लेख / ब्लग / अन्य प्रकाशन / समाचार

थाहा दिएर आत्महत्या – के पूर्व संकेत चिन्न सकिन्छ ?

Posted Date: 2014-07-25

केही महिना अघिको कुरा हो, नेपालको अन्नपूर्ण पोष्टमा एउटा समाचार प्रकाशित भयो– ‘भोज दिएर मलामी निम्तो ।’ झापाका एक १७ वर्षीय किशोरले म भोलि मर्दैछु र मेरो मलामीमा आउनु भनेछन् । साथीभाईलाई भोज पनि खुवाएछन् । सबैले उनलाई रमाएकै देखेछन् र मर्छु भनेर जोक गरेको भन्ठानेछन्  । तर, भोलिपल्ट साच्चै नै उनीले  झुण्डिएर आत्महत्या गरेछन् ।

अर्को समाचार– यसै वर्ष काठमाडौंको एमबीबीएसको परीक्षा तयारी गराउने एक संस्थामा अध्ययनरत युवाले तयारी कक्षामा नै कागजको टुक्रामा म अब मर्छु भनी लेखि एक साथिलाई दिएछन् । साथिले जिस्किएको होला भन्ने सोचिछन् । तर कक्षा सकिए लगत्तै उक्त युवा बाहिर निक्लेर हाम फालेछन् र सात तला तल भुइमा बजारिएर उनको मृत्यु भएछ ।

माथिका दुबै दुःखद घटनामा भर्खरै युवा अवस्था सुरु भएका दुई जीवन बिचैमा काटियो । के दुवैले आफ्नो मृत्युको सूचना दिएकै थिए ? के उनीहरूलाई रोक्न सकिन्थ्यो होला ? यस्ता कुरा उनीहरूको नजिकका नातागोता र साथीभाईको दिमागमा आउनु स्वभाविकै हो । उल्लेखित पहिलो घटनामा संकेत बुझेको अवस्थामा पनि साथीभाईलाई या नाता गोतालाई एक दिनको समय मिलेको भन्ने तर्क उनको मृत्यु पश्चात गर्न सकिएला । तर, दोस्रो घटनामा त सूचना दिएपछि यति चाडै आत्महत्याको घटना भयो कि सायदै कसैले केही सोच्ने मौका पाए ।

आत्महत्या प्रायजसो चरम नैराश्यताको परिणति हो । आत्महत्या गर्ने आधा या बढी व्यक्तिमा डिप्रेसनका लक्षणहरू हुन सक्छन् । यसको अर्थ डिप्रेसन गर्नेले मात्र आत्महत्या गर्छ भनेको होइन । आत्महत्या गर्ने थुप्रै मानिसमा डिप्रेसन या अरू मानसिक रोग नभएको पनि हुन सक्छ । कतिले आवेशमा आएर पनि आत्महत्या गर्दछन् । मानसिक रोग भए पनि या नभएपनि आत्महत्या गर्ने व्यक्तिहरू निकै समयदेखि दोमन मै हुन्छन् । यस क्रममा उनीहरूले मर्न मन लागेको विचार कुनै न कुनै रुपमा व्यक्त गरेका हुन सक्छन् । एक अमेरिकी अध्ययनले आत्महत्या गरेका झण्डै दुई तिहाई व्यक्तिहरू मर्नुभन्दा एक महिनाको अवधिमा कमसेकम एक पटक डाक्टर कहा“ जचाउन गएको देखायो । यसबाट सायद उनीहरू दोमन भएकै अवस्थामा उपचारको लागि प्रयासरत थिए कि भन्ने पनि बुझ्न सकिन्छ ।

हुनत हाम्रो समाजमा भुक्ने कुकुरले टोक्दैन भने जस्तै जसले मर्छु भन्छ ऊ मर्दैन पनि भनेको सुनिन्छ । मर्छु भनेर कसैले भन्दैमा ऊ मर्छ भन्ने छैन । तर, बुझ्नुपर्ने कुरा के छ भने यदी कसैले मर्छु भन्छ भने उसले किन त्यसो भनेको भनेर खोज तलास ग¥यो भने तपाईले एउटा ज्यान बचाउन पनि सक्नुहुन्छ । माथि उल्लेखित दुईवटा घटनामा त उनीहरूले सोझै जानकारी दिए । पहिलो घटना जस्तो अवस्थामा घुमाएर थाहा दिने हुन्छ । कतिपयले आफ्नो समानहरू पनि बाड्न थाल्छन् । केही अनौठो प्रकारले विदावारी पनि हुन खोज्छन् । कतिले आफ्ना छोरा छोरीको लागि आफू निकै टाढा जान लागेको झैं व्यवस्था गर्छन् ।

हामी मानसिक स्वास्थ्यकर्मीहरू माथिको अवस्थामा विरामीलाई पहिले तपाईंलाई आफ्नो भविष्य सोच्दा कस्तो लाग्छ भनेर सोध्छौं । त्यसपछि सोझै या कहिलेकाहीं घुमाउरो तरिकाले मर्न मन त लागेको छैन भनि सोध्छौं । मानसिक स्वास्थ्यको क्षेत्रमा अनुभव नभएकाहरूलाई यस्तो प्रश्नले झन उक्त व्यक्तिलाई मर्न उत्प्रेरित त गर्ने होइन भन्ने लाग्न सक्छ । वास्तवमा त्यस्तो हुँदैन– बरू कसैमा मर्ने विचारले उकुसमुकुस पारेको अवस्था रहेछ भने आफ्नो मनको कुरा व्यक्त गर्न पाउ“दा उसलाई हलुका महसुस हुन जान्छ । तर प्रश्नकर्ताले सहानुभूतिपूर्वक र गोपनियताको विचार नगरी हेपेको या थर्काएको लवजमा प्रश्न गरेमा चाँहि आत्महत्याको वारेमा सोच्दै गरेको व्यक्तिले आफ्नो मनको कुरा खोल्ने सम्भावना घट्छ ।

कतिपय व्यक्तिहरू आत्महत्या गर्नुपूर्व सामान्य या केही अवस्थामा त खुसी पनि देखिन्छन् । पहिलो घटनामा त्यस्तै बुझिन्छ । जब कसैले आत्महत्या गर्ने निर्णय गरिसकेको हुन्छ या दोमनको अवस्थाबाट पार पाइसकेको हुन्छ, उनीहरू साच्चै नै ‘मैले मेरो प्रश्नको उत्तर पाइसकें’ भनेर खुसी भएका पनि हुन सक्छन्– या उदास देखिएमा अरूले उसको योजना थाहा पाउला भनेर अरूको अगाडि सामान्य खुसी देखाएको पनि हुन सक्छन् ।

आत्महत्यालाई सडक दुर्घटनासंग तुलना गर्न नमिले पनि, जसरी सडक दुर्घटनालाई शतप्रतिशत निर्मूल गर्न सकिदैन, आत्महत्यालाई पनि शतप्रतिशत निर्मूल गर्न सकिंदैन । तर माथिका हरफहरूमा लेखिएका कुराहरूले हामीलाई आत्महत्या गर्न खोज्ने मानिसको व्यवहार र मनोविज्ञानको बारेमा केही जानकारी चाँहि मिल्छ ।

लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया

पिपलबोट अस्ट्रेलियामा 1-16 April 2014 मा प्रकाशित (Page 21)

 

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस