Lithium मानसिक रोगमा प्रयोग हुने औषधी हो र यो Mood Stabilizer अर्थात भावनात्मक अवस्था नियन्त्रण गर्ने औषधी को समूह मा पर्दछ । Lithium को बारेमा सबैभन्दा पहिले के बुझ्नु पर्छ भने गलत प्रयोगले मृत्यु समेत हुन सक्छ । त्यसैले चिकित्सकको सल्लाह नलिइ यो औषधी शुरु गर्नु हुँदैन । सेबन कर्ताहरूले पनि बेला बेला मा चिकित्सकसँग जांच/परिक्षण गराउनु पर्छ । सहि तरीकाद्वारा र उचित सुपरिवेक्षणमा प्रयोग भएमा यो एक अत्यन्त उपयोगी औषधी हो ।
प्रयोग
१. Bipolar Disorder (बाइपोलार रोग) – अर्थात उन्माद (Mania) र डिप्रेसन दुबै हुन सक्ने साइकोसिसमा मुख्य रूपमा प्रयोग गरिन्छ।
२. डिप्रेसनको उपचारमा एन्टीडिप्रेसेन्ट औषधीको असर बढाउन पनि Lithiumको प्रयोग हुन्छ।
आज भन्दा आधा सताब्दी भन्दा पहिले देखि प्रचलनमा आएको यो औषधी माथि उल्लेखित रोगहरुमा अझै असरदार र उपयोगी छ।
यो औषधि शुरु गर्नु अगाडि निम्न परिक्षण जरुरी हुन्छ
१. म्रिगौला र थाइरोइडले ठीक काम गरेको छ की छैन निश्चित गर्न रगत् परिक्षण गर्नु पर्छ ।
२. मुटुको अवस्था ठीक छ की छैन निश्चित गर्न इ सी जी गर्नु पर्छ ।
शुरु गरेपछि
१. Lithium शुरु गरेको लगत्तै (पाँच सात दिनमा) रगतमा Lithium को मात्रा हेरिन्छ । यो किन जरुरी छ भने एउटै मात्रा (Dose) मा फरक फरक मानिसमा फरक फरक Blood (Serum) level देखिन सक्छ । रगत जाँच को माध्यमबाट Lithium को मात्रा (Dose) मिलाइन्छ ।
२. प्रयोग गर्दा गर्दै “म ठीक भैहालें” भनेर् एक्कासी यो नछोड्नु होला । रोग पहिलेको भन्दा नराम्रो सँग बल्झिन सक्छ र फेरि यो औषधी ले काम नगर्न सक्छ ।
औषधिले ल्याउन सक्ने मुख्य समस्या (साइड-इफेक्ट)
तिर्खा बढी लाग्ने पिसाब बढी लाग्ने, पखाला लाग्ने, बान्ता हुने, ध्यान र स्मरणमा कमी आउने हुन सक्छ । त्यस्तै हात् थरर काप्ने पनि हुन सक्छ । धेरै जस्तो सेवनकर्तामा माथि उल्लेखित कुनैपनि समस्या हुदैन।
लामो समय प्रयोग गर्दा औषधिले ल्याउन सक्ने समस्या
यो औषधि कहिलेकाहिं धेरै बर्षसम्म प्रयोग गरिरहनुपर्ने हुन्छ । लामो समयसम्म यो औषधि लगातार प्रयोग गरेमा कसै कसैलाई थाइरोइड सम्बन्धी समस्या हुन सक्छ । त्यस्तै यस्ले म्रिगौलामा पनि असर गरेर म्रिगौलाको कार्य क्षमतामा कमी आउन सक्छ । यस्तो अवस्थामा औषधी परिवर्तन् गर्नुपर्ने हुनसक्छ ।
ध्यान दिनुपर्ने कुराहरू
१. यो औषधि प्रयोग गर्न शुरु गरेपछि कम्तीमा केहि वर्ष र बढीमा दशौं वर्ष चलाइने भएकोले बेलाबेलामा रगतको जांच गराइरहनुपर्दछ । यसमा मुख्यतया म्रिगौला र थाइरोइडले ठीक काम गरेको छ की छैन निश्चित गरिन्छ ।
२. गर्मी महिनामा शरीर बाट पसिनाको माध्यमबाट पानी बहिरिने हुनाले पानी पिउन बिशेष सजग हुनु पर्छ । पसिना धेरै आएमा जलविनियोजन भएर रगतमा औषधिको घनत्व बढ्न गई समस्या उत्पन्न हुन सक्छ । अत्यधिक गर्मीमा र बान्ता आएको या पखाला चलेको बेलामा जलविनियोजन भएर रगतमा औषधिको घनत्व बढ्न गई समस्या उत्पन्न हुन सक्ने हुनाले बिरामीलाई प्रशस्त मात्रामा जीवनजल पिलाउनुपर्छ ।
ओभरडोज या झुक्किएर बढी औषधि परेमा
ओभरडोज या झुक्किएर बढी औषधि परेमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्दछ । स्वास्थ्य कर्मीले तुरुन्त Lithium को रगतमा मात्रा जाँच्नु पर्छ, मुटुको अवस्था ठीक छ की छैन निश्चित गर्न इ सी जी गर्नु पर्छ र आवश्यक Lithium Toxicity को उपचार थाल्नु पर्छ । घरेलु उपचारको रूपमा जीवनजल ख्वाउन सुरु गरिहाल्नुपर्दछ ।
मानसिक रोगमा प्रयोग हुने औषधीबारे थप् जानकारीको लागि यहाँ क्लिक गर्नुहोला ।
लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया