लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया
आकस्मिक घटनाहरू मानिसको जिन्दगीमा घटी नै रहन्छन् । यस्ता कतिपय घटनाहरू तनावदायक पनि हुन्छन् । कतिपय तनावहरू क्षणिकमात्र हुन्छन् । तर यी क्षणिक तनावहरूबाट सही प्रकारले निकास नपाएमा यिनका असर निकै भयानक पनि हुन सक्दछन् । तीव्र क्षणिक तनावले मानिसको राम्ररी सोच्न सक्ने क्षमतामा असर गर्दछ । फलतः निर्णय लिनसक्ने क्षमतामा ह्रास आउछ । आत्तिएर मानिसले गलत निर्णय लिन पुग्ने हुन्छ र परिणाम भयावह र दूरगामी हुन सक्दछ । उदाहरणको लागि: पहिले कुनै मानसिक समस्या नभएको मानिसले एक्कासि तनावको कारणले आत्महत्या पनि गर्न सक्दछ ।
धेरैजसो तनावहरू हामी सजिलै बहन गर्न सक्दछौं भने केहि तनावले हामीलाई निकै मानसिक कसरत गराउदछन् । त्यस्तै हामीमध्ये कति सानातिना तनावले नै निकै गल्दछौं भने कोहि चाही निकै ठुला तनावहरूको सामना पनि हाँसी हाँसी गर्नसक्दछन्। यी फरकका पछाडि हामीले बाल्यकालदेखि अहिलेसम्म क्रमिक रूपमा सिकेका तनाव बहन गर्ने तरिकाहरू व्यक्तिपिच्छे फरकफरक हुनु हो । तनाव बहन गर्ने विभिन्न तरिकाहरू छन् । यी तरिकाहरूलार्इ दुइ वर्गमा विभाजन गर्न सकिन्छ – सही र गलत तनाव वहन गर्ने तरिकाहरू । वास्तवमा यी दुवै प्रकारका तरिकाहरू हामीले दैनिक जीवनमा प्रयोग गरिरहेकै तरिकाहरू हुन् । तर यी तरिकाहरूका बारेमा हामी सजग भएर सोच्दैनौ जसको फलस्वरूप बेलाबखतमा हामी गलत तरिकाको प्रयोग गर्छौं र दु:ख पाउछौं । यी तरिकाहरूको तल चर्चा गरिएको छ ।
तनाव बहन गर्ने सही तरिकाहरू – यी पनि दुइ किसिममा हुन्छन
यदि हामीले नियालेर आफूले नियमित रूपमा प्रयोग गर्ने तनाव बहन गर्ने तरिकाहरूको सही अध्ययन र अवलोकन गरेमा हाम्रा तरिकाहरू धेरैजसो सही तरिकाका साथमा केही मात्रामा गलत तरिकाको पनि उपस्थिति हामी पाउछौ । तनाव बहन गर्ने गलत तरिकाहरू प्रयोग गर्दा तत्काललाई राहत प्राप्त हुने भए पनि दीर्घकालीन रूपमा अप्ठेराहरू सृजना हुन्छन् । हामीले स्वमुल्यांकनद्वारा तनाव बहन गर्ने गलत तरिकाहरू लाइ चिनेर यिनलाई परिवतर्न गर्न खोज्नु तनावलार्इ सही तरिकाद्वारा बहन गर्ने दिशातर्फ सही प्रयास हुनेछ ।
आकस्मिक तनावलाई सही निकास दिनु नै पछि उत्पन्न हुन सक्ने भयानक परिणामलार्इ टार्ने उपाय हो । सामाजिक परिस्थितिको नियन्त्रण आफ्नो हातमा नहुन पनि सक्छ । तर सही प्रकारको तनाव बहन गर्ने तरिकाको प्रयोगले परिस्थितिले आफुमा गर्न सक्ने असरचाहिं हामी आफ्नो नियन्त्रणमा पार्न सक्छौं ।