लेख / ब्लग / अन्य प्रकाशन / समाचार

बाल्यकालमा मायाको अभावको व्यक्तित्व विकासमा असर

Posted Date: 2013-06-24

यस लेखमा म पाठकहरूलाई एउटा काल्पनिक कथा सुनाउन चाहन्छु । काल्पनिक नै भएपनि यो कथामा भएका अनुभवहरू विरामीहरूमार्फत म दिनहुँ सुन्छु । मेरो कर्मथलो अष्ट्रेलिया भएकोले यहीको परिप्रेक्ष्यमा यो कथा बुनिएको हो ।

एउटा पाँच वर्षीय बालकको आमाले उसलाई उसको बाबुसंग छोडेर अर्कैसंग जान्छे । सुरूमा उसको बाबु उदास हुन्छ, छोराको मुख हेरेर मन शान्त पार्न खोज्छ र छोराको राम्रै हेरविचार गर्छ । तर, केही महिनापछि अनलाइन डेटिङमा व्यस्त हुन थाल्छ । कामबाट घर फर्केर आएपछि प्रेमिकासंग गफमा मस्त हुन्छ । छोरालाई दुई–चारवटा नयाँ खेलौना ल्याएर दिन्छ– सोच्छ छोरा खुशी नै होला ।

तर छोराको मनस्थिति अर्कै प्रकारले विकसित भइरहेको हुन्छ । जब आमाले छोडेर गइन–ऊ सोच्छ– “आमाले मलाई माया गरीनन्, म भन्दा अर्कै मान्छे राम्रो रैछ ।” आमाले के कारणले छोडेर गइन् भनेर विवेचना गर्ने क्षमता उसमा विकसित भइसकेको हुदैन । त्यस्तै, मेरो बाबु अब एक्लो भयो, उसलाई पनि एउटा जीवनसाथी चाहिन्छ, भनेर सोच्ने क्षमता पनि उसमा विकसित भएको हुदैन । ऊ सोच्छ– “मेरो बुवाले पनि मलाई भन्दा बढी अर्कैलाई माया गर्छ ।”

अब बाबुको ध्यान आकर्षण गर्न कहिले काँही ऊ बढी रुने कराउने या झगडा गर्ने हुन सक्छ । कहिले काँही ऊ झोक्राउने र चुपचाप भएर बस्छ । झगडा गर्ने भएपनि या चुप लाग्ने भएपनि उसको मनमा “म मनपराउन लायक रहेनछु” वा “मलाई एक्लै हुनुपर्छ” भन्ने सोचाई यस्तै या अन्य कुनै रूपमा आउन सक्छ । यस्ता सोचाइले उसलाई थप उदास या चिन्तित पारिदिन सक्छ । जब ऊ स्कूल जान थाल्छ– ऊ एउटा डर लिएर गएको हुन्छ– “फेरि पनि मलाई कसैले छोडेर जाने हो कि ?” कता कता मनको कुनामा ऊ आफूलाई अरूभन्दा अलि हीन हो कि भन्ने सोचाइ पाल्न सक्छ ।

यस अवस्थामा ऊ साथी बनाउने क्रममा अलि नर्भस हुने, साथी बनाइसकेपछि साथीले छोडेर जालाकी भनेर चिन्तित हुने र साथीले नछोडोस भनेर साथीले कहिलेकाही नराम्रो व्यवहार गर्यो भनेपनि चुपचाप सहेर बस्ने हुन सक्छ । जब ऊ हेपाइ सहन थाल्छ, स्कुलमा ऊ अरु बच्चाहरुबाट पेलिने सम्भावना बढ्दै जान्छ यस्तो बच्चा Bullying को शिकार हुने सम्भावना बढी हुन्छ ।

यसरी एक प्रकारले ऊ मनोवैज्ञानिक बोझ र शन्शयका साथ स्कूल सुरू गर्दछ र  यस्तो अवस्थामा उसको  अन्य बालकहरूसंग बिभिन्न किसिम को प्रतिष्पर्धा सुरू हुन्छ । ऊ अलि नर्भस हुने प्रकृतिको छ त्यसैले माथि भनिएझैं प्राकृतिक रूपले उसको साथीहरूसंगको सम्बन्ध अगाडि बढ्दैन । उसलाई विस्तारै एक्लै परेको अनुभव हुन थाल्छ।

प्राथमिक विद्यालयका केही वर्षहरूले माध्यमिक विद्यालयमा उसले  कसरी अगाडि बढ्छ भन्ने तय गर्छ । माध्यमिक विद्यालयमा प्राथमिक विद्यालयको जस्तो शिक्षकहरूको नियन्त्रण हुँदैन । विद्यार्थीहरूलाई प्राथमिकबाट माध्यमिक विद्यालयको खुड्किलो सजिलो नहुन पनि सक्छ– विशेषगरी यस कथामा बर्णन गरिएको जस्तो विद्यार्थीलाई । Bullying माध्यमिक विद्यालयमा झन् बढी हुन्छ । ऊ   Bullying बाट बच्न गलत संगतको शरणमा पर्दै लागूपदार्थको दुव्यर्सनी पनि हुन जान्छ ।

यस्तो कथा अर्को तरिकाले पनि अगाडि बढ्न सक्दछ । अन्य तरिकाबाट अरूको ध्यान नपाएका यस्ता बालकहरू पढाई या खेलकूद, जस्ले बढी मानसम्मान प्राप्ती वा अरूको ध्यान आकर्षण हुन सक्दछ, त्यस्तो कुरामा निकै मेहनत गरेर आफ्नो पहिचान निर्माण गर्न पनि खोज्दछन  । झ्वाट्ट हेर्दा यो राम्रो हो । तर, उक्त बालकमा Perfectionist बानी विकसित हुनसक्छ । तपाईं सोच्नुहोला Perfectionist भए के खराबी भयो त ? जबसम्म उसले आफुले निर्धारण गरेको स्तर या नतिजा प्राप्त गरि रहन्छ, ऊ खुशी नै हुन्छ । तर जब ऊ आफ्नो पूर्व निर्धारित स्तरसम्म पुग्न सक्दैन– जस्तै जब पूर्णाङ्क या अब्बल अंक प्राप्त गर्न सक्दैन– उसको मनभित्र पहिलेदेखि नै गुम्सिएर बसेको हिन भावना हावी भइहाल्छ । Perfect नतिजा पटक पटक नआउदा उसलाई डिप्रेसन या आत्तिने रोगले सताउन सक्छ ।

नराम्रो कुरा मात्रै नगरौं । राम्रो कुरा पनि गरौं । यदि यो बालकले अरू माया गर्ने मानिस भेट्यो– जस्तै हजुरबुवा हजुरआमा, राम्रो शिक्षक वा असल साथी– भने उसको आत्मविश्वासमा विस्तारै वृद्धि हुन सक्दछ । आमाको उपस्थिति नभएको र बाबुको साथ नपुगेको यस बालक विस्तारै अन्य नाता सम्बन्धको उपस्थितिले सामान्य बालककै अवस्थामा आउन सक्छ ।

यस लेखबाट बर्णन गर्न खोजिएको कुरा के हो भने बाल्यकालका घटनाहरूले पनि दुरगामी असर पार्न सक्दछन् । हुनत सबै बाल बालिकाहरूमा एकनासको असर नपर्ला । तर बाल्यकालमा कम माया पाएर हुर्केका व्यक्तिहरूमा डिप्रेसन र आत्तिने रोग बढी देखिएको छ । यस लेखमार्फत दिन खोजिएको सन्देश के हो भने तपाईं आफ्नो व्यस्त जीवनको भागदौडको क्रममा तपाईंको सन्तानलाई सबैभन्दा बढी चाहिने कुरा ‘माया’ दिनबाट चुक्नुभएको त छैन ?

 

अर्को अंकमा– बाल्यकालमा भएको यौन दुराचारले व्यक्तित्व विकासमा असर ।

 

पिपलबोट अष्ट्रेलिया – जुन १६-३० मा प्रकाशित ।  हेर्नुहोस्  pipalbot.com.au

Dr A Pokharel, Melbourne, Australia

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस