लेख / ब्लग / अन्य प्रकाशन / समाचार

झमझम हुने समस्या

Posted Date: 2013-07-20

हातखट्टुा या जिउका विभिन्न भागमा झमझम गर्ने हुन्छ भन्दै स्वास्थ्यकर्मिहरु कहाँ  जानेहरूको संख्या निकै ठूलो छ । यी मध्ये धेरैजसो समस्या समाधान नभएर हातमा प्रेसक्रिप्सन तथा अनुसन्धानका रिपोर्टहरु लिएर एक पछि  अर्को  अस्पताल, नर्सिङहोम तथा क्लिनिकहरूमा धाइरहेको भेटिन्छन। कतिपय व्यक्तिहरूको शारीरिक जांच तथा तथा रगत, पिसाब र अन्य जांचहरूमा कुनै खराबी नदेखिए पनि ‘ तपाईंलाइ केहि भएको छैन तर यो औषधि खाँदै गर्नुहोस’ भन्ने उत्तर धेरैले पाएको सुनिन्छ ।

सन् १९९९ मा नेपालमा अनुसन्धान गर्न आएका कोहर्ट र स्क्रेइबेर नामका बिदेशीहरुले बिश्वप्रसिद्द चिकित्सा शास्त्रको पत्रिका Lancet मा अर्कै रूपमा चित्रण गरे (1) । उनीहरूले नेपालको गाउँहरुमा झमझम नाम गरेको  एक बिशेष प्रकारको रोग हुँदो रहेछ भन्ने  वर्णन गरे । वास्तविक धरातल नबुझिकन गरिएको सो अध्ययन र त्यसको निष्कर्षलाई नेपालमा कार्यरत स्वदेशी तथा विदेशी चिकित्सकहरूको एक समूहले सोहि  पत्रिका माफर्त राम्रै जबाफ दिएका थिए । उनीहरूले झमझम गर्ने समस्या एक लक्षण हो जुन विभिन्न रोगहरूसग आबद्ध भएर प्रकट हुन सक्छ भन्ने तर्क दिए । (2)

वास्तविकता त्यही नै हो । झमझम लक्षणको रूपमा विभिन्न शारीरिक तथा मानसिक समस्याहरूमा भेटिन सक्छ । कुष्ठरोग, चिनीको रोग, रक्तनली तथा स्नायुसम्बन्धी समस्याहरू, भिटामिनको कमी केही यस्ता शारीरिक रोगहरू हुन् जसमा व्यक्तिलाई झमझम अनुभव हुन सक्दछ । यी रोगहरूको पहिचानपश्चात् उपयुक्त उपचार गरेपछि समस्या प्रायः कम भएर या हराएर जान सक्छ । केही असाध्य शारीरिक रोगमा भने यो लक्षण रहिरहन सक्दछ ।

झमझमको अर्को पक्ष मानसिक रोगहरुसंग आबद्ध हुनु हो । विभिन्न थरिका उपचारपश्चात् पनि जस्ताको त्यस्तै रहेका बिरामीहरूमध्ये कतिपय वास्तवमा मानसिक समस्याहरूका शिकार भएका पनि हुन सक्दछन् । तिनीहरू नै रोगको सही पहिचान नभएर ठाउँ ठाउँमा भौंतारिरहेका हुन सक्दछन । मानसिक रोग विभागमा जचाउन आउने बिरामीहरूमध्ये झमझम भयो भनेर आउनेहरूको संख्या थुप्रै छ ।

यीमध्ये कति त पहिले विभिन्न ठाउँहरुमा जांच गराएर, महंगा महंगा अन्वेषणहरूको रिपोर्टका साथ आउँदछन् । बिरामीसंग समस्याहरूको बारेमा राम्ररी कुरा गरेर, अनि आवश्यक शारीरिक जांच  गरेपश्चात् केही सामान्य टेस्टहरू गरेर मात्र पनि अर्थात् बिरामीको समय र धन बढी खर्च नगरिकन पनि कस्तो प्रकारको समस्या हो भन्ने निष्कर्ष धेरैजसो अवस्थाहरूमा निकाल्न सकिन्छ । केही अवस्थाहरूमा मात्र थप विशेष प्रकारको जांचको आवश्यकता पर्दछ ।

आत्तिने रोग (Anxiety) तथा  डिप्रेसन (Depression) – दुवै अवस्थाहरूमा झमझम हुन सक्दछ । यी अवस्थाहरू निकै व्यापक मानसिक रोगहरू हुन् जुन कतिपय अवस्थाहरूमा चिन्न जो कोहीलाई गाह्रो पर्दछ । यीबाहेक अन्य कतिपय मानसिक अवस्थाहरू छन् जसमा झमझम भेटिएको छ । मानसिक समस्याको छुट्टै रगत तथा पिसाबका जांच हुदैन । शारीरिक जांचमा खराबी खासै भेटिदैन नै । General Practitioner  (सामान्य विशेसज्ञ चिकित्सक) या अन्य विशेसज्ञले सबै कुरा ठिक छ भनेमा  समस्याको सही पहिचान गर्न मानसिक रोग विशेसज्ञको आवश्यकता पर्छ ।

झमझमसंग सम्बन्धित मानसिक रोगको पहिचान गरेर उपचार गरेमा सो रोगहरूका लक्षणहरू संगसंगै झमझमको पनि निदान भएको पाइएको छ ।

हुन त यसको एउटा अपवाद पनि छ । झमझम मात्र हुने र अरु केही नहुने (Somatization Disorder) । तर यस्तो निष्कर्ष निकाल्नु अघि उक्त व्यक्तिमा अन्य कुनै शारीरिक मात्र होइन मानसिक समस्या पनि नभएको यकिनका साथ भन्न सक्नुपर्ने हुन्छ । यस्तो निष्कर्ष विभिन्न विषयहरूका विज्ञ चिकित्सकहरूले आपसी सल्लाहद्वारा निकाल्नु पर्ने हन्छ ।  यस्तो अवस्थामा पनि मनोवैज्ञानिक पद्धतिद्वारा गरिने उपचार – Cognitive and Behavioural Therapy लाभदायक पाइएको छ । त्यस्तै केहि औषधिले पनि झमझम  शान्त पार्न सक्दछन ।

यस प्रकार प्राय अवस्थाहरुमा  झमझम  कुनै शारीरिक या मानसिक  रोगको  एक प्रकारको एक लक्षण नै हो । यसको शारीरिक पक्षलाई बेवास्ता गर्न नहुने निर्विवाद छ । तर मानसिक पक्षलाई बेवास्ता गर्दा बिरामीहरूको निकै ठूलो समहू उचित उपचार नपाएर भौतारिरहेको हुन्छ ।

यस लेखको प्रयास  झमझम गर्ने समस्याको  मानसिक पक्षको बारेमा पनि सोच्नुपर्छ भन्ने बारेमा प्रकाश पार्न खोज्नु हो ।

 

Reference:

1. Kohrt & Schreiber (1999) Jhum-jhum: neuropsychiatric symptoms in a Nepali village. Lancet, Volume 353, Issue 9158, Page 1070.

2. Basnyat et al (1999) Jhum-jhum is a symptom. The Lancet, Volume 353, Issue 9169, Page 2074, 12 June 1999

 

लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस