लेख / ब्लग / अन्य प्रकाशन / समाचार

मानसिक रोगको पहिचान र उपचारमा भाषा र संस्कृतिको महत्व

Posted Date: 2013-10-06

धेरै वर्ष अगाडिको कुरा हो मानसिक रोग विभागको बहिरङ्ग शाखामा एक नेवारीभाषी वृद्धाले आफ्नो समस्या सुनाउने क्रममा भनिन्– ‘मलाई छातीमा खुल्ल अनुभव हुन्छ अनि धेरै गाह्रो भएर आउँछ।’ मैले त्यो ‘खुल्ल’ हुने कुरा बुझिन र उनलाई प्रस्ट पार्न अनुरोध गरें । लागि तर उनले उही कुरा दोहो¥याइन् । मैले अर्थ लगाए उनलाई सिरिङ्ग हुने, डर लाग्ने या उकुसमुकुस हुने मध्ये कुनै समस्या परेको होला र पालैपालो यी मध्ये कस्तो प्रकारको अप्ठ्यारो परेको छ भनी सोधें । बारम्बार उनले उही कुरा दोहो¥याइरहिन्– ‘मलाई छातीमा खुल्ल हुन्छ ।’ अन्त्यमा मैले बुझेको झै गरेर उनका मैले बुझेका अन्य कुराहरू र शारीरिक लक्षणहरूलाई आधार मानेर उपचार अघि बढाउने निधो गरें । भोलिपल्ट मैले नेवारीभाषी मानसिक रोग विशेषज्ञसंग सम्पर्क गरेर सोधें – के हो यो छाती खुल्ल गर्ने ? उनी केहीबेर हांसे र उत्तर दिए – ‘यो तपाईं तबसम्म जान्नुहुन्न, जबसम्म तपार्इं नेवारी बुझ्नुहुन्न । यसको सोझो अनुवाद त म पनि गर्न सक्दिन तर उनको अनुभव चाहिं बुझ्न सक्छु ।’

मानसिक रोगको पहिचानको क्रममा व्यक्तिको व्यवहार र कुराकानीको अध्ययन गर्नु अत्यावश्यक छ । यी दुवै कुराको अध्ययनले उक्त व्यक्तिको वैचारिक तथा भावनात्मक अवस्थाको जानकारी पाउन सकिन्छ । यसरी प्राप्त तथ्यहरूलाई समायोजन गरेर कुन या कस्तो प्रकारको मानसिक रोगबाट व्यक्ति पीडित छ भन्ने निक्र्यौल गरिन्छ । केही शारीरिक रोगहरूमा मानसिक रोगका लक्षणहरू देखिने अवस्थाहरू बाहेक मानसिक रोगहरूमा पहिचानको लागि शारीरिक लक्षणहरू या रगत, पिसाब र अन्य अन्वेषणहरूको खासै महत्व छैन । यसरी रोग पहिचान गर्ने क्रममा हामीले व्यक्तिको व्यवहार तथा कुराकानीनै अध्ययन गर्ने तर्फ केन्द्रित  हुनुपर्छ । हुन त भाषाहरूका मुख्यमुख्य गुणहरू उस्तै हुन्छन् । तर केही यस्ता गुणहरु पनि हुन्छन् जुन एक अर्कामा  पाइंदैन । जस्तै उखान, टुक्का आदि ।

त्यस्तै एउटा भाषाको औपचारिक  वाक्यको ठ्याक्कै अनुवाद हुन सक्ला तर अनौपचारिक पक्षको सोझो अनुवाद गर्न मुस्किलै पर्न सक्छ । अनुवादले भाषाको मिठास बाँकी  नरहने त भाषा शास्त्रीहरू नै बताउँछन् । मानसिक रोगको पहिचान र भाषाको मिठासको आपसमा सम्बन्ध नहोला, तर पीडित व्यक्तिलाई कस्तो लागेको छ भनेर जान्नको लागि उसले भनेका कुराहरू बुझ्नैपर्छ । यो बुझाइको लागि सम्बन्धित चिकित्सकको त्यो भाषामा राम्रो दख्खल हुनु आवश्यक छ र ऊ त्यही भाषामा भिजेकै हुनु पर्छ ।

एउटा अंग्रेजले  एउटा दोभाषेलाई साथमा लिएर पनि नेपाली भाषीको मानसिक रोगको चाहिं पहिचान गर्न गाह्रै पर्छ । भाषाकै अज्ञानताको कारणले बिरामीहरूको झमझम गर्छ भन्ने समस्यालाई दुई अमेरिकीहरूले ‘झम झम’ भन्ने नयाँ रोग पत्ता लाग्यो भनी विश्व प्रसिद्ध चिकित्सा शास्त्र सम्बन्धी पत्रिका Lancet मा समेत सन् १९९८ को मार्च महिनामा छपाएका थिए । झमझम अनुभव हुने, झुम्म हुने, चक्कर लाग्ने, रिंगटा लाग्ने, सिरिङ्ग हुने केही यस्ता उदाहरणहरू हुन् जुन अंग्रेजीमा अनुवाद त गर्न सकिन्छ तर पीडित व्यक्तिले अनुभव गरेकै कुरा सुन्नेले नबुझ्न पनि सक्दछ । यसकारण रोगीको भाषामा राम्रो दख्खल भएको चिकित्सक मानसिक रोगको पहिचानमा बढी सक्षम हुन्छ भन्ने बुझ्न सकिन्छ ।

मानिसको व्यवहारलाई उसको संस्कृतिले निकै प्रभाव पारेको हुन्छ । एउटा संस्कृतिमा सामान्य मानिने कुरा अर्को संस्कृतिमा असामान्य हुन सक्छ । यसैले रोगी व्यक्तिको सम्प्रदायमा बोक्सी लाग्ने प्रथादेखि महिनबारी बार्ने प्रथासम्म र पूजा गर्ने तरिकादेखि आशौच बार्ने तरिकासम्मको जानकारी आवश्यक हुन्छ । त्यति मात्र होइन उक्त समाजमा व्याप्त अन्धविश्वासको जानकारी पनि कम महत्वपूर्ण छैन । उदाहरणको लागि राति सुतेर बिहान उठ्दा तिघ्रामा देखिएको नीलो डामलाई हामी मध्ये कतिपय नेपालीले बोक्सीले रगत चुसेको भन्छौ । यही  कुरा एउटा पश्चिमी युरोपेलीले भनेमा उक्त समाजमा एउटा असामान्य रूपमा लिइन्छ । अर्को  किसिमले भनौं एउटा युरोपली चिकित्सकलाई नेपालमा माथि वणर्न गरेको अवस्थामा कुनै व्यक्तिमा भेटिएमा र उसले यो बोक्सीले चुसेको हो भनेमा यहाँको संस्कृति नबुझेको अवस्थामा उसले यस मानिसलाई कडा मानसिक रोग लागेछ भन्ने निर्णय गर्न पुग्दछ र यस्तो कुरालाई आधार मानेर उपचार गरेमा परिणाम अवश्य पनि राम्रो हुंदैन । बोक्सी हुनु  नहुनु छुट्टै कुरा हो तर यहा“बिहान उठ्दा देखिने नीलो डामलाई यसरी नै सम्बोधन गर्ने चलन पनि छ भन्ने कुरा चिकित्सकले बुझको  अवस्थामा यस्तो गल्ती हुंदैन । बोक्सी प्रथामा विश्वास गर्नु एक अन्धविश्वास हो तर अन्धविश्वास मानसिक रोग को लक्षण चाहिं होइन । यस प्रकार माथिको उदाहरणझैं समाजमा व्याप्त विभिन्न अन्धविश्वासहरूको बारेमा मानसिक रोगको उपचारकर्ता परिचित हुनु आवश्यक छ ।

मानसिक रोगको उपचारमा औषधिको निकै महत्वपूर्ण योगदान छ । औषधिको प्रयोगबिना कुनै पनि कडा मानसिक रोगको उपचार सजिलो छैन  । उपचारको अर्को एउटा पद्धति पनि छ, जुन कडा मानसिक रोगमा केही र कम कडा मानसिक रोगहरूमा निकै ठूलो महत्व राख्दछ । त्यो हो मनोवैज्ञानिक उपचार पद्धति । मनोवैज्ञानिक उपचार पद्धति भन्नाले त्यस्ता तरिकाहरूको समूह बुझिन्छ जसमा सामान्य परामर्शदेखि तनाव तथा अनियन्त्रित विचारमाथि नियन्त्रण हासिल गर्ने तरिकाहरू पर्दछन् । सामान्य परामर्श दिनको लागि पनि व्यक्तिका समस्याहरू पूर्ण रूपमा बुझ्न सक्ने क्षमता चिकित्सकमा हुनुपर्दछ । त्यसभन्दा जटिल मनोवैज्ञानिक पद्धतिमा समस्या बुझ्ने क्षमताको जति आवश्यकता छ बुझाउने क्षमताको आवश्यकता पनि त्यति नै हुनुपर्दछ । बिरामीहरू भाषिक निपुणताको आधारमा एउटै श्रेणीमा पर्दैनन् । त्यसैले मनोचिकित्सक विभिन्न भाषिक क्षमता भएका बिरामीहरूसंग राम्ररी अन्तरक्रिया गर्नसक्ने हुनुपर्दछ, जसको फलस्वरूप बिरामीले मनोवैज्ञानिक पद्धतिको सही मानेमा लाभ हासिल गर्न सक्दछ । मानसिक उपचारमा बिरामीको धर्म तथा संस्कृतिको पनि ठूलो महत्व छ । उपचार र बिरामीलाई विश्वास लाग्ने कुराहरूलाई समायोजन गरेर लगिएमा रोग चांडै र राम्ररी ठीक हुन सक्दछ । जस्तै अस्पतालमा भर्ना गरेको एउटा वैष्णवलाई एकाथरी मान्यता अनुसारको पौष्टिक भोजनको रूपमा मासु भात ख्वाएमा नकारात्मक मनोवैज्ञानिक असरले रोगको जटिलता बढ्न सक्छ भने उसकै इच्छा या विश्वासअनुरूपको शाकाहारी भोजन दिएमा छुट्टै असर पर्न सक्छ । अर्को उदाहरण हामी कुनै पनि समाजमा प्रचलित धामी–झाँक्री लगायतका परम्परागत उपचार पद्धतिको प्रयोगलाई लिन सक्दछौं । आधुनिक चिकित्सकको धारणामा यी पद्धतिहरूको प्रयोग बिरामीलाई शारीरिक र मानसिक हानि नपु¥याउने शर्तमा गर्न सकिन्छ ।

यसप्रकार मानसिक रोगको पहिचान तथा उपचार दुवैमा रोगी व्यक्तिको भाषा तथा संस्कृतिका ज्ञानको आवश्यकता पर्दछ । यसको महत्वलाई कुनै पनि वैज्ञानिक उपकरणले तथा आधुनिक अन्वेषण पद्धतिले कम गर्न सक्दैन ।

लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया

पिपलबोट अस्ट्रेलियामा 1-16 October 2013 मा प्रकाशित (Page 21)

 

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस