डरलाग्दो घटना र तर्सिने रोग – PTSD

लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया

 

कुनै विभत्स घटनामा परेर बाँचेपछि  केही मानिसहरूलाई केही दिन, हप्ता या महिनापछि एउटा यस्तो मानसिक समस्या सुरु हुन सक्छ, जसमा सो घटनाका दृश्यहरू एक्कासी मानसपटलमा आउने (Flashback), उत्तेजना र छटपटी एकदमै बढ्ने (Hyperarousal) र सो स्मृतिलाई उक्त व्यक्तिले हटाउन खोज्ने (Avoidance) तर पूर्ण रुपमा सफल नहुँदा मानसिक तनाव अत्यन्तै हुन्छ । यस्तो प्रकारको मानसिक रोगलाई Post Traumatic Stress Disorder र सामान्य बोलिचालिको भाषामा PTSD भनिन्छ । यो रोग प्रायजसो पीडादायक (Traumatic) घटना घटेको छ महिना भित्र सुरु हुन्छ । कतिपय व्यक्तिमा भने उक्त घटनाको वर्षौ पछि पनि PTSD सुरु हुन सक्छ ।

सुरुमा यो समस्या युद्धका विभिन्न घटनामा परेका सैनिकहरूमा बर्णन गरिएपनि पछि अन्य दुर्घटनामा परेर जोगिएका, भुईचालोमा परेका र विभिन्न शारीरिक तथा मानसिक यातनाको शिकार भएका व्यक्तिहरूमा पनि भेटियो । नेपालमा यस्तो मानसिक समस्याको सर्वप्रथम अध्ययन भुटानी शरणार्थीहरूमा गरिएको थियो । त्यसपश्चात दश वर्षको माओवादी जनयुद्धको समयमा राज्यपक्ष र विद्रोही दुवैतिरबाट भएका युद्धका घटना, ज्यादती तथा यातनाको कारण नेपालमा अन्य मानसिक रोगसंगै  PTSD को पनि निकै वृद्धि भएको पाइएको थियो । अष्ट्रेलियामा यो मानसिक रोग विभिन्न युद्धहरुमा भाग लिएका सैनिकहरूमा भएको पाइएको छ । विगतको दशकमा इराक र अफगानिस्थानमा काम गरेर फर्केका सैनिकहरूमा PTSD को कारणले भएको आत्महत्याले यो समस्याको कडापन बुझ्न मद्दत गर्छ ।

यसवाहेक बाल्यकालमा दुराचारमा परेका व्यक्तिहरू, बलात्कृत महिलाहरू र युद्धको चेपमा परेका जनसाधारणमा पनि यो समस्या निकै भेटिएको छ । लडाई र हिंसा कम भएका समुदायमा भने सडक दुर्घटनाबाट  बाँचेकाहरूमा यो समस्या सबैभन्दा बढी देखिएको छ ।

उदाहरणः

“म आफ्नै सुरमा गाडी चलाइरहेको थिएँ । अगाडि जाम रहेछ, मैले ब्रेक लगाएँ । तत्कालै ऐनाबाट मैले पछाडि एउटा गाडि आइरहेको देखें । त्यो गाडीको गति तेज थियो । सुरुमा त मैले जसरी नै रोकिहाल्ला भन्ने सोचें । तर ऐनाबाट मैले हेर्दाहेर्दै त्यो गाडीले मेरो गाडिको पछाडिबाट नराम्रोसंग धक्का दियो । मेरो शरीर अगाडि हुत्तियो, टाउको र गर्धन पछाडीतर्फ सीटको माथिल्लो भागमा नराम्रोस“ग ठोक्कियो, एकछिन त दिमाग शून्य जस्तो भयो, त्यसपछि जब दिमागले काम गर्यो, मेरो सम्पूर्ण शरीर लगलग कापीरहेको थियो । मन एकदमै डराइरहेको थियो । पछि थाहा भो पछाडिको ड्राइभर मरेछ ।

शरीरमा खासै चोट लागेको थिएन । निद्रा पर्न चाही गाह्रो हुन थालेको थियो । एक हप्ता घरमै बसेर आराम गरें । त्यसपछि काममा जानु प¥यो भनेर गाडी घरबाट हाइवे पुग्दा नपुग्दै एकदमै डर लागेर आयो, चिटचिट पसीना छुट्यो, मुटुको धड्कन बढ्यो, दिमाग शून्य भयो र दुर्घटना भएको बेला मै पुगेको जस्तो लाग्यो । पछाडिको गाडीले हान्ला जस्तै लाग्यो । गाडी चलाउनै सकिन । साइड लगाएँ । श्रीमतीलाई खबर गरें । त्यो बेला मलाई दुर्घटनाको बेलामा नै छु जस्तो लाग्यो । त्यो बेलादेखि गाडी चलाएको छैन । तर, घरमै बस्दा पनि बेलाबेलामा दुर्घटनाको स्मृति आइरहन्छ । टिभीमा समाचार या सिरियलमा कार दुर्घटना देखियो भने पनि सही नसक्नु हुन्छ । निद्रामा दुर्घटना सम्बन्धी नै सपना देख्छु । ठूलो ट्रकले मलाई लखेटिरहेको जस्तो लाग्छ ।

आजभोली काम गर्न नगएको ६ महिना भइसक्यो । श्रीमतीले पु¥याइदिने कोशिस गरेकी थिइन् । तर हाइवेबाट जान खोज्दा मलाई फेरि त्यस्तै भयो । अर्को बाटोबाट जान खोज्दा पनि अरु कारहरूले पछाडिबाट हान्ला जस्तो लाग्ने, मेरो त ध्यान नै ऐनाहरूमा हुन्थ्यो र मैले श्रीमतीलाई ‘रोक रोक’ भनेर यति हैरान गरें कि उनी पनि दिक्क मानिन् । अफिस गएर पनि ध्यान दिन सकिन । हाकिमले निको भएर आउनु भन्नुभो ।

कारको इन्सुरेन्सको फारमहरू श्रीमतीको सहायताले बल्लबल्ल भरें । फारम भर्दा के–के भाको सबै लेख्नुपर्ने– सम्झेर लेख्न खोज्दा एकदमै आत्तिएँ ।

मन धेरैजसो उदास हुन्छ । कतिपय बेला त केही अनुभव नभएको जस्तो इन्तु न चिन्तु हुन्छु । मेरै गल्तिले गर्दा पछाडीको कारको ड्राइभर मरेको जस्तो लाग्छ । शरीरमा जाँगर छैन । भविष्य अन्धकार देख्छु ।”

माथिको उदाहरणले PTSD को विभिन्न पक्षहरूको चर्चा गर्दछ । यस्ता विरामीमा डिप्रेसन, अन्य आत्तिने रोगहरू पनि थपिन सक्दछ भने अलिकति आराम पाउने आशामा विरामी मध्यपानतर्फ पनि डोरिन सक्दछन् ।

उपचार

यो समस्याको उपचार विभिन्न मनोवैज्ञानिक उपचार पद्धतीबाट गर्न सकिन्छ । मुख्य उपचार पद्धतिमा उक्त व्यक्तिलाई उत्तेजना नियन्त्रण गर्ने तरिकाहरूको प्रयोगमा दक्ष पारेपछि सो घटना क्रमिक रुपले सम्झन र बर्णन गर्न प्रेरित गरिन्छ । यस्तो उपचार गलत तरिकाले गर्दा झन् नराम्रो हुन सक्छ । त्यसैले यस्तो उपचार गर्ने हो भने मनोवैज्ञानिक पद्धतीस“ग परिचित तथा अनुभवी उपचारकर्ता हुनु आवश्यक छ ।

यो मानसिक रोगमा औषधीले सहयोगी भूमिका निर्वाह गर्न सक्छ । औषधीले उत्तेजित अवस्थाबाट केही आराम दिन सक्दछ । त्यस्तै साथमा डिप्रेसन या अन्य आत्तिने रोग पनि भएको अवस्थामा औषधीले ति रोग नियन्त्रणमा ल्याउन सहायता गर्छ । तर, मुख्य उपचार पद्धती त मनोवैज्ञानिक पद्धती नै हो ।

 

पिपलबोट अस्ट्रेलियामा 1-16 March 2014 मा प्रकाशित (Page 21)

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस