लेख / ब्लग / अन्य प्रकाशन / समाचार

सीमापारिबाट टेलिहेल्थ र अनलाइन परामर्शमा मेडिकल रजिस्ट्रेशन

Posted Date: 2013-12-05

इन्टरनेटको व्यापकतासंगै यसको माध्यमबाट रोगको उपचार गर्ने प्रवृत्ति विस्तारै बढ्न लागेको छ । बिकसित देशहरूमा भिडियो लिंकद्वारा तुलनात्मक रुपले दुर्गम र कम जनघनत्व भएका ठाउंहरूमा विरामीको जांचपडताल गरिने प्रचलन आइसकेको छ । यसका साथै इन्टरनेट प्रयोग गर्ने करौडौंको संख्यालाई लक्षित गरेर विभिन्न प्रकारका उपचारहरूको विज्ञापन पनि देखिन थालेको छ ।

इन्टरनेटमा देखिने उपचारको विज्ञापन मुख्यतः दुई प्रकारका हुन्छन् । जानकारीमूलक विज्ञापनले लक्षित समुदायलाई उपचार केन्द्र र विशेषज्ञ सेवाको बारेमा जानकारी दिन्छ । यस्ता विज्ञापन रेडियो र टेलिभिजनका विज्ञापन झैं विरामीलाई विभिन्न सेवाको जानकारी दिदै आफ्नो अस्पताल या क्लिनिकमा प्रदान गरिने खास रोग या विशेषज्ञ सेवाको बारेमा थाहा दिनुको साथै आफ्नो वेभपेजमा विस्तृतमा विभिन्न सेवाबारे पनि जानकारी राखिएको हुन्छ । अर्कोथरी विज्ञापन भने इन्टरनेटलाई माध्यम बनाएर विरामी र चिकित्सकको वास्तविक आमनेसामने विना नै उपचार गर्ने जानकारी दिन्छन् । यस्ता उपचार मध्ये केही सल्लाह निःशुल्क र उपचार प्रदायकको समय बढी लाग्ने हकमा सःशुल्क सेवाको विज्ञापन गरेको भेटिन्छ । बढी Band Width को इन्टरनेटमा पहुँच भएको ठाउंमा Skype द्वारा पनि विरामीलाई परामर्श दिने चलन शुरु भएको छ ।

यस्तो सेवाहरुमा एउटा देशको सीमापारीबाट इन्टरनेट या भिडियो लिंकद्वारा उपचार प्रदान गर्न खोज्नेले सेवाग्रहि हाल भएको देशमा दर्ता भएको छ या छैन प्रस्टसंग खुलाउनु पर्छ । यी कुराहरू विकसित देशहरूले सम्बोधन गरेतापनि कम विकसित देशहरूले खासै ध्यान दिएको पाइदैन ।

कुनै पनि देशमा चिकित्सकको रुपमा काम गर्न सो देशको मेडिकल काउन्सिलबाट जांच गराई स्विकृति लिनु जरुरी हुन्छ । जस्तै, अष्ट्रेलियामा AHPRA मा दर्ता भएको हुनुपर्दछ,  र UK मा GENERAL MEDICAL COUNCIL दर्ता भएको हुनुपर्दछ र नेपालमा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्दछ । यदी अष्ट्रेलियामा दर्ता भएको डाक्टर नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको छैन भने विकसित देशमा दर्ता भएकै आधारमा नेपालमा गएर विरामीको उपचार गर्न पाउंदैन । तर, यदी नेपालको विरामी अष्ट्रेलिया आएको अवस्थामा अष्ट्रेलियामै दर्ता भएको डाक्टरले मात्र उपचार गर्दछ । संगै नेपालमा दर्ता भएको डाक्टर अष्ट्रेलिया आएको छ भने पनि उसले जबसम्म अष्ट्रेलियाको मेडिकल काउन्सिलमा दर्ता हुंदैन, उसले नेपालमा आफूले पहिलो उपचार गरेको विरामी रहेछ भने पनि अष्ट्रेलियाको भूमिमा उपचार गर्न पाउंदैन । यसको मतलब विरामी भौतिक रुपमा जुन राष्ट्रमा छ, उपचारकर्ता चिकित्सक त्यही राष्ट्रको कानुनमा बाँधिन्छ । यो कुरा टेलिहेल्थ र अनलाइन  परामर्शमा पनि लागु हुन्छ । यदी मेडिकल लाइसेन्स (रजिष्ट्रेशनको) विश्वव्यापी मान्यतालाई मान्ने हो भने इन्टरनेटबाट उपचारको सल्लाह दिने कुनैपनि चिकित्सकले आफू कुन कुन राष्ट्रमा दर्ता भएको हो भन्ने प्रष्ट पार्न जरुरी छ ।

विभिन्न अमेरिकी राज्यहरू, जहाँ हरेक राज्यको आ–आफ्नै मेडिकल काउन्सिल छन्, चिकित्सकहरूलाई आफू दर्ता नभएको राज्यमा इन्टरनेटको माध्यमबाट सेवा प्रदान नगर्न निर्देशित गरेका छन् । नेपालको सन्दर्भमा भने भारतबाट इन्टरनेटबाट स्वास्थ्य उपचार गर्ने भन्ने विज्ञापनहरू देखिन थालेका छन् । यस्ता चिकित्सकहरू नेपालमा दर्ता भएका छन् या छैनन् भन्नेकुरामा सेवाग्राहीले जानकार हुनु जरुरी छ ।

हुनत अर्को देशको नाम चलेको अस्पतालको या विशिष्ट ख्याति कमाएको डाक्टरले नेपाल या अन्य कम विकसित देशको मेडिकल रजिष्ट्रेशन नगरेपनि के भयो र भन्ने तर्क आउन सक्छ । यहाँ हामीले के बुझ्न जरुरी छ भने मेडिकल काउन्सीलले डाक्टरलाई अनुमति दिने मात्र होइन कि उजुरी परेको खण्डमा उक्त डाक्टरलाई कारवाही गर्ने अधिकार पनि राख्दछ । यस प्रक्रियाले उक्त डाक्टरलाई उपचार मा हुने लापरवाहि (Medical Negligence) को बारेमा सजग पारी बढी जिम्मेवार हुन मद्दत गर्छ । डाक्टरले गल्ती या हेलचेक्राई गर्दैन भन्ने मान्यता वास्तवमा एकादेशको कथा जस्तै भइसक्यो र डाक्टरलाई जिम्मेवारीको नियमले बाँधेर अन्य पेशाजस्तै नियन्त्रण र अनुगमन भित्र राखेरमात्र जनस्वास्थ्यको सुरक्षा गर्न सकिन्छ भन्ने अवधारणा एक किसिमले सर्वव्यापी भएको अवस्थामा आफ्नो उपचार टेलिहेल्थबाट गराउन चाहनेले  बिरामी अहिले उपस्थित रहेको राष्ट्र / राज्यमा उपचार गर्न अनुमति प्राप्त उपचारकर्ता हो या होइन जानकारी राख्नु जरुरी छ । 

 

 

लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया

पिपलबोट अस्ट्रेलियामा 1-15 December 2013 मा प्रकाशित (Page 18)

 

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस