लेख / ब्लग / अन्य प्रकाशन / समाचार

विचार दोहोरिने मानसिक रोग (OCD)

Posted Date: 2013-11-16

उदासीपना तथा चिन्तासम्बन्धि मानसिक समस्याहरूको बारेमा विभिन्न पत्रपत्रिकामा लेख रचनाहरू आइरहेको हुन्छ । पागलपन मानसिक रोग हो भनेर धेरैलाई थाहा भइसकेको छ । तर, सोचाई सम्बन्धि एउटा यस्तो रोग छ, जुन पूर्ण रुपले छिप्पिनु अगाडि पीडित व्यक्ति यस समस्यालाई आफ्नो मनको कमजोरी ठानी मानसिक पीडा सहेर बस्छ । OBSESSIVE COMPULSIVE DISORDER अर्थात छोटकरीमा OCD भनिने यो मानसिक रोगमा विचारहरू पटक पटक या लगातार दोहोरिने र कति अवस्थामा उक्त व्यक्तिले दोहो¥याई तेहे¥याई मात्र होइन कि कैयौं पटकसम्म केही क्रियाहरू दोहो¥याई रहने हुन सक्दछ । कतिपय मानिसहरूलाई ‘यस्तो पनि रोग हुन्छ र ?’ जस्तो लाग्ला, त्यसैले यो समस्याबाट पीडित व्यक्तिहरूको भनाई यहाँ  जस्ताको तस्तै उधृत गरिएको छ –

१. “मेरो हात विल्कुलै सफा छ । यसमा कुनै फोहोर छैन । यो कुरा मलाई राम्ररी थाहा छ । तैपनि मेरो हात फोहोर छ भन्ने विचार दिमागमा आइरहन्छ । पहिले पहिले यो विचार दिमागबाट तुरुन्त हटाउन सक्थें । तर अहिले जति कोशिस गरे पनि त्यो विचार दिमागमा आएको आएकै गर्छ । जति गरेपनि हट्दैन । कहिले त घन्टौं यस्तो भइरहन्छ । मेरो दैनिक काममा यस्ले साह्रै असर गरि सक्यो ।”

२. “आजभोलि मलाई एड्स लागेको छ भन्ने विचार दिमागमा बारम्बार आउंछ । मैले एड्स लाग्ने कुनै काम गरेको छैन र पनि यो विचारलाई हटाउनै सकिएन । मैले रगतको जांच पनि गराएँ । रिपोर्टबाट नराम्रो केही भेटिएन, तर यो विचार चाँही केही गरेपनि हट्दैन ।”

३.”मेरो दिमागमा आजभोलि फोहोरी विचारहरू आउंछन् । यतिसम्म घिनलाग्दा कि सोच्दा जिउ नै सिरिङ्ग हुन्छ । शब्दमा वर्णन गर्न लाज लाग्छ । कहिलेकाँही  त आफ्नै मान्यजनहरूको र कहिले देवी देवताको अनुहार सम्झेर उनीहरूको बारेमा सोच्नै नहुने कुरा दिमागमा आउंछ । पाप लाग्छ त्यस्ता कुराहरू सोच्दा । तर, के गर्ने दिमागमा आइरहन्छ । रोक्न खोज्छु, निकाल्न खोज्छु र अन्य कुराहरूमा भुल्न खोज्छु, तर मेरो केही लाग्दैन । भन्नुस त मलाई जस्तै भएको भए कस्तो हुन्थ्यो तपाईंलाई ? मेरो कष्ट अरुलाई खै कसरी बुझाउं ?”

४. “राती ढोकामा चुक्कुल लगाएको मलाई राम्ररी थाहा भएपनि बत्ति निभाएपछि चुक्कुल लगाएको छैन जस्तो लाग्छ । गएर हेर्दा चुक्कुल लगाएको भेट्छु र चित्त बुझ्छ । ओछ्यानमा फर्केर आएपछि फेरि चुक्कुल लगाएको छैन जस्तो लाग्छ । भर्खर त हेरेर आएको, चुक्कुल लागेको छ भन्ने राम्ररी थाहा छ । तर लागेको छैन भन्ने विचार दिमागमा बारम्बार आइरहन्छ । पटक पटक गएर हेर्न बाध्य हुन्छु । यो क्रम दशौं पटक दोहोरिएपछि थाकेर कुन बेला निदाउंछु थाहै हुँदैन । जबसम्म निद्रा पर्दैन निकै कष्ट हुन्छ ।”

माथिका उदाहरणहरू मध्ये सुरुका तीन समस्याहरू OBSESSIVE प्रकारको OCD हुन भने चौथो प्रकार चाहिं COMPULSIVE प्रकारको OCD हो ।

OBSESSIVE COMPULSIVE DISORDER (OCD) भन्ने रोग लागेको भनिने आधारहरू निम्न छन् ।

– उही विचार लगातार दोहोरिरहनु ।

– आफ्नो सो विचार अनावश्यक हो भन्ने ज्ञान पनि हुनु ।

– तर उक्त विचारलाई जति गरेपनि दिमागबाट हटाउन नसक्नु ।

– विचार दोहोरिने र सो विचार हटाउने प्रयासको क्रममा आत्तिने रोगका विभिन्न लक्षणहरू प्रकट हुनु– जस्तै डरको अनुभव हुनु, मुटुको धड्कन तेज हुनु, शरीर तनावयुक्त हुनु, आदि ।

माथि नै भनियो यो रोगबाट ग्रसित व्यक्ति आफूलाई यस्तो रोग लागेको छ भन्ने थाहा हुने सम्भावना कम हुन्छ । ‘म आफ्नो विचार नियन्त्रण गर्न सक्दिन’ भन्ने त उसलाई थाहा हुन्छ, तर यो एक मानसिक समस्या हो र यसको उपचार पनि हुन्छ भन्ने चाँही धेरैलाई थाहा हु“दैन । कति व्यक्तिहरू आफू हासोको पात्र बन्छु भन्ने डरले यो मानसिक समस्यालाई लुकाउंछन् । रोग कडा भएपछि कति चाँही ‘म पागल हुन थालेछु कि’ भन्दै डाक्टरकोमा जान्छन् ।

झन्डै एक प्रतिशत जनसंख्यालाई जीवनभरमा यो रोगले असर गर्ने भेटिएको छ । अनुवांशिक तत्वको केही असर देखिएपनि यो रोग अन्य कति मानसिक रोग झैं निश्चित कारणले हुने भन्ने चाहिं छैन ।

उपचार

यस रोगको उपचार औषधि र COGNITIVE BEHAVIOURAL THERAPY  बाट गरिन्छ । औषधिले यस रोगलाई पूर्ण रुपमा नियन्त्रण गर्ने सम्भावना भने कम छ । मुख्य रुपले SSRI समूहको ANTIDEPRESSANT को प्रयोग गरिन्छ । अरु ANTIDEPRESSANT  औषधिहरुको पनि OCD  मा प्रयोग हुन्छ ।

COGNITIVE BEHAVIOURAL THERAPY (CBT) को सही प्रयोगद्वारा यस समस्यालाई पूर्ण रुपमा नियन्त्रणमा ल्याउन सकिन्छ ।

 

लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया

पिपलबोट अस्ट्रेलियामा 1-15 November 2013 मा प्रकाशित (Page 21)

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस