लेख / ब्लग / अन्य प्रकाशन / समाचार

आफ्नो जाँड रक्सि खाने बानि समस्या भैसकेको छ कि छैन कसरि चिन्ने ?

Posted Date: 2013-09-07

 

आधुनिक नेपाली समाजमा जाँडरक्सी नखाने मानिस विरलै होलान् । पराम्परागत रुपमा निषेधित जातजाती, महिलाहरुमाझ पनि यो पेयको प्रसिध्दी दिनानुदिन क्रमशः बढ्दो नै छ । फेशनरुपी अन्य व्यवहार झैं युवाहरु माझ त यसको सेवन डढेलो सरह सल्कदों छ भन्दा गलत नहोला । नेपालका अति दूर्गम स्थान होस्, या शहरबजसरमा अवेर राती औषधी पसल बन्द भैसक्दा पनि यत्रतत्र रक्सी किन्न पाउनु, हरेक वर्ष दर्जनौं स्वदेशी तथा विदेशी नयां नयां ब्राण्डहरु थपिदै जानु, अनि राज्यले सबभन्दा बढी राजश्व संकलन मदीरा उधोगबाट गर्नु यसको प्रमाण मान्न सकिन्छ ।

झ्वाट्ट हेर्दा यो नयां लागे पनि मदीरा सेवनको चलन भने मानव जाती जति नै पौराणिक छ । कार्बोहाइड्रेट यूक्त खाद्दयपदार्थ कुहिएपछि प्राकृतिक रुपमा अल्कोहोल, अर्थात मदिरामा हुने मुख्य मादक पदार्थ बन्छ । हरेक प्राचिन मानव समाज, अझ कुनै कुनै त जनावरहरुका समेत मदिरा संकलन,उत्पादन र सेवनका विविध तथा विस्तारित चलनचल्ती पाइन्छन् । कुनै समाज यसको प्रयोगप्रति निकै उदार छ भने कुनै निकै सख्त, र कहिलेकाही पूर्ण निषेधित छन् । जतिसुकै अनूदार समाजमा पनि यसको प्रयोग शुन्य नै छ भनेर ठोकुवा गर्न चाहिं शायदै सभंव होला । मदिरा सेवनको हजारौं हानी सर्वविदित हुंदा हुंदै पनि यस्तरी कालजयी प्रसिद्ध हुनुमा  विविध व्याख्या गरेतापनि विज्ञहरुको रायमा मदिराले समाजिक अन्तरक्रियामा ल्याउने सहजता, सोसियल लुब्रिक्यान्ट को भूमिका, ले प्रमूख मान्यता पाएको छ ।  यसबाहेक मदिराको नियमित सेवनले ल्याउने विशेष   दूव्र्यसन अवस्था (डिपेन्डेन्स), अन्य मादक पदार्थहरुभन्दा उपचारार्थ निकै कठिन हुनेहुंदा पनि यसको प्रयोगमा कमी ल्याउन निकै चनौतिपर्ण भएको मानिन्छ ।

कस्ता कस्ता मदिरा ?

अल्कोहोल कार्बन, हाईडोजन, र अक्सिजन रसायन मिस्रित यौगिक हो । अल्कोहोल –  इथानोल, मिथानोल र आइसोप्रोपानल रुपमा पाइएपनि मानव खपतका निमित्त निश्चित मात्राको इथानोल मात्र योग्य हुन्छ । बाँकी दुइटै अत्यन्त विषालु हुन् । बेलाबखत सुनिने नक्कली रक्सी खाएर सिकिस्त वा मृत्यु भएका समाचाहरुका पछाडी यिनै विषका भूमिका हुन्छन् ।

कुन खाध पदार्थबाट उत्पादित र कति प्रतिशत इथानोल छ भन्ने आधारमा मदिरा विभिन्न किसिम का हुन्छन् ।

वियर, जांड, छ्याड:  ३ –५ % इथानोल

वाइन, निगार:  १० –१५ %  इथानोल

भोड्का:       ३० –६० %  इथानोल

व्हिस्कि, जिन: ४० –५० %  इथानोल

रम:           ५० –६० % इथानोल

नोट : घरेलु रक्सीमा इथानोलको मात्रा  डिस्टिलेशन गरिने संख्या को आधारमा – २० %  देखि ६० / ८०%  सम्म हुन सक्छ । मख्य मादक पदार्थ इथानोल सबैमा नै हुने हुंदा बराबर इथानोल खपत हुंदा सबै मदिरको असर उस्तै हो र उत्तिकै हानिकारक पनि ।  आधा पिन्ट वियर वा एक गिलास बियर, १ गिलास वाईन, १ पेग (३० मिमी) व्हिस्कि समान हुन् । स्वस्थ शरिरमा उल्लेखित परिमाण १ घण्टामा पूर्ण रुपमा पाचन हुन्छ । अर्थात थोरै मादिरा, मनग्य समय लगाई सेवन गर्दा स्वस्थ शरिरले सहजै धान्न सक्दछ ।

रगतमा अल्कोहोल मात्रा (Blood Alcohol Concentration)

साधारणतया मुखबाट सेवन गरेको मदिराबाट अल्कोहोल पेट (अमाशय) बाट सोझै सोषण भई रगतमा पुग्छ र त्यहाँबाट मस्तिष्कमा । कति छिटो सोस्छ भन्ने कुरा सगै खाईने सितन र पेट कति खालि  भन्ने कुरामा निर्भर गर्छ । रगतमा अल्कोहोल मात्रा अनुरुप खाने मान्छको मस्तिष्कमा असर पर्छ र उसका व्यवहार, आचरणमा विविध परिवर्तन ल्याउंछ ।

रगतमा अल्कोहोल मात्रा ०.०१ – ० .०२९% (मिलीग्राम प्रति १००मिली रगत) हुँदा व्यवहार, आचरणमा परिवर्तन नगण्य प्राय हुन्छ र   विशेष परिक्षणबाट मात्र थाहा हुने सूक्ष्म शारीरिक र मानसिकअसर मात्र हुन्छ ।

रगतमा अल्कोहोल मात्रा ०.०३ – ० .०५९% (मिलीग्राम प्रति १००मिली रगत) हुँदा रमाइलो, आराम, आनन्द, तनावमक्त अनभति र बढी बोल्ने हुन्छ भने उसको सतर्कता, एकाग्रता, निर्णय शक्ति र समन्वय कम हुन्छ ।

रगतमा अल्कोहोल मात्रा ० .०६ – ० .१० % (मिलीग्राम प्रति १००मिली रगत) हुँदा मनको नियन्त्रणमा कमी, रुख्खो, बढी बोल्न, दुखाइ कम महशुस हुन्छ भने शारीरिक प्रतिक्रिया (Reflex Reaction Time) ढिला,दृष्टि, विवेक,सझबझमा कमी हुन्छ ।

रगतमा अल्कोहोल मात्रा ० .११ –०.२० % (मिलीग्राम प्रति १००मिली रगत) हुँदा बेलगाम बोली, घरिघरि मनमिजाज फेर्ने: खुशी,उदासी, रिस, उग्र स्वभाव, अधैर्य, असहनशील हुने हुन्छ भने प्रतिक्रिया समयमा ह्रास(सुस्तिपना), अनियन्त्रित चाल, हिडाई र अस्पष्ट बोली जस्ता शारीरिक र मानसिक असर देखिन्छन ।

रगतमा अल्कोहोल मात्रा ० .२१ – ० .२९ % (मिलीग्राम प्रति १००मिली रगत) हुँदा व्यक्ति असंवेदनशील हुने मात्र होइन बेहोसी हुने पनि हुन सक्छ र उसको हिंडाई लड्खडाउने र स्मरण शक्ति हराउने हुन्छ ।

रगतमा अल्कोहोल मात्रा ० .३० –०.३९ % (मिलीग्राम प्रति १००मिली रगत) हुँदा बेहोस हुने हुन्छ र उसको मुटुको धड्कन, श्वासप्रश्वासमा गडवडी हुन्छ ।

रगतमा अल्कोहोल मात्रा ४०  % (मिलीग्राम प्रति १००मिली रगत) भन्दा बढी हुँदा बेहोस भइ  कोमा मा गएर मृत्य हुने सम्भावना अत्यधिक हुन्छ ।

नोट माथिको तालिकाबाट प्रष्ट बझिन सकिन्छ कि ० .०५ मिलीग्राम प्रति १००मिली रगत भएमा गाडी चलाउन समस्या हुन सक्छ । प्राय: जसो मुलुकमा यस मापन लाई कानूनी अधिकतम सीमा तोकिएको छ ।

के गर्ने र के नगर्ने

क. यथासंभव मदिरा प्रयोग नगर्ने । मदिरासहित मनोरन्जन संभव छ भन्ने कुरामा विश्वास गर्ने ।

ख. निद्रा, चिन्ता, डर, एक्लोपनाका उपचार मदिरा कदापी होईन भन्ने बुझ्ने । यदि यस्ता समस्या छन् भने यथाशिघ्र सम्बन्धित स्वास्थकर्मी, साइकियाट्रिष्ट (Psychiatrist) को सल्लाह खोज्ने ।

ग. मदिरा सेवन गर्नपर्ने भए कहाँ, कहिले, को संग, कहिले र कति खाने भन्ने कुरामा सजग रही आफनो सिदान्तमा रहने ।

घ. समस्याहरु जटिल हुनु अगाडि नै नहिच्किच्याई उचित मद्दत लिन गईहाल्ने ।

 

आफ्नो जाँड रक्सि खाने बानि समस्या भैसकेको छ कि छैन कसरि चिन्ने ?

निर्भरताको समस्या भएनभएको निर्क्यौल गर्न निम्न ४ CAGE प्रश्नहरु आफैलाई वा प्रयोगकर्तालाई सोध्ने । कुनै एकको उत्तर स्पष्ट “छ / हो” भएमा समस्याको जोखिम दर्शाउछ। एकभन्दा बढी “छ / हो” भएमा विज्ञसित मद्दत लिनैपर्ने उच्च जोखिम अवस्था भन्ने बुझनुपर्ने हुन्छ ।

क. तपाईंले कहिल्यै रक्सीसेवन कम (Cut down) गर्नुपर्यो भनेर सोच्नुभएको छ ?

ख. तपाईंको पिउने बानीको कसैले आलोचना गर्दा रिस उठ्छ (Annoyed) ?

ग. आफनो पिउने बानीप्रति आत्मग्लानि (Guilt) हुन्छ ?

घ। तपाईलाई बिहान उठ्नासाथ (Eye Opener) रक्सि पिउन इच्छा हुन्छ ?

पूर्ण मदिरारहित समाज असंभव प्राय भएतापनि बुद्धिमतापूर्ण सावधानीले यसबाट हुने जटिलता र क्षतिबाट बच्न अवश्य सकिन्छ ।

 

लेखक: डा रबि शाक्य, मानसिक रोग बिशेषज्ञ, मानसिक रोग विभाग पाटन एकेडेमी अफ हेल्थ साइन्सेस, ललितपुर

नागरिक दैनिक मा १० अगष्ट २०१३ मा प्रकाशित

 

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस