लेख / ब्लग / अन्य प्रकाशन / समाचार

साँच्चै नै द्रवित रहन्छ मेरो मन…….

Posted Date: 2014-10-02

“डाक्टरसाब ! बाँचुञ्जेल त म यसको देखभाल गरौंला, म मरेपछि यसलाई कसले हेरिदेला ? बरु मभन्दा पहिले नै यो मरिदियो भने जाती हुनेथियो…….”

गहभरि आँसु बोकेर एउटा वृद्ध बाबु आफूसँगै आएको मानसिक रोगले ग्रस्त आपनो २७ वर्षे छोराको चिन्ता व्यक्त गरिरहेका थिए । वास्तवमै एउटा वियोगान्तक नाटकको ह्रदयस्पर्शी संवादझैं लाग्ने यो प्रतिक्रियाले मेरो मनोचिकित्सक ‘मन’लाई नै नमीठो रुपले छुन पुग्यो ।

३ छोरापछि जन्मेको ‘कान्छो छोरा’, जसले ३ महिनाभन्दा बढी आमाको दूध खान पाएन, आमाको निधनपछि बाबुले दुःख गरेर हुर्काए ती छोरालाई । पढाइमा पनि अत्यन्त राम्रो त्यो कान्छो छोराप्रति ठूलो आशा थियो बाबुको । अरु तीन छोराले त्यत्ति राम्रो पढाइ गर्न नसके पनि आपनो गुजारा राम्रै गरेका थिए, तर पनि बाबु टुहुरो ‘कान्छो छोरा’ मा नै धेरै भर पर्दथे । १८ वर्षसम्म राम्रो गरिरहेको छोरालाई ज्वरो आएर अस्पताल भर्ना गर्नुपरेपछि भने बाबुको जीवनमा एकपछि अर्को वज्रपात आउनथाले । छोरालाई निमोनिया र इन्सेफलाइटिस भएर आइसियूमा भर्ना गर्नपर्नु, डिस्चार्ज भएपछि बेलाबेलामा ‘मूच्र्छा पर्ने, बेहोस हुने आदि लक्षणहरु’ देखापर्नु, अन्ततः मानसिक समस्या एवं व्यक्तित्व विकासमा असर……..एउटा बौद्धिक अपांगसरहको अवस्था……..

यी सब समस्याको निवारणार्थ कुनै ठाउँ बाँकी राखेनन् ती बाबुले । आपनो बलबूताले भ्याएसम्मका सबै ठाउँ चहार्दा पनि केही नभएपछि घरमै बाँधेर राख्नथाले । कान्छो छोरामा त्यस्तो समस्या आइपरेपछि ती बाबुछोरा अन्य परिवारबाटै परित्यक्त सरह हुनपुगे, तिनका अन्य तीन छोरासमेत परपर भए ।

करीब साढे ४ वर्षदेखि यी बाबुछोरा मेरो ओपिडीमा नियमित रुपले आइरहेका छन्, हाम्रो औषधोपचारले ती छोराको ‘मुच्र्छा पर्ने लक्षण’र केही व्यवहारजन्य समस्याहरुमा त क्रमिक सुधार त आई नै रहेको छ, तर व्यक्तित्वजन्य अन्य प्रभावका कारण बेला–बेलामा ‘झर्कने, लड्ने, आफूलाई नै चोटपटक लगाउने, तोडफोड गर्ने अनि बेसूरका कुरा गर्ने लक्षणहरु’ भने कायमै छन् । “औंसी–पूर्णे लागेको” भनेर तिनका बाबुले ती समस्याका जटिलताको जति न्यूनीकरण गर्ने प्रयास गरेतापनि “आफूपछि ती छोराको के हाल होला ?” भन्ने चिन्ताले भने ग्रसित छन्, अनि साँच्चै नै ती व्यथित छन् ।

यो मात्र एउटा उदाहरण हो, तर यही नै एक उद्धरण काफी छ, मानसिक रोगसँग पारिवारिक एवं सामाजिक पाटाहरु कति जकडिएर रहेका छन् भन्ने दर्शाउन । एउटा मानसिक रोगीको जीवनैभर उपचार गर्न, तिनको गाँसबासको व्यवस्था मिलाउन, तिनलाई आर्थिक रुपमा सबल राखेर तिनको पारिवारिक एवं सामाजिक पुनर्वास गराउन कति गाह्रो छ भन्ने कुरा यसैले प्रष्ट्याउँदैन र ? 

मनोचिकित्सकको हैसियतमा म तिनलाई रोगका लक्षणहरुबाट मुक्त गराउन त सकुँला तर तिनको औषधोपचारको निरन्तरता कायम राखिराख्न, तिनको आर्थिक सक्षमताका लागि रोगको लक्षण नभएको अवस्थामा तिनलाई सुहाउँदो रोजगारी दिलाउन, परिवारबाट परित्यक्त या बेसहारा हुँदा तिनको पुनर्वास गराउन मनोचिकित्सकको एक्लो प्रयास मात्र कसरी सार्थक हुनसक्ला र? यसमा हामी चिकित्साकर्मीहरु मात्र नभई समाज, राज्य, सरकार अनि सींगो राष्ट्रको चिन्तन नै आवश्यक पर्ने होइन र ?

दैनिकरुपमा आइपर्ने र मैले सामना गर्नुपर्ने यस्तै किसिमका मानसिक रोग र त्यससँग अन्योन्याश्रित रुपमा गाँसिएर रहेका पारिवारिक, सामाजिक, आर्थिक अनि मनोवैज्ञानिक आयामहरुसँगसँगै आफूभित्रै रहेका मानवीय संवेदना अनि आध्यात्मिक मूल्यमान्यताहरुबीचको निरन्तर चलिरहने संघर्षले साँच्चै नै द्रवित रहन्छ मेरो मन…….

 

लेखक – डा. अजय रिसाल, मानसिक रोग विशेषज्ञ, धुलिखेल अस्पताल (कान्तिपुर दैनिकमा October  23, 2013 मा प्रकाशित)

 

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस