नेपाल अहिले ठूलो प्राकृतिक विपत्तिमा परेको छ । गतहप्ता गएको विनाशकारी भूकम्प, आजपर्यन्त भइरहेका त्यसका पराकम्पनहरु,जनधनको क्षति, अनि ऐतिहासिक एवं धार्मिक सम्पदाहरुको ह्रास, आदिका कारण हामी सब विचलित छौं,त्रसित छौं,कमजोर भएका छांै ।
भू–बनोटको आधारमा नेपाल भूकम्पीय जोखिममा रहेको कुरा जान्दाजान्दै पनि गत शनिवारको भूकम्प अन्य प्राकृतिक प्रकोपझैं कुनै पूर्वसूचनाबिना नै आएको थियो । जुनसुकै प्राकृतिक विपत्ति हाम्रो नियन्त्रणमा हुँदैन, अतः यो भूकम्प पनि थिएन नै । त्यस्तै यसले गरेको भौतिक विनाश पनि अकल्पनीय नै हुनपुग्यो, झण्डै ८ हजारको मृत्यु, त्यसको दुई गुणा बढी घाइते, लाखौं विस्थापित भए । अनि संभावित रोगहरुको संक्रमण, खाद्यान्न, पानी, बासस्थानहरुको हाहाकार……..
यी भौतिक पाटोभन्दा पर, सुरक्षाको चिन्ता, सामाजिक सम्बन्धहरुमा आउने उतारचढाव, आफन्तजनसँग हुने अस्थायी या स्थायी बिछोड, धार्मिक एवं आध्यात्मिक मूल्यमान्यतामा लाग्ने प्रश्नचिन्ह, यी सब कारण भूकम्पजस्तो प्राकृतिक (या दैवी) प्रकोपको मनोसामाजिक अवयवहरुमाथि चिन्तन गर्नैपर्ने हुन्छ ।
मनोवैज्ञानिक लक्षणहरुलाई तिनको देखापर्ने समयअनुसार वर्गीकृत गर्न सकिन्छ । अपत्यारिलोपन, आवेग, चिन्ता, उत्तेजना व्यक्तिगत या समूहगतरुपमा तुरुन्तै देखापर्ने लक्षणहरु हुन् । तीसँगसँगै भोकप्यास हराउने, डर लाग्ने, निद्रा नलाग्ने पनि हुनसक्छ । शुरुवाती दिनहरुका समस्यालाई शोकका प्रारम्भिक अवस्था मान्न सकिन्छ जो केही दिन या हप्तामा आफसेआफ नियन्त्रित भएर जान सक्दछन् । यी सँगसँगै टाउको, पेट या जिउ दुख्ने, रिंगटा लाग्ने, कमजोरी महसुस हुनेजस्ता शारीरिक लक्षणहरु पनि पाइनसक्दछ । कसैकसैलाई भने चाँडो रिस उठ्ने, काममा जाँगर नलाग्ने, परिवारका सदस्यहरुसँग मनमुटाव बढ्ने, सानोतिनो दुर्घटनाको शिकार बन्ने आदि समस्या पनि पर्न सक्दछ । त्यस्तै चुरोट, रक्सी बढी सेवन गर्ने, आफ्नो स्वाभाविक दैनिक क्रियाकलापमा परिवर्तन ल्याउन खोज्ने, अनि आफ्नो निद्रा, खानपानको ख्याल नगरी प्रभावित व्यक्तिहरुको सेवामा खट्नेजस्ता व्यवहारका कारण स्वास्थ्यमा अझै बढी नकारात्मक असर पर्न सक्दछ ।
भूकम्पका कारण घरबार या धनमालबिहीन हुनपुगेका या आफन्तजन गुमाएकाहरुमा या पहिले नै मानसिक रोग भएकाहरुमा अन्य मनोसामाजिक समस्या आउन सक्दछ, जस्तैः एङ्गजाइटी, डिप्रेसन, स्ट्रेस डिस्अर्डरजस्ता दीर्घकालीन मानसिक रोगहरु । हाइटीमा आएको भूकम्पपछिको आँकडाअनुसार यस्तो गम्भीर समस्या ५–१० प्रतिशत प्रभावित व्यक्तिहरुमा देखापर्ने गर्दछ ।
भूकम्पले व्यक्तिमात्र नभई परिवार, समाज अनि सींगो राष्ट्रमा नै प्रभाव पारिरहेको अहिले हामील नै अनुभव गरिरहेका छौं । समाजमा शुरुको चरणमा एकअर्काप्रति सहयोगको भावना प्रचुरमात्रामा रहन्छ । हाम्रो अनुभव ताजै छ, घरबाहिर पाल लगाएर बस्दा, सँगै खाने सुत्ने गर्दा पहिले नचिनेका छिमेकीहरुस्ाँग चिनापर्ची बढेको,सद्भावमा अभिवृद्धि भएको । तर समयक्रममा खाद्यान्न, पानीजस्ता श्रोतहरुको अभाव बढ्दै जाँदा सहकार्यको बदला घृणा, विद्वेष, आक्षेप बढ्न थाल्दछ । श्रोतबिहीन क्षेत्रहरुमा अहिले देखिएको नेतागण एवं सरकारप्रतिको आक्रोश त्यस्कै उदाहरण हो ।
यस्ता समस्याहरु प्रायशः बालबालिका, वृद्धवृद्धा, महिला, गर्भवती, शरणार्थी या आप्रवासी समूह, विपत्तिमा अत्याधिक प्रभावित समाज अनि उद्धारकर्ता (प्रहरी, सेना या स्वास्थ्यकर्मी) मा बढी हुनेगर्दछ ।
यस्तो विपत्तिले प्रभाव पारेका व्यक्ति अनि समाजमा मनोवैज्ञानिक प्राथमिक उपचार कसरी गर्ने त ?
१. ‘म सुरक्षित छु’ भन्ने भावना जगाउन प्रभावितहरुलाई खाना, छाना अनि आकस्मिक स्वास्थ्य सुविधा उपलब्ध गराउने । ती कहाँ र कसरी पाइन सकिन्छ भन्ने कुराको यथार्थ जानकारी गराउने ।
२. नजिकका आफन्त, परिवारजन, छिमेकी, साथीसँगीसँग निरन्तर सम्पर्कमा रहनसक्ने वातावरण तयार गर्ने । परिवारका सदस्य सधैं सँगै रहन पाउने माहौल कायम राख्ने ।
३. व्यवहारोपयोगी सुझाव–सल्लाह प्रदान गरेर एक–आपसलाई सहयोग गर्न समर्थ तुल्याउने । आपना आवश्यकता आफै पूरा गर्नसक्ने गरी सबैलाई सकारात्मक अनुभूति गराउन खोज्ने ।
४. प्रभावित व्यक्तिहरुको कथा–व्यथा सुन्ने अनि एकले अर्कालाई आफ्ना अनुभव, चिन्ता, पीरमर्का खुलस्त राख्नसक्ने वातावरण तयार गर्ने । जति अप्ठ्यारो परिस्थितिमा पनि सहयोगी भावना कायमै राख्ने । विपत्तिका बारेमा यथार्थ जानकारी गराउने । जस्तैः अहिले आइरहेका पराकम्पनको बारेमा सही वस्तुस्थिति बताई भ्रामक हल्लाहरु निस्तेज गर्नसकेमा जनमानसमा व्याप्त भयमा व्यापक कटौती आउने थियो ।
५. उपलब्ध राहत सामाग्री, सहायताको श्रोत, स्वास्थ्योपचार सबैका बारेमा यथेष्ट जानकारी दिई आशावादिता एवं सकारात्मक वातावरणको संचार एवं सम्प्रेषण गर्ने ।
यी पाँच सूत्रात्मक मनोसामाजिक उपचार पद्धति लागू गर्न हामी मनोचिकित्साकर्मीहरुको एक्लो प्रयासमात्रले सम्भव हुँदैन। यसमा स्थानीय नागरिक समाज, राजनैतिक नेतृत्व, शिक्षक, मिडियाकर्मी सबैको सामूहिक हातेमालो आवश्यक छ, होइन र ?
लेखक – डा. अजय रिसाल, मानसिक रोग विशेषज्ञ, धुलिखेल अस्पताल (कान्तिपुर दैनिकमा २२ बैसाख २०७२ मा प्रकाशित)