लेख / ब्लग / अन्य प्रकाशन / समाचार

के निन्द्रामा हिंड्नु रोग हो ?

Posted Date: 2013-09-22

निंद्रामा हिंड्ने मानिसका बारेमा हामीले बेलाबेलामा सुनिरहेका हुन्छौ । यो एक रोग हो या बानी हो भन्ने बारेमा हामीमा विभिन्न मत पाइन्छ । चलचित्रमा या टेलि सिरियलमा मानिसहरूले निद्रामा नाटकीय रुपले थरीथरीका क्रियाकलाहरू गरेको देखाइन्छ । यस लेखमा यस विषयका बारेमा केही चर्चा गरिएको छ ।

बालबालिकाहरूमा निद्रामा हिंड्ने अवस्था वयस्कहरूको भन्दा निकै बढी भेटिन्छ । जस्तै झन्डै १५ प्रतिशत बालबालिकाहरू निद्रामा कमसेकम एकपटक हिडेको तथ्यांक छ भने वयस्कहरूमा २ देखि ५ प्रतिशतमा यो समस्या भेटिएको छ ।

प्राय निद्रामा हिंड्ने अवस्थाहरूमा ओछ्यानबाट उठेर कुनै खास उद्देश्यविना यताउता एक दुई मिनेटसम्म हिंडेर फेरि ओछ्यानमै फर्केर सुत्ने हुन्छ । केही निद्रामा हिंड्ने अवस्थाहरू लामो समयसम्म भई यता उता हिड्डुल नै गरिरहने हुन्छ र निकै कम मानिसहरू चाहिं उफ्रिने, दौड्ने वा केही खोजेजस्तै गर्ने हुन सक्दछन् । यस्तो अवस्थामा उक्त व्यक्तिको अनुहार भावना रहीत देखिन्छ र उसका हाउभाउहरू उद्देश्य विनाका देखिन्छन् । त्यस्तै, उक्त व्यक्ति आफू वरपर भएका वस्तुहरू प्रति अनभिज्ञ जस्तै देखिन्छ तर यदी कुनै खतरा र चोटपटक लाग्ने अवस्था भएमा चाहिं आफ्नो वचावट गर्न सक्षम हुन्छ । यसबाट के बुझिन्छ भने यस अवस्थामा मस्तिष्कको माथिल्लो भाग चाहिं कम क्रियाशिल भएपनि सुरक्षासंग सम्बन्धीत भित्री भाग चाहिं क्रियाशील नै रहन्छन् ।

निंद्रामा हिंड्ने अवस्थामा व्यक्तिले गर्न सक्ने क्रियाकलापहरू विवादकै विषय छ । केही विज्ञहरूका अनुसार निंद्रामा हिंड्दा उक्त व्यक्तिले लुगा लगाउने या फुकाल्ने, ढोका खोल्ने या बन्द गर्ने जस्ता क्रियाकलापहरू गर्न सक्दछ । यदि प्रश्न गरेमा छोटो– हो या होइन जस्ता जवाफहरू पनि दिन सक्दछ । कहिलेकाही साना तिना आदेशहरूको पनि पालना समेत गर्न सक्दछ । ब्यूझाउन खोजेमा विस्तारै निद्राको अवस्थाबाट बाहिर आउछ– तर पूर्ण रुपमा सामान्य अवस्थामा आउनु अगाडि केही समयसम्म Confused हुने र रक्सीले मातेको जस्तो पनि हुन सक्छ । जब पूर्ण रुपले ऊ जागा अवस्थामा आउछ– उसलाई के भएको थियो, केही थाहा हुदैन ।

के निंद्रामा हिंड्नु असामान्य हो ?

बच्चाहरूमा निद्रामा हिड्नुलाई प्राय असामान्य भन्न मिल्दैन । धेरैजसो अवस्थाहरूमा मस्तिष्कको विकासमा केही विलम्ब भएर यस्तो भएको हुन सक्छ । दश वर्षको उमेर अगाडि निद्रामा हिंड्ने बानी शुरु भएका बालबालिकाहरू मध्ये धेरै पन्ध्र वर्ष नपुग्दै यस बानीबाट मुक्त भएको अनुसन्धानहरूले देखाएका छन् ।

तर, निद्रामा हिड्ने बानी भएका वयस्कहरूमा चाही साथमा अन्य मानसिक समस्या पनि भएको थुप्रै अनुसन्धानहरूले देखाएका छन् । यी मध्ये धेरै व्यक्तिहरूमा कडा खालका तनावले निद्रामा हिंड्ने बानी शुरु गरेको भेटिएको छ । किशोर अवस्थामा मानसिक आघात पर्ने घटना अनुभव गरेकाहरूमा यस्तो समस्या बढी देखिएको छ । निद्रामा हिंड्ने समस्या हुने वयस्कहरूमा डिप्रेसन, आत्तिने रोग र स्किन्जोफ्रेनिया बढी मात्रामा देखिएको छ ।

निद्रामा हिड्ने  किन हुन्छ ?

पहिले मनोवैज्ञानिक कारण नै मुख्य कारक मानिए पनि हाल आएर जैविक (Biological) कारणहरूका केही पक्षहरू पनि खुल्न थालेका छन् । पछिल्ला अनुसन्धानहरूले यसको सम्बन्ध HLA- DQB1 जीनसग देखाएको छ । यो जीनले निद्राको समयमा मांशपेशीमा हुने हाम्रो नियन्त्रणमा असर गर्दछ र यसमा भएका केही संरचनात्मक त्रुटीले निद्रामा हिंड्ने अवस्था सृजना गर्न सक्छ भन्ने एक नया तर्क छ । यस जीनको संलग्नताले निद्रामा हिंड्ने अवस्थाको वंशाणुगत पक्ष तर्फ संकेत गर्छ ।

त्यस्तै, लामो समयसम्मको लगातार अनिद्रा (Sleep Deprivation), फरक फरक Shift मा काम गर्ने र रक्सीको अत्यधिक सेवनले पनि निद्रामा हिंड्ने सम्भावना बढाइदिन्छ । त्यस्तै, मानसिक रोगको उपचार गर्न प्रयोग गरिने औषधिहरूले पनि निद्रामा हिंड्ने सम्भावना बढाउदा रहेछन् भन्ने केही अनुसन्धानले संकेत गरेका छन्– यद्यपि औषधीको कारणले यो समस्या बढ्छ भन्ने प्रमाणित भइसकेको छैन ।

निंद्रामा हिंड्नु र हिंसा

निद्रामा हिंड्ने मानिसले गर्ने हिंसा या अपराध अर्को विवादको विषय हो । यदी कसैले निद्राको सुरमा हिंड्दा कसैमाथि कुनै प्रकारको आक्रमण गरेको र अदालतमा होशमा नभएको अवस्थामा गरेको अपराधको कारण जिम्मेवारी नहुने दाबी गरेमा विशेष अप्ठ्यारो अवस्था सृजना हुन्छ । यस्तो अवस्थामा विज्ञहरूले यो वंशाणुगत समस्या हो/होइन, पहिलेदेखि या बालककालमा पनि थियो/थिएन, सुतेको २ घन्टा भित्र भएको थियो या पछि भएको थियो, अपराध लुकाउने कोशिस ग¥यो/गरेन विभिन्न पक्षहरूको बारेमा अध्ययन गर्दछन् । समग्रमा भन्दा निद्रामा हिंड्ने अवस्थामा हिंसा या अपराध हुने सम्भावना एकदमै कम छ र जति घटना सुन्नमा आउंछन्, ती प्रतिशतको हिसाबले समग्र निद्रामा हिंड्ने अवस्थाको तुलनामा नगण्य हुन भन्दा हुन्छ ।

उपचार

१. निद्रामा हिंड्ने बानी भएको व्यक्तिलाई चोटपटक र दुर्घटनाबाट बचाउन सर्वप्रथम कोठाबाट धारीलो वस्तुहरू हटाउनु पर्छ, ठेस लागेर लड्ने वस्तुहरू पनि हटाउनु पर्छ र झ्याल ढोकाहरू सजिलै नखुल्ने पार्नेवारे पनि सोच्नुपर्छ ।

२. उक्त व्यक्तिलाई लामो समय नसुत्ने अवस्था (Sleep Deprivation) आउन नदिने र राती सुत्नु अघि रक्सी/लागुपदार्थ सेवन नगर्ने सल्लाह दिनुपर्छ ।

३. वयस्कहरूलाई मानसिक रोग विशेषज्ञको सम्पर्कमा गई जाच तथा आवश्यक उपचारको सल्लाह दिनुपर्छ । केही अवस्थामा औषधीको जरुरत पर्छ ।

४. बच्चाहरूमा भएको छ भने माथिको नं. १ सल्लाह पालन गरे पुग्छ र बाबुआमाले धेरै चिन्ता नगरे हुन्छ । तर एकपटक डाक्टरलाई गएर सोधे पनि केही विग्रीदैन ।

लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया

Nepal News Australia मा सेप्टेम्बर २०१३ मा प्रकाशित

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस