लेखक – डा. अजय रिसाल, मानसिक रोग विशेषज्ञ, धुलिखेल अस्पताल (कान्तिपुर दैनिकमा जुलाई २९ , २०१३ मा प्रकाशित)
“नेपालमा प्रतिदिन दुई बलात्कार………..”
बुधवारको कान्तिपुरको प्रथम पृष्ठमै प्रक्षेपित यो आँकडाले साँच्चै नै मनस्थिति खल्बलायो, अनि खोतल्न थाँले यसका कारकतत्व र मनोसामाजिक अवयवहरु ।
हिंसाका विविध प्रकारहरुमा सामाजिक, गार्हस्थ अनि अन्तर्वैयक्तिक हिंसा प्रमुख रुपमा रहेको पाइन्छ । तीमध्ये पनि लैंगिक हिंसाका पाटाहरु केलाउँदा प्रायशः महिलाहरु नै पीडित रहेको देखिन्छ । महिलाहरु जुनसुकै ठाउँ (कार्यस्थल, सार्वजनिक यातायात, स्कूल, कलेज) मा हिंसाको शिकार हुने गरेको मिडियाहरुमा देखिएको छ । उनीहरु पीडित नै हुँदा पनि सुनुवाइ नहुने या अभैm पीडकहरुको कोपभाजनमा पर्नुपर्ने तथ्य उपरोक्त समाचारमै देखिइसकेको छ । बिगत केही महिनायता देश–विदेशमै यही या यस्तै प्रकृतिका घटनाहरु घटिरहेको पाइएको छ ।
वास्तवमा मानव समाजमा व्याप्त लैंगिक हिंसाको तथ्यांक डरलाग्दो नै छ । विश्वव्यापी अध्ययनको तथ्यांक हेर्दा आम महिलामा जीवनकालभरिमा हिंसाको शिकार बन्नसक्ने अनुमानित दर २० प्रतिशत रहेको पाइन्छ । अमेरिकामा सरदर ९–१३ प्रतिशत महिला बलात्कारको शिकार हुने गर्दछन् । त्यस्तै पेरु, तान्जानियाजस्ता देशमा सर्वाधिक अनि बंगलादेश, इथियोपियाजस्ता मुलुकमा तुलनात्मक रुपमा न्यून महिला हिंसाको शिकार हुने विश्व स्वास्थ्य संगठनको २००५ को सर्भेक्षणले देखाएको छ । नेपालमै पनि सन् २०१२ मा भएको ६ जिल्लाव्यापी एक शोधकार्यले जनाए अनुसार ४८ प्रतिशत महिलाहरुको जीवनकालभरिमा कुनै न कुनै हिंसाको घटना घट्ने गरेको, तीमध्ये २७ प्रतिशत शारीरिक हिंसा (कुटपीट, चोटपटक)अनि १५ प्रतिशत यौनजन्य हिंसा (बलात्कार)को शिकार हुने गरेको पाइन्छ ।
विश्वव्यापी तथ्यांकसँग मिल्दोजुल्दो नै गरी ७५ प्रतिशतमा पीडक पक्ष पति या घनिष्ठ साथी, बाँकी २५ प्रतिशतमा पनि नातेदार, छिमेकी या शिक्षक नै भएको पाइयो । अझै खेदजनक कुरा भन्नुपर्दा लैंगिक हिंसाविरोधी कानून या उपलब्ध उपचारका बारेमा कमै महिलालाई थाहा हुने गर्दछ ।
महिलामाथि घट्ने यस्ता दर्दनाक हिंसाका घटनाहरुको विश्लेषण गर्दा प्रायशः पीडकहरुले आफूमा उपलब्ध शक्ति या श्रोतसाधनको उन्मादका कारण नै आफूभन्दा कमजोरहरुमा बलपूर्वक शारीरिक एवं यौनशोषण गरिरहेको देखिन्छ । त्यसैले त दलित–उत्पीडित, विधवा, एकल, किशोरी अनि सामाजिक रुपले अपहेलित महिलाहरु नै बढी बलात्कारको शिकार भएका पाइन्छन् । अन्तर्राष्ट्रिय अध्ययन अनुसार प्रायः पुरुषहरु आफ्ना महिला प्रेमी (मित्र)हरुलाई झुक्याएर निद्राको गोली या अन्य लागू औषधी (फ्लूनाइट्राजिपाम, डेट रेप ड्रग्स) खुवाएर पनि बलपूर्वक बलात्कारको प्रयास गर्ने गर्दछन् । तर लोकलज्जा, डर आदिका कारण पनि सम्बन्धित ठाउँमा उजुरी नहुने हुँदा पीडकहरुले सजिलै उन्मुक्ति पाउने गर्दछन् र यस्ता घटनाले निरन्तरता पाई नै रहन्छन् ।
यस्ता अन्तर्वैयक्तिक हिंसामा उद्यत हुने व्यक्तिहरु प्रायःजसो रक्सी तथा लागूपदार्थ दुव्र्यसनले ग्रस्त या कुनै न कुनै व्यक्तित्वजन्य समस्या (एण्टिसोसियल, प्यारान्वाइड पर्सनालिटी डिस्अर्डर) या डिप्रेसन, म्यानियाजस्ता रोगहरुद्वारा पीडित भएको पाइन्छ ।
लैंगिक हिंसा (मुख्यरुपमा बलात्कार) को शिकार भएका महिलाहरुमा चोटपटक, यौनजन्य रोगहरु, अनिच्छित गर्भाधान आदि शारीरिक समस्याका साथसाथै तात्कालिक एवं दीर्घकालीन मानसिक समस्याहरु समेत देखा पर्न जान्छ । अतः यस्ता महिलाहरुलाई सर्वप्रथम चोटपटकको उपचार गर्ने, यौनजन्य रोगको समाधानका लागि औषधि प्रयोग गर्ने अनि अनिच्छित गर्भाधान रोक्ने उपाय अवलम्बन गर्नुपर्दछ ।
जबर्जस्ती एवं अपर्झट आइपरेको हिंसात्मक प्रभावका कारण तिनमा उत्पन्न हुने डर, आतंक, लाज, संकोच आदि भावनात्मक उतारचढावको न्यूनीकरणका लागि एकान्त ठाउंमा कुराकानी गर्नसक्ने वातावरण तयार गर्नुपर्दछ । आवश्यक परेमा तिनको मनोबल उकास्नका लागि लघु–मनोविमर्शका उपाय प्रयोग गर्नु लाभदायक हुन्छ । तिनलाई न्यायिक मात्र नभई मनोवैज्ञानिक ढाडससमेत प्रदान गरी हिंसा गर्ने पीडकलाई यथोचित सँजायको प्रत्याभूति दिलाउनुपर्दछ । महिला हिंसाको दीर्घकालीन मानसिक समस्याका रुपमा देखापर्ने डिप्रेसन, एङ्गजाइटी, पोष्टट्रमाटिक स्ट्रेस डिस्अर्डर, रेप ट्रमा सिण्ड्रम आदि रोगहरुको पनि मनोवैज्ञानिक एवं औषधीय उपचार गर्नुपर्ने हुन्छ ।
यसरी हाम्रो समाजमा गुणात्मक रुपमै बढिरहेको यौनजन्य हिंसा अनि बलात्कारको समाचार मात्र नभई प्रभाव न्यूनीकरणका लागि मनोसामाजिक अनि बृहत्तर राष्ट्रिय चिन्तनको आवश्यकता भइसकेको छ ।
सम्बन्धित लेख: बाल यौन दुर्व्यबहारको मनोबैज्ञानिक पक्ष