‘हिस्टेरिया’ होइन: फङ्सनल न्युरोलोजिकल डिसअर्डर (FND) के हो?
एउटी १५–१६ वर्षकी किशोरी एक्कासि भुइँमा लड्छिन्। उनका आँखा बन्द छन्, शरीर कहिले कडा हुन्छ, कहिले हातखुट्टा हल्लिन्छन्। साथीहरू आत्तिन्छन्। कोही पानी खुवाउन खोज्छन्, कोही मुख खोल्न प्रयास गर्छन्। केही बेरपछि उनी विस्तारै सामान्य अवस्थामा फर्किन्छिन्।
वरपरबाट विभिन्न प्रतिक्रिया आउँछन्—“छारे रोग होला”, “हिस्टेरिया हो”, “नाटक गरेकी हो कि?”, अथवा अझै पनि कतैकतै सुनिने पुरानो टिप्पणी—“बिहे गरिदिए ठीक हुन्छ।”
यस्तो अवस्थामा पहिलो कुरा के बुझ्नुपर्छ भने बेहोस हुनु, शरीर काँप्नु वा आफूले नियन्त्रण गर्न नसक्ने कुनै पनि लक्षण हाँसो वा ठट्टाको विषय होइन। यस प्रकारका लक्षणका धेरै कारण हुन सक्छन्। छारे रोग (epilepsy), मुटुसम्बन्धी समस्या, रक्तचाप वा रक्तचिनीको गडबडीदेखि अन्य स्नायुरोगसम्मको मूल्याङ्कन आवश्यक पर्न सक्छ।
तर कतिपय व्यक्तिमा परीक्षण र विशेषज्ञ मूल्याङ्कनपछि फङ्सनल न्युरोलोजिकल डिसअर्डर (Functional Neurological Disorder—FND) भन्ने अवस्था पहिचान हुन्छ। विगतमा यसका कतिपय रूपलाई “हिस्टेरिया” वा “कन्भर्जन डिसअर्डर” भनिन्थ्यो।
“हिस्टेरिया” शब्दको इतिहास दुई हजार वर्षभन्दा पुरानो छ। प्राचीन समयमा यस प्रकारका लक्षणलाई महिलाको पाठेघरसँग जोडेर हेरिन्थ्यो। पछि यो धारणा गलत भएको प्रमाणित भयो। पुरुषमा पनि यस्ता लक्षण देखिन्छन्, बालबालिकादेखि वृद्धवृद्धासम्मलाई हुन सक्छ, र यसको यौनजीवन वा विवाहसँग कुनै अनिवार्य सम्बन्ध छैन।
समयसँगै “हिस्टेरिया” शब्द आफैं पनि समस्याग्रस्त बन्न पुग्यो। यसले बिरामीलाई कमजोर, अत्यधिक भावुक वा नाटक गर्ने व्यक्तिका रूपमा हेर्ने गलत धारणा जन्मायो।
बीसौँ शताब्दीमा यसको सट्टा “conversion disorder” भन्ने शब्द बढी प्रयोग हुन थाल्यो। त्यसबेला मानसिक द्वन्द्व वा अव्यक्त तनाव शरीरको लक्षणमा “परिवर्तन” भएको व्याख्या प्रमुख थियो।
तर विगत दुई–तीन दशकमा हाम्रो बुझाइ फेरि निकै बदलिएको छ।
आज Functional Neurological Disorder (FND) भन्ने शब्द बढी स्वीकारिएको छ।
FND मा स्नायु प्रणालीको काम गर्ने तरिकामा समस्या उत्पन्न हुन्छ। व्यक्तिलाई कमजोरी, कम्पन, हिँडाइमा समस्या, संवेदनामा परिवर्तन, बोली वा निलाइमा समस्या, अथवा छारे रोगजस्तै देखिने दौरा आउन सक्छ।
यी लक्षण वास्तविक हुन्छन्।
व्यक्तिले जानाजानी बनाएको, अभिनय गरेको वा “मनको भ्रम” मात्र होइन।
FND मा मस्तिष्क र स्नायु प्रणालीका विभिन्न भागबीच हुने नियन्त्रण, ध्यान, गति, अनुभूति र शरीरबारे मस्तिष्कले गर्ने processing मा असामान्यता हुन सक्छ। त्यसैले सामान्य MRI वा अन्य परीक्षण आउँदैमा “केही भएको छैन” भन्न मिल्दैन।
यसलाई कहिलेकाहीँ कम्प्युटरको उदाहरण दिएर बुझाइन्छ—समस्या hardware भाँचिएको जस्तो नभई system कसरी चलिरहेको छ भन्ने प्रक्रियामा हुन सक्छ। तर यो केवल बुझाउन प्रयोग गरिने एउटा सरल उपमा हो।
पहिले conversion disorder वा hysteria को diagnosis प्रायः धेरै परीक्षण गरेर अरू सबै रोग हटाएपछि मात्र लगाइन्थ्यो। त्यसैले कतिपय बिरामी वर्षौंसम्म “सबै test normal छ, अब psychiatric होला” भन्ने अवस्थामा पुग्थे।
आजको दृष्टिकोण फरक छ।
FND मा विशेषज्ञले इतिहास र neurological examination गर्दा यस रोगसँग मेल खाने सकारात्मक संकेतहरू (positive signs) खोज्न सक्छन्।
उदाहरणका लागि, कुनै व्यक्तिको खुट्टा आफूले चलाउन खोज्दा अत्यन्त कमजोर देखिए पनि अर्को स्वचालित गतिविधिमा त्यही मांसपेशीले सामान्य शक्ति देखाउन सक्छ। केही प्रकारका functional tremor अर्को rhythm मा ध्यान दिँदा वा movement गर्दा बदलिन सक्छन्। Functional seizure को पनि epileptic seizure भन्दा फरक पर्ने केही clinical विशेषताहरू हुन्छन्।
यसैले FND लाई केवल “सबै test normal आएपछि बाँकी रहेको diagnosis” भनेर बुझ्नु ठीक होइन।
साथै एउटा महत्वपूर्ण कुरा के हो भने FND र अर्को neurological रोग एउटै व्यक्तिमा सँगसँगै पनि हुन सक्छन्। उदाहरणका लागि कसैलाई epilepsy र functional seizure दुवै हुन सक्छन्। त्यसैले उचित विशेषज्ञ मूल्याङ्कन आवश्यक हुन्छ।
यो क्षेत्रमा भएको सबैभन्दा महत्वपूर्ण परिवर्तनमध्ये एउटा यही हो।
पहिले भनिन्थ्यो—“मानसिक तनाव शरीरको लक्षणमा conversion हुन्छ।”
आज हामी त्यति सरल रूपमा भन्दैनौँ।
कतिपय व्यक्तिमा तनाव, पुरानो trauma, पारिवारिक समस्या, कामको दबाब, डर, depression वा anxiety ले FND सुरु हुन वा कायम रहन भूमिका खेल्न सक्छन्। कतिपयमा कुनै शारीरिक रोग, दुर्घटना, चोटपटक, migraine, pain वा लामो समयको थकानपछि लक्षण सुरु हुन सक्छ।
तर अरू धेरै व्यक्तिले आफ्नो FND सुरु हुनुअघि कुनै विशेष मानसिक तनाव पहिचान गर्न सक्दैनन्।
त्यसैले “तपाईंलाई FND छ भने अवश्य कुनै लुकेको मानसिक तनाव हुनुपर्छ” भन्नु पनि गलत हो।
आज FND लाई biological, psychological र social विभिन्न तत्वले फरक–फरक व्यक्तिमा फरक अनुपातमा भूमिका खेल्न सक्ने अवस्थाका रूपमा बुझिन्छ।
यसैले उपचारको उद्देश्य पनि “लुकेको तनाव पत्ता लगाउने” मात्र हुँदैन।
FND एउटै किसिमको रोग होइन। यसका लक्षण धेरै प्रकारका हुन सक्छन्।
कसैलाई हात वा खुट्टा कमजोर हुन सक्छ। कसैलाई शरीर काँप्ने, अकस्मात् झट्का लाग्ने वा शरीरको कुनै भाग असामान्य मुद्रामा जाने हुन सक्छ। कसैको हिँडाइ बिग्रन सक्छ।
केही व्यक्तिमा functional seizures आउँछन्। बाहिरबाट हेर्दा यिनीहरू epileptic seizure जस्तै देखिन सक्छन्, तर यसको mechanism epilepsy भन्दा फरक हुन्छ।
अरूमा दृष्टि, स्पर्श वा शरीरको संवेदनामा परिवर्तन हुन सक्छ। बोली, आवाज वा निलाइमा समस्या आउन सक्छ।
ध्यान, स्मरणशक्ति वा सोचाइसम्बन्धी functional cognitive symptoms पनि हुन सक्छन्।
एउटै व्यक्तिमा यीमध्ये एकभन्दा बढी समस्या पनि हुन सक्छन्।
FND लाई केवल “मानसिक रोग” भनेर वर्गीकरण गर्नु पनि अहिले पर्याप्त हुँदैन।
यो neurology र psychiatry को सिमानामा पर्ने अवस्था हो।
FND भएका केही व्यक्तिलाई depression, anxiety, panic disorder, post-traumatic stress disorder वा अन्य मानसिक स्वास्थ्य समस्या पनि हुन सक्छ। ती समस्या भए उपचार गर्नु महत्वपूर्ण हुन्छ।
तर FND हुनका लागि अर्को मानसिक रोग हुनु आवश्यक छैन।
त्यसैगरी psychiatrist वा psychologist भेट्न पठाउनुको अर्थ “तपाईंको समस्या शरीरमा होइन, मनमा मात्र छ” भन्ने पनि होइन।
Psychological treatment ले लक्षणसँग जोडिएका attention, fear, avoidance, emotion, behaviour र शरीरप्रतिको प्रतिक्रिया बुझ्न तथा परिवर्तन गर्न मद्दत गर्न सक्छ। यदि trauma वा अर्को मानसिक रोग महत्वपूर्ण छ भने त्यसको छुट्टै उपचार पनि आवश्यक पर्न सक्छ।
विद्यालय वा छात्रावासमा एकपछि अर्को विद्यार्थी बेहोस हुने, काँप्ने वा अन्य शारीरिक लक्षण देखाउने समाचार बेलाबेला आउँछन्। पहिले यसलाई सजिलै “mass hysteria” भनिन्थ्यो।
आज mass psychogenic illness वा mass sociogenic illness जस्ता शब्द बढी प्रयोग गरिन्छन्।
तर समूहमा धेरै व्यक्ति एकैपटक बिरामी परे भने सुरुबाटै “mass hysteria” भनेर निष्कर्ष निकाल्नु हुँदैन। पहिले संक्रमण, खाना वा पानीको समस्या, विषाक्त पदार्थ वा वातावरणीय कारणजस्ता सम्भावनाको उचित मूल्याङ्कन गर्नुपर्छ।
यस्ता कारण नपाइएपछि कतिपय अवस्थामा डर, सामाजिक प्रभाव, अरूको लक्षण देखेपछि उत्पन्न हुने अपेक्षा र समूहगत वातावरणले लक्षण फैलिन भूमिका खेल्न सक्छ।
यसलाई पनि अभिनय वा सामूहिक नाटक भनेर हेर्नु हुँदैन। व्यक्तिले अनुभव गरेका लक्षण वास्तविक हुन्छन्।
“हिस्टेरिया भएको केटीलाई बिहे गरिदिए ठीक हुन्छ” भन्ने धारणा वैज्ञानिक आधार नभएको पुरानो मिथक हो।
FND को विवाहसँग कुनै उपचारात्मक सम्बन्ध छैन।
कुनै व्यक्तिको जीवनको परिस्थिति परिवर्तन हुँदा लक्षण घट्न सक्छ; अर्कोतर्फ विवाहपछिको नयाँ जिम्मेवारी वा तनावसँगै कसैको लक्षण बढ्न पनि सक्छ।
त्यसैले FND को उपचार विवाह होइन—सही diagnosis, सही explanation र व्यक्तिको लक्षणअनुसारको उपचार हो।
कसैले seizure-जस्तो episode देखाउँदा त्यो functional seizure हो कि epilepsy वा अर्को शारीरिक समस्या हो भनेर घटनास्थलमै अनुमान गरेर निर्णय गर्नु हुँदैन—विशेष गरी पहिलोपटक भएको हो भने।
व्यक्तिलाई चोट लाग्न नदिने सुरक्षित स्थानमा राख्नुहोस्। वरिपरिका कडा वा धारिला वस्तु हटाउनुहोस्।
जबरजस्ती हातखुट्टा समातेर रोक्न खोज्नु हुँदैन।
मुख जबरजस्ती खोल्नु, चम्चा वा अन्य वस्तु हाल्नु, अथवा पानी खुवाउने प्रयास गर्नु हुँदैन।
घटना कति समय चल्यो ध्यान दिनु उपयोगी हुन्छ।
पहिलो episode हो, गम्भीर चोट लागेको छ, सास फेर्न समस्या छ, episode लामो समय चलिरहेको छ वा एकपछि अर्को भइरहेका छन् भने तत्काल चिकित्सा सहायता आवश्यक हुन्छ।
यदि विशेषज्ञले पहिले नै functional seizure को diagnosis गरिसकेका छन् भने बिरामी र परिवारलाई त्यसअनुसारको स्पष्ट management plan दिइनु उपयोगी हुन्छ।
FND को उपचार पनि विगतको तुलनामा धेरै बदलिएको छ।
यसको एउटा मात्र tablet वा injection छैन जसले सबै FND ठीक पार्छ। तर यसको अर्थ “उपचार छैन” भन्ने होइन।
वास्तवमा diagnosis सही तरिकाले बुझाउनु नै उपचारको पहिलो चरण हो।
बिरामीले “मेरो लक्षण वास्तविक हो”, “डाक्टरले मलाई विश्वास गरेका छन्”, “यसको एउटा नाम र mechanism छ” र “यसमा सुधार सम्भव छ” भन्ने बुझ्न पाउनु महत्वपूर्ण हुन्छ।
त्यसपछि उपचार व्यक्तिको मुख्य लक्षणअनुसार फरक हुन्छ।
Neurologist ले diagnosis पुष्टि गर्ने, positive clinical signs बुझाउने र आवश्यक परे epilepsy वा अन्य neurological disease छुट्याउने महत्वपूर्ण भूमिका खेल्छन्।
Functional weakness, abnormal movement वा gait problem भएका व्यक्तिमा FND सम्बन्धी तालिमप्राप्त physiotherapist ले movement retraining गर्न सक्छन्।
यो सामान्य muscle strengthening मात्र होइन। यसको उद्देश्य शरीरले पहिले नै गर्न सक्ने स्वचालित movement लाई पुनः सहज बनाउनु, movement प्रति अत्यधिक conscious attention घटाउनु र सामान्य movement pattern पुनः सिकाउनु हो।
Occupational therapist ले दैनिक जीवनका काम, घरको काम, पढाइ, रोजगारी, थकान व्यवस्थापन, activity pacing र सामाजिक सहभागितामा फर्कन मद्दत गर्न सक्छन्।
लक्ष्य केवल लक्षण घटाउनु होइन—व्यक्तिलाई फेरि आफ्नो दैनिक जीवनमा सक्षम बनाउनु पनि हो।
Psychological therapy सबै बिरामीलाई एउटै कारणले आवश्यक हुँदैन।
कतिपयमा FND का लक्षणलाई कायम राख्ने डर, avoidance, attention वा behaviour सम्बन्धी pattern मा काम गर्न psychology उपयोगी हुन्छ। Depression, anxiety, PTSD जस्ता समस्या भए तिनको छुट्टै उपचार गर्न सकिन्छ।
Psychiatrist ले जटिल अवस्थामा diagnosis, psychiatric comorbidity र उपचारको समन्वयमा भूमिका खेल्न सक्छन्।
यदि प्रमुख समस्या स्मरणशक्ति, concentration वा अन्य cognitive symptoms हुन् भने clinical neuropsychologist विशेष उपयोगी हुन सक्छन्।
उनीहरूले cognitive symptoms को pattern बुझ्न, अन्य cognitive disorder बाट छुट्याउन र rehabilitation strategy बनाउन सहयोग गर्न सक्छन्।
Functional speech, voice वा swallowing problem भएका व्यक्तिमा speech pathologist को विशेष भूमिका हुन्छ।
यसैले आज FND को राम्रो उपचार प्रायः कुनै एक विशेषज्ञको काम नभई neurology, rehabilitation, physiotherapy, occupational therapy, psychology/psychiatry, neuropsychology र आवश्यकताअनुसार speech pathology समेटिएको multidisciplinary उपचार हो।
FND केही व्यक्तिमा छोटो समयमै निकै सुधार हुन सक्छ। अरूमा लामो समयसम्म लक्षण रहन सक्छन् र rehabilitation आवश्यक पर्छ।
सामान्यतः सही diagnosis चाँडै हुनु, diagnosis बिरामीले बुझ्नु, अनावश्यक परीक्षण र उपचारको चक्र कम हुनु, र उपयुक्त rehabilitation चाँडै सुरु हुनु लाभदायक हुन्छ।
तर “तिमीले मन बलियो बनायौ भने ठीक हुन्छ” भन्ने किसिमको सल्लाह उपयोगी हुँदैन।
लक्षण वास्तविक हुन् र recovery का लागि पनि वास्तविक उपचार आवश्यक हुन्छ।
दुई दशकअघिसम्म हामीले “हिस्टेरिया” वा “conversion disorder” भनेर बुझ्ने धेरै अवस्थालाई आज Functional Neurological Disorder—FND को फराकिलो र वैज्ञानिक दृष्टिकोणबाट हेर्छौं।
यो न महिलाको मात्र समस्या हो, न यौनसम्बन्धी समस्या हो, न विवाह यसको उपचार हो।
यो केवल “तनाव शरीरमा निस्किएको” अवस्था पनि होइन।
र सबैभन्दा महत्वपूर्ण—यो नाटक होइन।
FND मा मस्तिष्क र स्नायु प्रणालीले काम गर्ने प्रक्रियामा वास्तविक समस्या उत्पन्न हुन्छ। यसको diagnosis सकारात्मक clinical features का आधारमा गर्न सकिन्छ र व्यक्तिको लक्षणअनुसार उपयुक्त rehabilitation तथा psychological वा medical treatment बाट धेरै व्यक्तिमा उल्लेखनीय सुधार सम्भव हुन्छ।
त्यसैले कसैलाई यस्तो समस्या हुँदा “हिस्टेरिया” भन्दै हाँस्नु वा दोष दिनुको सट्टा सही मूल्याङ्कन, सम्मानपूर्ण व्यवहार र उपयुक्त उपचारतर्फ लैजानु नै आजको वैज्ञानिक दृष्टिकोण हो।
लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया