बुलिइङ्ग के हो र यसका मनोवैज्ञानिक असर के–के हुन सक्छन् भनि गत अंकमा चर्चा गरियो । यस अंकमा यसलाई कसरी सम्बोधन गर्नेबारे चर्चा गरौं ।
हुनत बुलिइङ्गलाई सम्बोधन गर्ने सिद्धान्तहरू सबै प्रकारका बुलिइङ्गमा उस्तै नै भएतापनि केही विविधता पनि छन्। त्यसै अुनरुप स्कूल र कार्यक्षेत्रमा हुने बुलिइङ्गका आधारमा कसरी बुलिइङ्गको सामना गर्न सकिन्छ वर्णन गर्ने कोशिस गरेको छु।
स्कूलमा हुने बुलिइङ्गमा के गर्ने ?
स्कूलमा हुने हुने बुलिइङ्ग विभिन्न चरणमा हुने गर्छ। सबैभन्दा बढी बुलिइङ्ग ३–४ कक्षा बाटै सुरु हुन्छ। त्यसबेलाको बुलिइङ्गमा बुल्लीले आफ्नो शिकारलाई गाली गर्ने, घचेट्ने र पिट्ने जस्ता क्रियाकलापहरू बढी गर्ने हुन्छ। ६–७ कक्षासम्म त्यस्तै बुलिइङ्ग कायम रहन्छ। त्यस पछिको बुलिइङ्ग भने एक्लाउने र साइबर बुलिइङ्ग बढी हुने हुन्छ।
आफ्नो केटाकेटीहरू माथि बुलिइङ्ग भएको छ या छैन भनी जानकारी राख्ने कोशिस गर्नुहोस। उनीहरूकोस्तर (कक्षा)अनुरुपको के कस्तो बुलिइङ्ग हुनसक्छ भन्ने सामान्य जानकारी हासिल गर्नुहोस। आफ्नो सन्तानसँग विश्वासको वातावरण बनाउनु अत्यन्त जरुरी हुन्छ । उनीहरूको व्यवहारमा कुनै परिवर्तन आएको छ छैन ध्यान दिनुहोस। उनीहरूले केही संकेत दिएमा बोल्न र भावना व्यक्त गर्न प्रेरित गर्नुहोस । कतिपय अभिभावकमा आफ्नो सन्तानलाई दोष दिइहाल्ने बानी हुन्छ– ‘तँ किन त्यहाँ गइस ?’, ‘तँलाई त्योसँग जानु भनेर कसले भनेको थियो ?’ भनेर। यी कुराहरूलाई तत्काल को लागि थाती राखेर, आफ्नो सन्तानलाई दोष नदिएर उसलाई ढाडस दिनुहोस । यो एकदमै जरुरी छ।यदी बुलिइङ्ग भएको रहेछ भने उसलाई सोध्नुहोस–
ऊ के गर्न चाहन्छ र उसले तपाईंबाट के आशा गरेको छ। सो समस्या कसरी समाधान गर्ने होला भनेर छलफल गर्नुहोस । आफै आवेशमा आएर ‘के हेरेरबसेको, त्यसलाई गएर पिट्दे’ या ‘पख म अहिल्यै प्रिन्सिपललाई फोन गर्छु’ भनेर एकतर्फी निर्णय नलिनुहोस।
तपाईको सन्तानमाथि आपराधिक क्रियाकलाप भएको रहेछ भनेत स्कूल प्रिन्सीपल र पुलीसलाई समय वर्वाद नगरी खबर गर्नुपर्ने हुन्छ । तर अन्य अवस्थामा भने आफ्नो सन्तान सँग राम्ररी छलफल गरेर के गर्दा राम्रो होला अरू कसलाई सम्मिलित या सूचित गर्नुपर्ला इत्यादी छलफल गर्नुहोला । यसो गर्दा तपाईंको सन्तानले भविष्यमा पनि तपाईंलाई विश्वास गरेर आफ्ना समस्याहरू भन्ने सम्भावना बचिरहन्छ । नत्र तपाईंको आवेशको निर्णयले ऊ झन् डराएर एक्लै पीडित भइरहने हुन सक्छ । सामान्य रुपमा तत्कालको लागि निम्न तरिकाहरू अपनाएर तपाईं आफ्नो सन्तानलाई सल्लाह दिन सक्नुहुन्छ।
१. बुलिइङ्ग हुने स्थानहरूको पहिचान गरेर ती ठाउँमा नजाने।
२. शिक्षक तथा अरू बुलिइङ्ग नगर्ने विद्यार्थी भएको ठाउँ वरपर बस्ने।
३. स्कूलमा शिक्षकसँग कुरा गरेर स्कूल काउन्सिलर या घरमा बाबुआमा मध्ये एक सँग नियमीत रुपमा यो समस्याको बारे छलफल गर्ने प्रक्रिया सुरु गर्ने।
४. कसैले बुल्लि गर्न खोजेमा वास्ता नगरेको जस्तो गरेर त्यस स्थानबाट अर्को स्थान तर्फ जाने।
५. कसैले कुनै नराम्रो बचन या व्यवहार गरेमा आफूलाई मन नपरेको प्रष्ट रुपमा भन्ने र नभन्न आग्रह गर्ने।
६. यदी माथिको तरिका (५) प्रयोग गर्ने अवस्था नभएमा केही फरक परेको छैन जस्तै गरी हासोमा उडाउने कोशिस गर्ने ।
७. माथिका विभिन्न तरिकाहरू प्रयोग गर्न Role Play गर्ने । घरमा एक आपसमा बुल्ली गर्ने र शिकार हुनेको रुपमा नाटक जस्तो गर्दै विभिन्न तरिकाहरु अभ्यास गर्ने ।याद गर्नुहोस यस्तो गर्नको लागि आमाबाबु र सन्तानमा विश्वासको वातावरणको निकै जरुरत हुन्छ ।
बुलिइङ्गको विरुद्ध आफू पनि मारपीटमा उत्रिनु र चुप लाग्नु दुबै हानिकारक हुन्छ ।
कार्यक्षेत्र (Work Place) मा हुने बुलिइङ्ग मा के के गर्न सकिएला ?
यसमा पनि माथि कै सल्लाहहरु लागू हुन सक्छ। यसवाहेक निम्न बुँदाहरु पनि उपयोगी हुन सक्छन् ।
१. बुल्ली गर्नेका गतिविधिहरुको होशियारी साथ अभिलेख राख्नुहोस ।
२. विशेषत ठूला संस्थाहरुमा बुलिइङ्ग सम्बन्धी नियम तथा निश्चित प्रक्रियाहरु हुन सक्छन् । आफ्नो कामगर्ने संस्थामा बुलिइङ्ग रोक्न कस्ता प्रक्रिया तथा संरचनाहरू छन् जानकारी राख्नुपर्छ ।
३. स–साना संस्था, रेष्टुरेन्ट तथा साना पसलहरुमा भने बुलिइङ्ग विरुद्ध प्रक्रिया तथा नियम हुने सम्भावना कम हुन्छ । त्यस्ता कार्यक्षेत्रमा हाकिम या उक्त संस्थाको मालिक नै दु:ख दिने प्रकारको व्यक्ति भएमा अर्को जागीर खोज्नु नै राम्रो होला ।
तर कतिपय अवस्थामा अर्को जागिर खोज्न सम्भव हुँदैन त्यस्तो अवस्थामा कर्मचारीले बुलिइङ्ग हुने स्थानहरु, या समयको पहिचान गरेर आफू माथिको बुलिइङ्ग कम गराउन खोज्ने, सकेसम्म आफूलाई एक्लीन नदिने, बुलिइङ्ग सुरु भइहालेमा बहाना बनाएर ट्वाइलेट जाने, जस्ता क्रियाकलाप गरेर बुलिइङ्गको ‘सर्किटब्रेक’ गर्ने खालका बठ्याइहरु गर्नु राम्रो हुन्छ।
साइबर बुलिइङ्गको हकमा भने इमेल, या फेसबुक कमेन्टहरु सेभ गरेर सुरक्षित राखेर आवश्यक परेमा पुलिस या अदालतसम्म पनि जान सकिन्छ ।
यदी तपाईलाई काममा बुलिइङ्गको कारणले मानसिक तनाब भएको छ भनेर तपाईले यो प्रमाणित गरेर देखाउने आधार छ भने अस्ट्रेलियामा Work Cover Injury दाबी गर्न सक्नुहुन्छ। यदी स्विकृत भएमा तपाईंको औषधी उपचार खर्च र तलब पनि बेहोरिने व्यवस्था अस्ट्रेलियन सरकारले गरेको छ। आफू बस्ने देशमा बुलिइङ्गको बिरुद्ध के कस्ता नियम तथा कानुन् छन् थाहा पाउने कोशिस गर्नुहोस् ।
लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया
पिपलबोट अस्ट्रेलियामा 1-16 July 2014 मा प्रकाशित (Page 4)