हालसालै मलाई ६० वर्ष नाघेका (late sixties) एकजना व्यक्तिको लागि उहाँकी छोरीले सम्पर्क गर्नुभएको थियो। कारण थियो— नेपालदेखि नियमित खाइरहेको ‘अल्प्राजोलाम’ (Alprazolam) यहाँको जनरल प्राक्टिसनर (GP) ले सिफारिस (Prescribe) गर्न मानेनन्। त्यसपछि मनोचिकित्सक (Psychiatrist) लाई नै देखाउनुपर्ने बाध्यता आइलाग्यो। उक्त व्यक्ति र उहाँको परिवारलाई यस झन्झटिलो अवस्थामा सहायता गर्ने र अल्प्राजोलामलाई बिस्तारै अर्कै औषधिमा परिवर्तन गर्ने क्रममा मलाई अस्ट्रेलियाको स्वास्थ्य प्रणालीबारे एउटा जानकारीमूलक लेख लेख्ने विचार आइरहेको थियो।
त्यही क्रममा आज बिहान मात्रै नेपालबाट एकजना वरिष्ठ मनोचिकित्सकको मेसेन्जरमा सन्देश आयो— “मेरो एकजना बिरामी अस्ट्रेलिया आउनुभएको छ। उहाँको औषधि सकिन लागेको अवस्था छ र नेपालबाट थप औषधि लिएर आउन सक्नुभएन। तपाईंले केही सल्लाह दिनुहुन्थ्यो कि?”
यी दुई केवल प्रतिनिधि घटनाहरू हुन्। म र म जस्ता यहाँ कार्यरत मानसिक रोग विशेषज्ञहरूलाई नियमित रूपमा यस्तै समस्या र जिज्ञासा लिएर सम्पर्क गरिने गरिन्छ।
पछिल्लो समय अध्ययन, रोजगारी, स्थायी बसोबास र आफन्त भेटघाटका लागि अस्ट्रेलिया आउने नेपालीहरूको संख्या उल्लेख्य छ। नयाँ देश र नयाँ परिवेशमा आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यको ख्याल राख्नु निकै महत्त्वपूर्ण हुन्छ। यो लेख विशेष गरी मानसिक स्वास्थ्य समस्या (जस्तै: डिप्रेसन, एन्जाइटी) को नियमित औषधि सेवन गरिरहनुभएकाहरूलाई लक्षित गरेर तयार पारिएको भए तापनि, यसमा उल्लेख गरिएका स्वास्थ्य प्रणालीका आधारभूत नियमहरू अन्य जुनसुकै सामान्य शारीरिक स्वास्थ्य समस्याहरूको हकमा पनि पूर्ण रूपमा लागू हुन्छन्।
यदि तपाईं वा तपाईंको आफन्त नेपालमा कुनै रोगको उपचार गराइरहनुभएको छ र अस्ट्रेलिया आउने तयारीमा हुनुहुन्छ भने, यहाँको स्वास्थ्य प्रणालीबारे यी कुराहरू जान्नैपर्ने हुन्छ:
१. पहिलो विन्दु: जनरल प्राक्टिसनर (GP) नेपाल र अस्ट्रेलियाको स्वास्थ्य प्रणालीमा मुख्य भिन्नता भनेकै अस्पतालको पहुँच हो। नेपालमा जसरी सीधै अस्पताल वा क्लिनिकमा गएर विशेषज्ञ डाक्टर (Specialist) लाई भेट्न सकिन्छ, अस्ट्रेलियामा त्यस्तो हुँदैन। स्वास्थ्यसम्बन्धी जुनसुकै समस्याका लागि तपाईंले सुरुमा ‘जनरल प्राक्टिसनर’ (GP – पारिवारिक चिकित्सक) लाई नै भेट्नुपर्ने हुन्छ। अस्ट्रेलियाका जीपीहरू डिप्रेसन, एन्जाइटी लगायतका प्राथमिक स्वास्थ्य समस्याहरूको पहिचान र व्यवस्थापन गर्न पूर्ण रूपमा सक्षम हुन्छन्। जीपीले आवश्यक देखेमा मात्र तपाईंलाई विशेषज्ञ कहाँ रिफर (Refer) गर्छन्।
२. नेपालीभाषी जनरल प्राक्टिसनर कसरी खोज्ने? स्वास्थ्य जस्तो संवेदनशील विषयमा आफ्नै मातृभाषामा कुरा गर्न सहज लाग्छ भने आत्तिनु पर्दैन। मेलबर्न, सिड्नी लगायतका सहरहरूमा धेरै नेपालीभाषी जीपीहरू हुनुहुन्छ। उहाँहरूलाई खोज्न अस्ट्रेलियामा डाक्टर बुक गर्ने विशेष वेबसाइट वा एपहरू (जस्तै: HotDoc वा Healthengine) प्रयोग गर्न सकिन्छ। यस्ता वेबसाइटहरूमा डाक्टरको प्रोफाइलमा ‘Languages Spoken’ अन्तर्गत ‘Nepali’ छानेर सजिलै नेपाली डाक्टरहरू फेला पार्न सकिन्छ।
३. मानसिक स्वास्थ्यमा विशेष चासो भएका जीपी (GP with Special Interest) अस्ट्रेलियाका ठूला मेडिकल सेन्टरहरूमा कार्यरत केही जीपीहरूले मानसिक स्वास्थ्य (Mental Health Management) मा आफ्नो ‘विशेष चासो वा अनुभव’ रहेको खुलाएका हुन्छन्। पहिलो पटक क्लिनिकमा जाँदा वा फोन गर्दा रिसेप्शनमा अंग्रेजीमा यसरी सोध्न सकिन्छ— “Which GPs available to take new patients also have a special interest in mental health?” यसो गर्दा तपाईंले आफ्नो समस्या राम्रोसँग बुझ्ने सही डाक्टरको अपोइन्टमेन्ट प्राप्त गर्न सक्नुहुन्छ।
४. नेपालका डाक्टरले तयार पार्नुपर्ने ‘क्लिनिकल समरी’ नेपालबाट आउनुअघि गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण तयारी भनेको आफ्नो उपचार गरिरहनुभएका डाक्टरबाट एउटा संक्षिप्त मेडिकल रिपोर्ट (Clinical Handover/Summary) तयार पार्नु हो। उक्त रिपोर्टमा बिरामीका मुख्य लक्षणहरू, रोगको पहिचान (Diagnosis) र हाल सेवन गरिरहेको औषधिको पूर्ण विवरण समावेश हुनुपर्छ।
५. औषधिको नाम ‘जेनेरिक’ (Generic) हुनुपर्ने औषधिको सिफारिस पत्रमा डाक्टरले औषधिको ब्रान्ड नामको सट्टा ‘जेनेरिक नाम’ (Generic Name) लेखिदिनु अत्यन्तै जरुरी छ। नेपाल र अस्ट्रेलियामा पाइने औषधिका ब्रान्डहरू फरक हुने भएकाले, मूल रासायनिक नाम लेखिएको खण्डमा यहाँका डाक्टरलाई सोही अनुसारको औषधि दिन सहज हुन्छ।
६. पर्याप्त औषधि लिएर आउने र भन्सार (Customs) को नियम अस्ट्रेलिया आउँदा सुरुको १ देखि ३ महिनासम्म पुग्ने नियमित औषधि सँगै ल्याउनु उपयुक्त हुन्छ। औषधि ल्याउँदा सधैं डाक्टरको प्रेस्क्रिप्सन (पुर्जी) सहित सक्कली प्याकिङमै (Original Packaging) ल्याउनुहोस्। अस्ट्रेलियाको विमानस्थलमा आइपुगेपछि भन्सार (Customs) मा आफूसँग औषधि छ भनेर अनिवार्य रूपमा घोषणा (Declare) गर्नुपर्छ।
७. स्वास्थ्य बिमा र ‘प्रि-एक्जिस्टिङ’ (Pre-existing) रोगसम्बन्धी सर्तहरू
विद्यार्थीको OSHC वा पीआर/नागरिकहरूको ‘मेडिकेयर’ (Medicare) ले जीपीलाई भेट्ने खर्च कभर गर्छ। भिजिट भिसामा आउने आफन्तहरूका लागि गरिने निजी स्वास्थ्य बिमा (OVHC) को हकमा, मेरो अनुभवमा जीपीसँगको सामान्य परामर्शमा मात्रै सीमित हुँदा बिमा कम्पनीहरूले ‘प्रि-एक्जिस्टिङ’ (पहिलेदेखि नै लागेको रोग) को सर्तमा त्यति धेरै कडाइ गर्दैनन्। साथै, विशेषज्ञ डाक्टरको तुलनामा जीपीको शुल्क पनि सामान्यतया निकै कम (Affordable) हुन्छ। यसबाहेक, स्वास्थ्य बिमा कम्पनीहरूले विशेषज्ञले भन्दा जीपीले सिफारिस गरेका रगत परीक्षण वा अन्य अनुसन्धानहरू (Investigations) को खर्च सजिलै कभर गर्ने सम्भावना पनि बढी हुन्छ। तर, यदि यहाँ आएलगत्तै विशेषज्ञलाई नै देखाउनुपर्ने अवस्था आयो भने महँगो शुल्क लाग्न सक्छ र बिमा कम्पनीले ‘यो रोग पहिलेदेखि नै थियो कि यहाँ आएर मात्र सुरु भएको हो?’ भनेर अनुसन्धान गर्न र प्रमाण माग्न सक्छ। त्यसैले, बिमा खरिद गर्दा ‘प्रि-एक्जिस्टिङ कन्डिसन’ कभर हुन्छ वा हुँदैन र यसको ‘वेटिङ पिरियड’ (Waiting Period) कति छ भन्ने कुरा राम्ररी बुझ्नुपर्छ।
८. अस्ट्रेलियामा औषधिको उपलब्धता र PBS वेबसाइटको प्रयोग
नेपालमा प्रयोग गरिने सबै औषधिहरू अस्ट्रेलियामा सहजै उपलब्ध नहुन सक्छन्। त्यसैले, नेपालका डाक्टरहरूले अस्ट्रेलिया सरकारको आधिकारिक वेबसाइट pbs.gov.au मा गएर आफूले सिफारिस गर्न लागेको औषधि यहाँ उपलब्ध छ कि छैन भनी जाँच गर्न सक्नुहुन्छ। अस्ट्रेलियाली सरकारले आफ्ना नागरिक र स्थायी बासिन्दाहरूलाई कुन-कुन औषधिमा सहुलियत (Subsidies) दिन्छ, र ती औषधिको सहुलियतसहितको (Subsidized) वा सहुलियत नभएको (Private/Non-subsidized) अनुमानित मूल्य कति पर्छ भनेर बुझ्न चाहने सबैका लागि यो वेबसाइट एउटा उपयोगी मार्गदर्शक (Guide) हुन सक्छ। (नोट: मेडिकेयर नभएका अस्थायी बासिन्दाले सरकारी अनुदान नपाउने हुँदा औषधिको पूरा मूल्य तिर्नुपर्ने हुन्छ। यद्यपि, उहाँहरूले आफ्नो निजी स्वास्थ्य बिमा (Health Insurance) ले औषधिको खर्च कभर गर्छ कि गर्दैन र गर्छ भने कुन हद वा सीमा (Extent or Limit) सम्म कभर गर्छ भन्ने कुरा आफ्नो बिमा पोलिसी हेरेर वा बिमा कम्पनीसँग बुझ्न सक्नुहुन्छ।)
९. विशेष अनुमति (Specialist Authority) चाहिने औषधिहरू
अस्ट्रेलियामा मानसिक स्वास्थ्यका केही विशिष्ट औषधिहरू (जस्तै: ADHD का लागि प्रयोग हुने औषधिहरू) कडा नियमनभित्र पर्छन्। यस्ता औषधिका लागि चिकित्सकको सामान्य पुर्जीले मात्र पुग्दैन, विशेषज्ञको विशेष अनुमति (Authority) अनिवार्य हुन्छ। विशेषज्ञ डाक्टरहरूसँग तत्काल अपोइन्टमेन्ट पाउन महिनौँ कुर्नुपर्ने हुन सक्ने भएकाले, पर्याप्त औषधि लिएर आउनु आवश्यक हुन्छ।
१०. अल्प्राजोलाम (Alprazolam) र बानी पर्न सक्ने औषधिहरूबारे कडा नियम
नेपालमा एन्जाइटी वा निद्राको लागि अत्यधिक प्रयोग हुने ‘अल्प्राजोलाम’ अस्ट्रेलियामा पाउन निकै गाह्रो छ र यसलाई अत्यन्तै कडा नियमन (Strict Regulation) भित्र राखिएको छ। सम्भव भएसम्म अस्ट्रेलिया आउनुअघि नै नेपालमै डाक्टरको सल्लाहमा यसलाई बिस्तारै घटाएर बन्द गर्नु वा बेन्जोडायाजेपाइन (Benzodiazepine) समूहमा नपर्ने अन्य वैकल्पिक औषधि (Non-benzodiazepine alternative) मा परिवर्तन गर्नु सबैभन्दा राम्रो हुन्छ।
यदि त्यो सम्भव नभएमा ‘क्लोनाजिपाम’ (Clonazepam) वा ‘डायजेपाम’ (Diazepam) जस्ता विकल्पहरू प्रयोग गर्न सकिन्छ। यस्ता औषधिका लागि अस्ट्रेलियामा विशेषज्ञको विशेष अनुमति (Permit/Authority) त चाहिँदैन, तर यी पनि बानी पर्न सक्ने (Substance of dependence) प्रकृतिका हुने भएकाले अस्ट्रेलियाका धेरैजसो चिकित्सकहरू नयाँ बिरामीलाई सिफारिस गर्न हिचकिचाउँछन्। साथै, यस्ता औषधिहरूको सिफारिस र प्रयोगलाई यहाँका सरकारी निकायहरूले अत्यन्तै कडा रूपमा निगरानी (Strict Monitoring) गरिरहेका हुन्छन्।
यदि कोही बिरामी अस्ट्रेलिया आउने तयारीमा हुनुहुन्छ भने, म नेपालका चिकित्सकहरूलाई बिरामीको पुर्जीमा एकैपटक दुईवटा फरक-फरक बेन्जोडायाजेपाइन (Benzodiazepines) सिफारिस नगर्न पनि विशेष अनुरोध गर्दछु। यदि यस्ता औषधि सेवन गर्नैपर्ने बाध्यता छ भने, नेपालको उपचार गर्ने डाक्टरबाट स्पष्ट कारणसहितको विस्तृत क्लिनिकल रिपोर्ट लिएर आउनु अपरिहार्य हुन्छ। यद्यपि, विस्तृत क्लिनिकल रिपोर्ट साथमै भए तापनि, अस्ट्रेलियाका चिकित्सक हरूले एउटै बिरामीलाई एकैपटक दुईवटा बेन्जोडायाजेपाइन सिफारिस गर्न धेरै नै हिचकिचाउने सम्भावना रहन्छ।
निष्कर्षमा, सही जानकारी, आवश्यक मेडिकल रिपोर्ट र पूर्वतयारीका साथ आउनुभयो भने अस्ट्रेलियामा तपाईंको उपचार प्रक्रिया निकै सहज हुनेछ। मानसिक स्वास्थ्यमा आउन सक्ने आपत्कालीन अवस्था (Emergency) र त्यसमा अस्ट्रेलियाको स्वास्थ्य प्रणालीले कसरी काम गर्छ भन्नेबारे हामी अर्को लेखमा विस्तृत रूपमा चर्चा गर्नेछौं।
– डा. अनुपम पोखरेल
(लेखक विगत दुई दशकभन्दा बढी समयदेखि अस्ट्रेलियाको भिक्टोरियामा कार्यरत कन्सल्टेन्ट मनोचिकित्सक हुन्। उनी सन् २०२१ देखि २०२३ सम्म अस्ट्रालेसियन नेप्लिज मेडिकल एन्ड डेन्टल एसोसिएसनको अध्यक्ष, र सन् २०१६ देखि २०१८ सम्म नेप्लिज एसोसिएसन अफ भिक्टोरियाको अध्यक्ष थिए।)