डरलाग्दो घटना र तर्सिने रोग – PTSD

लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया

जीवनमा कहिलेकाहीँ मानिसले अत्यन्तै डरलाग्दो, पीडादायक वा भयावह घटना भोग्न सक्छ। ठूलो सडक दुर्घटना, भूकम्प, युद्ध, शारीरिक वा यौन हिंसा, यातना, आफ्नै अगाडि कसैको मृत्यु वा आफू नै मर्न सक्ने अवस्थामा पुग्नु यस्ता घटनाका उदाहरण हुन्।

यस्तो घटना सकिएपछि पनि त्यसको मानसिक प्रभाव तत्काल समाप्त नहुन सक्छ।

घटनाको केही दिनसम्म बारम्बार सम्झना आउनु, निद्रा बिग्रनु, झस्किनु, डर लाग्नु वा मन अस्थिर हुनु अस्वाभाविक होइन। धेरै मानिसमा समय बित्दै जाँदा यी प्रतिक्रिया बिस्तारै कम हुन्छन् र उनीहरू सामान्य जीवनमा फर्कन्छन्।

तर केही मानिसमा भने घटना सकिइसकेपछि पनि मस्तिष्कले अझै खतरा सकिएको छैन जस्तो प्रतिक्रिया दिइरहन्छ। घटनाका दृश्यहरू नचाहँदा नचाहँदै मानसपटलमा आउन सक्छन्, सपनामा त्यही घटना दोहोरिन सक्छ, सानो आवाजमा पनि झस्किने अवस्था आउन सक्छ र घटनासँग सम्बन्धित ठाउँ, मानिस वा परिस्थितिबाट व्यक्ति टाढा रहन थाल्न सक्छ।

यस्ता लक्षणहरू लामो समयसम्म रहँदै दैनिक जीवन, काम, पढाइ, सम्बन्ध वा सामाजिक गतिविधिमा उल्लेखनीय असर पार्न थालेमा त्यसलाई Post-Traumatic Stress Disorder (PTSD) भनिन्छ।

सामान्य बोलिचालिको भाषामा यसलाई एउटा प्रकारको “तर्सिने रोग” भनेर बुझाउन सकिएला, तर PTSD केवल डर लागिरहने समस्या मात्र होइन। यसले व्यक्तिको स्मृति, भावना, सोचाइ, व्यवहार, निद्रा र शरीरको खतरा पहिचान गर्ने प्रणालीसमेत प्रभावित गर्न सक्छ।

कस्ता घटनापछि PTSD हुन सक्छ?

PTSD को प्रारम्भिक वर्णन विशेष गरी युद्धका भयावह घटनामा परेका सैनिकहरूमा गरिएको थियो। पछि सडक दुर्घटना, प्राकृतिक प्रकोप, यातना, शारीरिक आक्रमण, बलात्कार, बाल्यकालमा भएको दुराचार तथा अन्य पीडादायक अनुभव भोगेका मानिसमा पनि यस्तै मानसिक समस्या देखिएको पाइयो।

नेपालमा लामो समय चलेको सशस्त्र द्वन्द्व, यातना, विस्थापन, भूकम्प तथा विभिन्न प्रकारका हिंसात्मक घटनाले मानिसको मानसिक स्वास्थ्यमा गम्भीर प्रभाव पारेका छन्। अष्ट्रेलियालगायत अन्य देशमा पनि युद्धबाट फर्किएका सैनिक, दुर्घटनामा परेका व्यक्ति, हिंसाको शिकार भएका मानिस तथा आपतकालीन घटनामा प्रत्यक्ष संलग्न हुने विभिन्न पेशाका व्यक्तिमा PTSD देखिन्छ।

तर कुनै भयावह घटना भोग्ने सबै मानिसलाई PTSD हुन्छ भन्ने होइन।

एउटै दुर्घटनामा परेका दुई व्यक्तिमध्ये एक जना केही हप्तामै सामान्य जीवनमा फर्कन सक्छ भने अर्को व्यक्तिमा महिनौँसम्म मानसिक समस्या रहन सक्छ। यसमा घटनाको प्रकृति, व्यक्तिको अनुभव, घटनाको समयमा भएको असहायपन, पहिलेका पीडादायक अनुभव, त्यसपछिको सामाजिक तथा पारिवारिक सहयोग र अन्य धेरै कुराले भूमिका खेल्न सक्छन्।

एउटा उदाहरण

“म आफ्नै सुरमा गाडी चलाइरहेको थिएँ। अगाडि जाम रहेछ। मैले ब्रेक लगाएँ। ऐनाबाट हेर्दा पछाडिबाट एउटा गाडी निकै तेज गतिमा आइरहेको देखें। सुरुमा त मैले जसरी नै उसले पनि रोकिहाल्छ भन्ने सोचेँ।

तर ऐनाबाट हेर्दाहेर्दै त्यो गाडीले मेरो गाडीको पछाडिबाट नराम्ररी धक्का दियो। मेरो शरीर अगाडि हुत्तियो। टाउको र गर्धन पछाडितिर सीटमा ठोक्कियो। एकछिन त दिमाग शून्यजस्तो भयो। त्यसपछि होस आउँदा सम्पूर्ण शरीर लगलग काँपिरहेको थियो। मन अत्यन्तै डराएको थियो।

पछि थाहा भयो—पछाडिको गाडीको चालक मरेछन्।

मेरो शरीरमा खासै ठूलो चोट लागेको थिएन। एक हप्ता घरमै बसेर आराम गरेँ। तर निद्रा राम्रो पर्न छोड्यो।

त्यसपछि काममा जानुपर्‍यो भनेर गाडी लिएर निस्किएँ। घरबाट हाइवे पुग्दा नपुग्दै एक्कासि अत्यन्तै डर लाग्न थाल्यो। चिटचिट पसिना आयो। मुटुको धड्कन बढ्यो। दिमाग शून्य भयो। मलाई फेरि दुर्घटना भइरहेको जस्तो लाग्यो।

पछाडिको गाडीले फेरि हान्छ कि जस्तो भयो। गाडी चलाउनै सकिनँ। साइड लगाएर रोकेँ र श्रीमतीलाई फोन गरेँ।

त्यसपछि मैले गाडी चलाएको छैन।

तर घरमै बस्दा पनि बेलाबेलामा दुर्घटनाको दृश्य एक्कासि आँखाअगाडि आउँछ। टेलिभिजनमा समाचार वा सिरियलमा कार दुर्घटना देख्यो भने हेर्नै सक्दिनँ। राति दुर्घटनासम्बन्धी सपना देख्छु। कहिलेकाहीँ ठूलो ट्रकले मलाई लखेटिरहेको जस्तो सपना आउँछ।

श्रीमतीले मलाई काममा पुर्‍याउने प्रयास पनि गरिन्। तर हाइवेमा पुगेपछि फेरि त्यस्तै भयो। अर्को बाटोबाट जाँदा पनि मेरो ध्यान अगाडिभन्दा पछाडिको ऐनामा बढी हुन्थ्यो। कुनै गाडी नजिक आयो कि ‘रोक, रोक’ भनेर श्रीमतीलाई हैरान पार्थेँ।

अफिस पुगेँ भने पनि ध्यान दिन सकिनँ। हाकिमले पहिले निको भएर आउनू भन्नुभयो।

कारको इन्सुरेन्सको फारमसमेत श्रीमतीको सहयोगले बल्लबल्ल भरेँ। फारममा दुर्घटना कसरी भयो भनेर विस्तारमा लेख्नुपर्ने रहेछ। सम्झेर लेख्न खोज्दा फेरि एकदमै आत्तिएँ।

आजभोलि मन पनि धेरैजसो उदास हुन्छ। कहिलेकाहीँ केही पनि अनुभव नभएको जस्तो हुन्छ। मेरै गल्तीका कारण पछाडिको गाडीको चालक मरेको हो कि जस्तो लाग्छ।

शरीरमा जाँगर छैन। भविष्य अन्धकार देख्छु।”

यो उदाहरणले PTSD मा देखिन सक्ने धेरै लक्षणलाई एकै ठाउँमा बुझाउँछ।

घटना फेरि भइरहेको जस्तो लाग्नु – Re-experiencing

PTSD को एउटा प्रमुख लक्षण घटनाको स्मृति नचाहँदा नचाहँदै बारम्बार फर्किनु हो।

सामान्य सम्झना र PTSD को यस्तो स्मृतिमा फरक हुन्छ।

सामान्य अवस्थामा हामीले पुरानो घटना सम्झँदा “त्यो त्यतिबेला भएको थियो” भन्ने अनुभव हुन्छ। तर PTSD भएको व्यक्तिलाई कहिलेकाहीँ घटना केवल सम्झिएको होइन, फेरि भइरहेको जस्तो अनुभव हुन सक्छ।

घटनाको दृश्य अचानक मानसपटलमा आउन सक्छ। यसलाई intrusive memory भनिन्छ। अझ तीव्र अवस्थामा व्यक्ति केही क्षणका लागि वर्तमान वातावरणबाट टाढिएर आफू फेरि त्यही घटनामा पुगेको अनुभव गर्न सक्छ। यसलाई flashback भनिन्छ।

राति दुःस्वप्न आउन सक्छ।

घटनासँग सम्बन्धित आवाज, गन्ध, दृश्य वा ठाउँले पनि स्मृतिलाई अचानक सक्रिय पार्न सक्छ।

सडक दुर्घटनापछि ब्रेकको आवाज, पछाडिबाट आएको ठूलो ट्रक वा कारको हर्न नै यस्तो trigger बन्न सक्छ।

घटनासँग सम्बन्धित कुराबाट टाढा रहनु – Avoidance

अत्यन्तै पीडादायक स्मृतिबाट बच्न खोज्नु स्वाभाविक प्रतिक्रिया हो।

दुर्घटनापछि दुर्घटना भएको बाटोमा नजानु, गाडी नचलाउनु, घटनाको कुरा नगर्नु, टेलिभिजनमा दुर्घटनाको दृश्य नहेर्नु वा घटनासँग सम्बन्धित कागजपत्रसमेत नहेर्नु avoidance का उदाहरण हुन्।

यसले तत्कालका लागि व्यक्तिलाई केही राहत दिन्छ।

तर avoidance बढ्दै जाँदा समस्या झन् ठूलो हुन सक्छ।

सुरुमा दुर्घटना भएको ठाउँबाट मात्र टाढा रहने व्यक्ति पछि हाइवे जान नसक्ने हुन सक्छ। त्यसपछि सबै सडकमा डर लाग्न सक्छ। पछि आफैँ गाडी नचलाउने मात्र होइन, अरूले चलाएको गाडीमा बस्नसमेत कठिन हुन सक्छ।

यसरी डरबाट बच्न खोज्दाखोज्दै व्यक्तिको संसार बिस्तारै साँघुरिँदै जान सक्छ।

काम छुट्छ। सामाजिक गतिविधि कम हुन्छ। परिवारमाथि निर्भरता बढ्छ।

त्यसैले avoidance PTSD लाई लामो समयसम्म कायम राख्ने एउटा महत्त्वपूर्ण कारण बन्न सक्छ।

शरीर सधैँ खतराका लागि तयार रहनु – Hyperarousal

डरलाग्दो घटना हुँदा हाम्रो शरीरमा एउटा प्राकृतिक emergency system सक्रिय हुन्छ।

मुटुको धड्कन बढ्छ, सास छिटो हुन्छ, मांसपेशी कडा हुन्छन्, ध्यान खतरातर्फ केन्द्रित हुन्छ र शरीर लड्न वा भाग्न तयार हुन्छ।

घटना सकिएपछि यो प्रणाली सामान्य अवस्थामा फर्कनुपर्छ।

PTSD भएको व्यक्तिमा भने यो alarm system आवश्यकता भन्दा धेरै सक्रिय भइरहन सक्छ।

सानो आवाजमा झस्किने, निद्रा हलुका हुने, राति पटकपटक उठ्ने, रिस छिटो उठ्ने, ध्यान केन्द्रित गर्न गाह्रो हुने, मुटुको धड्कन बढ्ने, पसिना आउने वा सधैँ वरिपरि खतरा खोजिरहने अवस्था आउन सक्छ।

माथिको उदाहरणमा दुर्घटनापछि व्यक्तिको ध्यान बारम्बार गाडीको पछाडिको ऐनामा जानु यही अत्यधिक सतर्कताको उदाहरण हो।

वास्तविक खतरा सकिइसकेको छ।

तर उसको शरीरले अझै त्यो कुरा पूर्ण रूपमा स्वीकार गर्न सकेको छैन।

सोचाइ र भावनामा परिवर्तन

PTSD केवल डर र flashback को समस्या होइन।

घटनापछि व्यक्तिको आफू, अरू मानिस र संसारप्रतिको दृष्टिकोण पनि परिवर्तन हुन सक्छ।

“संसार सुरक्षित छैन।”

“अब कसैलाई विश्वास गर्न सकिँदैन।”

“मेरो जीवन पहिले जस्तो कहिल्यै हुँदैन।”

“यो सबै मेरै गल्ती थियो।”

जस्ता सोच आउन सक्छन्।

कसैको मृत्यु भएको घटनामा आफू बाँचेको कारणसमेत अपराधबोध हुन सक्छ।

दुर्घटनामा वस्तुगत रूपमा कुनै गल्ती नभए पनि माथिको उदाहरणको व्यक्तिले “मेरो कारणले अर्को चालक मर्‍यो” भनेर आफूलाई दोष दिन सक्छ।

कतिपय व्यक्तिको मन उदास हुन्छ। पहिले रमाइलो लाग्ने कुरामा रुचि हराउँछ। मानिससँग भेट्न मन लाग्दैन।

कहिलेकाहीँ दुःख वा खुशी दुवै राम्रोसँग अनुभव गर्न नसकेको, भावना नै सुन्निएको जस्तो अवस्था आउन सक्छ।

PTSD सँग अन्य मानसिक समस्या पनि आउन सक्छन्

PTSD भएको व्यक्तिमा depression र अन्य anxiety का समस्या पनि सँगसँगै देखिन सक्छन्।

निद्रा बिग्रन सक्छ। चिडचिडापन बढ्न सक्छ। काम गर्ने क्षमता घट्न सक्छ।

कतिपय मानिसले मनको छटपटी कम होला वा राति निद्रा पर्ला भन्ने आशामा मदिरा सेवन गर्न थाल्न सक्छन्। सुरुमा केही आराम दिएको जस्तो लागे पनि नियमित मदिरा सेवनले पछि छुट्टै समस्या निम्त्याउन सक्छ।

गम्भीर अवस्थामा अत्यधिक निराशा र आत्महत्यासम्बन्धी सोचसमेत आउन सक्छ।

त्यसैले PTSD भएको व्यक्तिको मूल्याङ्कन गर्दा flashback र nightmare मात्र होइन, उसको मनस्थिति, निद्रा, काम गर्ने क्षमता, पारिवारिक तथा सामाजिक जीवन, मदिरा वा अन्य पदार्थको प्रयोग र सुरक्षाको अवस्थासमेत हेर्नुपर्छ।

घटना भएपछि भएको सबै डर PTSD होइन

डरलाग्दो वा भयावह घटना भएको केही दिनमै मानिस डराउनु, निद्रा बिग्रनु वा घटना बारम्बार सम्झनु स्वाभाविक प्रतिक्रिया हुन सक्छ।

त्यसैले घटना भएको भोलिपल्टदेखि नै यस्ता सबै प्रतिक्रियालाई PTSD भन्नु उचित हुँदैन।

धेरै मानिसमा पहिलो केही हप्तामा लक्षण क्रमशः कम हुँदै जान्छन्।

तर लक्षणहरू कम हुनुको सट्टा कायम रहिरहे, झन् बढ्दै गए वा काम, परिवार, पढाइ, यात्रा तथा सामान्य जीवनमा स्पष्ट प्रभाव पार्न थाले भने मूल्याङ्कन आवश्यक हुन्छ। PTSD को औपचारिक diagnosis सामान्यतया लक्षणहरू एक महिनाभन्दा बढी रहँदा विचार गरिन्छ। Trauma-focused psychological treatment PTSD को मुख्य उपचारका रूपमा सिफारिस गरिएको छ।

उपचार

PTSD उपचार गर्न सकिने मानसिक रोग हो।

उचित उपचार पाएपछि धेरै मानिसमा उल्लेखनीय सुधार हुन्छ। उनीहरू फेरि काम, यात्रा, परिवार र सामाजिक जीवनमा फर्कन सक्छन्।

PTSD को उपचारको मुख्य आधार trauma-focused psychotherapy हो।

यसमा Trauma-Focused Cognitive Behaviour Therapy, Cognitive Processing Therapy, Cognitive Therapy for PTSD, Prolonged Exposure र Eye Movement Desensitisation and Reprocessing (EMDR) जस्ता विभिन्न पद्धति प्रयोग गर्न सकिन्छ। यी उपचार प्रशिक्षित तथा अनुभवी मानसिक स्वास्थ्यकर्मीले उचित तरिकाले गर्नुपर्छ।

Trauma-focused psychotherapy को उद्देश्य घटनालाई जबर्जस्ती बिर्साउनु होइन।

बरु व्यक्तिलाई आफ्नो मस्तिष्कमा रहेको पीडादायक स्मृतिलाई यस्तो तरिकाले पुनः बुझ्न र व्यवस्थित गर्न सहयोग गर्नु हो कि उसले बिस्तारै—

“त्यो घटना त्यतिबेला भएको थियो, अहिले भइरहेको छैन”

भन्ने अनुभव गर्न सकोस्।

उपचारमा घटनासँग सम्बन्धित स्मृति र भावनासँग काम गर्न सकिन्छ, गलत अपराधबोध वा डरको पुनर्मूल्याङ्कन गर्न सकिन्छ र avoidance का कारण छोडिएका काममा क्रमशः फर्कन सहयोग गर्न सकिन्छ।

तर PTSD भएका सबै व्यक्ति उपचारको पहिलो दिनदेखि नै पीडादायक घटनाको विस्तृत स्मृतिसँग काम गर्न सक्ने अवस्थामा हुँदैनन्।

कतिपय व्यक्ति अत्यन्तै उत्तेजित हुन सक्छन्। निद्रा नराम्रोसँग बिग्रिएको हुन सक्छ। depression वा anxiety गम्भीर हुन सक्छ। मदिराको प्रयोग बढेको हुन सक्छ। दैनिक जीवन नै अस्तव्यस्त भएको हुन सक्छ।

त्यस्तो अवस्थामा trauma-focused therapy सुरु गर्नुअघि वा त्यससँगै केही समय स्थिरता ल्याउने काम—stabilisation— आवश्यक हुन सक्छ।

यसमा निद्रा सुधार गर्ने, अत्यधिक उत्तेजना नियन्त्रण गर्ने तरिका सिकाउने, flashback आएको बेला वर्तमानमा फर्किने सीप विकास गर्ने, दैनिक जीवन व्यवस्थित गर्ने, सुरक्षित वातावरण तयार गर्ने तथा साथमा रहेका depression, anxiety वा substance use जस्ता समस्या सम्बोधन गर्ने काम हुन सक्छ।

यसको उद्देश्य trauma-focused therapy लाई अनावश्यक रूपमा टारिरहनु होइन। व्यक्तिलाई त्यसबाट लाभ लिन सक्ने अवस्थामा पुर्‍याउनु हो। वर्तमान guideline ले पनि trauma-focused treatment भित्र psychoeducation, arousal तथा flashback व्यवस्थापन र safety planning समावेश गर्न सिफारिस गर्छ।

औषधिको भूमिका

औषधिले पनि PTSD भएका केही व्यक्तिमा महत्त्वपूर्ण सहायक भूमिका खेल्न सक्छ।

Depression र anxiety को उपचारमा प्रयोग हुने केही औषधिले PTSD भएका व्यक्तिको उदासी, anxiety, irritability, अत्यधिक उत्तेजना तथा अन्य लक्षण कम गर्न सहयोग गर्न सक्छन्।

विशेष गरी साथमा depression वा अन्य anxiety disorder भएको अवस्थामा औषधि उपयोगी हुन सक्छ। केही antidepressant औषधिको PTSD को उपचारमा पनि प्रत्यक्ष प्रमाण छ।

केही औषधि विशेष लक्षणका लागि प्रयोग गर्न सकिन्छ।

उदाहरणका लागि prazosin केही व्यक्तिमा trauma सँग सम्बन्धित दुःस्वप्न कम गर्न उपयोगी हुन सक्छ।

Topiramate ले पनि केही अध्ययनमा nightmares, intrusive memories वा अन्य re-experiencing symptoms कम गर्न सहयोग गरेको देखिएको छ। तर यसको प्रमाण सीमित छ र यो सबै PTSD भएका व्यक्तिका लागि नियमित रूपमा प्रयोग गरिने औषधि होइन।

Benzodiazepine समूहका औषधिले anxiety र उत्तेजना छोटो समयमा कम गर्न सक्छन्। विशेष परिस्थितिमा चिकित्सकले कहिलेकाहीँ छोटो समयका लागि प्रयोग गर्ने निर्णय गर्न सक्छन्। तर PTSD को नियमित वा दीर्घकालीन उपचारका रूपमा यिनको प्रयोग उचित मानिँदैन। Dependence, tolerance, sedation, cognitive impairment लगायतका समस्या हुन सक्ने भएकाले अत्यन्तै सावधानी आवश्यक हुन्छ। VA/DoD guideline ले PTSD को routine treatment का लागि benzodiazepines विरुद्ध स्पष्ट सिफारिस गरेको छ।

वास्तवमा PTSD मा प्रयोग गरिने कुनै पनि औषधि पूर्ण रूपमा side effect रहित हुँदैन।

त्यसैले यस्ता औषधि आफूखुशी सुरु गर्ने, बन्द गर्ने वा मात्रा परिवर्तन गर्ने होइन। योग्य चिकित्सकको स्पष्ट सिफारिस र नियमित निगरानीमा मात्र प्रयोग गर्नुपर्छ।

औषधिले महत्वपूर्ण सहयोग गर्न सक्छ, तर अधिकांश अवस्थामा PTSD को उपचारको मुख्य आधार भने अझै पनि trauma-focused psychotherapy नै हो।

rTMS को भूमिका

हालका वर्षहरूमा repetitive Transcranial Magnetic Stimulation (rTMS) लाई पनि PTSD को उपचारमा अध्ययन गरिएको छ।

rTMS मा मस्तिष्कका निश्चित भागलाई बाहिरबाट magnetic stimulation दिइन्छ। depression को उपचारमा यसको प्रयोग स्थापित भइसकेको छ र PTSD मा पनि यसले फाइदा गर्छ कि गर्दैन भन्ने विषयमा विभिन्न अध्ययन भइरहेका छन्।

केही अध्ययनले सकारात्मक परिणाम देखाएका छन्। तर हाल उपलब्ध प्रमाण अझै सीमित र असंगत छन्। 2024 मा प्रकाशित Cochrane review ले rTMS लाई PTSD को स्थापित first-line treatment भन्न पर्याप्त प्रमाण नभएको निष्कर्ष दिएको छ।

त्यसैले अहिलेको अवस्थामा rTMS लाई trauma-focused psychotherapy को विकल्पका रूपमा होइन, केही चयनित बिरामीमा विचार गर्न सकिने उदीयमान उपचार पद्धति का रूपमा बुझ्नु उपयुक्त हुन्छ।

परिवारले के गर्न सक्छ?

PTSD भएका व्यक्तिलाई परिवारको सहयोग अत्यन्तै महत्त्वपूर्ण हुन्छ।

“घटना त सकिइसक्यो, किन अझै सोचिरहन्छौ?”

“डराउनुपर्ने के छ?”

“मन बलियो बनाऊ।”

जस्ता कुरा सुन्दा पीडित व्यक्तिलाई आफ्नो समस्या कसैले बुझ्दैन जस्तो लाग्न सक्छ।

उसले जानीजानी दुर्घटनाको स्मृति ल्याएको होइन। Flashback पनि इच्छाले आउने कुरा होइन।

परिवारले उसको अनुभव सुन्नु, आवश्यक उपचार लिन प्रोत्साहित गर्नु र सामान्य जीवनमा क्रमशः फर्कन सहयोग गर्नु राम्रो हुन्छ।

तर अर्को अतिमा गएर उसको प्रत्येक डरलाई समर्थन गर्दै सबै गतिविधिबाट सधैँ बचाइराख्नु पनि राम्रो हुँदैन।

उदाहरणका लागि दुर्घटनापछि केही समय गाडी नचलाउनु स्वाभाविक हुन सक्छ। तर “अब तिमीले जीवनभर गाडीमा बस्नै पर्दैन” भन्ने किसिमले avoidance लाई स्थायी बनाइदिँदा डर अझ बलियो हुन सक्छ।

उपचारकर्ताको सहयोगमा सुरक्षित र क्रमिक रूपमा सामान्य गतिविधिमा फर्कनु आवश्यक हुन्छ।

कहिले सहायता लिनुपर्छ?

पीडादायक वा डरलाग्दो घटना भोगेपछि केही समय मानसिक प्रतिक्रिया हुनु सामान्य हुन सक्छ।

तर केही हप्तापछि पनि—

भने मानसिक स्वास्थ्यसम्बन्धी मूल्याङ्कन गराउनु उचित हुन्छ।

यदि अत्यधिक निराशा छ, आत्महत्याको विचार आउँछ वा आफ्नो अथवा अरूको सुरक्षामा खतरा देखिन्छ भने सहायता तत्काल आवश्यक हुन्छ।

अन्त्यमा

PTSD लाई मानसिक कमजोरीको चिन्हका रूपमा बुझ्नु गलत हुन्छ।

खतरा आउँदा डराउनु, झस्किनु र आफूलाई जोगाउन तयार हुनु मानव मस्तिष्क र शरीरको स्वाभाविक सुरक्षा प्रणाली हो।

समस्या तब हुन्छ जब भयावह घटना सकिइसकेपछि पनि त्यो सुरक्षा प्रणाली बन्द हुन सक्दैन।

एक अर्थमा PTSD मा—

घटना विगतमा पुगिसकेको हुन्छ, तर मस्तिष्कको एउटा भागले अझै त्यसलाई वर्तमानको खतरा ठानिरहेको हुन्छ।

उपचारको उद्देश्य घटना मेटाउनु होइन।

घटनाको स्मृति रहन्छ। तर त्यो स्मृतिले प्रत्येक पटक मानिसलाई फेरि त्यही भयावह क्षणमा पुर्‍याउन आवश्यक छैन।

उपचारपछि मानिसले घटनालाई सम्झन सक्छ तर त्यसबाट पहिले जस्तो विचलित नहुन सक्छ। उसले छोडेका काममा फर्कन सक्छ। गुमेको आत्मविश्वास पुनः प्राप्त गर्न सक्छ। फेरि यात्रा गर्न, काम गर्न, सम्बन्धमा रमाउन र भविष्यका बारेमा सोच्न सक्छ।

पीडादायक घटना उसको जीवनकथाको एउटा हिस्सा भएर रहन सक्छ।

तर त्यस घटनाले बाँकी सम्पूर्ण जीवनलाई नियन्त्रण गरिरहन आवश्यक छैन।

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस