लेख / ब्लग / अन्य प्रकाशन / समाचार

रक्सीको दिमागमा असर

Posted Date: 2013-09-04

रक्सीले मानिसलाई गर्ने हानीमा हाम्रो दिमागमा मुख्य यी कुराहरु प्राय आउँछन् :

१. कलेजोमा हुने हानी जुन क्रमिक रुपले क्यान्सर या सिरोसिस (Cirrhosis) सम्म पुग्न सक्छ

२. रक्सी खाएर मातिदा हुन सक्ने झै झगडा र दुर्घटना

३. अत्यधिक रक्सी खाएर बेहोस सम्म हुने

यी बाहेक शरीरका अन्य भाग पनि रक्सीको सेवनको दुष्प्रभावबाट अछुतो रहन सक्दैनन् । यस लेखमा चाहि रक्सीले दिमागमा पर्न सक्ने बिभिन्न दुष्प्रभावको बारेमा वर्णन गरिएको छ ।

 

रक्सीले दिमागमा गर्नसक्ने असरलाई मुख्यत पांच भागमा विभाजन गर्न सकिन्छ:

१. रक्सीले दिमागमा गर्ने तत्कालिक र सोझो असर

२. रक्सीको लामो समयसम्म सेवन गर्दा पर्ने असर

३. रक्सी एक्कासी छोड्दा हुनसक्ने असर

४. रक्सीको कारणले विभिन्न अन्य अत्यावश्यक तत्वहरुको कमी हुनगई पर्ने असर

५. रक्सीले गर्दा कलेजोले काम नगर्ने असरको अन्तिम अवस्थामा दिमागमा पर्ने असर

१. रक्सीले दिमागमा गर्ने तत्कालिक र सोझो असर (Inebriation and Intoxication) तत्कालिक र सोझो दिमागमा पर्ने असर प्राय रक्सीको मात्रामा भरपर्छ । रक्सी खाएर मात्नु, ढुलुमुल गरेर हिंड्नु, हात खुट्टाको सही प्रकारले समायोजन नहुनु आदि नशाको मात्रा बढ्दै जाँदा देखिने असर हुन् । त्यस्तै मनमा आएका कुरालाई नियन्त्रण गर्न नसक्नु, जे मनमा आयो त्यो प्वाक्क बोलिदिनु र झगडा गर्न खोज्नु रक्सीको कारणले तत्कालिक र सोझो दिमागमा पर्ने अन्य असर हुन् ।

हुन त रक्सी खाँदा कति मानिसलाई आत्मविश्वास बढेको पनि अनुभव हुन्छ । तर लगातार यसै प्रयोजनको लागि रक्सी खाने मान्छे विस्तारै उही ‘आत्मविश्वास’ बढाउने असरको लागि बढीमात्रामा रक्सीको प्रयोग गर्न थाल्छ । रक्सीको अत्याधिक प्रयोग गर्दा Alcoholic Blackout भन्ने अवस्था पनि आउन सक्दछ । यस अवस्थामा अत्याधिक रक्सी प्रयोग गर्दा बोलेको या गरेको कुराहरु रक्सीको नशा उत्रिसकेपछि केही पनि थाहा हुँदैन । केहि अनुसन्धानबाट के चाहि देखिएको छ भने उक्त व्यक्तिले पुन अत्यधिक रक्सी सेवन गरेमा पहिलेको Alcoholic Blackout अवस्थामा भएका घटनाहरु स्मरणमा आउन सक्दछ ।

२. रक्सीको लामो समयसम्म सेवन गर्दा पर्ने असरः लामो समय रक्सी सेवन गर्ने व्यक्तिहरुमा डिप्रेसन बढि मात्रामा हुन्छ । झण्डै ४० प्रतिशत रक्सीको लत लागेका व्यक्तिहरुमा डिप्रेसन या आत्तिने रोग लागेको पाइएको छ । त्यस्तै यस्ता व्याक्तिहरु आत्महत्य तर्फ अरु भन्दा बढि मात्रामा डोरिने सम्भावना हुन्छ । विभिन्न अध्ययनहरुले रक्सीको नराम्रो लत लागेकाहरुमध्ये कम से कम १० प्रतिशतले आत्महत्या गर्दा रहेछन् भन्ने देखाएका छन् । लामो समय रक्सी खानेमा Alcoholic Dementia नामको दिमाग खिइएर हुने विर्सिने रोग लाग्ने सम्भावना धेरै हुन्छ । त्यतिमात्र कहाँ हो र – लामो समय र अत्याधिक रक्सी सेवन गर्ने मध्ये केहि अत्यधिक शंकालु भइ कति अवस्थामा त आफ्नै श्रीमान/श्रीमती अरुसँग लाग्यो भन्ने विश्वास सम्म गर्न पुग्छन् ।

३. रक्सी एक्कासी छोड्दा हुनसक्ने असर (Withdrawal): लगातार र लामो समयसम्म रक्सीको लत परेका व्याक्तिहरुको शरिरमा रक्सीको मात्रा कम भएपछि विशेष शारिरिक र मानसिक लक्षण देखिन्छन् र यी लक्षणहरु बास्तवमा दिमागमा रक्सीको मात्रा एक्कासी घटेर उत्पन्न भएका हुन् भनेर बुझ्दा हुन्छ । छटपटि हुने, मन धेरै आत्तिने, राती निन्द्रा नपर्ने र कही कडा अवस्थाहरुमा सोच्न गाह्रो हुने, दिमाग Confused हुने, बर्बराउन थाल्ने, अरुले नदेख्ने कुरा देख्न थाल्ने, अरुले नसुनेका आवाजहरु सुन्ने जस्ता लक्षणहरु देखिन्छ । यस्तो अवस्थामा छारे रोगको जस्तो Fits पनि आउन सक्छ ।

४. रक्सीको कारणले विभिन्न अन्य अत्यावश्यक तत्वहरुको कमी हुनगई पर्ने असर: रक्सी धेरै खाने मानिसहरु मध्ये कतिले सन्तुलित खाने कुरामा हुने आवश्यक तत्वहरु नपाउँदा केहि विशेष अवस्थाहरु सिर्जना हुन सक्दछ । यस्ता व्यक्तिहरु मध्ये कतिले Thiamine (एक प्रकारको भिटामिन) को कमीले गर्दा रक्सी छोड्दा दिमाग सुन्निने एक जटिल अवस्था सिर्जना हुन सक्छ जसलाई Wernicke’s Encephalopathy भनिन्छ । यस अवस्थामा आँखाको मांशपेसीमा समस्या आउने, सोचाइ छिन्न भिन्न हुने र राम्ररी हिड्न समेत नसक्ने हुन सक्छ । यस अवस्थामा सहि उपचार नपुगे उक्त व्यक्ति मर्ने संभावना बढि हुन्छ । यस अवस्थामा उपचार पाएर बाँचेकाहरुमा पनि स्मरण शक्ति क्षिण हुने समस्या देखिने सम्भावना धेरै हुन्छ । यो पनि पढ्नुहोस

५. रक्सीले गर्दा कलेजोले काम नगर्ने असरको अन्तिम अवस्थामा दिमागमा पर्ने असर: त्यस्तै रक्सीको कारणले कलेजोको सिरोसिस भइ कलेजोले काम गर्न नसकेको अवस्थामा Toxin हरु शरिर भरी फैलिइ दिमागले राम्ररी सोच्न नसक्ने, दृष्टि र ध्वनि भ्रम हुने र आफू वरपरको वातावरणको ज्ञान समेत राम्ररी नहुने हुन्छ । अर्थात कलेजोले काम नगरेपछि दिमागले पनि काम गर्न छोड्छ ।

 

लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया

Nepal News Australia मा सेप्टेम्बर २०१३ मा प्रकाशित

अर्को पोस्ट:  डा रबि शाक्यद्वारा लिखित ‘तपाइको रक्सि पिउने बानि को लागि उपचार को जरुरत त छैन?’

 

 

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस