लेख / ब्लग / अन्य प्रकाशन / समाचार

सन्दर्भः विश्व मानसिक स्वास्थ्य दिवस २०१३: बुढेसकालमा मानसिक स्वास्थ्यः चुनौती र समाधान

Posted Date: 2013-10-11

आधुनिक समयमा स्वास्थ्य सेवामा आएको सकारात्मक परिवर्तन सँगसँगै विश्व–जनसंख्यामा वृद्घवृद्घाको अनुपात बढ्दै गएको देखिन्छ । विश्व स्वास्थ्य संगठनको हालसालै प्रकाशनमा आएको आँकडा अनुसार ६० नाघ्ने जनशक्ति ८० करोडको हाराहारीमा रहेको र तिनको अधिकांश हिस्सा हाम्रोजस्तो न्यून एवं मध्य आय भएका मुलुकहरुमै रहेको देखिन्छ । जनसंख्या वृद्घि  यही दरमा कायम रहिरहने हो भने सन् २०५० सम्ममा तिनले २ अरब नै ओगट्नपुग्ने तथ्यांक प्रक्षेपित भइसकेको छ । सन् २०१२ को देश्व्यापी सर्भेक्षणले नेपालको कूल जनसंख्याको करीब १० प्रतिशत हिस्सा ५५ वर्षमाथिकाले ओगटेको र औसत आयु पनि बढेर ६५–६७ को हाराहारीमा पुगेको दर्शाएको थियो ।

यसरी बुढेसकालमा पुगेका आश्रितावस्थाका जनसमूह प्रायः घरपरिवारबाट परित्यक्त या अवकाश जीवन बिताइरहेको अवस्थामा भेटिने गर्दछन्, जसका कारण तिनको मानसिक अवस्था सन्तोषप्रद नरहन सक्दछ । अमेरिकामा एक दशक अगाडि गरिएको  अध्ययनले ५५ नाघेका वृद्घवृद्घामध्ये २० प्रतिशतमा कुनै न कुनै मानसिक समस्या रहेको पाइएको थियो, तर यी समस्याहरु स्वास्थ्यकर्मी मात्र नभई घर–समाजका सदस्यहरुले समेत सजिलै थाहा नपाउने गरी सुषुप्तावस्थामा रहेका हुन सक्दछन् या लेकलज्जा, शारीरिक अस्वस्थता एवं आर्थिक कमजोरीका कारण वृद्घवृद्घाहरुले नै लुकाउने गर्दछन् ।

वृद्घावस्थाका मानसिक समस्याका विभिन्न पाटा छन् । सामाजिक कोणबाट हेर्दा माथि उल्लेखित कारणहरु सँगसँगै गरीबी, परनिर्भरता, नजिकका व्यक्ति या आफ्ना समवयीको मृत्यु, शारीरिक रोग या अन्य कुनै कारण काम गर्ने सामथ्र्यमा कमी आउनु, आफ्नै परिवारमा रहेका दीर्घरोगीहरुको हेरचाह गर्नुपर्ने अवस्थामा रहनु आदि कारकतत्वहरुले गर्दा तिनको मनोबलमा आउने ह्रास सँगसँगै उदासीपन देखापर्ने गर्दछ । अहिलेको हाम्रो सामाजिक–आर्थिक संरचनाको अध्ययन गर्दा २०–४५ वर्षका पुरुषहरु कामको खोजीमा विदेशिने अनि घरमा महिला र हजूरबा–नाति जस्ता उमेरसमूहमात्र रहेका देखिन्छन् । यसले गर्दा पुस्तान्तरको गम्भीर दुष्प्रभावसँगसँगै वृद्घवृद्घाको गतिलो स्याहारसुसार नहुने या तिनीहरु प्रित्यक्त अवस्थामा वृद्घाश्रम या सडकमा नै शरणागत अवस्थामा पुगेका भेटिन्छन् । हाम्रोजस्तो मातृ– पितृवर्गको सम्मान गर्ने संस्कृति भएको देशमा समेत यस्ता घटना अचेल नौला लाग्न छाडिसके ।

विश्वव्यापी रुपमा पुरुषको तुलनामा महिलाको औसत आयु बढी हुने भएकोले बुढेसकालमा महिलाको जनसंख्या नै धेरै देखिन आउँछ । तिनीहरु प्रायः आफ्ना वृद्घ–रोगी पतिहरुको हेरचाहकर्ताका रुपमा पनि रहेका हुन्छन् । हाम्रो मुलुकमा अधिकांश महिलाहरु अवकाश सुविधा पाइने पेशामा नरहने हुँदा ती वृद्घाहरु घरपरिवारको आम्दानीमा निर्भर हुन्छन्, जसका कारण पारिवारिक दुव्र्यवहारको शिकार पनि बढी नै हुने गर्दछन् । डिप्रेसन, डिमेन्सिया जस्ता रोग पनि महिलामै ज्यादा देखिनुको पृष्ठभूमिमा यिनै पक्षहरु जिम्मेवार मान्न सकिन्छ ।

वृद्घावस्थामा मुटुरोग, मधुमेह, अर्बुद रोग, दम जस्ता रोगहरु नै मृत्युका कारकतत्व बन्ने गर्दछन् । यसमा मानसिक रोग पनि थपिन आएमा ती वृद्घ रोगीहरुले शारीरिक समस्याका लागि प्रयोग गर्ने गरेको औषधिको निरन्तरतामा समस्या आउने र शारीरिक रोगहरुको दुष्परिणाममा वृद्घि हुन जाने देखिन्छ । त्यस्तै दीर्घरोगका कारण नै पनि डिप्रेसनजस्ता मनोरोगको संभावना बढ्ने हुनसक्दछ । अतः बुढेसकालमा शारीरिक एवं मानसिक रोगहरु एकअर्कासँग अन्योन्याश्रित सम्बन्धमा रहेको प्रतीत हुन्छ ।

वृद्घावस्थाका मानसिक समस्याहरुमा डिप्रेसन, डिमेन्सिया, एङ्गजाइटी अनि लागूपदार्थजन्य रोगहरु नै प्रमुख देखिएका छन् । सन् २०१२ मा ६० वर्ष नाघेकामा गरिएको विश्वव्यापी अध्ययनमा करीब ५ प्रतिशतमा डिमेन्सिया देखिएको थियो । यसको अनुपात २० वर्षमा दोब्बर नै पुग्ने प्रक्षेपण गरिएको छ । त्यस्तै सन् २०१० को एक शोधकार्यले बुढेसकालमा डिप्रेसनले गराउने असमर्थता अन्य उमेरसमूहमा भन्दा १.६ प्रतिशतले बढी हुने देखाएको थियो । लक्षणहरुमा हुने भिन्नताका कारण स्वास्थ्यकर्मीहरुले यसको समयमै पहिचान नै गर्न नसक्ने हुनसक्दछ,यसमा मनोचिकित्सकहरु नै चनाखो हुनुपर्ने देखिन्छ ताकि आत्महत्याजस्ता गम्भीर दुष्परिणमबाट बचाउन सकियोस् । हालसालैको एउटा अर्को अध्ययनले १० प्रतिशत वृद्घवृद्घामा एङ्गजाइटी डिस्अर्डर रहने देखाएको थियो । हाम्रो मुलुकमा त्यत्तिसारो नदेखिए पनि अन्य देशहरुमा वृद्घावस्थामा लागूपदार्थजन्य समस्या निकै नै देखिन्छ ।

यी मानसिक समस्याका कारण वृद्ध— वृद्धाहरुमा आइपर्ने दैनिक कृयाकलापका अफ्ठ्यारा, जीवनको गुणात्मकतामा आउने कमी अनि शारीरिक रोगहरुको उपचारमा हुने व्यवधान त एक ठाउँमा छँदै नै छ, शारीरिक समस्याका कारण मानसिक रोगको औषधोपचारको सीमितताले अझै अफ्ठेरो थपिदिन्छ ।

अतः बुढेसकालमा देखिने मानसिक समस्याहरुलाई विश्वव्यापी चुनौती सरह नै मानेर समाधानका उपायहरु अबलम्बन गर्न जरुरी भइसकेको छ । सर्वप्रथम त वृद्धावस्थामा मानसिक समस्याहरुको समयमै पहिचान गर्नका लागि अनि आवश्यक परेमा विशेषज्ञकहाँ परामर्श गराउनकै लागि पनि स्वास्थ्यकर्मीहरुलाई उचित तालिमको जरुरत पर्दछ । घरपरिवारका सदस्य एवं वृद्धाश्रम चलाउने निकायमा पनि चेतना अभिवृद्धि कार्यक्रम ल्याउनुपर्ने देखिन्छ । रोग पहिचान भइसकेपछि चिकित्सकहरुले उचित औषधि सानो मात्रामा शुरु गरी बिस्तारै बढाउँदै लानुपर्दछ । ‘निद्राको गोली’ हरु मात्र प्रयोग गर्ने प्रवृत्ति निरुत्साहित नै गर्नुपर्दछ ।

घरसमाजमा पनि बुढाबुढीहरुको जीवन—अनुभवको समुचित उपयोग गर्ने वातावरण बनाई तिनलाई ‘कमजोर’, ‘बेकामे’ ठान्ने परम्परामा सुधार ल्याई तिनको ‘स्वतन्त्रता, स्वाभिमान एवं सम्मान’को ख्याल राखी समाजोपयोगी कार्यमा लगाउन सकिन्छ। हाम्रो देशमै पनि औसत आयु वृद्धि भएको तथ्यलाई ह्रदयंगम गरेर अवकाशको उमेर हद पनि बढाउनतिर पहल गरी राष्ट्रले तिनमाथि गरेको लगानीको उचित प्रतिफल तिनको अनुभवबाट लिने हो कि ?

यी सब कुराहरुको मनन गर्दै वृद्धवृद्धाहरुमा स्वस्थ जीवनपद्धतिको विकास गराउनसके वर्षवृद्धिलाई बोझको रुपमा लिने चिन्तनमा परिवर्तन आई हाम्रो वेदवाक्य  ‘शतम् जीवेमः शरदः’साँच्चै नै चरितार्थ हुने थियो कि ?

 

लेखक – डा. अजय रिसाल, मानसिक रोग विशेषज्ञ, धुलिखेल अस्पताल

 

 

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस