एसएलसीमा असफल भएपछि यसपालि पनि एक किशोरीले आत्महत्या गरेको खबर प्रकाशित भयो । दुई-तीन वर्षयता एसएलसीको परिणाम आएपछिका केही साता यसरी नै असफल किशोर-किशोरीले आत्महत्याको प्रयास गरेपछि अस्पताल ल्याइने र तिनको मनोचिकित्सामा सहभागी हुने गरिरहेको छु । व्ाास्तवमा ‘आत्महत्या’ मनोचिकित्सा विज्ञानमा एक आपत्कालीन अवस्थाको रूपमा रहेको छ । जुनसुकै मानसिक रोगीहरूमा -विशेषतया उदासीनता, साइकोसिस, बाइपोलार डिसअर्डर) यसको सम्भावना रहन्छ । कसैले रोगकै दीर्घकालीन असरका रूपमा आत्महत्या गरेर मृत्युवरण गर्छन् भने कोही मनो-सामाजिक विभिन्न कारणहरूको परिणामस्वरुप आत्महत्याको प्रयास गर्छन् ।
अन्तर्राष्ट्रिय सर्वेक्षणअनुसार किशोरावस्थामा दुर्घटनापछि आत्महत्या नै तिनको अकाल मृत्युको कारक देखिन्छ । यसका मनो-सामाजिक कारणहरू विश्लेषण गर्दा दीर्घकालीन उदासीनता, सम्बन्धविच्छेद, नजिकका आफन्तको मृत्यु अनि परीक्षामा असफलता आदि पर्न आउँछन् । सन् २०११ म्ाा भारतमा गरिएको एक सर्वेक्षणले त परीक्षामा असफलता नै किशोरहरूले आत्महत्या गर्ने दोस्रो प्रमुख कारणका रूपमा देखाएको थियो । वास्तवमा किशोरहरू साँच्चै मृत्युवरण गर्नैका लागिभन्दा पनि सहनै नसकिने परिस्थिति या प्रतिकूलताबाट हतोत्साहित भएर या आफूलाई असहाय, बेकामको ठानेर अनि कहिलेकाहीं त किंकर्तव्यविमूढ भएर त्यसबाट सहज उन्मुक्तिका लागि आत्महत्याको निर्णय लिन पुग्छन् । संयुक्त राज्य अमेरिकाको एउटा परामर्श केन्द्रमा त वर्षेनि ४०-५० विद्यार्थी त्यस्ता विचार लिएर आउने गरेको देखिएको थियो ।
युवा विद्यार्थीहरू पढाइको चाप एवं तिनका अभिभावकहरूले बारम्बार ‘अंक एवं परीक्षा परिणाम’बारे गर्ने खोजिनिधीका कारण उदास रहने गरेको विभिन्न अन्तर्राष्ट्रिय शोधकार्यहरूमा प्रस्ट भएको छ । अमेरिकी कलेजका विद्यार्थीहरूमा १० प्रतिशतले त्यस्ता उदासीनताबाट उन्मुक्तिका लागि आत्महत्याको विचार गर्ने गरेको र यो नै तिनीहरूको मृत्युको दोस्रो ठूलो कारण देखिएको थियो ।
हाम्रो समाजमा पनि एसएलसीलाई जीवनको फलामे ढोका ठानिने, यसको प्रचार-प्रसारमा अभिभावक, विद्यालयमात्र नभई मिडिया एवं सरकारसमेत लाग्ने गरेको अनि एसएलसी अनुत्तीर्णहरू त कामै नलाग्ने हुनेजस्तो अतिशयोक्तियुक्त धारणाहरू प्रचलित छन् । हुनेखाने परिवारमात्र नभई हुँदाखाने अभिभावकहरूसमेत परस्पर प्रतिस्पर्धा गरेर छोराछोरीलाई एसएलसी उत्तीर्ण गराउनैका लागिमात्र पनि ठूलो धनराशि खर्चेर बोर्डिङ स्कुल, ट्युसन, कोचिङ आदिमा लगानी गरिरहेका हुन्छन् । त्यस्तै एसएलसी अनुत्तीर्ण हुनुको मतलब त्यो लगानी खेर गएको ठान्ने या राम्रो श्रेणी ल्याउन नसके त्यस्ता छोराछोरीलाई अपराधीसरह व्यवहार गर्ने गर्छन् ।
अतः सानैदेखि बालबालिकामा असफलताप्रति डर एवं नकारात्मक भाव, उत्तीर्ण हुन नसके बाबुआमाको सपना पूरा गर्न नसकेकोमा पश्चातापबोध अनि ‘जीवनभन्दा पनि परीक्षाको अंक नै महत्त्वपूर्ण’ भन्ने धारणा विकसित भइरहेको हुन्छ । त्यस्तै विद्यालयहरू पनि एसएलसीको शतप्रतिशत सफलतालाई नै आफ्नो भविष्यको मानक मान्ने, असफल हुने सम्भावित विद्यार्थीहरूमा हीनताबोध नै जाग्नेगरी व्यवहार गर्ने गर्छन् । सरकार पनि एसएलसीमा असफल हुनेलाई तिनको इच्छा या क्षमताअनुसार सीपमूलक आयआर्जनका कार्यक्रम ल्याउनुको
सट्टा तिनलाई ‘गे्रसमार्क’ दिई उत्तीर्ण प्रतिशत बढाउनमै दत्तचित्त रहेको देखिन्छ । अनि मिडियासमेत ‘एसएलसी फेल भएर आत्महत्या’ जस्ता सामग्रीलाई बढाइ-चढाइ प्रसारण गर्नमै उद्यत हुन्छ ।
यी सब तथ्यहरूमाथि विचार गर्दा वास्तवमा अहिलेको आवश्यकता नैतिक शिक्षा एवं मनोविश्लेषणको नै हो । परीक्षामा असफलता जीवनकै असफलता कदापि होइन, किनभने जीवन एउटा असफलताले रोकिँंदैन । अनि किशोरावस्थामा आउने मनस्थितिको उचित सम्बोधनका लागि समय-समयमा विशेषज्ञबाट परामर्शसमेत चाहिने गर्छ । यी सब तथ्यको चेतना अभिभावक, विद्यालय, मिडियाकर्मी एवं सरकारले नै संवाहन गर्नुपर्छ । नत्र त हरेक वर्ष असार महिना, रोपाइँको मात्र महिना नरही ‘किशोर-किशोरीको अकाल मृत्यु’को महिनाका रूपमा रहिरहनेछ । यो पनि पढ्नुहोस् ।
एसएलसी र आत्महत्या – डा अजय रिसालले कान्तिपुर दैनिक मा जेठ ३१ मा प्रकाशित गरेको लेख ।
लेखक मानसिक रोग विशेषज्ञ हुन् ।
डिप्रेसनबारे बिस्तृतमा… आत्महत्याबारे बिस्तृतमा… तनाव बहन गर्ने तरिकाहरु …