रोगका औषधिहरूको बारेमा उचित र आवश्यक जानकारीको अभावले औषधिहरू सही तरिकाले सही अवधिसम्म प्रयोग नभएका धेरै उदाहरणहरू भेटिएकोले यस सन्दर्भमा जानकारी दिन खोज्नु यस लेखको उद्देश्य हो ।
डिप्रेसनको औषधीको लागि यहां क्लिक गर्नुहोस् । साइकोसिस को औषधी को लागि यहां क्लिक गर्नुहोस् ।
मानसिक रोगको औषधि उपचारको सन्दर्भमा निम्न अन्योलहरू बिरामी तथा अभिभावकहरूमा भेटिएको छ :
केहि मानसिक रोघरुमा लामो समयसम्म औषधि सेवन गर्नुपर्छ त केहीमा छोटो अवधि को लागि मात्र औषधि सेवन गरे पुग्छ। लामो समय भन्नाले महिनौ, बर्सौं या जिन्दगीभरिलार्इ हुन सक्दछ । छोटो समय भन्नाले लक्षणहरू रहुन्जेल केही दिन या हप्तासम्म भन्ने बुझिन्छ । धेरैजसो मानसिक समस्याहरूमा प्रयोग गरिने औषधिहरूको क्रियाकलाप राम्ररी सुरु हुन केही हप्ता लाग्दछ । यसो हुन सक्ने मुख्य कारण मस्तिष्कमा औषधिले आफ्नो वास्तविक काम गर्न केही समय लाग्नु हो । हुन त यी औषधिहरूले कडा मानसिक रोगमा समेत निद्रा तथा छटपटि चाडै नै नियन्त्रण गर्दछन्, तर मुख्य विचार तथा भावनाहरूमा आएको गडबडी नियन्त्रण हुन केही हप्ता नै लाग्दछ । कस्तो प्रकारको मानसिक रोग हो र रोगी व्यक्तिमा औषधि प्रयोग गर्दै जाँदा कस्ता सुधारहरू या असरहरू देखापर्दछन् भन्ने कुराहरूले कति समय औषधि खानुपर्छ भन्ने अनुमान लगाउन सकिन्छ । प्रायजसो पागलपन या अन्य कडा प्रकारका मानसिक रोगहरुमा लामो समय औषधि खानु पर्ने हुन्छ । कम कडा प्रकारका मानसिक रोगहरू जस्तै आत्तिने रोगमा छोटो अवधिमा पनि समस्या समाधान हुन सक्दछ । तर केही पागलपनका समस्याहरूमा एक महिना मात्रै औषधि खाएर पनि रोगी पूर्णरूपमा ठीक हुन सक्दछ र कहिल्यै सो समस्या नबल्झिन सक्दछ । त्यस्तै कम कडा प्रकारका केही मानसिक समस्याहरू औषधिको सेवनपश्चात् ठीक भए तापनि औषधि कम गर्नासाथ समस्या बल्झिने हुनाले निकै लामो समयसम्म र कसैकसैले जीवनभर पनि औषधि सेवन गर्नुपर्ने हुन सक्दछ । त्यसैले औषधि सुरु गरिने मितिमा रोगको प्रकृति अनुसार अन्दाजी यति समय औषधि सेवन गर्नुपर्ला भनेर अनुमान गर्न सकिए तापनि किटान नै गर्न चाही सकिंदैन।
कतिपय मानसिक रोगहरू औषधि उपचारपश्चात् पूर्ण रूपमा ठीक हुन्छन् । तर कतिपय रोगहरू भने उपचार समाप्त भएको केही दिन, हप्ता, महिना या वर्षपछि बल्झिने हुन्छन् । एकपटक बल्झिएपछि पहिलो पटकभन्दा बढी अवधि औषधिको सेवन गर्नुपर्ने हुन्छ । पटकपटक बल्झिएको छ भने सम्भवत जिन्दगीभरि औषधिको सेवन गर्नुपर्ने हुन्छ । औषधिले रोगका लक्षणहरू नियन्त्रण गरेको अवधिभन्दा पनि लामो समयसम्म सेवन गरिरहनुपर्ने हुन्छ। त्यसैले अब प्रश्न आउँछ रोगीले समस्या ठीक भइसकेको अनुभव गरे तापनि किन यति लामो समयसम्म औषधि खाइरहने ? यो वास्तवमा एउटा महत्वपूर्ण प्रश्न हो किनकि यसको सहि कारण थाहा नहुँदा धेरै व्यक्तिहरूले समय अगावै औषधि छोडिदिन्छन्। औषधिहरूले दिमागमा रसायनिक प्रतिक्रिया केही दिनभित्रै सुरु गरिसक्छन् र सूक्ष्म संरचनात्मक परिवर्तनको माध्यमद्वारा केही हप्ताभित्र लक्षणहरूमा असर पुर्याउन थाल्छन् । यसकारण लक्षणहरू बिस्तारै हराउन थाल्दछन् । लक्षणहरू नभएको अवस्था भन्नाले वास्तवमा औषधिहरूले लक्षणहरू दबाएको अवस्था भनेर सुरुका महिनाहरूमा सम्झनु पर्दछ । केही महिनापछि बिस्तारै मष्तिस्का कोषहरुको संरचाना पहिलेको जस्तै हुने हुँदा त्यसपछि मात्रै बिस्तारै औषधि हटाउने कोसिस गर्न सकिन्छ । औषधि कहिल्यै पनि एक्कासि हटाउनु हुँदैन । केहि मानसिक रोगमा भने एकपटक परिवतिर्त अवस्थामा पुगेका मस्तिष्कका कोषहरुको संरचना पहिलेको स्थितिमा नआउने हुँदा लक्षणहरूलाई दबाइराख्न औषधिको आवश्यकता लगातार परिरहन्छ । जीवनमा स्वस्थ रही सुचारु रुप ले आ-आफ्ना कार्य गर्नु नै प्रमुख कुरो भएकोले यस्तो अवस्थामा औषधिको निरन्तर प्रयोग रोग नियन्त्रणको लागि आवश्यक पर्छ भने पनि सम्बन्धित विशेषज्ञको सल्लाह अनुरुप प्रयोग गर्दै जानु पर्दछ ।
औषधिका नकारात्मक प्रभावहरू पनि हुन्छन् । हुन त कुनै पनि औषधिलाई मानव उपचारमा प्रयोगमा ल्याउनुअघि नै विस्तारित परीक्षण गरिएको हुन्छ । यसले पुर्याउने सक्ने फाइदा मात्र होइन यसले गर्न सक्ने बेफाइदाको बारेमा पनि यथेष्ट अध्ययन गरिएको हुन्छ । जीवनलाई खतरा नपुर्याउने केही नकारात्मक असरहरू प्राय भेटिए पनि र कहिलेकाहीं मात्र देखा पर्ने खतरनाक नकारात्मक प्रभाव हरु भेटिए पनि औषधिको उपयोग हुने रोगको प्रकृतिअनुसार सो औषधिलाई वितरणको लागि स्वीकृत गरिन्छ । औषधिका नकारात्मक असरहरू औषधिको वर्ग या समूहपिच्छे फरकफरक हुने हुन्छन् । यी असरहरूलाई विभिन्न किसिमले व्याख्या गर्न सकिन्छ ।
उदाहरणका लागि: केहि मानसिक रोगमा प्रयोग गरिने औषधि ले मुख सुक्ने, झुम्म पर्ने शुरुमै देखिन्छ र यी असर मात्रा बढाउदा बढ्दै जान्छ । यी असरहरु औषधि सेवन गर्ने धेरै व्यक्तिहरूमा देखा पर्दछ, तर खतरनाक चाही छैन र औषधि को नियमित सेवन गर्दै जाँदा यी नकारात्मक असर बिस्तारै हराउदै जान्छ । त्यस्तै केहि औषधि सेवन पश्चात केही मात्र बिरामीहरूका जिउमा फोकाहरू आउने हुन सक्दछ । यो असर धेरैजसो सुरुको हप्तामै देखापर्दछ तर कसैलाई अलि पछि पनि यस्तो हुन सक्छ । यो असर औषधिको मात्रा मा प्राय भर पर्दैन । यो असरलार्इ गम्भीरतापूर्वक लिनुपर्दछ र तुरुन्त स्वास्थकर्मलाइ सम्पर्क गर्नुपर्छ किनकि यो खतरनाक पनि हुन सक्दछ । खतरनाक नहुने नकारात्मक असरहरूलार्इ कम गर्ने या हटाउने उपायहरू छन् भने खतरनाक सावित हुन सक्ने असरहरू पनि सुरुमै पहिचान गरी गम्भीर परिणामबाट बच्ने उपायहरू छन् । औषधिका केही नकारात्मक असरहरूको भोजनको समयसंग पनि पनि सम्बन्ध हुन्छ । केही औषधि नकारात्मक असर आउने सम्भावना कम गर्न खानाअघि सेवन गर्न सल्लाह दिइन्छ भने केहीलाई खानापछि सेवन गर्न सल्लाह दिइन्छ । औषधिका केही नकारात्मक असरहरूको सम्बन्ध अन्य औषधिसग पनि हुन्छ । एउटा रोगको लागि औषधि सेवन गर्दा गर्दै अरु नै कुनै रोग को लागि थप औसधि सेवन गर्नु पर्यो भने यी दुई प्रकारका औषधि बीचको अन्तरक्रियाको कारणले उत्पन्न हुनसक्ने नया असरको बारेमा जानकारी हुनु आवश्यक छ ।
हुन त माथिको विवरणबाट औषधि हरु लामो समयसम्म सेवन गर्नुपर्ने औषधि को बानि परेरनै हो जस्तो लागे तापनि वास्तवमा त्यस्तो चाहि होइन । बानी पर्ने भन्नाले त्यस्तो अवस्था बुझिन्छ जब केही समय राम्ररी काम गरेको औषधिले उति नै मात्रा सेवन गर्दा पनि पहिलेको जस्तो काम गर्न छाड्छ तर मात्रा बढाउदा भने फेरि समस्या ठीक हुन्छ र यस्तो अवस्थामा यदि औषधि छोडेमा पहिलेको लक्षणमात्र होइन अझ थप लक्षणहरू पनि देखापर्न थाल्दछन् । मानसिक रोगका केहि औषधिहरु बानी पर्ने प्रकारका पनि हुन्छन । त्यसैले यस्ता बानी पर्ने औषधिहरू सकेसम्म कम दिनको लागि प्रयोग गरिन्छ । केही रोगमा वरदान नै सावित हुने यी औषधिहरू तत्काल नियन्त्रण नगरी नहुने केही लक्षणहरू नियन्त्रणमा आएपछि बिस्तारै हटाउदै लगिन्छ । यस पाठको उद्देश्य मानसिक रोगमा प्रयोग गरिने औषधिहरूका विभिन्न पक्षका बारेमा सामूहिक जानकारी दिनु हो । सम्बन्धित चिकित्सकसग आफ्नो या आफ्नो बिरामीको लागि सिफारिस गरिएका प्रत्येक औषधिहरूको बारेमा पूर्ण जानकारी लिने गर्नु हुन सम्पूर्ण बिरामी तथा अभिभावकमा अनुरोध गरिन्छ।