मृत्यु हरेकको जीवनमा अवश्यम्भावी छ र एक दिन मृत्यु वरण गर्नुपर्छ भनेर सबैलाई थाहा छ । यो यथार्थ भएपनि प्रत्येक दिन हजारौ मृत्युका घटनाहरूले मृत्तकका लाखौं आफन्तहरूलाई शोकमा डुबाइरहेका हुन्छ। शोकको मनोवैज्ञानिक पक्षको जानकारीले हामीलाई शोकग्रस्त व्यक्तिसग कुन बेला कस्तो व्यवहार गर्नुपर्छ भनेर जान्न मद्दत मिल्छ ।
सुरुमा भावनात्मक तबरबाट आफ्नोअत्यन्त निकट रहेको व्यक्तिको मृत्यु भएको खबर पाउनासाथै जो कोहीलाई पनि विश्वास गर्न गाह्रो हुन्छ । उसलाई वास्तविकता यही हो भनेर विश्वास दिलाउन खोजिए तापनि विश्वास नगर्ने आधारहरू खोजेर ऊ आफुलाई चित्त बुझाउन खोज्छ । जब विश्वास गर्नु नै पर्ने हुन्छ, उक्त व्यक्तिलार्इ ठुलो बज्रपात परेको महसुस हुन्छ । ऊ किंकर्तव्यविमूढ हुन्छ र केही सोच्नै सक्दैन । सामान्यतया यो अवस्था केही घण्टामा या दिनमा समाप्त भएर दोस्रो अवस्थामा उक्त व्यक्ति प्रवेश गर्दछ ।
यस अवस्थामा रुने, उदास हुने, आत्तिने, मृतकको झल्यास्स याद आउने र हरदम उसकै सोचाइ भइरहने र बेलाबेलामा उसको आवाज आएको या उसको उपस्थितिको महसुस हुने जस्तो हुन्छ । यस अवस्थामा एकतर्फ मृतकको अनुपस्थितिले गर्दा भएको कमीको महशुस हुन्छ भने अर्कोतर्फ़ मृत्यु को समयमा मृतकले भोगेका पीडाहरू पनि निकै याद आउने हुन्छ । यो अवस्था केही दिनदेखी महिनौसम्म लम्बिन सक्छ । यस चरणमा पनि शोकाकुल व्यक्तिको दिनचर्या सामान्य भैसकेको हुँदैन । उसलाई पठन पाठन र आफ्ना काम हरु गर्न गार्हो हुन्छ ।
यस चरणमा वास्तविकताको सही मानेमा स्वीकारोक्ति हुन्छ र गतिविधिहरू सामान्य हुँदै जान्छन । दोस्रो चरणका मनोबज्ञानिक लक्षणहरू क्रमशः क्षीण हुँदै जान्छन र व्यक्ति आफ्ना पहिलेका क्रियाकलाप र जिम्मेवारी सुचारु रुपले बहन गर्न सक्ने अवस्थामा पुग्दछ । यस अवस्थामा मृतकसगका रमाइलाक्षणहरू प्रायजसो याद आउछन् । मृतकको अनुपस्थिति एउटा वास्तविकता हो र ऊ बिना नै सबै क्रियाकलापहरू अघि बढ्नुपर्दछ भन्ने ज्ञान सम्बन्धित व्यक्तिलाई हुन्छ । मृत्तकको स्मृति पहिलाको जस्तो पीडादायक हुदैन ।
यसरी शोकको मनोवैज्ञानिक पक्षलाई तीन चरणहरूमा विभाजन गरिए तापनि सबै शोकाकुल व्यक्तिहरूमा उस्तै किसिमले यी चरणहरू पार हुदैन । कतिपय व्यक्तिहरूमा शोक असामान्य किसिमले व्यतीत हुने गर्छ । निश्चित अवधिभन्दा लामो समयसम्म या लक्षणहरू तीव्ररूपले उपस्थित भएमा असामान्य शोकका अवस्थाहरू भन्ने बुझिन्छ । यस्ता अवस्थाहरूले दैनिक क्रियाकलापको संचालनमा बाधा पु¥याउने मात्र होइनन् कि आत्महत्याको सम्भावना पनि बढाइदिन्छन् । शोक मानसिक रोग होइन । तर शोक मानसिक रोग बन्न सक्छ ।
१. केही व्यक्तिहरूमा सुरुको चरण अर्थात् अविश्वास तथा बज्रपातको चरण निकै लामो हुन्छ । निकै दिनसम्म यस अवस्थामा रहिरहदा पछि अन्य मानसिक समस्याहरू सृजना हुन सक्दछन् ।
२. केही व्यक्तिहरूमा दोस्रो चरण असामान्य किसिमले व्यतीत हुन्छ । शोकाकुल व्यक्तिमा उल्लेखित लक्षणहरू निकै तीव्र रूपमा प्रकट हुने, रुने क्रम निकै ज्यादा हुनु लगायत हप्तौं सम्म निंद्रा अलिकति पनि नआउने, छटपटि अत्यधिक मात्रामा हुने र कडा प्रकारको मानासिक रोग उत्पन्न हुन सक्छ । यस अवस्थालाई राम्ररी उपचार नगरेमा आत्महत्याको दर निकै बढी भएको पाइएको छ । सामान्यतया ६ महिना नकट्ने दोस्रो चरण केही व्यक्तिहरूमा यसभन्दा बढी लामो हुने र सामान्य क्रियाकलाप बहन गर्न पनि अड्चन पैदा गर्ने भएमा पनि यसलार्इ असामान्य दोस्रो अवस्था भनिन्छ ।
३. केही व्यक्तिहरूलाई शोक नै नभएको जस्तो देखिन्छ । यो खतरनाक साबित हुनसक्ने अवस्था हो । जवान श्रीमान/श्रीमती तथा युवा मृतकका बाबुआमाहरूमा शोक असामान्य प्रकारले व्यतीत हुन सक्दछ । पहिलो चरण असामान्य प्रकारले जारी रहेमा मानिसहरूलाई मृतकको मृत्यु एक वास्तविकता हो भनेर सहानुभूतिपूर्वक कुरा गरेर सत्यलाई स्वीकार गर्न लगाउनुका साथै मनमा गुम्सेर बसेका भावनाहरू पनि व्यक्त गर्न लगाउनुपर्दछ । मृतकको बारेमा कुरा गर्न अप्ठ्यारो मान्ने जुन प्रवृत्ति हामीमा छ, त्यसले पहिलो चरणलाई झन जटिल पर्दछ । दोस्रो अवस्थामा रहेका शोकाकुल व्यक्तिलाई सहानुभूति तथा भावनात्मक साथ प्रदान गरेर सहायता गर्न सकिन्छ । यदि यो अवस्था असामान्य या जटिल भएमा चाहि मानसिक रोग विशेषज्ञ (Psychiatrist) या मनोविज्ञ (Psychologist ) संग परामर्श गर्नु आवश्यक हुन्छ किनकि यस अवस्थालाई पहिचान गर्न ढिलो भएमा आत्महत्यासम्म कुरा पुग्न सक्दछ ।
– डा. अनुपम पोखरेल, मेलबर्न, अष्ट्रेलिया