यो लेख नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी, भुकम्पमा दिलोज्यान दिएर खटेका अन्य उद्धारकर्ताहरू र भुकम्पमा सोझै नपरेका तर आफन्तहरु भुकम्पमा परेकाहरुको बारेमा सोचेर लेखिएको हो । हामीले प्राकृतिक विपत्ती पश्चात पीडितहरुमा उत्पन्न हुन सक्ने विभिन्न शारिरिक तथा मानसिक स्वास्थ्य समस्याहरूबारे नियमित रूपमा छापाहरूमा पढ्दै आएका छौं । यस लेखमा खासै चर्चा नगरिएको उद्धारकर्ता र पीडितहरुसंगै बसोबास गर्ने र हेरविचार गर्ने व्यक्तिहरूमा अल्पकालिन देखि दीर्घकालिन कस्ता खाले मनोवैज्ञानिक असरहरू उत्पन्न हुन सक्छन् भन्नेबारे चर्चा गरिएको छ । यस विषयको चर्चाका लागि म आफ्नो क्लिनिकमा नियमित रुपले उपचार गराइरहेका दुई व्यक्तिहरूको उदाहरण दिन चाहन्छु । यो उदाहरण ति व्यक्तिहरूको अनुमति पश्चात मात्र यस लेखमा प्रस्तुत गरिएको हो । दुबै व्यक्तिहरु सन् २००९ मा अस्ट्रेलियाको भिक्टोरियाको उत्तरपूर्व पहाडी भागमा लागेको भीषण आगलागीसंग सम्बन्धित छन् । मानसिक भावना, वेदना र पीडाहरु संसारमा जहा का मानिसमा पनि उस्तै हुन् । प्राकृतिक प्रकोप पछि को मानवीय पिडा जुन देश या समुदायमा पनि उस्तै हो । एक ठाउँ को अनुभवले अर्को ठाउं का मानिसहरुलाई शिक्षा दिन सक्छ ।
पहिलो व्यक्ति, पचास वर्षीय पुरुष– युनिभर्सिटीका एक कर्मचारी, जो आफै पनि पीएचडी गर्दै थिए । उनी आफू आगलागिमा परेका थिएनन् तर आगलागि भएको क्षेत्रमा बसोबास गर्ने आफना सासु–ससुरा खोज्दै सोही रात घटनास्थल पुगेका थिए । सासु–ससुराको कुनै अत्तोपत्तो थिएन । फोन गरेको– स्वीच्ड अफ भन्ने सूचना दियो । उक्त स्थानमा शरीर जलेका अनौठा गन्ध आइरहेको थियो । उनी पुग्दा चकमन्न राती थियो– टर्चबाट धेरै कुरा देख्न सकेनन् तर जति देखे, केही बाँकी नभएको प्रष्ट थियो ।
सासु–ससुरा जीवित छन् कि छैनन् भन्ने थाहा पाउन अरु दुई दिन लाग्यो । उनीहरुलाई सुरक्षित स्थानमा लगिएको रहेछ । फोन छुटेकाले सम्पर्क गर्न नसकेका रहेछन् । त्यसको सात महिनासम्म सासु– ससुरा उनीहरु संग बसे । ससुराको मानसिक अवस्था नराम्रो थियो । झर्किने र आत्तिने गर्थे । सासु ससुरासंगै बसुन्जेल ऊ उनीहरुलाई ढाढस दिने र उनीहरूको नयाँ बासस्थानको व्यवस्था गर्नतिर लाग्यो । जब उनीहरु सरेर गए, उसले त्यसपछि आफू पूर्ण रुपमा थकित र रित्तिएको अनुभव ग¥यो । त्यसबेला झण्डै एक वर्ष अध्ययन गर्न सकेनन् । ‘दिमागले काम गर्दैनथियो’ उनले भने । ध्यान दिन सक्दैनथिए । मनमा नानाथरी कुरा खेल्थ्यो । एक वर्षपछि पार्ट टाइम अध्यापन गर्न लागे । तर पीएचडी जारी राख्न सकेनन् । पहिले निकै तीक्ष्ण उनी, सामान्य बौद्धिक काम गर्दा पनि निकै मानसिक थकावट हुन्थ्यो । उनकी श्रीमतीले भनिन्, उहाँ पहिले निकै फुर्तिलो र प्रशन्न चित्त मान्छे, अहिले त आफ्नो छाया जस्तो मात्र हुनुहुन्छ । राम्रो निन्द्रा नपर्ने, खाना पनि नरुच्ने र जबर्जस्ती ठूस्नुपर्ने अनि आफूलाई घिसारेर हिडेको जस्तो अनुभव हुने गरेको उनले सुनाए । पहिला किन उपचार नगराएको भन्ने प्रश्नको जवाफमा उनले भने, ‘म त आगोलागिमा परेको थिइन नि, मैले कुन मुखले उपचार खोज्नु ।’ अहिलेको मानसिक अवस्थाको कारण उनमा लाज र आफैले आफैलाई ठीक पार्न नसकेकोमा ग्लानी प्रष्ट देखिन्थ्यो ।
थप जाचको क्रममा उनको समस्याको अर्को पाटो पनि भेटियो जुन पहिले उनले कसै संग चर्चा गरेका थिएनन् । उनी सकेसम्म आगलागीको क्रममा आफूले भोगेका घटनाहरुको बारेमा सम्झन चाहदैन थिए । माथिको कुरा वर्णन गर्दा पनि उनी पटक पटक रोए । गला थुप्रै पटक अवरुद्ध भयो । पटक पटक उनको स्मृतिमा आफू गएको डढेलो लागेको स्थानको दृष्य एक्कासी आइदिन्थ्यो । यो दृष्य यति स्पष्ट थियो कि ६ वर्ष पछि पनि हिजो भएको जस्तै लाग्थ्यो । आगलागि भएको ठाउं तिर त उनी जादै जादैनथे । र टिभीमा आगलागी मात्र होइन कुनै पनि प्राकृतिक विपत्ती परेको हेर्न सक्दैनथे । टीभी बन्द गर्थे या च्यानल परिवर्तन गरिदिन्थे । पार्टीमा जान छोडिदिए किनकि बार्बक्यु गर्दा मासु डढेको गन्धले उनलाई सोझै डढेलो लागेको स्मृतिमा पु¥याइदिन्थ्यो । तर माथि भनिएझै लाजले आफ्नो अप्ठ्यारो कसैलाई भन्दैनथे । यसरी समाजिक अवसरहरुमा सम्मिलित नहुदा उनले आफू श्रीमतीप्रति बोझ भएको ठान्न थाले । उनको ग्लानी झन् बढ्यो । झन्डै ६ वर्षको भित्री तड्पाइपछि बल्ल उनले आफ्नो अवस्थाबारे श्रीमतीलाई भने । श्रीमतीले गहभरी आसु पार्दै आफ्नो लोग्नेको अवस्थाबारे थप सूचना दिइन– जब उनका श्रीमान गला भारी महसुस गर्दै केहीबेर विश्राम लिन्थे ।
दोस्रो व्यक्ति, ५८ वर्षीया महिला– भिक्टोरियाको आपत्कालिन सेवाकी एक कर्मचारी । २००९ को डढेलोको समयमा उनी ड्युटीमै थिइन् । उनको काम सो क्षेत्रमा कार्यरत चारवटा टोलिहरूको संयोजन गर्नुथियो । उनीले डढेलोले एकपछि अर्को गर्दै बस्तीहरु जलाएको आफ्नो कम्प्युटरको स्क्रीनमा हेर्दै आपत्कालिन सेवाका अन्य कर्मचारीहरूलाई सूचना सम्प्रेषण गर्थिन । कहा कति मानिस फसेका छन् या मरे, उनले पहिले आफू थाहा पाएर अनि सम्प्रेषण गर्थिन् । त्यो कोलाहलको अवस्थामा आगोलागीको लगत्तै उनले आफन्तहरूलाई मृतकहरुलाई राखिएको शबगृहमा लैजानु पथ्र्यो । यी केही दिनहरु उनका लागि यति कठिन भए अन्ततः काम गर्न नसक्ने ठानिन् । उनको अवस्था देखेर उनलाई हेडक्वार्टरमा प्रशासनिक काम गर्नेगरी सरुवा गरियो । विस्तारै उनको अवस्था सामान्य हुँदै गयो । तर उनी आगोलागी सम्बन्धी कुराकानी र समाचारबाट टाढै बस्थिन् । उनको समस्या तब फेरि सुरु भयो जब उनलाई एउटा नयाँ तालिमको लागि पठाइएको थियो–जहाँ तालिम सञ्चालकहरूले उनको अनुभवबाट अरुले लाभ प्राप्त गरुन् भन्ने हेतुले उनको अनुभव राख्न भने । जब उनले आफ्नो २००९ को अनुभव सुनाउन थालिन, त्यसपछिदेखि उनको दिमागमा २००९ को स्मृति एकदमै ताजा भएर आयो । दिमागमा हरदम रोइरहेको र राती सपना पनि आगोलागिकै देख्न थालिन् । मन हरदम आत्तिने, काममा ध्यान दिन नसक्ने र क्रमिक रुपले थकावट पनि बढ्दै जान लाग्यो । कामै गर्न नसकेपछि उनी आफ्नो चिकित्सकको सल्लाह अनुरुप मानसिक रोग विशेषज्ञसंग सल्लाह लिने निर्णयमा पुगिन् । यति बीचमा भने उनी रक्सीको सहारामा पुगिसकेकी थिइन् ।
माथिका दुबै व्यक्तिहरू आगोलागिको समयमा शारिरिक भन्दा पनि भावनात्मक रुपले बढी संलग्न थिए । सोझो हिसावले सोच्दा उनीहरुलाई कुनैपनि मनोवैज्ञानिक असर नपर्नुपर्ने हो भनेर सोचिएला । उनीहरुले पनि त्यस्तै नै सोचे । सल्लाह लिनु त परै जाओस, आफूलाई परेको मनोवैज्ञानिक समस्याको बारेमा कसैलाई बताउन पनि लाज माने । फलतः वर्षौसम्म भित्रभित्रै तड्पीरहे । दुबैले बेलाबेलामा मर्नुप¥यो कि क्या हो भनेर पनि सोचे । बेलाबेलामा अब म यत्तिकै खेर गएर मर्छु होला भन्ने पनि ठाने ।
माथि उल्लेखित दुबै व्यक्तिहरूको समस्या अरु मानिसहरूलाई परेको विपत्तीको सामिप्यको कारणले उत्पन्न भएको हो । उनीहरु आफू सोझै विपत्तीका शिकार थिएनन् । प्राकृतिक प्रकोप पश्चात पीडीतहरूको उद्धारकालागि परिचालित हुने नेपालका सेना तथा प्रहरीका जवानहरूले झन कस्ता–कस्ता दृष्यहरु देख्नु या अवस्थाहरु भोग्नु प¥यो होला । मानविय विनाशले ल्याएको मृतक तथा घाइतेहरूको आफन्तको हृदयविदारक भावनात्मक अवस्थामा आफ्नो भावना दबाउँदै कसरी ढाढस दिनुप¥यो होला र त्यसपश्चात एक पछि अर्को उद्धारतर्फ लाग्नु प¥यो होला । सबैले नायकको रुपमा चित्रित गरेका उनीहरूलाई आफूलाई मनोवैज्ञानिक रुपले बलियो देखिनुपर्ने एक नदेखिदो दबाब पर्न जान्छ । उद्धारकर्ताहरूमा धेरैलाई कुनै पनि मानसिक समस्या नदेखिएला– तर कतिपयलाई माथि वर्णन गरिएजस्तो मनोवैज्ञानिक समस्याहरु उत्पन्न हुन सक्छन् । पहिलो उदाहरणमा समस्या प्राकृतिक प्रकोप लगत्तै सुरु भएको छ भने दोस्रो उदाहरणमा समस्या ६ वर्षसम्म सुषुप्तावस्थामा रहेर त्यसपछि सो स्मृति ताजा पार्ने एउटा सामान्य झै लग्ने घटनाबाट पुनर्जागृत भएको छ । यस्ता मानसिक अवस्थाहरु विभिन्न प्रकारका हुन सक्छन् । डिप्रेसन, आत्तिने रोगहरु र पोष्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर बढी मात्रामा देखिन्छन् । कतिपय व्यक्तिहरु रक्सीको कुलतमा पनि पर्दछन् । पीडित जस्तै उद्धारकर्ता पनि आत्महत्याको दर बढि पाइएको छ । शुरुमा धेरैमा देखिने मन आत्तिने, रिंगटा लाग्ने, निंद्रा नलाग्ने, दिमागमा घाइते या मृत्तकका अनुहार र शरिरको चित्र आइरहने केहि दिन या हप्ताको लागि हुनु सामान्य हो । तर लामो समयसम्म यस्तो भइरहेमा बिशेषज्ञको सल्लाह लिनु राम्रो हुन्छ । त्यस्तै शुरुमा मानसिक अवस्था सामान्य भैसकेपछि फेरि बल्झेर आएमा पनि बिशेषज्ञको सल्लाह लिनु राम्रो हुन्छ ।
महाभूकम्प जस्ता प्राकृतिक बिपत पछिको पुनस्र्थापनामा पीडितको मानसिक अवस्थाको सहि पहिचान र उपचार धेरै महत्वपूर्ण पक्ष हो । तर हामीले उद्धारकर्ता पनि जोखिममा भएको कुरा बुझ्नु पर्छ । यदी तपाई आफै या आफन्त या साथी उद्धारकर्ता भएको अवस्थामा आफ्नो या साथीको मानसिक अवस्थामा ध्यान दिनु होला । माथि पनि भनियो मानसिक भावना, वेदना र पीडाहरु संसारमा जहा बसेपनि उस्तै हुन् । यो विकसित देशका सुखमा मात्तिएका पीडा खप्न नसक्नेहरूको मात्र समस्या होइन । अन्य धेरै समस्याहरू संग जुझिरहेको गरीब देशमा मानसिक समस्यालाई कम महत्वपूर्ण ठान्नेहरु पनि धेरै छन् । तर मनको पीडाले कति गाह्रो हुन्छ त्यो त पीडा हुनेलाई नै थाहा हुन्छ ।
यस्ता मनोवैज्ञानिक समस्याहरुको उपचार छन् । समस्या पर्ने सबैलाई भावनात्मक साथको त जरुरत त हुन्छ नै, धेरैलाई काउन्सिलिंग या परामर्शको जरुरत पर्छ त केहिलाई औषधि कै आवश्यकता पर्छ । यस लेखको उद्देश्यचाही उद्धारकर्ताहरूलाई पर्न सक्ने अल्पकालिन देखि दीर्घकालिन मनोवैज्ञानिक समस्याको बारेमा जानकारी दिनु र लाज एवं ग्लानीबाट माथि उठेर सहायता लिन प्रेरित गर्नु हो ।
लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया