उसको श्रीमान खसेपछि विचरीको मानसिक सन्तुलन गुम्यो । जांचमा फेल भएपछि त्यो मानिस यस्तो विछिप्त भयो । केटीले धोका दिएर अर्कै संग लागेपछि वा एक संग को प्रेम तोडेर अर्को संग विवाहबन्धनमा बाँधिनु पर्दा तिनी यस्ता भए । बाढी पहिरो भुकम्प वा आगलागीमा उठीबास भएपछि उस्तो भयो । द्वन्द्वकालमा द्वन्द्वरत पक्षले यातना र बलत्कार गरेपछि यिनको हाल यस्तो भयो । सासुपक्षले दाइजो वा यस्तै बहानामा दुःख दिएर फलानाको उस्तो भयो । काम गर्ने अफिसमा वा विद्यालयमा कुरा नमिलेर बलियो, हुनेखाने पक्षले निर्बल र निमुखालाई सताउँदा वा अस्वस्थ प्रतिस्पर्धा वा अत्याधिक कामको बोझले उस्तो भयो । कामको कारण सुत्न नपाएको केहि दिनमै उसको व्यवहारमा आमूल परिवर्तन आयो वा बन्दले गर्दा औषधी नपाएर उसको विमारी बल्झ्यो । कलहका कारण औषधी नगराउंदा ढिस्कानाको यस्तो नियति भयो । पढे अनुसार काम नपाउँदा, कमाइ अनुसार परिवारको माग खर्च नमिल्दा र कमाउनेको परिवारले र घर चलाउनेको कामकाजी व्यक्तिले मर्का नबुझ्दा वा एक विषय पढ्छु भन्ने अव्वल दर्जाका सन्तानले अर्को रोज्नु पर्दा वा बृद्ध आमाबालाई सन्तानले छाडिदिंदा विक्षिप्त भयो, आदि आदि । सूची असिमित हुनसक्छ मानवीय पिडा, दुःख र तनावका अवस्थाहरुको । मानिसको जीवन र समाज समस्या र तनावबाट मुक्त छैन ।
मानिसलाई आइपर्ने नयाँ परिस्थिति, घटना वा अवस्था व्यक्तिको दृष्टिमा हानिकारक, अनियन्त्रित वा क्षमताभन्दा परको स्थिति जंचेमा त्यस्तो आन्तरिक अवस्थाले तनाव (Stress) को रुप लिन्छ । यस्तो अवस्थाबाट पार लाग्न व्यक्तिलाई ठूलै कसरत र प्रयत्न गर्नुपरेको हुन्छ । शारिरीक, वातावरणीय, सामाजिक वा जीवनमा आइपर्ने मुख्य घटना प्रसंग आदिले तनावको रुप लिएमा व्यक्तिको मन र तन दुवैलाई प्रभावित पारेको हुन्छ । हानि नोक्सानी, सम्बन्धबिच्छेद, मृत्यू, विछोड, जवर्जस्ती, दुर्घटना आदि जस्ता नकारात्मक घटना मात्र हैन कतिपय मानिसलाई विवाह, पदोन्नति, चिड्डा वा सफलता जस्ता सकारात्मक घटना पनि तनाव बन्नसक्छ ।
तनावमा व्यक्तिले खतराको अनुभव गर्छ, परिस्थितिसंग संघर्ष गर्छ, शारिरीक प्रतिक्रियाहरु उत्पन्न हुन्छन् र लामो समय रहेमा थाक्ने स्थिति पनि आउनसक्छ । तनावले व्यक्तिलाई के कस्तो र कत्तिको असर गर्छ भन्ने कुरा मूल रुपमा तीन तत्वहरुमा निर्भर हुने देखिन्छः १. तनावको मात्रा, गम्भीरता, यसको असरको प्रकृति (पछि सुधार्न, हटाउन वा कम गर्न सकिने नसकिने), २. तनावग्रस्त व्यक्तिको स्वास्थ्य, व्यक्तित्व, स्वभाव, उपलव्ध साधनश्रोत र सहयोग तथा ३. व्यक्तिका लागि उक्त घटना, समस्या वा तनाव विशेषले के अर्थ राख्छ भन्ने कुरा । कुनै तनाव भएपछि व्यक्तिको अस्वस्थकर प्रतिक्रियाले हानिकारक परिणाम ल्याउने गर्छ, स्वस्थ तरीकाले त्यस्ता हानिकारक असर कम गर्न सकिने देखिन्छ । तैपनि कतिपय बेला भने, तनावसंग सम्बन्धित भएर मनका विमारीहरु उत्पन्न हुन्छन् । अति कडा गम्भीर, निरन्तरको लामो, बदल्न नसकिने खालको विशेष गरेर मानवसृजित वा मानवकृत तनाव जसमा भोलि के होला भन्ने निश्चित हुँदैन, त्यस्ता खालका तनावले मानिसलाई गम्भीर प्रभाव पारेको देखिन्छ । तर यसमा व्यक्तिपिच्छे अन्तर हुनेगर्छ, कसैलाई त्यस घटनाले केहि फरक पर्दैन जबकि अर्को व्यक्तिलाई असह्य र हानिकारक भैदिन्छ ।
संसारमा मानसिक समस्या र यसका पछाडि यसका कारक तत्वहरुमध्ये तनाव र संघर्षको परिस्थिति पनि बढ्दै गइरहेको तथ्य आजको यथार्थता हो । तनावग्रस्त मानिसहरुमा मानसिक समस्याको मार पनि अत्याधिक हुने गर्छ । तनावले मानसिक समस्या उत्पन्न हुनमा पृष्ठभुमि तयार पार्ने, शुरु हुनमा घिउमा आगोको जस्तो, रोग भैसकेको अवस्थामा त्यसको उपचार र नियति कस्तो होला भनी निश्चित गर्नेसम्म भुमिका खेल्छ । यस लेखको शुरुमै उधृत प्रसंगहरुमा यो कुरा छर्लंग देखिन्छ । लगभग सबैखाले मनोरोगहरु प्रतक्ष अप्रतक्ष्य रुपमा तनावसंग सम्बन्धित हुन्छन्, चाहे त्यो मानसिक समस्याको कारणको रुपमा होस् चाहे मानसिक रोग भैसकेपछिको अवस्थामा परिणामको रुपमा होस् । मानसिक समस्याका कारक सामाजिक र मनोवैज्ञानिक तत्वहरु एक हिसाबले तनावकै रुप हुन् ।
तनावकै सेरोफेरोमा पागलपनको एक रोग (Acute and Transient Psychotic Disorder) र हिस्टेरिया (Conversion and Dissociative Disorder) उत्पन्न हुन्छन् । डिप्रेसन र भावनाका अरु मनोरोग (Depression and other mood disorders) तथा विभिन्न खालका मन आत्तिने रोगहरु (Anxiety Disorders) अत्याधिक रुपमा बढ्छन् । मानिसको व्यक्तित्वका गड्बडीहरु (Personality Disorders) अझ प्रकट हुने मौका पाउंछ तनावको बेलामा । पहिलेका कतिपय मानसिक बिमारीहरु बल्झिने सम्भावना बढ्छ । चुरोट र रक्सी लगायत मद्य तथा लागूपदार्थको सेवनमा वृद्धि भएर दुव्र्यसन (Substance Abuse Disorders) बढ्ने देखिन्छ । तनावग्रस्त मानिसहरुमा शारीरिक रोग विना पनि शारीरिक लक्षणहरुको सिकायत हुने विभिन्न मनोरोगहरु (Somatoform disorders) धेरै उत्पन्न हुन्छन् । यस्तै स्थितिमा कतिपयले आत्महत्या (Suicide) जस्तो कदमसम्म उठाउन पुग्छन् । यसरी मानसिक रोगहरु तनावसंग सम्बन्धित भएपनि तिनका पछाडि यी र जैबिक तत्व सहित अरु धेरै तत्वहरुको हात हुने गर्छ । तनाव प्रष्ट रुपमा हुनैपर्ने भन्ने नहुन पनि सक्छ ।
तीन खालका मानसिक समस्याहरु भने तनावकै कारण हुने र तिनलाई तनावजनित बिमारीका रुपमा निदान गरिन्छ । ती हुन्ः क. Acute Stress Reaction (तनावप्रतिको अल्पकालीन प्रतिक्रिया), ख. Adjustment Disorder (समायोजनमा गड्बडी) र ग. Post Traumatic Stress Disorder (पीडादायक घटनापटि उत्पन्न हुने मनोरोग) ।
तनावप्रतिको अल्पकालीन प्रतिक्रिया (Acute Stress Reaction)
सबैजसो मानिसलाई प्रतिकúल असर पर्ने खालका तनाव, जस्तै— प्रियजनको मृत्यु, प्राकृतिक विपद्, दुर्घटना, हत्या, हिंसा, आतंक, बलात्कार जस्ता घटनामा सोच्नै नसक्ने, ध्यान दिन नसक्ने, व्यक्तिको भावना, व्यवहारमा प्रतिकूल परिवर्तन, छट्पटी, आश्चर्य, रिस, आवेग, इत्यादि जस्ता मानसिक असन्तुलनका लक्षणहरु पैदा हुनसक्छन् । यी लक्षणहरु प्रायः एक दुई दिनमा कम हु“दै गएर केही दिनमा हराउ¤छन् । यस्तो समस्याले शारीरिक रुपमा कमजोर, सामाजिक रुपमा त्यक्त, बाल वृद्ध व्यक्तिलाई बढी सताएको देखिन्छ । ग्रस्त व्यक्तिलाई तनावबाट निक्लिन र परिस्थिति सामना गर्न सहायता गर्नुपर्ने हुन्छ । अनियन्त्रित खालका लक्षणहरु देखिएमा विशेषज्ञको राय सुझावमा उपचार गर्नुपर्ने हुनसक्छ ।
समायोजनमा गड्बडी (Adjustment Disorder)
तनावको स्थितिबाट गुज्रेको एक महिनाभित्र उदासीनता वा छट्पटी, अन्य भावनाका वा व्यवहारगत गड्बडीहरु उत्पन्न हुनसक्छन् । यस्ता लक्षणहरु कतिपय मानिसमा ६ महिना वा बढी समयसम्म पनि रहन सक्छन् । तनाव व्यहोर्ने क्षमता वा परिस्थिति सुल्झाउने सीप कम भएका र व्यक्तित्वका कमजोरीबाट पिडित व्यक्तिहरुमा यस्तो समस्या बढी देखिन्छ । यस्तो स्थितिमा व्यक्तिलाई परिस्थितिबाट गुज्रन, समस्या समाधान वा समस्याप्रतिको दृष्टिकाणमा अनुकूल परिवर्तन गर्न सरसल्लाह, सुझाव र सहाराको जरुरत पर्नसक्छ । समस्या समाधानको लागि तालिम र तनाव सुल्झाउने सीप विकासको लागि परामर्श आवश्यक हुनसक्छ । कतिपय अवस्थामा चिकित्सकको सल्लाह लिएर औषधि सेवन गर्नुपर्ने हुन्छ । समयमै यो समस्याको पहिचान गरी व्यवस्थापन गर्न सकिएमा यसको असर कम गर्न सकिने देखिन्छ ।
पीडादायक घटनापछि उत्पन्न हुने मनोरोग (Post Traumatic Stress Disorder)
धेरैजसो मानिसलाई असर गर्ने विभत्स घटनाहरु, जस्तै— युद्ध, बलात्कार, आतंक, दुर्घटना इत्यादिबाट गुज्रने कतिपय मानिसहरुलाई यो बिमारी भएमा केही दिन, हप्ता वा महिनापछि त्यस घटनाबारे याद वा मनसपटलमा दृश्यहरु (Flashback) आउने, उत्तेजना र छट्पटी (Hyperarousal) हुने, सो कुरा र घटनाको सम्झना गराउने कुराहरुबाट तर्किन खोज्ने (Avoidance) तर नसक्ने भई केही मिनेट वा घण्टासम्म बेचैन रहने लक्षणहरु उत्पन्न हुन्छन् । कतिपयमा भने त्यस घटनाबारे आंशिक रुपमा बिर्सने, रमाइलो नहुने तथा बिस्मृत हुने जस्ता लक्षणहरु पनि देखा पर्छन् । राति निन्द्रा नलाग्ने, नराम्रो सपना देख्ने, तर्सिने पनि हुनसक्छ ।
यस्तो स्थितिमा सम्भाब्य विपद् वा तनावको स्थितिबारे पूर्वानुमान गरी उच्च खतराका क्षेत्रमा पूर्व तयारीले रोकथाममा मद्धत पुग्नसक्छ । विपद्को घडीमा समयमै पु¥याइएको सहायताले पनि यस्ता गम्भीर परिस्थिति रोक्नमा मद्धत पुग्नसक्छ । यस्तो मानसिक असन्तुलनबाट गुज्रिरहेका व्यक्तिलाई सरसल्लाह, सुझाव र सामाजिक सञ्जालको सेवा पु¥याएर सहयोग गर्ने वातावरण हुनुपर्छ । औषधोपचार, मनोवैज्ञानिक उपचार विधि लगायत आर्थिक, सामाजिक, सांस्कृतिक, शारीरिक, मानसिक पुनस्र्थापनाका अल्पकालीन तथा दीर्घकालीन कार्यक्रमहरु यस समस्याको प्रभावकारी व्यवस्थापनका अंगहरु हुन् ।
तनाव र समस्या मानव जीवनका अभिन्न अंश हुन् । यसप्रतिको सन्तुलित दृष्टिकोण, बुझाई, अनुभव र प्रतिक्रियाले यसका असर कम हुनसक्छ । त्यसैले, तनाव व्यवस्थापनका तरीकाहरु सबैले जानी सिकि राख्नु उपयोगी हुन्छ । तनाव व्यवस्थापन सम्बन्धी जानकारी पाठ्यपुस्तकमै समावेस गर्नु राम्रो हुनेछ । यस्ता सीप र क्षमताले तनावबाट उत्पन्न हुनसक्ने विभिन्न मानसिक समस्याको रोकथाम गर्न मद्धत पुग्नेछ ।
लेखक: डा धन रत्न शाक्य, दुर्व्यसन तथा मानसिक रोग विशेषज्ञ, बि पी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान, धरान