बुलिइङ्ग (Bullying)

लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया

 

बुलिइङ्ग (Bullying) को ठ्याक्कै नेपाली शब्द नभएपनि शायद यो संगै मिल्ने क्रियाकलाप दादागिरी हुनुपर्छ ।

 

बुलिइङ्गलाई परिभाषित गर्दा निम्न कुराहरु बुझ्नुपर्ने हुन्छ ।

१. बलियो अवस्था (पद, वरिष्ठता, धन, समूह) मा रहेको व्यक्तिले आफूभन्दा कमजोर अवस्थामा रहेको व्यक्तिलाई शारीरिक, मानसिक, सामाजिक या आर्थिक रुपले दुःख दिनु ।

२. उक्त दुःख जानी बुझि पटक पटक दिइराख्नु ।

 

दोस्रो बुंदाको कारणले बुलिइङ्ग दादागिरी भन्दा केही फरक भन्न सकिन्छ होला । किनकि दादागिरी एक पटकको व्यवहारलाई पनि भन्न सकिन्छ । अर्को फरक के पनि हुन सक्छ भने बुलिइङ्ग गर्नेले आफ्नो भौतिक फाइदा भन्दा पनि पिडा दिने हेतुले बुलिइङ्ग गर्दछ । आफ्नो हैकम र दबदबा कायम राख्न पनि बुलिइङ्ग हुन्छ । दादागिरी चाहिं अंग्रेजि शब्द क्ष्लतष्mष्मबतष्यल संग मिल्छ जस्तो मलाई लाग्छ । जे होस दादागिरी  (Intimidation) र बुलिइङ्ग (Bullying) मा समानता धेरै छन् ।

 

आजभोलि विद्यालय तथा धेरै संस्थाहरूमा बुलिइङ्गको बारे विद्यार्थी तथा कर्मचारीहरूलाई जानकारी गराइन्छ । कतिपय संस्थाहरूले बुलिइङ्गको अनलाईन पाठ समेत विकास गरेर नयाँ कर्मचारीलाई यस्तो पाठ जागीर खाएको निश्चित अवधिभित्र पढेर अन्त्यमा रहेको प्रश्नहरूको उत्तर दिनुपर्ने नियम लगाएका छन् ।

 

बुलिइङ्गका प्रकारहरूलाई थुप्रै प्रकारले बुंदागत गर्न सकिन्छ । यस लेखमा म बुलिइङ्गलाई बुलिइङ्ग हुने स्थानको आधारमा चर्चा गर्दछु ।

 

क. विद्यालयमा हुने बुलिइङ्गः

विद्यालयमा प्राय एक विद्यार्थीले आफू एक्लैले वा आफ्नो समूहको मद्दत लिएर तुलनात्मक रुपले आफूभन्दा कमजोर विद्यार्थीलाई विभिन्न हिसावले सताउने हुन्छ । दक्षिण एसियाका केही देशहरूमा विश्वविद्यालयको सुरुवातमा हुने र्यागिङ्ग पनि एक किसिमको बुलिइङ्ग नै हो । तर यो निश्चित अवधिको लागि हुन्छ । विद्यार्थी विद्यार्थी बीचमा हुने बुलिइङ्ग मुख्यतया विद्यालयहरूमै हुन्छ । बुल्लि गर्नेले अर्को विद्यार्थीलाई नराम्रो नामले बोलाउने, उसको वर्ग या नश्लियताबारे मनपरी भन्ने, खाजा खोसेर खाइदिने, मौका मिल्दा पिट्ने जस्ता क्रियाकलापहरू विद्यालयमा हुने बुलिइङ्गका केही उदाहरणहरू हुन् । बुलिइङ्गले गर्दा उक्त विद्यार्थीको विद्यालय प्रतिको रुचि कम हुन सक्छ । जस्तै उसको पढाई या खेलकूदमा स्तर खस्किन सक्छ । कहिलेकाही बुलिइङ्ग अर्को विद्यार्थीले भन्दा पनि शिक्षकले नै गर्ने हुन सक्छ । जति राम्रो गरेपनि विद्यार्थीलाई गालि गर्ने, ‘तैले केही गर्न सक्दैनस्’ भन्ने र अरुको अगाडि होच्याउने व्यवहार यदी पटक पटक भइरहन्छ भने उक्त शिक्षक बुल्ली हो कि भनेर शंका गर्नुपर्ने हुन्छ ।

 

ख. अफिसमा हुने बुलिइङ्गः

यो वास्तवमा हामीले सोचेभन्दा निकै व्यापक समस्या हो । अस्ट्रेलियामा अफिसमा हुने बुलिइ¨को कारणले ठूलो संख्यामा कर्मचारी÷कामदारहरू मानसिक तनाव÷आघात परेर काम गर्न नसक्ने अवस्थामा पुग्दछन् । पटक पटक समयमा तलब नदिनु, काम राम्रै गरे पनि काम ठिक भएन भनेर अरुको अगाडि होच्याउनु, स–सना कुरामा कामबाट निकालिदिन्छु भन्नु, पटक पटक जायज किसिमले विदा माग्दा पनि नदिनु, पटक पटक जिम्मेवारीविहीन बनाउनु, हाकिम अथवा आफूभन्दा माथिल्लो ओहोदामा भएकोले गर्ने बुलिइङ्गको केही उदाहरणहरु हुन् । कतिपय अवस्थामा आफू सरह काम गर्नेले पनि बुलिइङ्ग गर्न सक्छ । पटक पटक खाउला जस्तै गरेर घुरेर हेर्नु, समूह बनाएर अर्को एक जनालाई एक्लाउनु, यौन सम्बन्धी असान्दर्भिक कुराहरु गरेर हैरान पार्नु जस्ता क्रियाकलापहरू सहकर्मीहरूले गर्न सक्ने बुलिइङ्गका केही उदाहरण हुन् ।

 

३. समाजमा हुने बुलिइङ्गः

यसमा विद्यालय तथा कार्यक्षेत्र बाहिरका बुलिइङ्गहरूलाई समेट्न खोजेको छु । मैले हाम्रै समाजमा पनि केही बलियो र माथिल्लो स्थितिमा रहेका मानिसहरूबाट भर्खर समाजमा स्थापित हुन थालेका, आर्थिक हिसावले केही तल रहेका र आफ्नो बलियो समूह नबनाइसकेकाहरूलाई खासखास अवस्थामा दबाब दिएको र उद्देश्यपूर्ति नहुन्जेल पटक पटक दबाब जारी राखेको उदाहरणहरू पाएको छु ।

हुनत हाम्रो समाज धेरै हिसावले एक भद्र समाज हो र माथिको अवस्था शायद अपवाद मात्रै हुन सक्छ । तर छरछिमेकमा होहल्ला गर्नु, छिमेकिले पटक पटक अनुरोध गर्दा पनि नटेर्नु, आफ्नो घरको फोहोर अरुलाई दुःख दिने गरी फाल्दिनु, छरछिमेकमा मनपरीस“ग गाडि पार्क गरिदिनु, र कुनै खास छिमेकीलाई जानी जानी एक्लाउनु अन्य समाजमा हुने बुलिइङ्गका उदाहरण हुन सक्दछन् । बाटो हिड्दा सधै देखभेट भइरहने कसैले पटक पटक कुनै पनि प्रकारले सताउनु पनि बुलिइङ्ग नै हो ।

त्यस्तै विद्यार्थीहरुलाई घरपटी आफैले सोझै भाडा लगाएर ससना कुरामा निकाल्दिन्छु भनेर थर्काउनु, भत्केको–फुटेको कुराहरु जति गरेपनि नबनाइदिनु पनि बुलिइङ्ग नै हुन जस्तो मलाई लाग्छ ।

कतिपय बुलिइङ्ग घरभित्रै हुन्छ र यो कतिपय अवस्थामा भुसको आगो जस्तै हुन्छ ।

 

४. साइबर बुलिइङ्ग (Cyber Bullying) सूचना प्रविधिको माध्यमले गरिने बुलिइङ्ग साइबर बुलिइङ्ग हो । यस अन्तरगत, इमेल, फेसबुक तथा ट्विीटरको माध्यमद्धारा एक व्यक्ति या विभिन्न स्थानमा छरिएर बसेका व्यक्तिहरुको समूहले कुनै व्यक्तिमाथि विभिन्न आक्षेप लगाउनु पर्दछ । हालसालै मेलबर्नको नेपाली समाजमा पनि सूचना प्रविधिको माध्यमले कसैमाथि बुलिइङ्ग भएको सुन्नमा आएको थियो । भलै त्यसको आधिकारिक पुष्टि भएको छैन । केही महिना अघि न्यूजिल्याण्डमा जन्मिएकी र सिड्नीमा बस्ने एक नाम चलेको टेलिभिजसग सम्बन्धित व्यक्तित्वले उनीमाथि भएको साइबर बुलिइङ्ग सहन नसकेर आत्महत्या गरेकी थिइन् ।

 

बुलिइङ्ग हाम्रो समाजका हरेक वर्गका कसै न कसैले भोगिरहने समस्या हो । बेइज्जती हुन्छ भनेर होस या लाजले होस हामी यसबारे खुल्न चाहदैनौं । हामी पीडा लिएर अरुको अगाडि मुस्कुराएरै बस्छौ । जति हामी आफूमा भएको बुलिइङ्गको बारेमा सम्बन्धित निकायमा बोल्छौ, त्यति नै हामी आफूलाई मात्र होइन, भोलि सोही स्थानमा हुने अर्को बुलिइङ्गलाई रोक्न योगदान दिन सक्छौं ।

 

माथिका केहि उदाहरणहरु चाहिं शोषणका (Exploitation) उदाहरणहरु पनि बन्न सक्दछन् । यदि उक्त ब्यबहार धन, सम्पति, यौन सन्तुष्टि जस्ता उद्देश्यले गरिएको भने शोषण नै भन्नुपर्छ, र शोषण गर्नको लागि भने बुलिइङ्गको सहायता लिएको भन्न सकिन्छ ।

 

यदी तपाई आफूमा बुलिइङ्ग भएको थियो र हामीलाई जानकारी दिन चाहनुहुन्छ भने www.mentalhealthnepal.com मा गएर जानकारी दिन सक्नुहुन्छ । तपाईको गोप्यता हामी कायम राखी प्रकाशित गर्ने छौं । त्यस्तै, जानि नजानि हामीले नै कसैमाथि बुलिइङ्ग गरिरहेका छौं कि? तपाईले  थाहै नपाइ तपाईको परिवारका सदस्य वा सन्तान घर भित्र या बाहिर को शिकार भइरहेका छन् कि?

एकपटक त्यतातिर पनि ध्यान दिउं । हामी सबै मिली बुलिइङ्गविरुद्ध चेतना बढाउं ।  अर्को अंकमा बुलिइङ्गका मानसिक असरको बारेमा चर्चा गर्ने छु ।

 

बुलिइङ्ग (Bullying) को मनोवैज्ञानिक असर

बुलिइङ्ग विरुद्धका पाइलाहरू

 

 

 

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस