लेख / ब्लग / अन्य प्रकाशन / समाचार

बुलिइङ्ग (Bullying) को मनोवैज्ञानिक असर

Posted Date: 2014-06-21

गत अंकमा विभिन्न प्रकारका बुलिइङ्गको बारेमा चर्चा गरिएको थियो । यस अंकमा बुलिइङ्गको मनोवैज्ञानिक असरहरूको बारेमा चर्चा गर्ने प्रयास गरेको छु । यदि गत अंकमा बुलिइङ्ग के लाई भनिन्छ पढ्न छुटाउनु भएको थियो भने बुलिइङ्गको परिभाषा यस प्रकार छ –

१. बलियो अवस्था (पद, वरिष्ठता, धन, समूह) मा रहेको व्यक्तिले आफूभन्दा कमजोर अवस्थामा रहेको व्यक्तिलाई शारीरिक, मानसिक, सामाजिक या आर्थिक रुपले दुःख दिनु ।

२. उक्त दुःख जानी बुझि पटक पटक दिइराख्नु ।

बुलिइङ्गले गर्दा निकै तनाव हुन्छ भनेर त विदितै छ । यसै सन्दर्भमा अष्ट्रेलियाको एक चर्चित टेलिभिजन व्यक्तित्वको आत्महत्याले बुलिइङ्गको असर कति खतरनाक हुन सक्छ भन्ने प्रष्ट पारेको छ । सारलेट डसन (Charlotte Dawson) ले ट्वीटरमा आफूविरुद्ध गरिएका अति नै नकारात्मक टिप्पणीहरूको क्रम नटुटेपछि सहनै नसकेर गत फेब्रुअरीमा आत्महत्या गरिन् । बुलिइङ्गको कारणले विद्यार्थीहरूले आत्महत्या गरेको उदाहरणहरू त प्रशस्तै छन् । उमेर छिप्पीसकेपछि तनाव वहन गर्ने क्षमतामा बढोत्तरी हुने भएकोले ३० वर्ष काटेकाहरूमा बुलिइङ्गले गर्दा आत्महत्यामा गरिहाल्ने अवस्थामा कमी त आउछ, तर यसको नकारात्मक मनोवैज्ञानिक असर भने अवश्य नै हुन्छ । बुलिइङ्गले गर्दा हुनसक्ने मुख्य मनोवैज्ञानिक असरहरू यस प्रकार छन् –

(१) एक्लिएको अनुभव हुनुः– बुलिइङ्गको शिकार व्यक्तिले विस्तारै आफूलाई एक्लो अनुभव गर्न थाल्छ । उसलाई आफूलाई कसैले सहायता गर्न सक्दैन जस्तो लाग्छ ।

(२) लाज शरमः– आफू हेपाई या दबाबको शिकार भएकोमा उसलाई लाज लाग्न थाल्छ । उसले आफ्नो नजिकका साथिभाई र आफन्तलाई आफ्नो अवस्था बताउन खोज्दैन र आफूभित्रै राखेर बाहिर केही भएको छैन भन्ने देखाउन खोज्छ । यसले गर्दा ऊ आफ्नै मान्छेहरूबाट पनि टाढिन खोज्छ । यसरी उत्पन्न भएको लाज शरमको भावनाले उसलाई अझै एक्लो पारिदिन्छ ।

(३) आफैले आफूलाई दोष दिनुः– सर्वप्रथम त आफूमाथि बुलिइङ्ग भएको बुझ्न नै समय लाग्न सक्छ । बरु मेरै कारणले मलाई दुःख दिइएको होला भन्ने सोचाई आउन सक्छ । त्यसपछि विस्तारै ग्लानी भाव बढ्दै जान्छ । यदी बुलिइङ्गको शिकार व्यक्तिले यो मेरो दोष होइन भन्ने कुरामा विश्वास गरेर आफू वरिपरीका सहायता गर्न सक्ने व्यक्तिलाई जुटाउ“दै बुलिइङ्ग गर्नेलाई प्रश्न गर्नुका साथै उपलब्ध प्रक्रिया अनुरुप बुलिइङ्गविरुद्ध आवाज उठाउने अवस्था हु“दैन भने त्यसपछि तलका मनोवैज्ञानिक असरहरु देखापर्न थाल्छ । 

४. आत्मसम्मान (Self esteem) कम हुनु र Learned Helplessness को अवस्था आउनुः– म केही गर्न सक्दीन, जति गरेपनि यस्तै हो, मैले भनेर कसले पत्याउला र ? सबैले मैतिर औला ठड्याउलान भन्ने विचारहरूले जरो गाड्न थाल्छ । आत्मविश्वास र आत्मनियन्त्रणमा कमी हुन थाल्छ र विस्तारै मेरो नियती नै यही रहेछ भन्दै अति नै नैराश्यका भावना तथा विचारहरू गाढा हुन थाल्छन् । लामो समयसम्म भएको बुलिइङ्गले Learned Helplessness को अवस्था ल्याउन सक्ने सम्भावना धेरै हुन्छ ।

 

बाल्यकालमा हुने बुलिइङ्गको असर

यसबारे छुट्टै छलफल गरिनुपर्ने थुप्रै कारणहरू छन् । बुलिइङ्गको शिकार बालकले वयस्कहरूले झैं शुरुमै आफूमाथि बुलिइङ्ग भएको बुझ्ने सम्भावना कम हुन्छ । आजभोलि स्कूलमा बुलिइङ्गको बारेमा बढी छलफल हुने गरेपनि स्कूले केटाकेटीहरुमा आफूमा बुलिइङ्ग भएको स्वीकार गर्नु लाजमर्दो ठानिन्छ । फलस्वरुप अभिभावक चनाखो नभएको अवस्थामा बुलिइङ्ग लामो समयसम्म जान सक्छ । तत्कालिक रुपमा पढाई या खेलकूदमा रुची कम हुनु देखिएपनि यस्ता केटाकेटीमा केही वर्षभित्रै हिनताबोध बढ्दै गएर डिप्रेसन, आत्तिने रोग, Eating Disorders र लागूपदार्थको दुव्यर्सन पनि बढ्न सक्छ । यस्ता बालबालिकामा रिषको मात्रा पनि अत्यधिक हुन सक्छ । बुलिइङ्गका शिकार केटाकेटीहरूमा पछि गएर आफै बुलिइङ्ग गर्ने प्रवृत्ति पनि विकास हुन सक्दछ ।

हालसालै आएर बाल्यकालमा बुलिइङ्गको शिकार भएकामा गरिएको अध्ययनहरूले बाल्यकालमा बुलिइङ्गको शिकार भएमा त्यसको असर युवा अवस्थामा मात्र होइन कि बुढेसकालसम्म हुदो रहेछ भन्ने देखाएका छन् । आत्मविश्वासको कमी, अरुलाई विश्वास गर्न नसक्नु, अलिकति नराम्रो ह“ुदा पनि अब वित्यास नै पर्ने भयो भनेर सोच्न थालिहाल्नु, अधिकार प्राप्त व्यक्तिहरूको सामु नीरिह अनुभव गरेर मनको कुरा व्यक्त गर्न नसक्नु आदि लामो समयसम्म रहिरहने सम्भावित थुप्रै मध्येका मुख्य असरहरू हुन् । यी व्यक्तिहरूमा विभिन्न मानसिक रोगहरू सामान्य जनसमुदाय भन्दा बढी मात्रामा पाइने गरेको छ ।

 

वयस्कमा हुने बुलिइङ्गको असर

वयस्कमा हुने बुलिइङ्ग पश्चात पनि माथि बर्णन गरिए झैं मनोवैज्ञानिक असरहरु पर्दछन् । तर यदी उक्त व्यक्तिमा वयस्क हुन्जेलसम्ममा तनाव वहन गर्न सक्ने क्षमता विकास भएको अवस्थामा बाल्यकालको जस्तो दूरगामी असर नपर्न सक्छ । तर बाल्यकालमा बुलिइङ्ग भएको व्यक्तिमा वयस्क अवस्थामा पनि बुलिइङ्ग भएमा त्यसको असर निकै धेरै हुन सक्दछ ।

आजभोलि बुलिइङ्गलाई डिप्रेसन र आत्तिने रोग मात्र होइन Post Traumatic Stress Disorder को  कारक पनि मानिन्छ । अति र लगातार भइरहेमा सारलेट डसन (Charlotte Dawson) जस्तो दुःखदायी अन्त्य भएका धेरै उदाहरणहरु छन् ।

अर्को अंकमा– आउनुहोस बुइलिङ्गविरुद्ध आवाज उठाउँ ।

 

लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया

पिपलबोट अस्ट्रेलियामा 16-30 जून 2014 मा प्रकाशित (Page 4)

 

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस