लेखक: डा रबि शाक्य, मानसिक रोग बिशेषज्ञ, मानसिक रोग विभाग पाटन एकेडेमी अफ हेल्थ साइन्सेस, ललितपुर
एक २२ वर्षीय बिधार्थी, केही समयदेखि नैराश्य महसुश गरिरहेका थिए र निद«ा नलाग्ने, खान पिउन मन नलाग्ने जस्ता समस्याहरु झेल्दै आएको थिए। एक स्थानिय चिकित्सकले उनलाई १० दिनको निम्ति निद«ा लगाउने औषधि दिए । चिकित्सकको पुर्जी हातमा बोकेर उनी बिभिन्न १५ ओटा औषधि पसलहरुमा गएर करिब १५० चक्की औषधि लिएर गए । सम्पुर्ण चक्की एकैपटक खाइसकेपछि उनी कहिले नब्युझने गरेर निदाए ।
त्यस्तै एक गृहिणी टाउको दुखाईबाट कैयौं बर्ष देखि समस्या ग्रस्त थिइन । उनको चिकित्सकले उनलाई दुई हप्ताको लागि औषधि उदासीपन हटाउनको निम्ति र पुन चेकजाँचको निम्ति आइरहन भन्दै औषधि पुर्जी दिए । निंद्रा लाग्ने औषधि खादै जाँदा उनलाई निंद्रा लाग्न थाल्यो । उदासीपनको औषधि खासै वास्ता नगरेर उनले निंद्रा लाग्ने ओषधि सोही चिकित्सकको पुर्जीको पटक पटकको प्रयोगले करिब दुई बर्षसम्म सेवन गरिन । सोही क्रममा कुनै कारणवश उनले दुई दिन निंद्रालाग्ने ओषधि खान बिर्सिन, जसले गर्दा उनी अचानकको छारेरोग जस्तै दौराको शिकार भइन ।
अर्कि एक नारीले एक पटक रात्री बसमा यात्रा गर्ने क्रममा उनको सहयात्रीको अनुरोधमा जुस खाइन । अर्को बिहान उनी गन्तब्यमा पुगेर ब्युझिदा उनको टाउको अत्यधिक दुखिरहको थियो र उनको बहुमुल्य कुराहरु सबै चोरी भइसकेको थियो । उक्त जुसमा केही औषधि मिसाइएको थियो ।
माथि लेखिएका जस्ता समस्याहरुमा मानिसहरुको पहिलो विचार चिकित्सकले किन यस्तो औषधि लेखेको होला तथा औषधि उत्पादक संस्थाहरुले किन यस्तो औषधि बनाएको होला भन्ने हुन सक्दछ । तर गहिरिएर सोच्ने हो भने मुख्यरूपले समस्या औषधिको बिक्रिवितरण सम्बन्धि हो भनि बुझ्न गाह्रो छैन ।
माथिका दुखद् घट्नाहरुमा प्रायजसो Benzodiazepine समूहको औषधि प्रयोग भएको हुन्छ । यो समूहका औषधिहरु Diazepam, Clonazepam, Alprazolam, Lorazepam, Nitrazepam आदि हुन् । यी बाहेक निंद्रा लगाउने र उत्तेजना कम गर्ने अरु औषधिको पनि प्रयोग भएको भेटिएको छ ।
वास्तवमा यस्ता खालका औषधिहरु निकै महत्वपुर्ण छन् । यी औषधिको उचित प्रयोगले कतिपय अवस्थामा ज्यान बचाउँछ भने दुरुप्रयोगले ज्यान लिन पनि सक्छ । सरकारले त्यस्तो औषधिहरुको बेचबिखनमा सुपरिवेक्षण गर्नु जरुरी छ । विश्वका अन्य देशहरु जस्तै नेपालमा पनि यस्ता खालका औषधिहरुलाई नार्कोटिक अन्तर्गत नै राखिएको छ । यी औषधि विशेष सुझाव तथा सल्लाहसहित र कतिपय अवस्थामा त अर्को जिम्मेबार व्यक्तिको उपस्थितिमा मात्र प्रयोग गर्न दिइन्छ । यस्ता औषधिको नियन्त्रणको लागि बनाइएका नियमहरु अनुरुप निरन्तर सुपरिवेक्षण भने हुन सकेको छैन । राजधानी लगायतका प्रमुख शहरहरुमा पनि राम्रो अनुगमन भएको छैन भने गाउँघर तथा अन्य क्षेत्रहरुमा झन कुरा नै भएन । कति ठाउंमा त पुर्जीबिना नै यस्ता खालका औषधिहरु बेचबिखन तथा प्रयोग गरिएको छ । यदि औषधि पसलको मान्छे चिनेकै भरमा यस्ता औषधिहरुको दुरुप्रयोग हुने हो भने नतिजास्वरुप निकै भयानक तथा पीडादायी घटना घटन सक्दछन् । त्यस्तै यस्ता औषधिहरु गलत मानिसको हातमा परेमा आपराधिक घटनाहरुमा प्रयोग पनि हुन सक्दछ ।
हुनत सरकारी निकायहरुबाट केहि मात्रामा भएपनि पुर्जीबिना यस्ता औषधिहरु बितरण गर्ने औषधि पसलहरुमा निगरानी गरिएतापनि र यस्ता औषधिहरुको बेचबिखन तथा प्रयोगमा केही मात्रामा भएपनि नियन्त्रण भएको देखिएतापनि यो समस्या पुर्ण रुपमा भने नियन्त्रण हुनसकेको छैन । पुरानो पुर्जीकै भरमा धेरै समयदेखि औषधि प्रयोग गर्ने मानिसहरुको संख्या पनि धेरै नै छ, जुन राम्रो होइन ।
कतिपय देशहरुमा कम्पुटर सञ्जालको प्रयोगले देशभरिका सम्पुर्ण औषधि पसलहरु र सरकारी निकायले कुनै व्यक्तिले यस्ता औषधिहरु प्राप्त गरेको छ छैन हेर्ने प्रणालि शुरु भइसकेको छ । नेपालमा त्यस्तो प्रणालि अहिले नै शुरु गर्न नसकिए पनि अन्य उपायहरुको प्रयोगद्वारा यस्ता औषधिहरुको बेचविखनमा नियन्त्रण गर्न सकिन्छ ।
एउटै पुर्जीद्वारा पटकपटक औषधि बिक्रि गर्दा औषधि पसलहरुले बिचार पु¥याउनुपर्ने देखिन्छ । यस्ता औषधिहरुको बिक्रि या वितरण पश्चात पुर्जिमा ‘वितरण भैसकेको र फेरि प्रयोग गर्न नमिल्ने’ भनि छाप लगाउनु, र हरेकपटक यस्ता ओषधिहरुको वितरण गर्दा नियमित टिपोटको माध्यमले पनि नियन्त्रण गर्न केही मात्रामा सहयोग पु¥याउँछ । यस प्रक्रियाको नियमित अनुगमन र दोषिलाई कारवाहि गरिएमा मात्र बितरणमा हुने लापरवाहि नियन्त्रण गर्न मद्दत पुग्छ । त्यस्तै चिकित्सकहरुले पनि औषधिको पुर्जी लेख्ने क्रममा यस्ता औषधिको प्रयोगका बिभिन्न पक्षका बारेमा, जस्तै तात्कालिक हानिकारक तथा अत्याधिक प्रयोगको असर र लामो समयसम्मको प्रयोगको असरको बारेमा बिरामीलाई जानकार बनाउनु पर्छ । चिकित्सकहरुले यस्तो जानकारी लिखित रुपमा दिएको राम्रो । यस्ता औषधिको उपयुक्त प्रयोगको जनचेतना र विरामी, चिकित्सक र सबै सम्बन्धित निकायहरु इमानदार भएमा यस्ता औषधिको बारेमा जनमानसमा व्याप्त भ्रम निराकरण हुनुको साथै माथि उल्लेखित दुर्घटना टर्न सक्दछन् ।
४ अगष्ट २०१३ मा काठमाडौँ पोस्ट मा प्रकाशित लेखको नेपाली अनुवाद