लेख / ब्लग / अन्य प्रकाशन / समाचार

मानसिक रोगमा शारिरीक लक्षण: ‘नझुक्किनु होला’

Posted Date: 2013-10-09

दिपकजी (नाम परिवर्तित) आजित भैसके आफ्नो ५६ वर्र्षीय आमाको समस्याको लागि डाक्टर, क्लिनिक, अस्पताल, प्रयोगशाला धाउँदा धाउँदा । निक्कै लामो समयदेखि टाउको दुख्ने, हातखुट्टा कट्कटी खाने, झम्झम् हुने, रिंगटा लाग्ने, दिसा कव्जियत हुने, बेलाबेला पेट फुल्ने, छाती भारी लाग्ने, मुटु चस्किने, जिउ चिसो न चिसो हुने…….. लक्षण एकपछि अर्को गर्दै अब शरीरको कुनै भाग रहेन समस्यामुक्त । कति समय, सम्पत्ति लगाएर  जांच परीक्षण र उपचार गराउंदा पनि डेग् नचलेपछि निराशा र दिक्दारी आउनु स्वाभाविक छ । कति चिकित्सक स्वयम् चकित र आजित भएर मनोचिकित्स कहाँ रेफर गरेको पनि अब एकचोटि होइन । हामी सबैलाई जीवनको त्यस्ता विषम परिस्थितिहरुमा डटेर सामना गर्दै हुर्काउने आमालाई मानसिक समस्या ! पढेलेखेका भएपनि दिपकजीको मन मानेकै थिएन । अब आएर रुन, कराउन, छट्पटाउन र एकपटक कपडाले पासो लगाउन खोज्दै गरेको अवस्थामा भेट्टिएपछि मात्र बाध्य भएका हुन् मानसिक स्वास्थ्यसेवामा ल्याउन ।  शारीरीक लक्षणका कारण धेरै मानसिक समस्याग्रस्त मानिसहरु दिपकजी जस्तै अवस्थामा हुनसक्छन् । मानसिक रोगहरुमा पनि शारीरिक लक्षणहरु हुनसक्छन् । तपाईं नझुक्किनु होला, अनावश्यक पिडा, टन्ट़ा र जटिलताबाट बच्न ध्यान पु¥याएर आवश्यक पर्दा समयमै मनोचिकित्सा सेवामा जानुहोला ।

शरीरका समस्त जैविक प्रक्रियाहरु मस्तिष्ककै नियन्त्रणमा सन्तुलित रहन्छन् । मुटु, कलेजो, मृगौला, इन्द्रियहरु, पाचन, यौन अवयवहरु, शरीरका सबै नै अंगहरु मस्तिष्कको इशारामा सुचारु चल्ने हुन् । व्यक्तिको व्यवहार, सोचाइ, अनुभव, आभास, चेतना, ध्यान, एकाग्रता, स्मरण, ज्ञान, अमूर्तता, बोध, निर्णय, विवेक, अन्तरज्ञान जस्ता उच्च मानसिक प्रक्रियाहरु सञ्चालन गरेर यसले मानिसलाई मानव पनि बनाउंछ । मानव मस्तिष्कका कुनै पनि कामगराइ, चाहे उच्च मानसिक क्रियाकलापमा होस् वा जैविक प्रक्रियाको नियन्त्रणमा होस्, तिनमा गड्बडी भएमा मानसिक समस्याको उत्पत्ति हुन्छ । यस्ता गड्बडीले व्यक्तिको दैनिकी र अन्य पक्षमा असर गरेको, बेचैन पारेको अवस्थामा मनोरोग भएको मानिन्छ ।

संसारमा करीब एकचौथाई मानिसलाई कुनै न कुनै र २ प्रतिशतलाई गम्भीर खालको मनोरोग हुनेगर्दछ । हालसम्म पांच–छ–सय थरिका मनोरोगहरु देखिएका छन् । सबभन्दा बढी मानिसलाई विकलांग बनाउने १० प्रमुख विमारीहरुमा ५ रोगहरु मनमस्तिष्कसंग सम्बन्धित छन् । उदासिन (Depression), आत्तिने  (Anxiety), लागूपदार्थ र नसाको दुव्र्यसन, स्किजोफ्रेनिया, छारेरोग, सुस्त मनस्थिति, Bipolar Affective Disorder, शारीरिक रुपमा प्रष्ट नहुने लक्षणहरुको विमारी (Somatoform Disorder),  हिस्टेरिया, तनावजन्य लगायत बाल्यावस्था वा किशोरावस्थाका मानसिक समस्याहरुको मार धेरै देखिन्छ । प्रष्ट छ, मनोरोगहरु शारीरिक रोगहरु जस्तै व्यापक छन् ।

मानसिक रोगहरुमा विभिन्न लक्षणहरु देखिन्छन् । तिनमा व्यक्तिको व्यवहार, सोचाइ, अनुभव लगायतका मानसिक क्रियाकलापहरुमा असर पार्ने लक्षणहरु मूल रुपमा देखिन्छन् । कतिपय मनोरोगहरुमा भने मस्तिष्कले शरिरका अन्य अंगप्रणालीमा गर्ने नियन्त्रण प्रक्रियामा गड्बडी भएका लक्षणहरु हुन्छन् । शारिरीक प्रक्रियामा गड्बडी, शारिरीक प्रक्रियाप्रतिको संवेदनामा परिवर्तन वा अन्य कारणहरुले गर्दा मानसिक समस्यामा शारिरीक सिकायतहरु हुने गर्छन् । तन र मन एक सिक्काका दुई पाटा जस्तै हुन् । शारिरीक समस्याहरुमा मानसिक लक्षण र मानसिक रोगहरुमा शारिरीक सिकायतहरु हुने गर्छन् ।

मनोरोगहरुमा पनि भोक, निन्द्रा, यौन, दिसापिसाव, मासिकधर्म जस्ता शारिरीक प्रक्रियाहरुमा गड्बडी देखिनसक्छन् । शारिरीक रोगका लक्षणहरु, जस्तै– शारीरिक पीडा वा दुखाइ हुने (जस्तै– दिपकजीका आमालाई जस्तै टाउको, ढाड वा अन्य भागमा दुख्ने), वाक्वाकी लाग्ने, पेट ढुस्स फुल्ने, पखाला चलिरहने≤ खुट्टा झम्झम् हुने≤ चिलाउने, चिसो हुने, शरीरमा कमजोरी हुने, पसिना–पसिना हुने वा आफूलाई ठूलो रोग भएको सम्झिने वा आफ्नो शरीरको कुनै भागमा कमी कमजोरी भएको ठान्ने, मुटु ढुक्ढुक् हुने, सास फुल्ने, घांटी  खस्खसाउने, सुक्ने, भारी हुने, काम्ने, बेहोस हुने आदि पनि मनोरोगहरुमा देखिनसक्छन् ।

शारिरीक रोगहरुमा पनि उदासी, छट्पटी, अनिद्रा, अमन, कमजोरी भएको हामी सबैले महसुस गरेकै कुरा हो । कतिपय यस्ता अवस्थाहरुमा त मनोरोगहरु नै उत्पन्न हुन्छन् । मनोचिकित्सामा शारिरीक अस्वस्थता मानसिक रोगका प्रमुख कारणका रुपमा हेरिन्छ र त्यस्ता खालका रोगहरुको एक समूह (Organic Psychiatric Disorder) नै हुन्छ । मात लाग्ने चीजहरुको सेवनले पनि मन र तन दुवैलाई उतिक्कै असर गर्छ । यस लेखकद्वारा वि. पि. स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको एक अध्ययनमा अन्य देशमा जस्तै रक्सिको लत लागेका अधिकांश विरामीहरुमा कलेजो, मुटु, मस्तिष्क र अन्य धेरै अंगहरु सम्बन्धी विमारी पनि देखियो ।

यस्ता शारीरिक लक्षणहरुको कारण बहुसंख्य विरामी अत्याधिक बेचैन रहन्छन् । आफ्नो काम कार्वाही गर्न असमर्थ रहन्छन् । दिपकजी जस्तै यी लक्षणहरुको कारक रोगको निरुपण र उपचारमा धेरै समय, सम्पत्ति र मानसिक प्रयत्न खर्चिरहेका हुन्छन् । विभिन्न विषयका चिकित्सकहरुकहा  धाइरहेका हुन्छन् । महिनौं, बर्षौंसम्म पनि धेरैखालका जाच–पडताल गर्दा पनि चित्त बुझ्दो उत्तर पाउन सकिरहेका हुदैनन् । एकातिर बिरामीमा समस्याको चिकित्सकीय प्रमाण भेटिरहेका  हुदैनन्, बिरामीको अत्याधिक चिन्ता र सरोकार देखेर चिकित्सक पनि बेचैन हुनसक्छन् भने अर्कोतिर लाख कोसिसको बावजूद आफूलाई सञ्चो नहुदा बिरामी कायल भएका हुन्छन् । यस्ता बिरामीहरुको कारण थुप्रै क्लिनिक र नर्सिङ्ग होमहरु फस्टाउछन् । यसरी धेरै मानिसहरु शारीरिक रोग विना पनि थरिथरि शारीरिक सिकायत लिएर बाचिरहेका हुन्छन् । मानसिक समस्याबारे धेरै अनभिज्ञ छन्, यसबारे प्रशस्त अन्धविश्वास र विभेद व्याप्त छ; मानसिक स्वास्थ्यसेवा पर्याप्त छैन । यस्तो परिस्थितिमा, झन् यस्ता शारिरीक लक्षणहरु भएपछि त मानसिक समस्याग्रस्त मानिसहरु आफ्नो समस्याबारे अल्मलिनु अस्वाभाविक होइन ।

ताइवानमा सम्पन्न एसियाली मनोचिकित्सकहरुको विश्वभेलामा यस लेखकद्वारा प्रस्तुत एक अध्ययनमा यस्ता नेपाली मनोरोगीहरु अन्य वैकल्पिक उपचारकहरु, परम्परागत सेवा प्रदायकहरु (धामी, झारफूक, इत्यादि) र अन्य स्वास्थ्यकर्मि वा चिकित्सकहरु कहा  निक्कै लामो समय रुमल्लिने गरेको तथ्य देखिएको छ । उदासीन, शारिरीक रोग विना पनि शारिरीक सिकायत हुने मनोरोग (Somatoform Disorders), आत्तिने जस्ता मनोरोग भएपनि उनीहरु मनोचिकित्सक र सम्बन्धित विशेषज्ञको सेवा लिन अझै पनि हिच्किचाइरहेका देखिन्छन् । अझै पनि धेरै यस्ता विरामीहरु उपचारमा ढिलाइका कारण दिपकजीका पुज्य आमा जस्तै आत्महत्या र अन्य जटिलताको सिकार भइरहेका देखिन्छन् ।

यथार्थ महसुस गरेर उपयुक्त कदम चाल्ने बेला आएको छ । मनोरोगको उपचार एकदमै सम्भव छ । मनोरोगहरुमा शारिरीक लक्षणहरु पनि हुनसक्छन् । कसैलाई कुनै शारिरीक लक्षणहरु लामो समयदेखि छन्, अस्पष्ट र धेरैथरिका छन्, जाच परीक्षणबाट पनि तिनको कारण खुट्याउन सकिरहेको छैन, अत्याधिक र अस्वाभाविक रुपमा चिन्ता भएर धेरै चिकित्सकहरुलाई देखाइसकिएको छ, साथमा अन्य मानसिक लक्षणहरु पनि छन् र मनोचिकित्सकलाई सम्पर्क गर्ने सल्लाह मिलेको छ भने मनोचिकित्सक वा सम्बन्धित विशेषज्ञबाट सल्लाह लिनबाट नचुकौं । मनोरोगीको बिल्ला लाग्ला भन्ने भयले रोग लुकाएर नबसौं ।

लेखक: डा धन रत्न शाक्य, दुर्व्यसन तथा मानसिक रोग विशेषज्ञ, बि पी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान, धरान

First Published in Kantipur – Qatar (Ashoj 10, 2070)

 

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस