Generalised Anxiety Disorder – लगातार मन आत्तिने मानसिक समस्या

म १८ वर्षीया छात्रा हुँ  । मलाई केही महिनादेखि लगातार विनाकारण डर लागिरहने, मुटुमा कम्पन भएको महसुस हुने, जिउ पनि काँप्ने र साथमा शरीरका विभिन्न भागमा लगातार गाह्रो जस्तो हुने भइरहेको छ । चिकित्सकद्वारा परीक्षण गराउंदा कुनै शारीरिक रोग पत्ता लागेको छैन । उहाँबाट मानसिक रोग विशेषज्ञलाई सम्पर्क गर्ने सल्लाह पाइयो । के यस्तो पनि मानसिक रोग हुन्छ ?

 

लगातार डर लागिरहने, मन आत्तिरहने र साथमा शरीरका विभिन्न भागमा लगातार अप्ठ्यारो महसुस भइरहने यस प्रकारको मानसिक समस्यालाई Generalized Anxiety Disorder (GAD) भनिन्छ । माथिको उदाहरणमा यस रोगबाट पीडित एक युवतीले आफ्नो समस्या व्यक्त गरेकी छिन् । यो समस्या जनसमुदायमा झण्डै दुई प्रतिशत मानिसहरूलाई हरेक वर्ष हुने गर्दछ र महिलाहरू पुरुषहरूभन्दा केही बढी मात्रामा पीडित भएको भेटिएको छ । किशोरावस्थाबाट प्रायः सुरु हुने हुनाले यस रोगबाट पीडित व्यक्तिहरूको पढाइ तथा व्यावसायिक जीवनमा नकारात्मक असर पर्न सक्दछ ।

GAD का लक्षणहरूलाई तीन भागमा बाँड्न सकिन्छ –

१. डर, त्रास, भय

२. शारीरिक लक्षणहरू, जस्तै – मुटु  कांप्नु, धड्कन तेज हुनु, श्वास रोकिएको जस्तो महसुस हुनु, वा चांडो चांडो स्वाश फेर्नु, घरिघरि पिसाब लाग्नु, चिटचिट पसिना, आउनु, जिउ लगलग कांप्नु आदि ।

३. शरीर तनावयुक्त भएको महसुस हुनु ।

वास्तवमा GAD त्यसबेला भनिन्छ जब माथि उल्लेखित लक्षणहरूमध्ये प्रत्येक समूहका लक्षण कुनै व्यक्तिमा लगातार केही महिना प्रत्येक दिन केही घण्टा भइरहन्छ । कहिले काँही मात्र माथिका लक्षण भएमा यो समस्या डाइग्नोसिस गर्न मिल्दैन ।

यो तुलनात्मक रुपले एक कम कडा प्रकारको मानसिक रोग हो । अन्य कतिपय मानसिक रोग जस्तै यो रोग किन हुन्छ यकिनका साथ थाहा छैन । मनोवैज्ञानिकहरू यो समस्या ‘अब केही नराम्रो हुने हो कि?’ भन्ने डर लिएर बस्ने व्यक्तिमा हुने सम्भावना बढी हुन्छ भन्दछन् । ससाना समस्याहरूबाट बढी मात्रामा चिन्तित हुने व्यक्तित्व भएका मानिसहरूमा पनि यो बढी मात्रामा भेटिएको छ । यस्ता व्यक्तिहरूमा पनि त्यो बेला GAD सुरु हुन्छ जुनबेला सामाजिक समस्याहरूबाट उनीहरू जकडिएका हुन्छन् । प्रायजसो मानिसहरूमा सामाजिक समस्या युवा अवस्थाबाट सुरु हुने हुनाले GAD बढी मात्रामा युवाहरूलाई नै भएको देखिन्छ । माथि वर्णन गरिएको समस्या यस्तै एक युवतीको समस्या हो ।

यो एक मानसिक समस्या नै भए पनि र शारीरिक लक्षणहरू डर त्रासले नै उत्पन्न गरेको भए पनि पीडित व्यक्तिहरूमा क्रमिक रूपले आफुमा लक्षणअनुरूपको शारीरिक रोग भन्ने भान पर्न जान्छ । जस्तै मानसिक कारणले मुटुको कम्पन भए तापनि ऊ मुटुकै रोग लागेको भन्ने ठानेर मुटु सम्बन्धी विभिन्न जांच गराउंदै, सामान्य रिपोर्ट आए पनि मेरो त मुटुकै रोग हो र तर खै जति जांच  गराए पनि पत्तै लाग्दैन भन्दै आफ्नो समस्याको भारी बोकेर बाँचिरहेका हुन्छन ।

आवश्यक अन्वेषण गर्नु राम्रो हो तर समस्याको वर्णन र शारीरिक जांच पछि कमसेकम अन्वेषणको आधारमा नै यो मानसिक समस्या हो कि शारीरिक भन्ने  निर्क्यौल गर्न  सकिने हुँदा सम्बन्धित बिशेषज्ञको सम्पर्क गर्दा धेरै हदसम्म समय र धनको बचत हुन्छ । अगाडि भनियो कि यो एक तुलनात्मक रूपले कम कडा प्रकारको मानसिक रोग हो । यो साइकोसिस या कडा डिप्रेसन कडा हुँदैन । तर केहि व्यक्तिमा भने यो यति कडा किसिमले प्रस्तुत हुन्छ कि उक्त व्यक्ति केहि क्षण पनि काम या आराम गर्न  नसकी छटपटाएर यताउता गर्दै दिन बिताउन बाध्य हुन्छ । यो रोग लम्बिएमा यस रोगमाथि अन्य मानसिक रोगहरू थपिन पनि सक्छन् ।

उपचार

उपचारले यस समस्यालाई पूर्ण रूपले नियन्त्रणमा ल्याउन सक्छ । रोगी व्यक्ति केही हप्तापश्चात् नै साविककै स्थितिमा आई आफ्ना कार्यहरू सुचारु रूपले गर्न सक्दछ । यस रोगको उपचारका पनि दुई पक्षहरू छन् । औषधि उपचार र मनोवैज्ञानिक उपचार ।

Relaxation Technique ले व्यक्तिलाई तनावको शारीरिक र मानसिक असर कम गर्न र र विचारलार्इ  नियन्त्रण गर्ने तरिकाले आत्तिने र नकारात्मक विचारहरूका स्थानमा बढी सकारात्मक विचारहरू ल्याउन मद्दत गर्दछन् । यी पद्धतिहरू कम कडा प्रकारको GAD लाई औषधिबिना नै ठीक पार्न पर्याप्त हुन्छन् । कडा अवस्थामा भने औषधिको प्रयोग आवश्यक नै छ । केही दिन/हप्ता पछि औषधिले समस्यालाई नियन्त्रणमा ल्याउन थालेपछि यी कडा अवस्थाहरूमा पनि मनोवैज्ञानिक पद्धतिको समायोजन गरिंदा राम्रो उपलब्धि हुन्छ ।

आफैं गर्नुहोस् आत्तिने रोग (Anxiety) को मनोवैज्ञानिक उपचार (क्लिक गर्नुहोस)

लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया

News

के तपाई आत्महत्या गर्ने अवस्थामा पुग्नेभएको थियो? कसरी फर्केर आउनुभयो? आफनो अनुभव साट्नेुहोस र अरुलाई पनि आफनो अनुभवले मद्दत गर्नुहोस। हामि तपाईको गोप्यता कायम राख्छौं…

View more

फेसबुक पेज लाईक गर्नुहोस