लेख / ब्लग / अन्य प्रकाशन / समाचार

स्वास्थ्य चिन्ताले (Anxiety) जिन्दगी बबार्द गर्न सक्छ – माधव प्र. खतिवडा

Posted Date: 2014-04-06

महेशलाई(नाम परिवर्तन) १५ वर्ष अघि भाँचिएको दाहिने खुट्टा दुखेको जस्तो लाग्न थाल्यो । नभन्दै त्यही खुट्टाको पैतालामा खिल निस्क्यो र दुखाई झन असह्य भयो ।दर्द कम गर्न पेनकिलर समेत खानु पर्न थाले पछि उनलाई क्यान्सर भएको शंका लाग्न थाल्यो ।  हुँदा हुँदा उनी राती निदाउन छोडे । घरका परिवारले सम्पूर्ण शरिरको जाँच गर्न दिएको सल्लाहले उनलाई झन तर्सायो किनकी जाँचगर्दा ल्याव रिर्पोटले उनका महत्वपूर्ण अङ्ग एउटै पनि काम नलाग्ने गरी विग्रिसकेको देखाउँछ भन्ने शंकाले उनको भोक निन्द्रा गायब भएको थियो। वाँच्ने दिन धेरै छैनन भन्ने विश्वासले गर्दा उनले काममा लत्तो छोड्दै जान थालेका थिए। एकदिन परिवारका सदस्यहरुले उनलाई जवर्जस्ती अस्पताल पु¥याए। जाँच गर्दा उनका सम्पूर्ण अङ्ग स्वस्थ्य रहेको पाइयो । महेशलाई तत्काल मरिहाल्छु भन्ने लाग्न छोडे पनि कतै ल्याव रिपोर्ट अर्काकोसँग साट्टियो कि भन्ने शंकाले अझै छोडेको छैन।  आफूलाई डरलाग्दो रोग लागेको छ भनी विनाकारण तड्पिने महेश स्वास्थ्य चिन्ता(हेल्थ एन्जाइटी) बाट पीडित व्यक्ति हुन । यस्तो समस्याबाट पीडित मानिसहरुको सङ्ख्या अहिले विश्व व्यापीरुपमा नै बढिरहेको छ ।

स्वास्थ्य चिन्ताबाट सताइएका अधिकांश मानिसहरु आफू भित्र एड्स वा क्यान्सर रोग छिप्पीसकेको छ भन्ने आशंकाबाट पीडित हुन्छन। प्रायजसो क्यान्सर रोगको स्याहार सुसार गर्ने आफन्तहरुमा कतै आफूलाई पनि त्यही रोगले गाँज्न त थालेको छैन भन्ने विश्वास मजवुत हुँदै जान्छ । यसको साथसाथै रोगहरुको वारेमा वारम्वार पढ्ने र सुन्नेहरुमा पनि पढे सुनेका रोग आफूमा नै भएको भान हुन थाल्छ र गर्दा गर्दै शंका वानीमा  बद्लिन बेर लाग्दैन । इम्पोरियल कलेजका प्राध्यापक टाइरेरका अनुसार पछिल्लो समयमा इन्टरनेटको बढ्दो प्रयोगले पनि यो रोगलाई चर्काउँदै लगेकोछ । मानिसहरु विराम लाग्ना साथ इन्टरनेटमा रोगका लक्षण र उपचार बारेमा खोज्न थाल्छन् । नेटमा चाहिने भन्दा पनि नचाहिने कुराहरु बढी हुन्छन् । हेल्पलाइ च्यारिटी अफ एन्जाइटी युकेका ओलिन भन्छन“तपाँइले कम्प्युटरमा खोकी मात्र भनेर टाइप गर्नु भयो भने पनि एच आई भी एड्स देखि क्यान्सर सम्मको फेहरिस्त देखा पर्छ जसले मान्छेलाई थप चिन्तित बनाउँछ ।”

डाक्टर,साथीभाई या आफन्तबाट पटक पटक आश्वसान खोज्नु यो रोग लागेका मान्छेको अर्को विशेषता हो । तर केवल फोस्रो आश्वसानले कुनै काम गर्दैन। ओलिन भन्छन “मान्छेहरु आफ्नो मस्तिष्कमा एैजेरु पलायो भन्ने चिन्ताले  त्रस्त हुन्छन ।” उनीहरु अस्पताल गएर टाउकाको स्क्यानिङ  जाँच गर्दिन अनुरोध गर्छन। जाँच गरेर डाक्टरले तपाँइको मस्तिष्कमा एैजेरु सैजेरु केही पनि छैन भने पनि उनीहरुलाई कतै स्क्यानिङ गर्ने मेशिन नै विग्रको पो थियो कि? एैजेरु सानो भएर डाक्टरले नै देख्न पो सकेन कि ? रिपोर्ट जाँच गर्दा डाक्टरले देख्नै पो छुटायो कि भन्ने तर्कनाले पिरोल्लीरहन्छन् । उनीहरु वारम्वार फोन गर्छन र मलाई कतै क्यान्सर त भईहालेको छैन नि हगी ? भन्दै आश्वसान खोज्छन् ।  ओनिल थप प्रष्ट पार्छन  “हामीलाई थाहा छ आश्वसानले काम गर्ने केही समय मात्र हो । पुन चिन्ताले गाँज्न बेरै लाग्दैन ।”

पहिला पहिला हाइपोकोन्ड्रीया भनेर भनेर चिनिने स्वास्थ्य चिन्ताको आमसमस्या यसलाई गभ्भीरता पूर्वक नलिई  ठट्टा मजाकको विषय बनाउनु पनि हो । अरुले जिस्क्याए पनि उडाए पनि पीडित व्यक्तिको मनमा मन्द मन्द मडारिने चिन्ताले उसलाई भित्र भित्र खोक्रो बनाइरहेको हुन्छ । मरिहाल्छु भन्ने तर्कनाले जीवनका राम–रमिता खुशीयाली फिका तुल्याउनाले पीडित व्यक्तिको जीवन नारकिय बन्न थाल्छ । त्यसै गरी गार्डियन पत्रिकाको एक लेखमा लेखिका एमाईन स्यानर मार्कको भनाई उल्लेख गर्दै लेख्छिन् “स्वास्थ्य चिन्ताले सताए पछि जीवन त्रासदीपूर्ण बन्छ । मृत्यु आफ्नै सङघारमा पीङ्ग खेलिरहेको देखे पछि अरु कुरा सोच्नै सकिन्न । काम दाम र सामाजिक सम्वन्ध  चौपट् बन्छ ।”  टाइरेरका अनुसार संसारभर १% मानिसहरु यो रोगबाट पीडित छन् भने पीडितमद्धे  केवल १०% ले मात्र उपचार पाएका छन्। पीडित हुनेको सङ्ख्या सालिन्दा वढ्दोछ ।

अध्ययनहरुले देखाए अनुसार संज्ञानात्मक व्यवहारिक थेरापी (Cognitive Behavioural Therapy) यो रोगको उपचारमा लाभदायि हुन सक्छ । यस उपचार पद्धतिले मान्छेको सोचाईको शैली रुपान्तरण मार्फत व्यवहार परिवर्तन  गर्ने लक्ष्य राख्ने हुनाले स्वास्थ्य चिन्ताको उपचारमा यो विधि अचुक हुनसक्छ । यस पद्धति अन्तर्गत टाउको दुखाईलाई मष्तिस्कमा ऐजेरु पलाएर हो भनी ठान्ने मान्छेहरुलाई त्यसदिन विहान टाउको दुख्दै उठ्नेहरुको सङख्या कति होला भनी कल्पना गर्न लगाइन्छ ।  उनीहरुले  जलविनियोज,रघा, माइग्रेन, थकान, अत्यधिक रक्सी या कफी पियाई जस्ता टाउको दुखाईका सम्भाव्य कारणहरुलाई वृत चित्रमा उतार्छन् ।  चित्रले मष्तिस्कमा ऐजेरु पलाएर टाउको दुख्ने मान्छेहरुको प्रतिशत नगन्य देखाउँछ । यसरी चिन्तका रोगीहरुले प्रत्येक लक्षणको निदान घातक नै हुन्छ भन्ने होइन रहेछ भन्ने स्वयम महशुश गर्छन् ।

तर प्राय रोगीहरु यस्तो समस्या एक मानसिक रोग हो भन्ने कुरा मान्न तयार नहुने हुनाले मनोचिकित्सक या मनोविमर्शदाता कहाँ जाने कु्रा ठाडै अस्वीकार गर्छन । उनीहरु आफू पीडित भइरहेको समस्या मानसिक नभई शारिरिक हो भन्ने कुरामा विश्वस्त हुन्छन् । त्यसकारण स्वास्थ्य चिन्ताको उपचारमा शारिरिक र मानसिक दुबै रोग उपचारको तािलम पाएका स्वास्थ्यकर्मीहरुको भूमिका अब्बल हुनसक्छ ।  प्राध्यापक टाइरेरका अनुसार संज्ञानात्मक व्यवहारिक थेरापी पछि आफ्नो जीवन  कसरी कायापलट भयो भनी सविस्तार पत्र लेख्ने विरामीहरु थुप्रै छन् । हृदयघात हुन्छ  भनी एक वर्षसम्म घरबाट बाहिर ननिस्कने मानिसहरु छुट्टी मनाउन गएका छन् । त्यसैले मान्छेलाई भित्र भित्रै सिध्याउने स्वास्थ्य चिन्तालाई कम नआँकी र रेला ठट्टाको विषय नवनाई समयमै उचित ध्यान दिनु पर्छ ।यदि संज्ञानात्मक व्यवहारिक मनोविमर्शका लागि आवश्यक जनशक्ति र  दक्षता  बढाउन सके अस्पतालमा हुने अनावश्यक जाँच पड्ताल र भर्नाको खर्चलाई न्युनिकरण गर्न सकिने थियो र महेश र उ जस्ता कैयौं मानिसहरुको जीवन थप नारकिय बन्नबाट बँच्ने थियो ।

(लेखक कोशिश नामक राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्बन सङ्गठनमा कार्यरत छन्)

 

 

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस