लेख / ब्लग / अन्य प्रकाशन / समाचार

नेपालमा दोहोरिँदो आत्मदाह: रोगी समाजको चीत्कार, ‘प्रणालीगत आक्रोश’ र हाम्रो जिम्मेवारी

Posted Date: 2026-07-22

डा. अनुपम पोखरेल

हामीले बेलाबेलामा डिप्रेसन, आत्तिने समस्या र अन्य मानसिक रोगले मानिसलाई कसरी आक्रान्त पार्न सक्छन् भन्ने पढ्दै र सुन्दै आएका छौँ। मनोचिकित्सकीय दृष्टिले डिप्रेसन मन कमजोर भएर, इच्छाशक्ति नपुगेर वा आत्मनियन्त्रण गुमाएर हुने अवस्था होइन। व्यक्तिको जैविक संवेदनशीलता, मनोवैज्ञानिक अवस्था, विगतका अनुभव र उसले सामना गरिरहेको सामाजिक तथा वातावरणीय तनावबीचको जटिल अन्तरक्रियाबाट डिप्रेसन उत्पन्न हुन सक्छ।

गम्भीर डिप्रेसनमा मानिसले भविष्य अन्धकार देख्न सक्छ। “अब केही पनि राम्रो हुँदैन”, “म सबैका लागि बोझ हुँ” वा “मेरो समस्या समाधान हुने कुनै बाटो छैन” भन्ने सोच बढ्न सक्छ। कहिलेकाहीँ मृत्यु वा आत्महत्याको विचार आउन सक्छ। तर आत्महत्याका सबै घटनालाई डिप्रेसनको एउटै निदानले मात्र व्याख्या गर्न सकिँदैन। मानसिक रोग, आकस्मिक आवेग, मदिरा वा लागू पदार्थको प्रभाव, पारिवारिक द्वन्द्व, आर्थिक संकट, सामाजिक अपमान, कानुनी समस्या, शोषण र भविष्यप्रतिको गहिरो निराशा विभिन्न अनुपातमा मिसिएका हुन सक्छन्।

त्यसैले कुनै व्यक्तिले सार्वजनिक स्थानमा आत्मदाह गरेपछि एउटा गम्भीर प्रश्न उठ्छ—के यो केवल एउटा मानिसको व्यक्तिगत मानसिक संकट हो? अथवा उसले आफ्नो पीडा, आक्रोश र आफूमाथि भएको ठानेको अन्याय समाज तथा राज्यले बेवास्ता गर्न नसकून् भनेर दिएको अन्तिम सार्वजनिक सन्देश पनि हो?

यस प्रश्नको सरल उत्तर छैन।

हरेक आत्मदाहको व्यक्तिगत, पारिवारिक, सामाजिक र मानसिक पृष्ठभूमि फरक हुन्छ। विस्तृत जानकारी र उचित मूल्याङ्कनबिना मृतकको मानसिक अवस्था वा उद्देश्यबारे निश्चित घोषणा गर्नु उचित हुँदैन। तर यस्ता घटनालाई केवल “कमजोर मानिसको आत्महत्या” वा “मानसिक रोगीको काम” भनेर पन्छाउनु पनि त्यत्तिकै अपूर्ण र गैरजिम्मेवार हुन्छ।

विकसित विश्वमा अत्यन्त दुर्लभ, हाम्रो क्षेत्रमा किन बढी?

आत्मदाह संसारभर समान रूपमा देखिने आत्महत्याको तरिका होइन। उच्च आय भएका विकसित देशहरूमा यो अत्यन्त दुर्लभ छ। विभिन्न अध्ययन तथा समीक्षाले त्यस्ता देशहरूमा आत्मदाह कुल आत्महत्याको अत्यन्त सानो अंश मात्र हुने, तर केही न्यून तथा मध्यम आय भएका देशहरूमा यसको अनुपात धेरै हुने देखाएका छन्।

यो फरकलाई गरिबी वा आर्थिक विकासले मात्र व्याख्या गर्न सकिँदैन। सामाजिक संरचना, लैङ्गिक असमानता, पारिवारिक हिंसा, आर्थिक असुरक्षा, सामाजिक अपमान, न्यायमा पहुँचको अभाव, मानसिक स्वास्थ्य सेवाको कमी र विरोध व्यक्त गर्ने सांस्कृतिक तरिकाले पनि प्रभाव पार्न सक्छन्।

विकसित देशमा भएका आत्मदाहमा पनि गम्भीर मानसिक रोग, पदार्थको दुरुपयोग, सामाजिक एक्लोपन वा व्यक्तिगत संकट देखिन सक्छ। दक्षिण एसियामा भने केही घटनामा मानसिक पीडासँगै पारिवारिक उत्पीडन, सामाजिक अन्याय, आर्थिक संकट वा राजनीतिक विरोध पनि मिसिएको पाइन्छ। दक्षिण एसियाको हालैको समीक्षाले पनि यस क्षेत्रमा आत्मदाहबारे गुणस्तरीय अध्ययन कम रहेको र नेपालसम्बन्धी मूल अनुसन्धानको ठूलो अभाव रहेको औँल्याएको छ।

त्यसैले नेपालमा आत्मदाह साँच्चिकै कति बढिरहेको छ भनेर ठोस निष्कर्ष निकाल्न भरपर्दो तथ्याङ्क आवश्यक छ। तर सार्वजनिक स्थानमा दोहोरिएका घटनाले एउटा कुरा अवश्य देखाउँछन्—यी घटनालाई व्यक्तिगत मृत्युमा सीमित राखेर बिर्सन मिल्दैन।

एक दशकअघिको प्रश्न: के समाज नै पनि रोगी हुन सक्छ?

मैले एक दशकभन्दा अघि ‘के समाज नै पनि रोगी हुन सक्छ?’ शीर्षकको लेखमा निराशा, पलायनवादी सोच, नैतिक मूल्यको क्षयीकरण, संस्थाप्रतिको अविश्वास र अदूरदर्शी निर्णयलाई रूपकात्मक रूपमा समाजका रोगका लक्षण तथा ‘सामाजिक आत्महत्या’ भनेको थिएँ।

त्यतिबेला मेरो प्रश्न मुख्यतः समाजको सामूहिक सोच र व्यवहारबारे थियो। जब “अब यहाँ केही हुँदैन” भन्ने निराशा व्यापक बन्छ, नियम र नैतिक सीमाहरू कमजोर हुँदै जान्छन्, र वैध बाटोबाट परिवर्तन सम्भव छ भन्ने विश्वास हराउँछ, त्यसको असर मानिसको मनमा मात्र होइन, सामाजिक संस्था र निर्णय प्रक्रियामा पनि देखिन सक्छ।

‘रोगी समाज’ कुनै चिकित्सकीय निदान होइन। समाजलाई डिप्रेसन भएको बिरामीझैँ औषधि लेख्न सकिँदैन। यो सामाजिक अवस्थालाई बुझाउने एउटा रूपक हो। तर व्यक्तिमा देखिने निराशा, असहायपन र भविष्यहीनताको भावना समाजका धेरै सदस्यमा व्यापक हुँदै गएमा त्यसका सामूहिक परिणाम अवश्य देखिन सक्छन्।

त्यसपछिका वर्षमा इजरायलमा कार्यरत नेपाली महिला र अष्ट्रेलियामा संघर्षरत नेपाली विद्यार्थीका अनुभवबारे लेख्दा पनि मैले उस्तै ढाँचा देखेको थिएँ—लगातारको श्रम, आर्थिक दबाब, सामाजिक अलगाव, शोषण, पारिवारिक अपमान र फर्कने बाटोसमेत बन्द भएको अनुभूतिले व्यक्तिको मानसिक पीडालाई असह्य बनाउन सक्छ।

इजरायलमा सातै दिन वृद्ध व्यक्तिको स्याहार गर्दै, परिवारबाट टाढा, आफ्नो दुःख सुनाउने कोही नभएका नेपाली महिलाले “मलाई मर्न मन लाग्छ” भन्नु केवल उनको मस्तिष्कभित्र भएको रोगको कथा थिएन। अष्ट्रेलियामा सुनौलो भविष्यको आश्वासनमा ऋण लिएर आएपछि काम, पढाइ र बसाइ केही पनि सोचेअनुसार नभएको अवस्थामा “निल्नु न ओकल्नु” भएका विद्यार्थीको डिप्रेसन पनि उसको व्यक्तिगत कमजोरी मात्र थिएन।

व्यक्ति र समाजको सम्बन्धलाई अलग गरेर बुझ्न खोज्दा हामीले आधा कथा मात्र देख्छौँ।

दुर्खाइमको समाजशास्त्र: आत्महत्या केवल व्यक्तिको घटना हो?

फ्रान्सेली समाजशास्त्री एमिल दुर्खाइमले सन् १८९७ मा प्रकाशित आफ्नो प्रसिद्ध अध्ययनमा आत्महत्यालाई केवल व्यक्तिगत मानसिक अवस्था वा निजी निर्णयका रूपमा मात्र नहेरी एउटा ‘सामाजिक तथ्य’ का रूपमा पनि अध्ययन गरेका थिए।

उनका अनुसार मानिस समाजसँग कति जोडिएको छ—अर्थात् सामाजिक एकीकरण—र समाजका नियम, मूल्य तथा संस्थाले उसको जीवनलाई कति स्थिर र अर्थपूर्ण रूपमा नियमन गर्छन् भन्ने कुरा आत्महत्या दरसँग सम्बन्धित हुन सक्छ। सामाजिक सम्बन्ध अत्यन्त कमजोर हुँदा वा नियम, अपेक्षा र जीवनको दिशा नै अस्थिर हुँदा जोखिम बढ्न सक्ने उनको तर्क थियो।

दुर्खाइमले प्रयोग गरेको ‘एनोमी’ शब्द आजको नेपालबारे सोच्दा सान्दर्भिक लाग्न सक्छ। एनोमी भनेको केवल कानुन नभएको अवस्था होइन। नियमहरू भए पनि कसरी लागू हुन्छन् भन्ने निश्चित नहुनु, मेहनत र परिणामबीचको सम्बन्ध हराउनु, इमानदार बाटोबाट लक्ष्य हासिल गर्न सकिन्छ भन्ने विश्वास कमजोर हुनु र समाजले स्वीकार गरेका मूल्यहरू व्यवहारमा लागू नहुनु पनि मानकविहीनताको अवस्था हो।

एकातिर मानिसलाई ठूलो सपना देखाइन्छ—पढ, मेहनत गर, व्यवसाय गर, स्वदेशमै केही गर। अर्कोतिर उसले देख्छ—पहुँच नभए काम हुँदैन, कानुन सबैका लागि समान छैन, इमानदारीले सधैँ संरक्षण पाउँदैन र न्यायका ढोका महिनौँ वा वर्षौँसम्म खुल्दैनन्।

त्यस्तो अवस्थामा उसले के विश्वास गर्ने? कसलाई भन्ने? कहाँ जाने?

यही अन्योल, अन्याय र संस्थाप्रतिको अविश्वास दुर्खाइमले वर्णन गरेको एनोमीसँग केही हदसम्म तुलना गर्न सकिन्छ। तर यसको अर्थ कुनै एउटा व्यक्तिको आत्महत्यालाई ‘एनोमिक आत्महत्या’ भनेर निदान गर्नु होइन। दुर्खाइमको सिद्धान्त मनोचिकित्सकीय निदान गर्ने साधन होइन। यसले व्यक्तिगत मृत्युको पृष्ठभूमिमा सक्रिय हुन सक्ने सामाजिक प्रवाहबारे प्रश्न सोध्न सिकाउँछ।

मनोचिकित्साले व्यक्तिको डिप्रेसन, आघात, साइकोसिस, आवेगशीलता, पदार्थ सेवन र तत्कालको संकटलाई हेर्छ। समाजशास्त्रले उसलाई घेरेका सम्बन्ध, संस्था, सामाजिक अलगाव, असमानता र नियमप्रतिको भरोसालाई हेर्छ। आत्मदाहजस्तो जटिल घटनामा एउटा दृष्टिकोण रोजेर अर्को त्याग्नु हुँदैन।

असह्य पीडा र ‘फसेको’ अनुभूति

आत्महत्याको संकटमा पुगेको मानिस सधैँ मृत्यु नै चाहिरहेको हुन्छ भन्ने छैन। धेरैपटक ऊ असह्य मानसिक पीडा रोक्न चाहन्छ। तर त्यो पीडा अन्त्य गर्ने अर्को बाटो उसले देख्न छोडेको हुन्छ।

मनोचिकित्सकका रूपमा आत्महत्याको विचारसँग संघर्ष गरिरहेका मानिसलाई भेट्दा मैले बारम्बार देखेको कुरा के हो भने उनीहरू प्रायः दोमनमा हुन्छन्। मनको एउटा भाग मर्न चाहन्छ भने अर्को भाग बाँच्ने कारण खोजिरहेको हुन्छ। कहिले परिवार सम्झन्छन्, कहिले आफ्ना छोराछोरी सम्झन्छन्, तर अर्को क्षण “म नै सबैका लागि बोझ हुँ” भन्ने सोच आउन सक्छ।

जब अगाडि जाने बाटो देखिँदैन, पछाडि फर्कन पनि सम्भव छैन र सहायता माग्दा कसैले सुन्दैन भन्ने अनुभव हुन्छ, मानिसले आफूलाई ‘फसेको’ महसुस गर्न सक्छ। अंग्रेजीमा यसलाई entrapment भनिन्छ।

आर्थिक रूपले डुबेको व्यवसायी, वर्षौँदेखि न्याय खोजिरहेको नागरिक, घरेलु हिंसाबाट उम्कन नसकेकी महिला, ऋण तिर्न विदेशिएको तर घर फर्कन नसक्ने कामदार वा सार्वजनिक रूपमा अपमानित भएको व्यक्ति—सबैको अवस्था एउटै हुँदैन। तर उनीहरूमा “अब कुनै बाटो बाँकी छैन” भन्ने सोच विकास हुन सक्छ।

त्यस्तो अवस्थामा सार्वजनिक आत्मदाह व्यक्तिगत पीडा र सामाजिक आक्रोश मिसिएको अत्यन्त त्रासद बिन्दु हुन सक्छ। व्यक्तिलाई आफ्नो पीडा जीवित छँदा कसैले सुनेन, अब बेवास्ता गर्न नसकून् भन्ने लागेको हुन सक्छ।

तर यसलाई आत्मदाहको औचित्य वा महिमामण्डनका रूपमा बुझ्नु हुँदैन। आत्मदाह विरोध व्यक्त गर्ने स्वीकार्य, आवश्यक वा प्रभावकारी माध्यम होइन। यो रोक्न सकिने मानवीय त्रासदी हो।

त्यसको पृष्ठभूमिको पीडा बुझ्नु र त्यस कदमलाई समर्थन गर्नु एउटै कुरा होइन।

‘प्रणालीगत आक्रोश’ कसरी जन्मिन्छ?

व्यक्तिगत रिस कुनै एउटा मानिस वा घटनाप्रति हुन सक्छ। तर एउटै नागरिकले पटक–पटक सरकारी कार्यालय, अदालत, बैंक, रोजगारदाता वा राजनीतिक संरचनाबाट असहयोग, अपमान र अन्यायको अनुभव गर्दा उसको रिस व्यक्तिविशेषबाट उठेर सम्पूर्ण प्रणालीतर्फ केन्द्रित हुन सक्छ।

यसलाई ‘प्रणालीगत आक्रोश’ भन्न सकिन्छ।

जब मेहनतले परिणाम दिँदैन, कानुन सबैका लागि समान देखिँदैन, पहुँच नभएका मानिसका निवेदन वर्षौँ थन्किन्छन् र इमानदारीलाई मूर्खता ठानिन्छ, नागरिकले आफू मात्र असफल भएको होइन, प्रणालीले नै आफूलाई पराजित गरेको अनुभव गर्न सक्छ।

यसमा आर्थिक नोक्सानी मात्र हुँदैन। आर्थिक क्षतिभन्दा बढी पीडादायी हुन सक्छ—कसैले आफ्नो कुरा नसुन्नु, सार्वजनिक रूपमा अपमानित हुनु, न्याय माग्दा उल्टै दोषी बनाइनु र शक्तिशालीका लागि फरक नियम लागू भएको देख्नु।

सामान्य अवस्थामा परिवार, साथी, समुदाय, कानुन, स्वास्थ्य सेवा र राज्यले व्यक्तिलाई संकटबाट जोगाउने तहको काम गर्नुपर्छ। तर यी तह एकपछि अर्को गर्दै असफल भए भने व्यक्तिगत निराशा सामाजिक अविश्वासमा र सामाजिक अविश्वास चरम आक्रोशमा बदलिन सक्छ।

यसको अर्थ समाजले कुनै व्यक्तिलाई प्रत्यक्ष रूपमा आत्महत्या गरायो भन्ने होइन। तर समाज र संस्थाको व्यवहारले व्यक्तिको संकटलाई कम गर्न वा अझ गम्भीर बनाउन सक्छ।

मृत्युपछि समाजका दुई अतिवादी प्रतिक्रिया

सार्वजनिक आत्महत्या वा आत्मदाहपछि नेपाली समाज प्रायः दुई समूहमा विभाजित हुन्छ।

एउटा समूहले मृतकलाई “कायर”, “कमजोर मन भएको”, “समस्या सामना गर्न नसक्ने” वा “परिवारप्रति गैरजिम्मेवार” भन्छ।

अर्को समूहले उसलाई नायक, सहिद वा व्यवस्थाविरुद्धको महान् विद्रोहीका रूपमा प्रस्तुत गर्छ। उसको मृत्युका लागि तत्काल कुनै व्यक्ति, संस्था वा राज्यलाई पूर्ण रूपमा जिम्मेवार ठहर गर्छ।

यी दुवै प्रतिक्रिया प्रायः घटनाको सम्पूर्ण जानकारीमा आधारित हुँदैनन्। मानिस आफ्नै अनुभव, राजनीतिक धारणा, आक्रोश, सहानुभूति र मूल्यका आधारमा प्रतिक्रिया दिइरहेका हुन्छन्। दुःखद घटनापछि भावनात्मक हुनु स्वाभाविक हो। तर आत्महत्या जस्तो जटिल विषयमा भावनाबाट मात्रै निष्कर्ष निकाल्दा अर्को हानि हुन सक्छ।

‘कायर’ वा ‘कमजोर मनको’ भन्नुको हानि

आत्महत्या गर्ने व्यक्तिलाई कायर वा कमजोर मनको भन्नु मृतकमाथिको टिप्पणी मात्र होइन। आत्महत्याको विचारसँग अहिले नै संघर्ष गरिरहेको अर्को व्यक्तिले पनि त्यो टिप्पणी पढिरहेको हुन सक्छ।

उसलाई आफ्ना विचार अरूलाई सुनाए आफूलाई पनि कमजोर, स्वार्थी वा कायर ठानिने डर लाग्न सक्छ। त्यसपछि उसले आफ्नो परिवार, साथी वा चिकित्सकसँग मनको कुरा लुकाउँछ।

आत्महत्याको सोच लुकाउनु जोखिमपूर्ण हुन्छ। सहायता माग्ने बाटो बन्द गराउनु आत्महत्या रोकथामको ठीक विपरीत काम हो।

हामीले आत्महत्यालाई स्वीकार वा समर्थन गर्नुपर्दैन। “यो त्रासद र रोक्न सकिने कदम थियो” भन्न सकिन्छ। तर त्यसका लागि मृतकलाई अपमानित गर्नु आवश्यक छैन।

नायक वा सहिद बनाउनुको जोखिम

अर्कोतर्फ आत्मदाहलाई महान् त्याग, साहसिक विद्रोह वा अन्यायविरुद्धको अन्तिम विजयका रूपमा प्रस्तुत गर्नु पनि खतरनाक हुन्छ।

यसले मृतकप्रति सहानुभूति देखाएजस्तो लाग्न सक्छ। तर उस्तै पीडामा रहेको अर्को व्यक्तिले आत्महत्या नै आफ्नो आवाज सुनाउने, समाजलाई झक्झक्याउने वा आफूलाई अन्याय गर्ने ठानेकालाई दण्डित गर्ने प्रभावकारी माध्यम हो भन्ने सन्देश लिन सक्छ।

कुनै मृत्युले वास्तविक अन्याय, प्रशासनिक बेवास्ता वा सामाजिक उत्पीडन बाहिर ल्याएको हुन सक्छ। त्यसको निष्पक्ष अनुसन्धान आवश्यक हुन्छ। जिम्मेवार व्यक्ति वा संस्था भए जवाफदेही बनाउनुपर्छ।

तर अन्यायको छानबिन गर्नु र आत्महत्यालाई वीरतापूर्ण बनाउनु एउटै कुरा होइन।

त्यसैगरी, कुनै व्यक्तिको व्यवहारले मृतकलाई गम्भीर पीडा दिएको हुन सक्छ। तर सम्पूर्ण तथ्य नबुझी “फलानोले उसलाई आत्महत्या गर्न बाध्य बनायो” भनेर घोषणा गर्नु पनि अतिसरलीकरण हुन सक्छ। आत्महत्या प्रायः एउटै घटना, एउटै कारण वा एउटै व्यक्तिबाट पूर्ण रूपमा व्याख्या गर्न नसकिने बहुकारकीय परिणाम हो।

न दोषारोपण, न महिमामण्डन

उपयुक्त सामाजिक प्रतिक्रिया यी दुई अतिवादको बीचमा हुन्छ।

मृतक र परिवारप्रति करुणा राख्नुपर्छ। अन्याय वा संस्थागत असफलताको संकेत भए निष्पक्ष अनुसन्धान हुनुपर्छ। तर मृतकलाई अपमानित गर्नु हुँदैन, न त उसको मृत्युलाई अरूले अनुसरण गर्न सक्ने गौरवशाली कथामा बदल्नु हुन्छ।

आत्महत्या न साहसको प्रमाण हो, न ‘मन कमजोर’ भएको प्रमाण। यो मानिस असह्य पीडामा पुगेको गम्भीर सङ्केत हो।

“मर्छु भन्ने मानिस मर्दैन” भन्ने भ्रम

आत्महत्याबारे मैले एक दशकभन्दा अघि लेख्दा नेपाली समाजमा प्रचलित एउटा भनाइ चुनौती दिन खोजेको थिएँ—“मर्छु भन्ने मानिस मर्दैन।”

वास्तविकता त्यति सरल छैन।

आत्महत्याको विचारमा पुगेका धेरै मानिसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्नो पीडा व्यक्त गरेका हुन सक्छन्। कसैले “अब बाँचेर के गर्नु?” भन्छ। कसैले आफू सबैका लागि बोझ भएको बताउँछ। कसैले अनौठो किसिमले बिदावारी गर्न थाल्छ। कसैले आफ्ना प्रिय वस्तु बाँड्न सक्छ। कसैको लामो उदासीपछि अचानक व्यवहार सामान्य वा शान्त देखिन सक्छ।

हरेक यस्तो भनाइ आत्महत्याको निश्चित घोषणा होइन। तर “ध्यान खिच्न खोजेको”, “नाटक गरेको” वा “भुक्ने कुकुरले टोक्दैन” भनेर पन्छाउनु हुँदैन।

मानसिक स्वास्थ्यकर्मीले आवश्यक परे सोझै सोध्छन्—“तपाईंलाई मर्न मन लागेको छ?” वा “आफूलाई हानि गर्ने विचार आएको छ?”

यस्तो प्रश्नले मानिसको मनमा नयाँ आत्महत्याको विचार हालिदिँदैन। बरु मनभित्र गुम्सिएको कुरा व्यक्त गर्ने अवसर दिन सक्छ। प्रश्न सोध्ने शैली भने करुणापूर्ण र सम्मानजनक हुनुपर्छ। हेपेर, थर्काएर वा अरूका अगाडि अपमान गरेर सोधियो भने व्यक्ति झन् बन्द हुन सक्छ।

कहिलेकाहीँ जीवनसँग जोडिराख्ने ‘परालको त्यान्द्रो’ कसैले दोष नलगाई उसको कुरा सुनिदिनु, उसलाई एक्लै नछोड्नु र उचित उपचारसम्म पुर्‍याउनु मात्र पनि हुन सक्छ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालको भूमिका

आत्मदाहको घटना सार्वजनिक भएपछि समाचारमाध्यम र सामाजिक सञ्जालको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ।

घटनाको तरिका विस्तारपूर्वक वर्णन गर्ने, दृश्य वा भिडियो बारम्बार देखाउने, मृत्युअघिको अभिव्यक्तिलाई सनसनीपूर्ण बनाउने वा व्यक्तिलाई वीर विद्रोहीका रूपमा प्रस्तुत गर्ने कार्यले संकटमा रहेका अन्य व्यक्तिमा अनुकरणको जोखिम बढाउन सक्छ।

विश्व स्वास्थ्य संगठनले व्यापक, सनसनीपूर्ण र प्रमुखताका साथ गरिएको समाचार, आत्महत्याको तरिकाको स्पष्ट विवरण तथा आत्महत्यालाई सामान्य वा प्रभावकारी समाधानजस्तो प्रस्तुत गर्ने शैलीले संवेदनशील व्यक्तिमा अनुकरणात्मक व्यवहार बढाउन सक्ने बताएको छ। यसको विपरीत, संकट पार गरेका, सहायता लिएका र पुनः जीवनतर्फ फर्किएका व्यक्तिका जिम्मेवार कथाले आशा र सुरक्षात्मक प्रभाव दिन सक्छन्।

समाचारको उद्देश्य घटना लुकाउनु होइन। आत्महत्या र आत्मदाह सार्वजनिक चासोका विषय हुन्। प्रशासनिक अन्याय वा राजनीतिक विफलता जोडिएको छ भने त्यसको रिपोर्टिङ हुनैपर्छ।

तर प्रश्न हो—कसरी?

समाचारले घटनाको सामाजिक सन्दर्भ खोज्न सक्छ, तर आत्महत्यालाई एउटै कारणमा सीमित गर्नु हुँदैन। अन्यायको अनुसन्धान गर्न सक्छ, तर प्रमाणित नभएको आरोपलाई निष्कर्ष बनाउनु हुँदैन। मृतकको पीडा प्रस्तुत गर्न सक्छ, तर मृत्युलाई नाटकीय र अनुकरणयोग्य बनाउनु हुँदैन।

सञ्चारमाध्यमले आफ्नो समाचारमुनि प्रकाशित टिप्पणीप्रति पनि केही जिम्मेवारी लिनुपर्छ। मृतकलाई गाली गर्ने, अरूलाई पनि त्यही गर्न उक्साउने, आत्महत्याको तरिकाको प्रशंसा गर्ने वा मृत्युलाई उत्सव बनाउने टिप्पणीलाई सामान्य सार्वजनिक बहस भनेर छोड्नु उचित हुँदैन।

जिम्मेवार रिपोर्टिङमा:

मिडियाले समाचार मात्र प्रसारण गर्दैन। समाजले घटनालाई कुन भाषामा बुझ्छ भन्ने पनि निर्माण गर्छ।

राज्यले नागरिकलाई कहिले सुन्ने?

आत्मदाहपछि राज्यले श्रद्धाञ्जली दिने, छानबिन समिति बनाउने, क्षतिपूर्ति घोषणा गर्ने वा राजनीतिक आरोप–प्रत्यारोप गर्ने काम गर्छ।

तर एउटा असहज प्रश्न उठ्छ—त्यही नागरिक जीवित हुँदा उसले दिएको निवेदन कहाँ थियो? उसले कसलाई भेटेको थियो? कसले उसको कुरा सुनेन? कुन प्रक्रियाले उसलाई थप थकित र निराश बनायो?

हरेक आत्मदाहपछि व्यक्तिगत मानसिक अवस्था मात्र होइन, सम्बन्धित सामाजिक र प्रशासनिक पृष्ठभूमिको पनि समीक्षा हुनुपर्छ। यसको उद्देश्य सिङ्गो समाजलाई मृत्युदोष लगाउनु वा राजनीतिक लाभ लिनु होइन। भविष्यमा उस्तै अर्को मृत्यु रोक्न कहाँ सुधार आवश्यक छ भन्ने पत्ता लगाउनु हो।

राज्यको व्यवहारले एउटा अत्यन्त खतरनाक सन्देश दिनु हुँदैन—जीवित रहँदा नागरिकको कुरा नसुनिने, तर उसले आफ्नो जीवन समाप्त गरेपछि मात्र माग सम्बोधन हुने।

यदि जीवित मानिसको निवेदन वर्षौँ थन्किन्छ तर मृत्यु भएपछि तुरुन्त निर्णय हुन्छ भने संकटमा परेको अर्को व्यक्तिले के सन्देश लिन्छ?

राज्यको पहिलो जिम्मेवारी नागरिकको मृत्युपछि प्रतिक्रिया दिनु होइन। ऊ निराश र असहाय हुँदै गर्दा उसको कुरा सुन्न सक्ने विश्वसनीय प्रणाली बनाउनु हो।

समाधान मानसिक स्वास्थ्य उपचारमा मात्र सीमित छैन

आत्मदाह रोक्न मानसिक स्वास्थ्य सेवा आवश्यक छ। तर मनोचिकित्सक र औषधिले मात्र सामाजिक अन्याय, प्रशासनिक बेवास्ता, घरेलु हिंसा वा आर्थिक शोषणको उपचार गर्न सक्दैनन्।

आत्महत्या रोकथाम बहुक्षेत्रीय जिम्मेवारी हो। स्वास्थ्य, शिक्षा, रोजगार, कानुन, सामाजिक सुरक्षा, राजनीति र सञ्चारमाध्यम सबैको भूमिका हुन्छ। विश्व स्वास्थ्य संगठनले पनि आत्महत्या रोकथाममा स्वास्थ्य क्षेत्रसँगै शिक्षा, श्रम, न्याय, राजनीति र सञ्चारमाध्यमसहित बहुक्षेत्रीय समन्वय आवश्यक रहेको बताउँछ।

मानसिक स्वास्थ्य सेवा सहज बनाउने

प्राथमिक स्वास्थ्य केन्द्रदेखि अस्पतालसम्म डिप्रेसन, पदार्थको समस्या, साइकोसिस र आत्महत्याको जोखिम पहिचान गर्ने क्षमता विकास गर्नुपर्छ। संकटमा रहेको व्यक्तिलाई “हिम्मत गर”, “सकारात्मक सोच” वा “परिवारको बारेमा सोच” भनेर मात्र पठाउनु हुँदैन।

आवश्यकताअनुसार तत्काल मूल्याङ्कन, सुरक्षा योजना, पारिवारिक सहयोग, मनोपरामर्श, औषधि र अस्पताल उपचार उपलब्ध हुनुपर्छ।

आफ्नो पीडा व्यक्त गर्न सुरक्षित वातावरण बनाउने

“मर्न मन लाग्छ” भन्ने व्यक्तिलाई नाटक गरेको, ध्यान खोजेको वा कमजोर मनको भएको आरोप लगाउनु हुँदैन। उसले स्पष्ट योजना नबताए पनि उसको कुरा गम्भीरतापूर्वक सुन्नुपर्छ।

परिवार र साथीले उपचारकर्ता बन्नुपर्ने होइन। तर उचित सहायता सुरु नहुन्जेल टेको बन्न सक्छन्।

नागरिकका गुनासा सुन्ने विश्वसनीय व्यवस्था बनाउने

स्थानीय तहदेखि केन्द्रसम्म समयसीमासहितको गुनासो सुनुवाइ, स्वतन्त्र पुनरावलोकन र निर्णयको कारण स्पष्ट गर्ने व्यवस्था चाहिन्छ। नागरिकले कार्यालय धाउँदा अपमानित हुनुपर्ने, निवेदन हराउने वा पहुँच नभएसम्म काम नहुने अवस्था आफैँमा मानसिक तनावको स्रोत हो।

आर्थिक र कानुनी संकटमा प्रारम्भिक सहायता दिने

ऋण, व्यवसाय असफल हुनु, रोजगारी गुम्नु, घरेलु हिंसा र लामो कानुनी विवादले मानिसलाई गम्भीर संकटमा पुर्‍याउन सक्छ। आर्थिक परामर्श, कानुनी सहायता, सामाजिक सुरक्षा र मानसिक स्वास्थ्य सेवाबीच समन्वय आवश्यक छ।

प्रत्येक घटनाबाट सिक्ने

सार्वजनिक आत्मदाहपछि स्वतन्त्र र बहुआयामिक समीक्षा हुनुपर्छ। उसले पहिले सहायता मागेको थियो कि थिएन? संस्थागत प्रतिक्रिया कस्तो थियो? परिवार र समुदायले के संकेत देखेका थिए? मानसिक स्वास्थ्य सेवा उपलब्ध थियो कि थिएन? भविष्यमा कुन परिवर्तनले अर्को जीवन जोगाउन सक्छ?

निष्कर्ष

आत्मदाहमा एउटा शरीर मात्र जलेको हुँदैन। त्यस घटनाले परिवारको जीवन, समाजको संवेदना र राज्यको विश्वसनीयतामाथि पनि प्रश्न उठाउँछ।

त्यसको पछाडि कहिलेकाहीँ गम्भीर मानसिक रोग हुन सक्छ, कहिलेकाहीँ आकस्मिक व्यक्तिगत संकट र कहिलेकाहीँ लामो समयदेखि सञ्चित अपमान, अन्याय तथा संस्थागत असफलता। प्रायः यी तत्त्व एकअर्कासँग मिसिएका हुन्छन्।

विकसित देशहरूमा अत्यन्त दुर्लभ रहेको आत्मदाह हाम्रो समाजमा किन सार्वजनिक अभिव्यक्तिका रूपमा दोहोरिन्छ भन्ने प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्छ। यसको उत्तर व्यक्तिको मनभित्र मात्र खोजेर पुग्दैन। परिवार, समाज, अर्थतन्त्र, न्याय व्यवस्था, प्रशासन र राज्यको व्यवहारभित्र पनि खोज्नुपर्छ।

एक शताब्दीभन्दा अघि दुर्खाइमले आत्महत्या व्यक्तिगत देखिए पनि त्यसका दर र स्वरूपमा समाजका अदृश्य प्रवाह सक्रिय हुन सक्ने प्रश्न उठाएका थिए। आज नेपालमा सार्वजनिक आत्मदाहका घटनाले हामीलाई उस्तै प्रश्न सोधिरहेका छन्—मानिसलाई जीवनसँग जोड्ने हाम्रा सम्बन्ध कति बलिया छन्? राज्यका नियम कति विश्वसनीय छन्? न्यायका वैध बाटा कति खुला छन्? र निराश नागरिकको आवाज ऊ जीवित छँदै सुन्ने संस्था कति प्रभावकारी छन्?

घटनापछि मृतकलाई कायर वा कमजोर मनको भनेर अपमानित गर्नु र उसलाई नायक बनाएर आत्महत्यालाई गौरवशाली विद्रोहका रूपमा प्रस्तुत गर्नु दुवै हानिकारक छन्। पहिलो प्रतिक्रियाले संकटमा रहेका मानिसलाई आफ्नो विचार लुकाउन बाध्य बनाउँछ। दोस्रोले अर्को व्यक्तिलाई आत्महत्या नै आफ्नो आवाज सुनाउने प्रभावकारी माध्यम हो भन्ने भ्रम दिन सक्छ।

आत्महत्या न साहसको प्रमाण हो, न ‘मन कमजोर’ भएको प्रमाण। यो मानिस असह्य पीडामा पुगेको गम्भीर सङ्केत हो।

आत्मदाह कुनै समस्याको समाधान वा आवाज सुनाउने स्वीकार्य माध्यम होइन। यसलाई विद्रोहको गौरवशाली प्रतीक बनाउनु हुँदैन। व्यक्तिगत कायरतामा सीमित गरेर पन्छाउनु पनि हुँदैन। यसलाई समयमै सुन्न, उपचार गर्न र न्याय दिन नसकिएको रोक्न सकिने मानवीय त्रासदीका रूपमा बुझ्नुपर्छ।

मैले धेरै वर्षअघि समाजलाई रोगीसँग तुलना गर्दा लेखेको थिएँ—रोगीलाई ठीक पार्न सबैभन्दा पहिले रोगी र उपचारकर्ता दुवैले रोग छ भनेर स्वीकार गर्नुपर्छ। यहाँ रोगी र उपचारकर्ता पूर्णतः अलग छैनन्। राज्य, सञ्चारमाध्यम, पेशागत समुदाय, परिवार र सर्वसाधारण—हामी सबै समाजका अङ्ग हौँ।

यसको अर्थ कुनै एउटा आत्महत्याका लागि हामी सबैलाई दोषी ठहर गर्नु होइन। यसको अर्थ यत्ति हो—हामी प्रत्येकले जीवन जोगाउने वा सहायता माग्ने बाटो अझ कठिन बनाउनेमध्ये कुनै एउटा भूमिका खेलिरहेका हुन सक्छौँ।

राज्यले नागरिकको आवाज उसको मृत्यु भएपछि मात्र होइन, ऊ जीवित छँदै सुन्नुपर्छ। समाजले मानिस जलेपछि मात्र उसको पीडा देख्ने होइन, उसले सहायता माग्दै गर्दा देख्नुपर्छ।


सहायता सूचना

यदि तपाईं वा तपाईंले चिनेको कोही आत्महत्या वा आत्महानिको सोचसँग संघर्ष गरिरहनुभएको छ भने एक्लै नबस्नुहोस्। विश्वासिलो व्यक्तिलाई तत्काल भन्नुहोस् र स्वास्थ्यकर्मी वा मानसिक स्वास्थ्य सेवासँग सम्पर्क गर्नुहोस्।

अष्ट्रेलियामा: तत्काल जीवन जोखिममा भए ट्रिपल जिरो—000 मा फोन गर्नुहोस्। चौबीसै घण्टा संकट सहायताका लागि Lifeline 13 11 14 र मानसिक स्वास्थ्य परामर्शका लागि Beyond Blue 1300 22 4636 मा सम्पर्क गर्न सकिन्छ।

(डा. अनुपम पोखरेल मेलबर्न, अष्ट्रेलियामा कार्यरत कन्सल्टेन्ट साइकियाट्रिस्ट हुनुहुन्छ।)

Published Date: 23 July 2026

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस