लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया
मानसिक स्वास्थ्यसम्बन्धी समस्याका बारेमा हाम्रो समाजमा जानकारी र चेतना पहिलेभन्दा निकै बढेको छ। मानसिक रोगको पहिचान गर्ने र उपचार प्रदान गर्ने स्वास्थ्यकर्मीहरूको संख्या पनि बढ्दै गएको छ। यससँगै डिप्रेसन, आत्तिने रोग, बाइपोलार डिसअर्डर, साइकोसिस, स्किजोफ्रेनिया लगायतका मानसिक स्वास्थ्य समस्याका लागि उपचार खोज्ने प्रवृत्ति पनि बढेको छ।
तर मानसिक रोगको उपचारमा प्रयोग हुने औषधिका बारेमा अझै पनि धेरै भ्रम र आशंका पाइन्छन्। कतिपयले लक्षण ठीक हुनासाथ औषधि बन्द गर्छन्, कतिपयलाई लामो समय औषधि खानुपर्छ भनिँदा “बानी पो पर्ने हो कि?” भन्ने डर हुन्छ, र कतिपयलाई औषधिका नकारात्मक असरबारे अत्यधिक चिन्ता हुन्छ।
यस लेखको उद्देश्य कुनै निश्चित औषधिको विस्तृत विवरण दिनु नभई, मानसिक रोगको उपचारमा प्रयोग हुने औषधिबारे सर्वसाधारणमा देखिने केही सामान्य प्रश्न र भ्रमलाई स्पष्ट पार्नु हो।
विशेष गरी निम्न प्रश्नहरू बारम्बार उठ्ने गर्छन्:
यस प्रश्नको एउटै उत्तर सबै मानसिक रोग र सबै व्यक्तिमा लागू हुँदैन।
कुनै औषधि केही दिन वा हप्ताका लागि मात्र प्रयोग गरिन्छ भने केही औषधि महिनौँ, वर्षौँ वा कहिलेकाहीँ धेरै लामो समयसम्म प्रयोग गर्नुपर्ने हुन सक्छ।
औषधि कति समयसम्म आवश्यक पर्छ भन्ने कुरा मुख्यतः निम्न कुरामा निर्भर गर्छ:
उदाहरणका लागि, डिप्रेसनमा औषधिले राम्रोसँग काम गरेको छ भने लक्षण हराएपछि पनि प्रायः केही महिना औषधि जारी राखिन्छ। बारम्बार डिप्रेसन दोहोरिने व्यक्तिमा यो अवधि अझ लामो हुन सक्छ।
त्यस्तै, आत्तिने रोग वा अन्य anxiety disorder मा पनि लक्षण कम भयो भन्दैमा तुरुन्त औषधि बन्द गरिँदैन। पर्याप्त समयसम्म स्वस्थ अवस्था कायम राखेपछि मात्रै औषधि घटाउने विषयमा विचार गरिन्छ।
पहिलो पटक साइकोसिस भएको व्यक्तिमा पनि लक्षण केही हप्तामै नियन्त्रणमा आउन सक्छन्, तर त्यसको अर्थ औषधि त्यही समयमा बन्द गर्न मिल्छ भन्ने होइन। पुनः समस्या बल्झिने सम्भावना कम गर्न निश्चित अवधिसम्म उपचार जारी राख्न आवश्यक हुन सक्छ।
स्किजोफ्रेनिया, बाइपोलार डिसअर्डर वा बारम्बार दोहोरिने अन्य गम्भीर मानसिक रोगमा धेरै वर्ष वा कहिलेकाहीँ दीर्घकालीन रूपमा औषधि आवश्यक पर्न सक्छ।
त्यसैले औषधि सुरु गर्दाखेरि अनुमानित अवधि बताउन सकिए पनि “ठ्याक्कै यति दिन वा यति महिना खाएपछि बन्द गर्न मिल्छ” भनेर सबै अवस्थामा पहिले नै किटान गर्न सकिँदैन।
सबै मानसिक रोगका औषधिले एउटै गतिमा काम गर्दैनन्।
कतिपय औषधिले निद्रा, बेचैनी वा अत्यधिक उत्तेजना केही घण्टा वा दिनमै कम गर्न सक्छन्। तर डिप्रेसन, चिन्ता, भ्रम, असामान्य विश्वास वा अन्य मुख्य मानसिक लक्षणहरूमा पूर्ण सुधार आउन केही हप्ता लाग्न सक्छ।
विशेष गरी antidepressant औषधिले मस्तिष्कका neurotransmitter अर्थात् स्नायुकोषबीच सन्देश आदानप्रदान गर्ने रासायनिक प्रणालीमा प्रभाव तुरुन्तै पार्न थाल्न सक्छन्। तर व्यक्तिले महसुस गर्ने मानसिक सुधार भने प्रायः त्यसको केही समयपछि मात्र देखिन्छ।
यसको कारण औषधिको असर केवल एउटा रसायनको मात्रा बढ्नु वा घट्नुमा सीमित नभएको बुझिँदै गएको छ।
आजको neuroscience ले neuroplasticity अर्थात् मस्तिष्कको परिवर्तन र अनुकूलन गर्न सक्ने क्षमता लाई पनि महत्व दिन्छ।
हाम्रो मस्तिष्क स्थिर संरचना होइन। अनुभव, सिकाइ, तनाव, वातावरण र उपचारअनुसार स्नायुकोषहरूबीचको सम्बन्ध तथा तिनले सूचना आदानप्रदान गर्ने तरिकामा परिवर्तन भइरहन्छ।
डिप्रेसनजस्ता केही मानसिक समस्यामा यस्ता neural networks को काम गर्ने तरिकामा परिवर्तन देखिन सक्छ। Antidepressant लगायतका केही उपचारले neurotransmitter प्रणालीमा प्रभाव पार्नुका साथै neuroplasticity सँग सम्बन्धित विभिन्न जैविक प्रक्रियामा पनि परिवर्तन ल्याउन सक्ने प्रमाणहरू छन्।
यसलाई सरल भाषामा भन्दा, औषधिले केवल लक्षणलाई अस्थायी रूपमा “छोप्ने” मात्र होइन; उपचारको क्रममा मस्तिष्कले स्वस्थ ढाँचामा काम गर्न सक्ने प्रक्रियालाई सहयोग गर्ने सम्भावना पनि हुन्छ।
तर यसलाई “औषधिले मस्तिष्कलाई पूर्ण रूपमा पुरानै अवस्थामा बनाइदिन्छ” भनेर बुझ्नु पनि सही हुँदैन। मानसिक रोग र उपचार दुवै जटिल प्रक्रिया हुन्, र हाम्रो वैज्ञानिक ज्ञान अझै विकसित भइरहेको छ।
यो बिरामी र परिवारले सोध्ने सबैभन्दा महत्वपूर्ण प्रश्नमध्ये एक हो।
मानौं, कुनै व्यक्तिलाई डिप्रेसन भयो र antidepressant सुरु गरेपछि दुई–तीन महिनामा उनी पूर्ण रूपमा ठीक भए। स्वाभाविक रूपमा प्रश्न उठ्छ—अब त समस्या छैन, औषधि किन खाने?
यसको मुख्य कारण पुनः रोग बल्झिने सम्भावना कम गर्नु हो।
लक्षण हराउनु र भविष्यमा पुनः रोग नदोहोरिने अवस्थामा पुग्नु एउटै कुरा होइन।
उपचारपछि सामान्यतः तीन चरणको कल्पना गर्न सकिन्छ:
पहिलो चरण — लक्षण सुधार गर्ने।
उदासी, चिन्ता, निद्रा, सोचाइ, ऊर्जा वा अन्य लक्षणहरू कम हुँदै जान्छन्।
दोस्रो चरण — सुधारलाई स्थिर बनाउने।
व्यक्ति राम्रो भए पनि केही समय उपचार जारी राख्दा पुनः तुरुन्तै समस्या फर्कने सम्भावना कम हुन्छ।
तेस्रो चरण — भविष्यमा पुनः रोग दोहोरिने जोखिम कम गर्ने।
पहिले धेरै पटक रोग दोहोरिएको छ वा जोखिम बढी छ भने औषधि अझ लामो समय जारी राख्नुपर्ने हुन सक्छ।
त्यसैले आफूलाई पूर्ण रूपमा ठीक महसुस भइरहेको अवस्थामा पनि चिकित्सकले केही समय औषधि जारी राख्न सल्लाह दिन सक्छन्।
यो औषधिको “बानी परेको” कारणले होइन, स्वस्थ अवस्था कायम राख्ने र relapse अर्थात् रोग पुनः बल्झिने जोखिम कम गर्ने उद्देश्यले हो।
आधुनिक मानसिक स्वास्थ्य उपचारको लक्ष्य केवल लक्षण हटाउनु पनि होइन। व्यक्तिले आफ्नो पारिवारिक, सामाजिक र व्यावसायिक जीवन पुनः सुचारु गर्न सक्नु, आत्मविश्वास फर्किनु र जीवनस्तरमा सुधार हुनु पनि recovery अर्थात् पुनर्लाभको महत्वपूर्ण भाग हो।
मानसिक रोगका धेरै औषधि आफैंले अचानक बन्द गर्नु उचित हुँदैन।
औषधि बन्द गर्ने निर्णय गर्दा चिकित्सक र बिरामीले मिलेर विचार गर्नुपर्ने हुन्छ:
औषधि बन्द गर्ने निर्णय भएपछि पनि धेरै औषधि बिस्तारै मात्रा घटाउँदै बन्द गर्नुपर्ने हुन्छ।
कसैलाई केही हप्तामा घटाउन सकिन्छ भने लामो समयदेखि औषधि सेवन गरिरहेका केही व्यक्तिमा अझै बिस्तारै घटाउन आवश्यक पर्न सक्छ।
गर्छन्। मानसिक रोगका औषधि मात्र होइन, शरीरका अन्य रोगमा प्रयोग हुने लगभग सबै प्रभावकारी औषधिका सम्भावित नकारात्मक असर पनि हुन्छन्।
तर औषधिको उपयोग गर्दा मुख्य प्रश्न “यो औषधिको कुनै side effect छ कि छैन?” मात्र होइन।
मुख्य प्रश्न हो:
यस व्यक्तिमा यो औषधिबाट हुने सम्भावित फाइदा र सम्भावित हानिको सन्तुलन कस्तो छ?
औषधिका नकारात्मक असर धेरै किसिमका हुन सक्छन्।
मानसिक रोगका विभिन्न औषधिले निद्रा लाग्ने, मुख सुक्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने, यौनसम्बन्धी समस्या, तौल बढ्ने, हातखुट्टा काम्ने वा अन्य असर गर्न सक्छन्।
केही antipsychotic औषधिले तौल, रगतमा चिनी वा बोसो बढाउन सक्ने भएकाले तौल, रक्तचाप, blood glucose र lipid जस्ता कुराको नियमित निगरानी आवश्यक पर्न सक्छ।
त्यस्तै कुनै औषधि सेवन गरेपछि असामान्य छालाको समस्या, अत्यधिक ज्वरो, शरीर कडा हुने, बेहोस हुने वा अन्य गम्भीर नयाँ लक्षण देखिएमा तुरुन्त चिकित्सकीय सल्लाह लिनुपर्छ।
औषधिको नामअनुसार सम्भावित नकारात्मक असर फरक हुने भएकाले आफूलाई दिइएको प्रत्येक औषधिको मुख्य फाइदा, सामान्य side effects र तत्काल ध्यान दिनुपर्ने दुर्लभ असर का बारेमा चिकित्सक वा pharmacist सँग बुझ्नु राम्रो हुन्छ।
मानसिक रोगको औषधि सेवन गरिरहेको व्यक्तिले अन्य रोगको औषधि सुरु गर्दा त्यसको जानकारी सम्बन्धित चिकित्सकलाई दिनुपर्छ।
औषधिहरूबीच interaction हुन सक्छ।
त्यस्तै केही औषधिको रक्सी, recreational drugs वा अन्य पदार्थसँग पनि अन्तरक्रिया हुन सक्छ।
गर्भावस्था, स्तनपान, कलेजो वा मिर्गौलाको समस्या, मुटुको रोग, मधुमेह वा अन्य शारीरिक रोग भएका व्यक्तिमा औषधि चयन र मात्रा फरक हुन सक्छ।
त्यसैले अर्को चिकित्सकले नयाँ औषधि सुरु गर्दा आफूले सेवन गरिरहेका मानसिक रोगका औषधिको सूची दिनु महत्वपूर्ण हुन्छ।
सबै मानसिक रोगका औषधिले बानी पार्दैनन्।
यो विषयमा “बानी पर्नु”, “शरीर अभ्यस्त हुनु”, “withdrawal हुनु” र “addiction हुनु” बीचको फरक बुझ्नु महत्वपूर्ण छ।
Addiction मा सामान्यतः औषधि वा पदार्थप्रति तीव्र चाहना अर्थात् craving हुने, त्यसको प्रयोग नियन्त्रण गर्न कठिन हुने र हानि भइरहेको थाहा हुँदाहुँदै पनि प्रयोग जारी रहने अवस्था देखिन्छ।
केही benzodiazepine समूहका औषधि लामो समय नियमित प्रयोग गर्दा शरीर अभ्यस्त हुन सक्छ र dependence विकास हुन सक्छ। त्यसैले यस्ता औषधि चिकित्सकीय आवश्यकताअनुसार सावधानीपूर्वक प्रयोग गरिन्छ र बन्द गर्दा प्रायः बिस्तारै मात्रा घटाइन्छ।
SSRI, SNRI लगायतका antidepressant औषधिले सामान्य अर्थमा addiction गराउँदैनन्। यिनले रक्सी, nicotine वा केही नशालु पदार्थमा जस्तो craving वा नशा खोज्ने व्यवहार उत्पन्न गर्दैनन्।
तर यसको अर्थ antidepressant लाई अचानक बन्द गर्न मिल्छ भन्ने होइन।
Antidepressant लामो समय सेवन गरेपछि अचानक बन्द गर्दा वा छिटो मात्रा घटाउँदा केही व्यक्तिमा discontinuation वा withdrawal symptoms आउन सक्छन्।
उदाहरणका लागि:
यी लक्षण आउनु भनेको व्यक्तिलाई antidepressant को addiction भएको प्रमाण होइन।
तर यस्ता लक्षण रोक्न वा कम गर्न औषधि अचानक बन्द गर्नुको सट्टा चिकित्सकको सल्लाहअनुसार बिस्तारै मात्रा घटाउनु महत्वपूर्ण हुन्छ।
अर्को चुनौती के पनि हो भने withdrawal का केही लक्षण र पुरानो डिप्रेसन वा anxiety पुनः सुरु भएको लक्षण छुट्याउन कहिलेकाहीँ सजिलो हुँदैन। त्यसैले औषधि घटाउने क्रममा समस्या देखा परेमा चिकित्सकसँग छलफल गर्नु राम्रो हुन्छ।
मानसिक रोगको उपचार औषधिमा मात्र सीमित हुँदैन।
रोग र व्यक्तिको आवश्यकताअनुसार उपचारमा निम्न पक्ष पनि महत्वपूर्ण हुन सक्छन्:
उपचारको उद्देश्य केवल लक्षण कम गर्नु होइन। व्यक्तिले आफ्नो जीवनमा पुनः अर्थपूर्ण रूपमा सहभागी हुन सक्नु, सम्बन्धहरू कायम राख्न सक्नु, काम वा अध्ययनमा फर्किन सक्नु र सम्भव भएसम्म राम्रो जीवनस्तर हासिल गर्नु पनि उपचारको महत्वपूर्ण लक्ष्य हो।
मानसिक रोगका औषधिबारे सबैभन्दा महत्वपूर्ण कुरा के हो भने एउटै नियम सबै औषधि, सबै रोग र सबै व्यक्तिमा लागू हुँदैन।
कुन औषधि किन दिइएको हो, त्यसबाट कस्तो फाइदा अपेक्षा गरिएको छ, कति समयसम्म प्रयोग गर्ने सम्भावना छ, सामान्य नकारात्मक असर के हुन् र भविष्यमा बन्द गर्नुपरे कसरी बन्द गर्ने भन्ने कुरा बिरामीले बुझ्नु आवश्यक छ।
त्यसैले आफू वा आफ्नो परिवारका सदस्यलाई मानसिक स्वास्थ्यसम्बन्धी औषधि दिइएको छ भने चिकित्सकसँग प्रश्न सोध्न हिच्किचाउनु पर्दैन।
सबैभन्दा महत्वपूर्ण कुरा—औषधि आफैंले अचानक सुरु, बन्द वा मात्रा परिवर्तन नगर्नुहोस्।
सही व्यक्तिमा, सही कारणले, सही मात्रामा र नियमित समीक्षा गर्दै प्रयोग गरिएको औषधि मानसिक रोगको उपचार, पुनर्लाभ र जीवनस्तर सुधारका लागि अत्यन्त उपयोगी हुन सक्छ।