लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया
मनोवैज्ञानिक उपचार पद्धतिमा असामान्य वैचारिक तथा भावनात्मक समस्याहरूलार्इ बिशेष तरिकाद्वारा सामान्य अवस्थामा रूपान्तरित गर्ने प्रयासले विभिन्न तरिकाहरू अपनाइन्छ । यस्ता पद्धतिहरू संख्यात्मक रूपले निकै धेरै भए तापनि मुख्यलाई तल वर्णन गरिएको छ ।
काउन्सिलिङ्गलाई सामान्यतया नेपालीमा परामर्श भनिन्छ । तर परामर्शमात्रले काउन्सिलिङ्गको सम्पूर्ण अर्थलाई समेट्दैन । काउन्सिलिङ्ग भनको वास्तवमा समस्या परेको व्यक्तिको ठाउमा आफू उभिएर अथार्त् उक्त समस्यालार्इ आफ्नै जस्तो महसूस गरेर समस्याको उचित समाधानको लागि पहल गर्न समस्याग्रस्त व्यक्तिलाई सबल बनाउनु हो । यस प्रक्रियामा “तपार्इ यसो नै गर्नुहोस” भनेर निर्देशन दिइदैन । बरु उसको समस्या राम्ररी बुझी “हाम्रा सामु यी उपायहरू छन्” भन्ने भावका कुराहरू व्यक्त गरिन्छ ।
काउन्सिलिङ्ग जे जस्तो प्रकारको समस्यामा पनि गर्न सकिन्छ । बेरोजगारीको समस्यादेखि बसाइ सराइको समस्यासम्म र शारीरिक रोगदेखि मानसिक रोगसम्म । विभिन्न समस्याहरूले मानव जीवनमा तनाव उत्पन्न गरिरहेका हुन्छन् र काउन्सिलिङ्गको माध्यमद्वारा तनावलाई सही निकास दिन सकिन्छ । समस्याअनुसार काउन्सिलिङ्गमा गरिने कुराकानी फरकफरक हुनु स्वभाविक नै हो तर पनि प्रत्येक सही तरिकाले गरिएको काउन्सिलिङ्गमा निम्न चरणहरू हुन्छन् ।
सुरुका दुई चरणहरूले काउन्सिललाई पीडित व्यक्तिको समस्या बुझ्न मद्दत गर्दछन् । यस क्रममा काउन्सिलरलाई सूचनाहरूलाई कस्तो प्रकारले समस्याग्रस्त व्यक्तिसामु प्रस्तुत गर्ने भन्नेबारे मार्गदर्शन पनि हुन जान्छ । बाकी चरणले भने समस्याग्रस्त व्यक्तिलाई समस्याबाट मुक्ति दिलाउने दिशामा कार्य गर्दछन् । यस हिसाबले काउन्सिलिङ्ग दोहोरो प्रक्रिया हो ।
समस्याग्रस्त व्यक्तिको समस्या र त्यसमा गासिएको भावना काउन्सिलरले बुझ्नु जरुरी छ । यी कुराहरू प्रस्टसंग बुझ्नको लागि काउन्सिलर अनुभवी र क्षमतावान् हुनु आवश्यक छ । जुन समस्याको बारे काउन्सिलिङ्ग गरिने हो त्यसको बारेमा पनि राम्रो जानकारी काउन्सिलरमा हुनुपर्दछ।
मानसिक रोग, तिनका उपचार पद्धति, ती पद्धतिका फाइदा बेफाइदाहरू र मानसिक रोगसंग सम्बन्धित शारीरिक, मनोवैज्ञानिक र सामाजिक पक्षका बारे राम्ररी जानकारी भएको काउन्सिलरद्वारा गरिने काउन्सिलिङ्गबाट मात्र मानसिक रोगीहरुले फाइदा पाउन सक्दछन् । यसैले मानसिक रोगको परिप्रेक्ष्यमा मानसिक रोग विशेषज्ञ, मनोविज्ञ, मानसिक रोगमा तालिम प्राप्त नर्स तथा मानसिक रोगका विभिन्न पक्षसग परिचित सामाजिक कार्यकर्ताले मात्र सही प्रकारले काउन्सिलिङ्ग गर्न सक्दछन् ।
काउन्सिलिङ्ग डिप्रेसन, डराउने – आत्तिने समस्या जस्ता मानसिक रोगहरूमा निकै उपयोगी छ । त्यस्तै बेरोजगारी, जागिर छुटेको, जाचमा फेल भएको, वैवाहिकसमस्या जस्ता तनावमा उत्पन्न हुने विभिन्न मनोवैज्ञानिक समस्याहरूमा पनि काउन्सिलिङ्गद्वारा तनावको उचित निकास गरिंदा पछि उत्पन्न हुनसक्ने मानसिक रोगहरूबाट बच्ने सम्भावना बढी हुन्छ ।
यस पद्धतिअन्तर्गत ती विधिहरू पर्दछन् जसमा औषधिको प्रयोगबिना बिचार, व्यबहार या मनको अवस्थालाई सामान्य अवस्थामा ल्याउने प्रयास गरिन्छ । ‘साइको’ मन र ‘थेरापी’ उपचारबाट पनि यस पद्धतिको मतलव बुझ्न सकिन्छ । यसका मुख्य तरिकाहरूलाई तल वर्णन गरिन्छ ।
यो पद्धति मानसिक रोगको उत्पत्तिको एक विशेष सिद्धान्तमा आधारित छ । यस अन्तर्गत हाल बिरामीमा भइरहेको कुनै पनि मनोवैज्ञानिक असामान्यताहरू बिगतमा, बाल्यकालदेखि घटेका घटनाक्रमहरूले उत्पन्न भएका हुन्छन् र ती घटनाक्रमसंग सम्बन्धित चेतना अवस्थाबाट दबिएर अचेतन अवस्थामा पुगेका तनावहरूलाई यस पद्धतिद्वारा चेतन अवस्थामा ल्याई उपयुक्त निकास दिंदा हाल भइरहेका लक्षणहरू स्वतः हटेर जान्छन् भन्ने मान्यता छ । फ्रायडद्वारा प्रतिपादित यो पद्धति हाल केही समस्याहरूमा कहिलेकाहीं मात्र प्रयोग हुनेबाहेक धेरैजसो मानसिक समस्याहरूमा ऐतिहासिक महत्वको मात्र भएको छ ।
यस पद्धतिमा व्यक्तिको बिचारका गडबडीहरू उसंगको कुराकानीद्वारा पत्ता लगाएर क्रमिक रूपले तिनीहरूलाई सही दिशातर्फ निर्दिस्ट गर्ने प्रयास गरिन्छ । उदाहरण– हरके कुरामा नकारात्मक दृस्टीकोण राख्ने, एउटा नराम्रो संयोगलार्इ लिएर सधैं नराम्रो नै भैरहन्छ भनि सोच्ने, असफलताहरूमा मात्र ध्यान दिर्इ विगतका सफलताहरू वास्तै नगर्ने जस्ता बानी भएका व्यक्तिहरूलाई बढी सकारात्मक र स्वस्थ सोचाइ राख्न यो पद्धतिले मद्दत गदर्छ । यो पद्धति मुख्यत: डिप्रेसन र आत्तिने रोगहरूमा फाइदाजनक छ भने केही प्रकारका पागलपनमा पनि लाभदायक हुन सक्दछ ।
कतिपय मानसिक रोगमा व्यक्तिको भावना या विचारमा असामान्यता आउनेसगै व्यवहारमा पनि गडबडी हुन थाल्दछ । यी व्यावहारिक समस्याहरूलार्इ सुधार्ने पद्धतिहरूको प्रयोग गरी क्रमिक रूपमा ती समस्याहरू निराकरण गर्न सकिन्छ । यी पद्धतिहरूका असरहरू बिस्तारै निस्कन्छन् । तुरुन्त फाइदा आशा गर्न सकिंदैन । उदाहरण: कुनै व्यक्ति मलाई अरुले नकारात्मक दृष्टिकोणले हेर्छन् कि भन्ने त्रासले सामाजिक समारोहमा भाग लिंदैन भने यस्तो समस्यालाइ सोचाई र ब्यवहार बदलिने तरिकाद्वारा सामान्य व्यवहारमा रूपान्तरित गर्न सकिन्छ ।
यी पद्धतिहरू काउन्सिलिङ्गभन्दा जटिल छन् । आज भोलि साइकोथेरापी गर्दा माथिका विभिन्न तरिका को मिश्रित रुप प्रयोग गरिन्छ । तालिम प्राप्त मनोबिज्ञ या मानसिक रोग विशेषज्ञ साइकोथेरापी गर्ने गर्दछन । मानसिक रोगमा विशेष ज्ञान भएको र यी पद्धतिको प्रयोग गर्न आवश्यक सीप भएको उपचारकर्ताबाट मात्र साइकोथेरापी गर्न सम्भव छ । साइकोथेरापीको गलत प्रयोगले समस्या झन बढ्न सक्दछ