लेख / ब्लग / अन्य प्रकाशन / समाचार

मनमा कुरा खेल्नु: सामान्य र केही असामान्य अवस्थाहरू

Posted Date: 2013-08-03

लेखक: डा निशिता पाठक, मानसिक रोग विशेषज्ञ, सशस्त्र प्रहरी अस्पताल तथा अल्का अस्पताल, जावलाखेल, ललितपुर

 

मनमा कुरा खेल्नु प्राय: सामान्य हो । यसलाई रोग या समस्या भन्न मिल्दैन । कतिपय मानिसहरू स्वभावले बढी कल्पनाशिल हुन्छन् । किशोर किशोरिहरू पनि कल्पनामा बढी डुब्दछन । मनमा कुरा खेल्नु लाई समस्या पो हो की भन्ने तब सोचिन्छ जब यस्ले दैनिक जीवन मा अवरोध ल्याउँछ ।

असामान्य रूपले मनमा कुरा खेल्ने कारणहरु बिभिन्न हुन सक्छन । ती मध्ये सबै भन्दा ठुलो कारण तनाव हो । केही मानिस को व्यक्तित्वनै मनमा कुरा खेलाउने हुन्छ । यी बाहेक डिप्रेसन (Depression) र आत्तिने रोग (Anxiety) हरुमा पनि मनमा बिभिन्न प्रकारका कुरा खेल्छन ।

व्यक्तित्व: कुनै मानिसहरु सजिलैसंग आफुलाई ब्यक्त गर्न नसक्ने हुने र उनीहरुलाई कसैले केही भन्यो भने वा उनीहरु चित्त नबुझ्ने कुरा भयो भने कुरा मनमा नै राख्ने हुन्छन् । यो अवस्थालाई रोग भन्न मिल्दैन । तर यी मानिस हरू पटक पटक तनाव मा परेमा चाँही डिप्रेसन (Depression) र आत्तिने रोग (Anxiety) जस्ता मानसिक रोग लाग्न सक्ने सम्भावना बढी हुन्छ ।

आत्तिने रोग (Anxiety) मा केही नराम्रो हुन्छ कि भन्ने एक किसिमको डर लाग्ने, नचाहिने चिजको अनावश्यक चिन्ता लागिरहने; पारिवारीक चिन्ता¸ आर्थिक चिन्ता र भविष्यको चिन्ता पनि समस्याको तुलनामा धेरै हुने हुन सक्दछ ।  “बोल्दा मैले गल्ति गर्ने पो हो कि?” “मानिसहरुले मेरो हाँसो उडाउने हुन कि?” “रिंगटा लागेर मा लड्ने पो हुँ कि?” “मुटु बढी ढुक ढुक गरेर र दिमागले  केहि काम नै गरेन भने बडा बेइज्जत हुने पो हो कि?” जस्ता कुरा पनि मन् मा खेल्ने हुन सक्छ । यसरी मनमा कुरा खेल्दै गएमा केही शारीरिक लक्षण पनि देखिन सक्छन्, जस्तै जस्तै मुटु काप्ने, श्वास अनुभव हुने, जिउ या हात् खुट्टा काप्ने, चिटचिट पसिना आउने आदि ।

डिप्रेसन (Depression) मा चिन्ता साथै नकारात्मक विचारले प्रभुत्व जमाउँछन् । केही गर्न सक्दिन जस्तो लाग्ने, जे गरे पनि सफल हुन्न र भविष्य पनि अन्धकार छ जस्तो लाग्ने डिप्रेसनबाट पीडित ब्यक्तिमा पाइने नकारत्मक सोचका उदाहरण हुन् । क्रमिक रूपले जिन्दगी नै बेकार भएजस्तो लाग्ने र त्यसपछि आ अब त काल आइदिए हुन्थ्यो जस्तो लाग्ने पनि हुन जान्छ ।     यस्तो कारणले गर्दा हाम्रो दैनिक कार्यमा असर गर्न थाल्छ । नकारात्मक विचारका साथै  अनावश्यक थकानको महसुस हुने¸ कमजोरी अनुभव हुने¸ झुम्म परेको जस्तो हुने¸ टाउको दुख्ने र काम गर्ने जाँगर कम हुन थाल्छ ।

डिप्रेसन (Depression) र आत्तिने रोग (Anxiety) दुबैमा अनावश्यक सानो कुरामा पनि रिस उठ्ने¸ झर्को लाग्ने पहिलाको जस्तो काममा वा पढाईमा एकाग्रता कम हुँदै जाने¸ बिर्सने समस्या हुने¸ आत्मबलको कमी हुने पनि हुन सक्छ । यी बाहेक निर्णय लिन पनि  गाह्रो हुने हुन सक्छ । निदाउन गाह्रो हुने वा निदाए पछि फेरी सुत्न गाह्रो हुने पनि हुन सक्छ । ननिउँदा फेरि अनेक नकारात्मक र चिन्ताका कुरा मन मा खेल्न सक्छन् । हात खुट्टा झमझमाउने¸ रिँगटा लागेको जस्तो हुने¸ शरिर पोलेको जस्तो पनि हुन सक्छ ।

सल्लाह

मनमा चिन्ता हुँदा र नकारात्मक कुरा खेल्दा मानिसहरू आफ्ना नजिकका हितैशीसँग छलफल गरेपनी पश्चात्य देशमा झै काउन्सिलर कहाँ जाने चलन नेपालमा आइसकेको छैन् । हितैशी हरूसँग कुरा गर्दा मन हल्का भएपनी सल्लाह चाँही उनिहरुको अनुभव, आस्था र धारणाले रङियेको हुन सक्छ । काउन्सिलरले चाँही कस्तो अवस्थामा कस्तो सल्लाह दिने भने तालिम लिने भएको ले उनिहरु को सल्लाह बढी बस्तुपरक हुन्छ । काउन्सिलर संपर्क सजिलो नभएमा चाँही तनाव बहन गर्ने तरिकाहरु (क्लिक गर्नुहोस्) प्रयोग गर्दा फाईदा हुन सक्छ ।

तर जब चिन्ता र नकारात्मक बिचार बढ्दै गएर शारीरिक लक्षणहरू देखापर्छन, राम्रोसंग जानकारी नभएको हुनाले प्रायजसो यस्तो समस्याले पिडित ब्यक्तिहरु लक्षण अनुरूप नसाको चिकित्सक  (Neurologist) वा मुटुको चिकित्सक  (Cardiologist) या अन्य चिकित्सकलाई देखाउन जान्छन । जस्तै नसाको चिकित्सक कहाँ टाउको दुख्ने¸ झमझमाउने ईत्यादी लक्षणको उपचार गर्न जान्छन । मुटुको चिकित्सक कहाँ ढुकढुकी बढ्ने समस्याले पुग्दछन । अवश्य पनि यी शारीरिक लक्षण प्रकट भैसकेपछी आवश्यक डक्टरी जांच गर्नु पर्दछ । यस्को लागि सबैभन्दा पहिले General Practitioner लाई देखाउंदा राम्रो हुन्छ । त्यस पछि आवश्यक परेमा General Practitioner ले बिशेशज्ञ डक्टरलाई रेफर गर्नेछन । तर चिन्ता र नकारात्मक  सोचाइ धेरै छ र शारीरिक समस्या भन्दा अगाडी चिन्ता र नकारात्मक  सोचाइ शुरु भएको हो भने चाँही शुरु मै मानसिक रोग बिशेषज्ञ लाई जचाउदा राम्रो । मानसिक रोग बिशेषज्ञले अन्य चिकित्सकले जस्तै चिकित्सा बिज्ञान पढेको हुने हुनाले आवश्यक जांच र अन्वेशणहरू (रगत र पिसाब जांच तथा ई सी जी, भिडिओ एक्स्रे, सीटी स्क्यान र एम. आर. आइ.) पनि सिफारिस गर्न सक्ने तालिम लिएका हुन्छन् । यदि आवश्यक परे अर्थात शरीरको कुनै भाग मा खराबी देखिएमा मानसिक रोग बिशेषज्ञले सम्बन्धित चिकित्सकलाई रेफर गर्ने छन् ।

मानसिक रोग बिशेषज्ञ (Psychiatrist), मनोबिज्ञ (Psychologist) या काउन्सिलरको सल्लाह लिन जानुको अर्थ न त औषधी खानु हो न त पागल घोसित हुनु । तर नेपालमा बिभिन्न मिथ्याको कारणले जसलाई मनोबैज्ञानिक सल्लाह आवश्यक हुन्छ उ धेरै तिर भौतारिएर बल्ल मानसिक रोग बिशेषज्ञ  (Psychiatrist) या मनोबिज्ञ (Psychologist) सम्म आईपुग्छन ।

यस लेखको उद्देश्य सामान्यतया मनमा कुरा खेल्नु मानसिक समस्या होईन, तर मनमा अनेक चिन्ता हुने र नकारात्मक कुरा खेलेर दैनिक जीवन मा अवरोध पुगेको छ भने यो मानसिक समस्या पनि हुन सक्दछ र उचित सल्लाह र परामर्श लिनु राम्रो भन्न खोज्नु हो । त्यस्तै चिन्ता र नकारात्मक सोचाइको उचित व्यस्थापन नगरिएमा बिभिन्न शारीरिक लक्षण पनि उत्पन्न हुन सक्छन् र यसरी उत्पन्न  भएका शारीरिक लक्षणको उपचारमा  चिन्ता र नकारात्मक सोचाइको उचित व्यस्थापनको आवश्यकता पर्छ भन्नु यस लेख को अर्को उद्देश्य हो ।

 

Edited by Dr Anupam Pokharel

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस